लिम्बू विद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन धरानमा हुँदै - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू विद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन धरानमा हुँदै

माघ २२, दमक । ‘अस्तित्वको लागि एकता’ भन्ने मूल नाराका साथ लिम्बू विद्यार्थी मञ्चले चैत्र ६ देखि १० गतेसम्म सुनसरीको धरानमा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्ने भएको छ ।

आइतबार पत्रकार महासङ्घ सुनसरीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले महासम्मेलनबारे जानकारी दिएको हो ।

मञ्चले आफ्नो स्थापना भएको २५ औं वर्षगाँठ पूरा भएको युप्पा तङ्बे (रजत जयन्ती) को अवसर पारेर चैत ७ र ८ गते दुई दिने दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्ने मञ्चका उपमहासचिव श्री लिङ्खिमले जानकारी दिए ।

महासम्मेलनमा लिम्बु भाषाको ईतिहास र लिपिको विकासक्रम, भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, लिम्बु भाषा पाठ्क्रम निर्माण र विकासक्रम, किरात धर्म र सस्कार संस्कृति, समुदायमा युमा धर्म र दर्शनको प्रभाव, लिम्बुवानको किपट व्यवस्था, भूमि अभिलेखिकरण र अधिग्रहण, लिम्बुवानको मुन्धुमी तथा ऐतिहासिक स्थलको चर्चा, लिम्बुहरुको प्रथाजनित कानुन, संघीयता र जनसंख्याको राजनीति, लिम्बु चलचित्र र साहित्य, मुन्धुममा समाजशास्त्रीय पक्ष, खेलकुद, पत्रकारिता, लिम्बुहरुको शैक्षिक अवस्था, लिम्बुहरुको आर्थिक अवस्था, राजनीतिक संघर्षको अवस्था, अन्तराष्ट्रिय कानुन र आदिवासी अधिकार, पर्यावरण र जलवायु परिवर्तन, लिम्बुवान आन्दोलन, वर्तमान पहिचानको आन्दोलन, द्वन्द्व शान्ति र विकास, भारतमा रहेका लिम्बुहरुको अवस्था, विश्वको विभिन्न देशमा रहेका लिम्बुहरुको अवस्थालगायत विभिन्न २२ वटा भन्दा बढी विषयहरुवारे कार्यपत्र प्रस्तुत हुने र त्यसबारे बृहत रुपमा छलफल हुने जनाएको छ ।

महासम्मेलनमा भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्सलगायत विश्वको विभिन्न १७ देश र नेपालको १४ जिल्लाबाट एक हजार भन्दा बढी विद्यार्थीहरु समुद्घाटन समारोहमा सहभागी हुने र एक सय जना सभासदस्यहरुको उपस्थिति रहने महासम्मेलन आयोजक समितिका संयोजक नितेश सिङ्घकले जानकारी दिए ।

चैत्र ९ गते सम्मान तथा धन्यवादसहित तरेचा कार्यक्रम हुनेछ । चैत्र १० गते अन्तराष्ट्रिय सभाबाट पारित विषयहरु र महासम्मेलनको आर्थिक प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने कुरा पत्रकार सम्मेलनमा जानकारी दिए ।

लिम्बु विद्यार्थीहरुको प्रथम अन्तराष्ट्रिय महासम्मेलन २०७३ कात्तिक २, ३ र ४ गते लिम्बुवानको दमकमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर