मंसिर १९, दमक । बढ्दो लागु औषध प्रयोग, कारोबार र ओसारपसार कार्यलाई रोक्न दमक नगरपालिकाले विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
मंगलबार बसेको नगरस्तरीय सामुदायिक प्रहरी साझेदारी पालिका समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
दमक नगरमा बढ्दो लागू औषध प्रयोग र कारोबारलाई नियन्त्रण र न्यूनीकरणका लागि लागु औषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान कार्यक्रम सञ्चानल गरिने दमक नगर प्रमुख रामकुमार थापाले जानकारी दिए ।
प्रमुख थापाको अध्यक्षतामा बसेको बैठकमा यस अभियानलाई तीव्र बनाउन प्रहरी प्रशासन, राजनीतिक दल, दमक नगरपालिकाको सामाजिक, शिक्षा र स्वास्थ्य शाखा, वडा समितिहरु, सामाजिक संघसंस्था, सञ्चारकर्मीहरुबीच आपसी समन्वय हुने गरी विभिन्न कार्यक्रम सञ्चालन गरिने निर्णय गरेको हो । अभियान पुषको पहिलो हप्ताभित्र बृहत् सहभागिताका बीच प्रारम्भ गरिने बताइएको छ ।
सामाजका सबै तह र हैसियतका परिवारमा समेत लागु औषध प्रयोग र यससँग सम्बन्धित विभिन्न समस्याहरु देखा परेको तर कतिपय अवस्थामा घटनाहरु लुकाउने अवस्था रहेको भन्दै प्रमुख थापाले भने –‘दमक नगरपालिकाभित्र अब सबैले यो समस्या हामी सबैको साझा हो भन्ने मनन गरेर लाग्न जरुरी छ ।’
चालु आर्थिक वर्षमै यो अभियान सञ्चालनका लागि दमक नगरपालिकाले पाँच लाख र प्रदेश सरकारबाट १० लाख गरी १५ लाखको कार्यक्रम प्रस्ताव गरिएको छ । ‘यो कार्यक्रमलाई प्रभावकारी बनाउन हामीले प्रदेश सरकारसँग समन्वय गर्नेछौं । म आजै कुरा गरेर मुख्यमन्त्री (केदार कार्की)बाटै अभियान उद्घाटन गराउने वातावरण मिलाउँछु’, थापाले भने ।
दमक नगरपालिकाले लागु औषधसँग सम्बन्धित सबै किसिमका सामाजिक कुरीती र कुसंस्कारविरुद्ध कडाईका साथ अभियान सञ्चालन गर्ने भन्दै उनले सबैले सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रस्तावित कार्यक्रम अनुसार दमक नगरका १० वटै वडामा लागु औषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचारसँग सम्बन्धित सचेतनामूलक सडक नाटक, सचेतनामूलक सामग्री वितरण, अन्तरक्रिया, हेल्प डेस्क र टोल फ्री नम्बर स्थापनालगायत कार्यहरु गरिने बैठकमा जानकारी गराइएको थियो ।
बैठकमा दमक नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक मनोजकुमार लामा, वडा नम्बर १ का वडा अध्यक्ष हरिप्रसाद न्यौपाने, २ का अध्यक्ष प्रजापति सापकोटा, ६ का अध्यक्ष टेकबहादुर थापा, सामुदायिक प्रहरी साझेदारी पालिका समितिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु सहभागी थिए ।