फेरि निगाले डेरि बन्द हुने, किसानहरु भन्छन स्थानीय सरकार ढोडको तोक्मा मात्रै - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फेरि निगाले डेरि बन्द हुने, किसानहरु भन्छन स्थानीय सरकार ढोडको तोक्मा मात्रै

  • पदम सुखि सम्बाहाम्फे

फागुन २०, कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ निगालेमा संचालित डेरी फेरि बन्द हुने भएको छ ।

सङ्कलित दुध बाट बनेका छुर्पि पनिर र घ्यूले महिनौंसम्म बजार नपाएर सामग्री थन्किएपछि डेरि बन्द गर्नुपर्ने अवस्था आएको डेरि उद्योग संचालक दिपेन्द्र भण्डारीले बताएका छन ।

बिगत केहि महिना अगाडि पनि डेरिमा उत्पादन भएको बस्तु बिक्री हुन नसक्दा डेरि बन्द भएको थियो र एकमहिना पछि पुनः सन्चालनमा आएको थियो ।

दुई सय लिटर गाई र भैसिको दुध विभिन्न टोल र क्षेत्रका आहाले, लोरिपा, सङमासे र रानिगाउँका किसानहरुबाट सङकलित हुने दुधले उक्त डेरि दुइ बर्ष देखि सन्चालनमा रहेको थियो । डेरि बन्द हुने भएपछि ओलन बेचेर घरको गर्जो टार्ने अधिकाङ्स किसानहरु मारमा पर्ने निश्चित छ । करिब ९३ रुपैयाँँ लिटर बराबर मुल्यमा दैनिक ८ देखि १० लिटर दुध बेचेर छोराछोरीको स्कुल खर्च तथा घर खर्च टार्न समस्या हुने तारा भण्डारी बताउँछिन ।

घरमा आम्दानीको श्रोत ओलन भएको तर बिक्रीका लागि उचित बजार व्यवस्थापन नपाएर घाटा बेहोर्नु पर्दाको पिडा स्थानीय सरकारले नबुझ्ने रैछ भन्दै अर्का किसान डुगेन्द्र चेम्जोङ दुखित बनेका छन । घरको भंैसी थाकेपनि परिश्रम गरेर नियमित दुध बेच्न अर्को दुहुना गाई किनि ल्याए, तर फेरि डेरि बन्द हुने कुराले मासिक १५ हजार रुपैयाँ भन्दा बढीको आम्दानी गुम्ने भो भन्दै स्थानीय सङमासे टोलका किसान रामकुमारी सम्बाहाम्फे चिन्तित छन ।

यसैगरी पेसागत रूपमा आहाले तथा विभिन्न स्थानबाट संकलन गरि दैनिक २० देखि २५ लिटर सम्म डेरीमा ल्याई पुर्याउने जोशिला उध्यमशिल युवा व्यवसायी टठ बहादुर कार्कीको पनि रोजिरोटी बन्द हुने अवस्थामा छ । कार्की भन्छन्, ‘मैले जति सङ्कलन गरेको ओलन छ त्यो ओलन डेरिले नलिए मलाई थाहा छ संबंधित निकायमा दैनिक त्यहि लगेर खन्याइ दिन्छु ।’

कुम्मायक गाउँपालिकामा संचालित अधिकाङ्स डेरिहरु हाल बन्द अवस्थामा छन । यसमा स्थानिय सरकार मौन देखिन्छ । प्रदेश र केन्द्र सरकार भने सत्ता लुछाचुडिमै ब्यस्त छ । किसानलाई उचित समयमा बिउ तथा मल र उत्पादन भएका बस्तुको बजार व्यवस्थापन छैन । कलकारखाना खोलेर युवा स्वरोजगार प्रति चित्तबुझ्दो कुनै अवधारणा छैन । अनि समृद्ध नेपाल बनाउने मिथ्या भाषण मात्रै गर्छन् । किसानहरु भन्छन ग्रामीण स्तरका किसानले उत्पादन गरेका बस्तुहरुको लागि उचित बजार व्यवस्थापन गरि निर्यात गर्न सघाउ पुर्याउनु नसक्ने स्थानिय सरकार ढोडको तोक्मा मात्रै हो ।

सम्बन्धित खवर