- पदम सुखि सम्बाहाम्फे
फागुन १९, कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा संचालित यासोक सुख्खाक्षेत्र तमोर पंम्पिङ खानेपानी योजना फेरि अवरुद्ध भएको छ ।
कुम्मायक–५ स्थित लुम्वुघाटको इनारमा इनटेक पंम्प जलेर पानी सप्लाइ हुन नसकेपछि अहिले खानेपानीको चरम हाहाकार मच्चिएको हो । तमोर नदिले आफ्नो बहाव धार परिवर्तन गर्दा इनारमा पानीको सतह घटेको कारण पंम्पले बालुवा र पानी एकै साथ तानेपछि पंम्प जलेको खानेपानीको उपभोक्ता समितिले जनाएको छ ।
पंम्प जलेपछि कुम्मायक गाउँपालिकाको चार वडाका करिब २२ सय घरधुरी प्रभावित बनेका छन । ११ मिटर गहिरो इनारमा पानीको सतह डेढमिटर मात्रै भएपछि पंम्पमा क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौलाले बताए ।
तत्काल समस्या समाधानको लागि पंम्प खरिद र छुट्टै इनार निर्माण गर्न संघीय खानेपानी ढल व्यवस्थापन आयोजना इलाम समक्ष माग गर्दापनि माग सुनुवाइ नभएको निरौलाको भनाइ छ ।
उपभोक्ता समितिसँग आन्तरिक श्रोत नभएकाले पंम्प खरिदको लागि राज्यको दोस्रो गौरवको यो आयोजनाको समस्या प्रति उत्तरदायी बन्न संघीय खानेपानी कार्यालय इलामको भर मात्र नभएर बर्तमान सरकारको दायित्व समेत भएको समितिका महासचिव जकेन्द्र लावतीले बताए । यो खानेपानी आयोजना सञ्चालनमा आर्थिक चुनौती हुदाहुदै यसपटक २५ लाख मुल्यको हाराहारीमा क्षति बेहोर्नु परेको पनि उनले भने ।
यता खानेपानीको तत्काल समस्या हल गर्न कुम्मायक गाउँपालिका र उपभोक्ता समितिले स्थलगत अनुगमन गरी इनार भित्रको बालुवा हटाउने र नदिको वहाब सतहलाई इनार तर्फ फर्काउने काम भइरहेको गाउँपालिकाका प्रवक्ता देबेन्द्रकुमार लावतीले बताए ।
खानेपानीमा देखिएको समस्या हल गर्न एक साता भन्दा बढि समय लाग्ने भएपछि फेरि पुरानै घाउ बल्झेर नागरिक काकाकुल बनेका छन । यतिबेला डिपबोरिङ्को आयोजनाले खानेपानीको समस्या धान्ने अवस्था छैन नागरिकले टङ्किका टङकि पानी किन्न थालेका छन भने एक गाग्री खानेपानी ल्याउन घण्टौ समय खर्चेर कुवा धाउन थालेका स्थानीय कर्ण सम्बाहाम्फे बताउछन ।
उक्त समस्यालाई तत्काल हल गर्न गाउँपालिका अध्यक्ष बमप्रसाद लावति उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती, वडा नम्बर ४ का वडाअध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फे, वडा नम्बर ५ का वडाअध्यक्ष निर्मलराज घिमिरे र इलाका प्रहरी कार्यालय यासोकका बरिष्ट सई सन्तोष गौतम लगायतको टोलिले पटकपटक स्थलगत अनुगमन गरिरहेका छन ।