इलाममा आदिवासी लिम्बू सांस्कृतिक महोत्सव हुने - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा आदिवासी लिम्बू सांस्कृतिक महोत्सव हुने

फागुन २२, इलाम । किरात याक्थुङ चुम्लुङको आयोजनामा इलाममा आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सव हुने भएको छ ।

इलाम सदरमुकाममा सोमबार पत्रकार सम्मेलन गरी किरात याक्थुङ चुम्लुङले महोत्सव र राष्ट्रिय चुम्लुङको तयारी पूरा भएको जनाएको छ ।

आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाममा यही फागुन २४ र २५ गते महोत्सव तथा २५औं राष्ट्रिय चुम्लुङ आयोजना गरिने भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

चुम्लुङ महासचिव निरन्ती तुम्बापोले चुम्लुङ संघीय कार्य समिति तथा आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजना र चुम्लुङ इलाम कार्य समितिको व्यवस्थापनमा कार्यक्रम गरिने जानकारी दिइन् ।

उद्घाटनको दिन इलामस्थित नारी विकास संघको कार्यालयको प्रांगणबाट सुरु हुने सांस्कृतिक झाँकीसहितको प्रदर्शन इलाम चोक बजार पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।

‘२५ गते साँझ चाहिँ सबै सहभागीलाई तरेचा (सांस्कृतिक परिकार)मा सहभागी गराइनेछ,’ उनले भनिन्, ‘महोत्सवमा हजारौंको संख्यामा सहभागी इलाम आउनेछन् ।’

राष्ट्रिय चुम्लुङमा विविध विषयमा छलफल हुनेछ । पूर्वका नौ, उपत्यकाका तीन र चितवन गरी १३ जिल्लाका सहभागी महोत्सवमा आउने इलामस्थित चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले बताइन् ।

लिम्बुवान प्रदेश कार्य समिति र नेवा–ताम्सालिङ प्रदेश कार्य समिति, थप छ विषयगत संगठनका प्रतिनिधि, विदेशस्थित चुम्लुङका प्रतिनिधि, सम्बन्धनप्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधि, व्यवस्थापक जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य र अन्य गरी करिब दुई सय ३० जना छलफलमा सहभागी हुने आयोजकको अनुमान छ ।

‘त्यस अवसरमा करिब दुई सय च्याबु्रङ नृत्य (केलाङ)सहित सांस्कृतिक कला प्रस्तुत गरिने छ,’ महासचिव तुम्बापोले भनिन्, ‘सहभागीले तागा (पुरुषले लाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शन गर्नेछन् ।’ महोत्सव अवसरमा मालाङ (धाननाच) पनि प्रस्तुत गरिनेछ ।

‘कोशी प्रदेश नाम खारेज गर्दै लिम्बुवान, किरात नामकरणको अवस्था र भावी रणनीतिका बारेमा पनि छलफल हुनेछ,’ चुम्लुङ संघीय उपाध्यक्ष कमल तिगेलाले भने, ‘सांगठानिक तथा प्रगति र आर्थिक प्रतिवेदन पारित गर्दै एकवर्षे नीति–कार्यक्रम तय गरिनेछ ।’

यसका साथै मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसान हिम अवधारणा, याक्थुङ÷लिम्बू भाषा विकासको योजना बनाइने उनले जनाए । इलाममा विजयबहादुर लिम्बूलगायतका सहिदको लिम्बुवानका लागि बलिदानको चर्चा र लिम्बू याक्थुङ भाषा अभियन्ता आसाहाङ मादेनको योगदानको चर्चा पनि गरिने उनको भनाइ छ ।

इलाममा २०४६ साल १७ मा चुम्लुङ गठन भएको हो । चुम्लुङले आदिवासी याक्थुङ÷लिम्बू समुदायको सांस्कृतिक, भाषिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रमा लामो समयदेखि काम गरिरहेको चुम्लुङका जिल्ला सचिव राम योङहाङले बताए ।

 

सम्बन्धित खवर