मंसिर १७, माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोहको तयारी पुरा भएको छ ।
इलामको माङसेबुङ गाउँपालिका ५, माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमाङ जन्मोत्सव भव्यताका साथ मनाउने तयारी पुरा भएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनज्यूको नुमाङगेन्ना महान सेवा समारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।
जन्मोत्सव समारोह अन्तर्गत सावायेहाङका लागि साक्मुरा वादेम्मा, येत् नाम्धुङ लाधुङ सेमी सेवा, आत्मानन्द कम, अङसीमाङज्यूको आशीर्वचन, नुमाङगेन्ना सेवासँगै यस वर्षदेखि सावायेहाङ नुमाङगेन्ना कार्यक्रम पनि जोडिएको नुमाङगेन्ना महान सेवा समारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोहमा उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सोमबार इलामको माङसेबुङ आउने भएका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने तय गरिएको भएपनि विदेश भ्रमणबाट फर्कन ढिलाई भएकाले मन्त्री किराती आउने भएको मूल समारोह समितिका सचिव शक्ति साँवाले जानकारी दिए ।
‘हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरूको उपस्थिति हुने जन्मोत्सवमा यस वर्ष प्रधानमन्त्री आउने तय भएको थियो । तर विदेश भ्रमणबाट फर्कन ढिलाई भएका कारण उहाँ नआउने हुनुभयो’ सचिव साँवाले भने, ‘प्रधानमन्त्री प्रचण्ड नआउने भएपछि मन्त्री किराती आउने निश्चित भएको हो ।’
विगतका वर्षझैँ यसवर्ष पनि माङसेबुङ गाउँपालिका–५ माङसेबुङ (लारुम्बा) मा विविध कार्यक्रमसहित लिङदेनको जन्मोत्सव भव्य रूपमा मनाउने तयारी छ । जन्मोत्सवका अवसरमा सञ्चालित आत्मानन्द कप फुटबल प्रतियोगिताको फाइनल आइतबार सकिएको छ । प्रतियोगिताको उपाधि तिजोक युवाक्लब पाँचथरले हात पारेको छ । माङसेबुङ गाउँपालिकालाई सडन डेथमा पराजित गर्दै तिजोकले उपाधि हात पारेको हो ।
कार्यक्रम अन्तर्गत मंसिर १८ गते प्रमुख अतिथिबाट नुमाङगेन्ना महान सेवा समारोह समुद्घाटन, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै विशेष महान समारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७० जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन हुने महान सेवा समारोह अध्यक्ष योङहाङको भनाई छ ।
समारोहका अध्यक्ष योङहाङका अनुसार यस वर्षदेखि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत आयोजना गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गर्नुपर्ने छ ।
कार्यक्रमको बारेमा थप्नुहुँदै समारोहका अध्यक्ष केहेरसिं योङहाङले नुमाङगेन्ना सेवाको अवसरमा सम्पूर्ण यस वर्षदेखि प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको छ ।
जन्मोत्सव कार्यक्रम अन्तर्गत मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने जनाइएको छ ।
समारोहका सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अनुसार विगतका वर्षझैं मंसिर १८ र १९ गते साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुङ इक्ला गायन प्रतियोगिता सञ्चालन हुने छ ।