फागुन १३, काठमाडौँ । निर्वाचन आयोगले आगामी बैशाख १५ गते शनिबार इलाम २ को प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेको छ ।
आयोगको आइतबार बसेको बैठकले इलाम २ को प्रतिनिधि सभा सदस्यका लागि र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ का लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।
इलाम २ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।
यस्तै बझाङ १ बाट निर्वाचित प्रदेश सभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सवारी दुर्घटनामा निधन भएको थियो ।