फागुन १, चुलाचुली । इलामको चुलाचुली गाउँपालिका ३ र ४ मा पर्ने ‘ऐना पोखरी’ मा आज(मङ्गलबार)देखि ‘ऐना पोखरी महोत्सव २०८० सुरु हुँदैछ ।
सोही क्षेत्रमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ऐना पोखरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आजबाट सुरु हुने जानकारी गराइएको थियो ।
चुरे क्षेत्रमा पर्ने ऐना पोखरीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन आयोजना गर्न लागिएको महोत्सव ७ फागुनसम्म सञ्चालन हुनेछ ।
पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको यस ऐना पोखरीलाई थप प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजनाको तयारी गरिएको छ आयोजक समितिका अध्यक्ष कैलास राईले बताए ।
‘भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो’ चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भने, ‘चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।’
एक साता सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका झाँकी प्रदर्शन, खेलकुद प्रतियोगिता, स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनीलगायतका कार्यक्रम गरिने अध्यक्ष राईले बताए । त्यसका लागि दुई दर्जनबढी स्टलहरु निर्माण भएका छन् । स्टलमा स्थानीय खाद्य, घरेलु उद्योगबाट निर्मित सामग्रीहरु राखिनेछन् ।