जबसम्म पहिचानको आन्दोलन सम्बोधन हुँदैन तबसम्म प्रदेश नं. १ मा समृद्धि हुँदैन : अध्यक्ष प्रेम येक्तेन - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जबसम्म पहिचानको आन्दोलन सम्बोधन हुँदैन तबसम्म प्रदेश नं. १ मा समृद्धि हुँदैन : अध्यक्ष प्रेम येक्तेन

माघ २, दमक । किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले प्रदेश नं. १ मा उठिरहेको पहिचान स्थापित आन्दोलन राज्यद्वारा संबोधन नभइञ्जेलसम्म समृद्धि सम्भव नहुने कुरा बताएका छन् ।

तुत्तु येक्तेनले झापाको कमल–५ सिम्लेस्थित मुन्धुम्यक्मा सोमबार आयोजित कुसङ येले तङबे ५०८४ को अवसरमा आयोजित ३ तीनदिने कक्फेक्वा मेलालाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

‘प्रदेश नं. १ को नाम कोशी खारेज गरेर पहिचान र स–अस्तित्व स्थापित आन्दोलनलाई सम्बोधन गरि प्रदेश नं. १ को नाम पुनः नामाङकन राज्यले गर्दैन तबसम्म आन्दोलन रोकिने छैन ।’ प्रमुख अतिथि समेत रहेका येक्तेनले भने, ‘लिम्बू÷याक्थुङ जातिसँग सम्बन्धित किरात येले सम्बत र कक्फेक्वा जस्ता प्रकृतिमय मौलिक वर्ष र चाडपर्वलाई राज्यले राष्ट्रिय पर्वको रूपमा स्थापित गरेर सम्धोधन गरेन भने यो प्रदेश नं. १ मा मात्र नभएर सिङगै मुलुकको समृद्धि सम्भव हुँदैन, त्यसकारण नयाँ वर्ष तथा कक्फेक्वा तङनाम–५०८४ को अवसरमा शुभ–कामना आदान प्रदानमा जुटेका तमाम जनमानसलाई पहिचानको आन्दोलनमा एकताबद्ध भएर अघि बढ्न यसै मञ्चबाट आग्रह गर्दछु ।’

उनले थपे, ‘यहाँका आदिवासी जनजाति लिम्बु÷याक्थुङ जाति एक गिलास रक्सी, दुई चोक्टा मासु र दुई पैसामा बिक्छ, यिनिहरूको भोट किनेर भए पनि सत्तामा पुगिहालिन्छ नि भनेर भाष्य निर्माण गर्ने जुनसुकै राजनैतिक दल र त्यसका नेताहरूको घोर भत्सना गर्दछु ।’

कार्यक्रमका अर्का वक्ता किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फियाकले शुभ–कामना मन्तव्य राख्दै झापाको कमल गाउँपालिकामा निर्माण हुन लागेको मुन्धुमयक् र आदिवासी रङगशाला निर्माणमा राज्यले विभेद गरे बिश्वका आदिजासी जाजातिहरूले एक–एक पैसा जम्मा गरेर आफ्नो मुन्धुम दर्शन अनुरूप निर्माण गर्ने कुरा बताए । त्यस विषयमा कमलबासीहरू एक भएर मुन्धुमयक् र आदिवासी रङगशालाको संस्थागत विकास र स्रेस्तागत विकासको भावि योजना निर्माण गरि बिश्वका आदिवासीहरूलाई आव्हान गर्न अपिल गरे ।

कार्यक्रमका अर्का वक्ता इलाम चुलाचुली गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष ध्रुव लावतीले शुभ–कामना मन्तव्य राख्दै विभिन्न जातिहरूको धार्मिक, सांस्कृतिक, कला संस्कृतिलाई सम्बोधन गरेर राज्यले संरक्षण संरक्षण गर्दैन, तबसम्म हरेक चाडपर्वमा पनि त्यो जाति आन्दोलित भईरहने कुरा बताए ।

अहिलेपनि चाडपर्व या नयाँ वर्षमा होस् हरेक कार्यक्रमहरू प्रदेश नं. १ कोशी खारेजीको आन्दोलनको रूपमा मनाइने कुरा स्मरण गर्दै मुन्धुम्यक्को भौतिक निर्माणमा कमल गाउँ पालिकाबाट छुट्टिएको बजेट कार्यान्वय गर्ने सिफारिस गाउँपालिकाले रोकेको भन्ने करा सुन्नमा आएकोले तेसो भएको यदि हो भने गलत भएको कुरा बताए ।

वहाँले कमलमा निर्माणाधिन आदिवासी रङगशाला र मुन्धुमयक् निर्माण गर्न हरेक कोणबाट ईलाम चुलाचुलीबासीको साथ सहयोग रहने समेत बताए ।

कार्यक्रममा कियाचु संघीय सदस्य चन्द्रकला सुब्बा, डा. भिम सुब्बा, राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिं सम्बाहाङफे, लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, साङसेन पन्दाक, प्रदेश सल्लाहकार सेसेमी से–नाल्वो, जिल्ला सल्लाहकार सूर्य यक्पान्देन, जिल्ला सदस्य दिव्यकला थेबे नाल्वो, मनकुमार थलङ लगायतको व्यापक उपस्थिति रहेको थियो ।

किरात याक्थुङ चुम्लुङ कमल गाउँ शाखाका अध्यक्ष दिवस लिम्बूको सभापतित्वमा सम्पन्न समुद्घाटन समारोहमा कमल गाउँ शाखा उपाध्यक्ष अमर मावोहाङले स्वागत गरे ।

केःलाङ्, या? लाङले सुशोभित कार्यक्रमको सञ्चालन कियाचु कमल गाउँ शाखा सचिव शुक्र लावतीले गरेका थिए ।

सम्बन्धित खवर