गीत संगीत मन भित्रको मनोभाव हो : दीपेन्द्र - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गीत संगीत मन भित्रको मनोभाव हो : दीपेन्द्र

कला, सृजना कहिल्यै मर्दैन, मर्छ त केवल सर्जक मर्छ, तर सर्जक मरेपनि कला र सृजनाको माध्यमबाट उ बाँचिरहन्छ युग युगान्तरसम्म अमर अजर बनेर । तिनै कला र सृजनाको बीउ छरेर युग युगान्तरसम्म बाँचिरहने चेष्टाका साथ सृजनाको खेतिमा लागि परेका प्रतिभा हुन् गीतकार दीपेन्द्र खड्का ।

सुरु सुरुमा नाटक लेख्न खुब रुचाउने दीपेन्द्रले ‘अधुरो जिन्दगी’ नामक नाटक लेखेर मञ्चन गरेपछि भने उनको दिमागमा बेग्लै किसिमको सोच पलाएको थियो । नाटक लेखेर मात्र हुँदैन, अव गीत पनि लेख्छु भन्ने मनमा एक किसिमको सोच पलाएपछि भने उनले गीत लेखन सुरु गरेको बताउँछन् । त्यती बेलासम्म उनी २५ बर्षका थिए जतिबेला उनले पहिलो पटक गीत लेख्ने साहस बटुलेर रेकर्डिङ गर्नसम्म भ्याए ।

‘तिमी मेरो जीवनमा आयौं र त हाँस्न सिके, तिम्रो न्यानो साथ मैले पाए र त बाँच्न सिके’ बोलको गीत पहिलो पटक सृजना गरेका दीपेन्द्रले बिबि अनुरागीको संगीतमा अर्जुन सुनाम र चन्दा बिश्वकर्माको स्वरमा रेकर्ड गराएर गीत संगीतको दुनियाँमा आफुलाई गीतकारको रुपमा उभ्याएका हुन् । गीत संगीत कला भनेपछि हुरुक्के हुने दीपेन्द्र प्रेम निश्वार्थ भाव हो भन्छन् । उनी प्रेममा परेको तर घर परिवारको प्रेममा परेको बताउँछन् ।

‘गीत संगीत मनभित्रको मनोभाव हो’ दीपेन्द्र भन्छन्, ‘गीत संगीत दुःख सुख भूलाउने पोटो हो ।’ उनी थप्छन, ‘गीत संगीतमा साधना, मेहेनत, लगनशिलता र धैर्यता चाहिन्छ । तबमात्र सफल हुन सकिन्छ र बाँच्न पनि सकिन्छ जस्तो लाग्छ ।’

पान्थरको मिक्लाजुङ सराङडाँडामा जन्मेर मोरङको मिक्लाजुङ २ मा स्थायी बसोबास गर्दै आइरहेका गीतकार दीपेन्द्र हाल वैदेशिक रोजगारीको शिलशिलामा दोहा कतारमा बस्दै आएका छन् । प्रवासमा रहेर पनि नेपाली गीत संगीतको सृजनामा लागेका दीपेन्द्रले हालसम्म दिलमा सजाउला, तिम्रो छायाँ बनि, तिमि मेरो जिबनमा, कल्पनामा डुबी हेर, ए माछी जालैमा, ए पुर्बेली ठुली, ए हौ सोल्टिनी, शिरबन्दी, आकाशसंग के दाज्नु, मरे यो शरीर, छोरी छोरी, हजार चोट, रातो चोली, फुल टिपी, म तिम्रो, लजालु ति, जुरेली चरी, पिपल पातैमा, तिमी माया गर, झुल्के घाम, आई लभ यु, मलाई छाडी जान्छेउ भने, सफारी चढेर, ए ठूली, पहरामा फुल्ने, भाग्य रहेनछ, धड्कन भित्र, राँके बजार, स्वागतम लेखि, मुटु मेरो, झझल्कोमा किन, घरबार छोडी, तिमीले बिर्सी गए पनि, नाचौ छम छम, तिमि जहाँ गए पनि, ओ बेबी, हाए क्युटी, डाँडामा झुल्के घाम, के नाउ दिउ तिमीलाई, कसम तिमीलाई, तिमीलाई माया गर्नु मेरो भुल हो भने, कति राम्री सोल्टिनी, गाउँ घरको प्यारी छोरी र मधहोसी तिम्रा बोलको गीतहरु सृजना गरिसकेका छन् ।

गीतकार संघ नेपाल र संगीतकार संघ नेपालमा आबद्ध रहेका दीपेन्द्र पारिवारिक सपोर्ट राम्रो भएको र परिवारको साथ सहयोगकै कारण दीपेन्द्र हुन सकेको बताउँछन् । संगीत र मोडलिङ समेत गरेका उनले रातो चोली, ए हौ पूर्वेली ठुली, शिरबन्दी बोलको गीतमा संगीत गरेका छन् भने झझल्कोमा किन, घरबार छोडी बोलको गीतमा अभिनय समेत गरेका छन् ।

गीत लेखनको अलावा गीतिकथा, प्रेमकथा, आत्मकथा, जीवनकथा, कथा र मुक्तक लेखनमा समेत लागेका दीपेन्द्रले नेपाली कथानक चलचित्र आधी तुफान २, विक्रम देवा र सैमुन्द्रीमा समेत गीत लेखेका छन् भने पछिल्लो समय नयाँ दुई चलचित्रको गीत लेखनमा ब्यस्त रहेको बताउँछन् । उनले पार्वती, भाग्यरेखा, छिमेकी, सुन्तली टेली चलचित्रमा शीर्ष गीत समेत लेखेका छन् ।

फुटबल खेल्न र समाज सेवा गर्न खुब रुचाउने भविष्यमा पनि गीत संगीतमै लाग्ने र समाज सेवा गरेर जीवन विताउने सपना बोकेका गीतकार दीपेन्द्र खड्कालाई थप सफलताको कामना सहित गीत संगीतको सृजनशिल यात्रा खास अनि सार्थक बन्न सकुन लुङमेन्दीङ नोनिङ्वा ।

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर