सेजल एण्ड सिस्टरले दिए शरणार्थीलाई कम्बल - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सेजल एण्ड सिस्टरले दिए शरणार्थीलाई कम्बल

मंसिर १४, बेलडाँगी । जाडो मौसम सुरु भएसँगै अमेरिकास्थित पेन्सिल्वेनिया राज्यको पिट्सबर्ग बस्दै आएका मेघ राज सुवेदी परिवारले सञ्चालन गरेको परोपकारी संस्था सेजल एण्ड सिस्टरले झापाको दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका १५ सय परिवारलाई न्यायो कम्बल वितरण गरेको छ ।

बिहीबार शरणार्थी शिविरमा मेग सुवेदी र उनकी श्रीमती श्रीमती मोन सुवेदीले स्थापना गरेको सेजल एण्ड सिस्टरले ३० लाख बढी लागत बराबरको न्यायो कम्बल वितरण गरेका हुन् ।


बेलडाँगी २ स्थित इन्ट्रा डे केयरको प्राङ्गणमा कम्बल वितरण कार्यक्रमपछि सुवेदीले भने –‘सेजल एण्ड सिस्टर मेरी श्रीमतीले स्थापना गरेको परोपकारी संस्था हो । हामीले यस संस्थामार्फत विभिन्न परोपकारी कार्य गर्दै आएका छौं । आज शिविरमा न्यायो बाँढ्न आइपुग्दा खुशी लागेको छ ।’

१५ वर्ष अघि बेलडाँगी शिविरबाटै सुवेदी परिवार तेस्रो मुलुक पुनर्वास कार्यक्रम रोजेर अमेरिका पुगेको थियो । शिविरमा कम्बल वितरण गरेपछि केही भावुक देखिएका उनले भने –‘शिविरभित्रको अभाव कस्तो हुन्छ, त्यो मैले भोगेको छु । आज मसँग दिनका लागि केही छ, त्यसैले शिविरमा जाडोले कोही पनि कठ्याङ्ग्रिएर बस्नु नपरोस् भन्ने सोचेर हामी कम्बल वितरण गर्न आएका हौं ।’


शुक्रबार भुटानी शरणार्थी शिविर पथरीशनिश्चरेमा थप पाँच सय परिवारलाई कम्बल वितरण गर्ने कार्यक्रम रहेको सुवेदीका नातेदार एवम् दमक ३ का सम्रान्त थापाले जानकारी दिए ।

बिहीबार शिविरमा वस्ती व्यवस्थापन समिति (एसएमसी) को रोहबरमा सुवेदीसहितको टोलीले १५ सय घरपरिवारलाई जाडोबाट बच्न न्यायो कम्बल बितरण गरेको  एसएमसी सचिव सञ्चहाङ सुब्बाले जानकारी दिए ।

सचिव सुब्बाले सुवेदी परिवार र परोपकारी संस्था सेजल एण्ड सिस्टरलाई धन्यवाद ज्ञापन गर्दै भने –‘जाडो छल्ने न्यायो शिविरका छाप्रो छाप्रोमा पुगेको छ, यसले पक्कै शरणार्थी समुदायलाई राहत मिल्ने छ । दाताहरुलाई धेरै धन्यवाद !’

शिविरमा बिआरडब्लुएफको प्रतिनिधिका रूपमा कार्यरत फूलमाया राईले दाताको सहयोगले विपन्न शरणार्थीहरुलाई जाडो छल्न मद्दत पुग्ने विश्वास गरिन् । दातृ निकायहरुले सहयोग कटौती गरेपछि शरणार्थीहरुको जीवन कष्टकर बन्दै गएको उनको भनाइ थियो ।

 

कार्यक्रममा नायक सञ्जित भण्डारी, कलाकार तथा रङ्गकर्मी सम्रान्त (राजु) थापा, सुबासचन्द्र खरेल, निर्देशक केर कोईँच लिनुच, सेजल एण्ड सिस्टर एलएलसीका प्रतिनिधि सपना श्रेष्ठ, समाजसेवी यशोदा कट्वालसहित सुबेदी परिवारको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर