पुस ४, काँकडभिट्टा । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ धार्मिक पदयात्रामा निस्किएका पदयात्रीहरुलाई काँकडभिट्टामा भव्य स्वागत गरिएको छ ।
आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको ३२ औं दिनमा आज(बुधबार) बिहान काँकडभिट्टा नाका भएर नेपाल प्रवेश गरेका पदयात्रीहरुलाई भब्य स्वागत गरिएको छ ।
उनीहरुको स्वागत सम्मानको लागि झापाको धुलाबारी, मेचिनगर काँकडभिट्टा लगायतका क्षेत्रको किरात धर्मावलम्बीले सुमसारी सेमी बालेर पदयात्रीलाई खदा ओडाएर स्वागत सम्मान गरेका छन् ।
आज नै उनीहरु माइधारसम्म पुग्ने समेत जनाइएको छ ।
गत मंसिर २ गते शनिबार आसामको लाखिमपुर जिल्लाबाट सुरु गरेकाे धार्मिक पदयात्रामा सुमन राई, पञ्चबहादुर राई, राज लिम्बु र अमित कुमार लिम्बू रहेका छन् ।
विश्व शान्तिको कामना गर्दै किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पवित्र एवम् पुण्यभूमि माङसेबुङ इलाम सम्मको धार्मिक पदयात्रामा निस्केको बताइएको छ ।
धार्मिक पदयात्रा गुरु नीजि आश्रममा पुगेर किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनँग भेटदर्शन गरेर समापन गर्ने बताइएको छ ।