प्राकृतिक खानामा क्रान्ति गर्नुपर्छ : मास्टर सेफ शर्मा - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्राकृतिक खानामा क्रान्ति गर्नुपर्छ : मास्टर सेफ शर्मा

फागुन ३०, दमक । ‘भान्सा नबिग्रेसम्म शरीर बिग्रन्न । शरीर बिग्रिएपछि अनेक रोग लाग्छ’, बुधबार दमक नगरपालिकाको सभाहलमा रैथाने खाना र आयुर्वेदा खाना पद्धति बारे विचार राख्दै मास्टर सेफ साइकुमार शर्माले भने ।

दमकमा पहिलो पटक ‘भान्सा तथा खान्की सुधार अभियान’ को बारेमा आयोजित छलफलमा बोल्दै सेफकलामा पिएचडी गरेका शर्माले दमकबाटै प्राकृतिक खानामा फर्कनेगरि क्रान्ति हुन जरुरी भएको जिकिर गरे । उनले नेपाली समाजमा भान्सा सुधार आवश्यक रहेको भन्दै एक समय भात खाने हो भने एक समय गहुँ, फापर, कोदोको रोटी खाने बानी बसाल्दा पनि स्वास्थ्यमा धेरै सुधार हुने धरणा राखे । ‘खानामा सुधार र परिवर्तन ल्याउन बेला बेला समाजलाई झक्झक्याउनु पर्छ । त्यसले मात्रै परिवर्तन ल्याउँछ’, शर्माले भने ।

‘अजिनोमोटो र रासायनिक रङ प्रतिवन्ध गर्न अनुरोध छ । फलफुलबाट पनि रङ बनाइन्छ, त्यसलाई प्रयोग गर्न सकिन्छ’, भारत सरकारले भारत भूषण राष्ट्रिय सम्मान र भारत गौरव सम्मानबाट विभूषित शर्मा दमकका निवासी पनि हुन् ।

दमक अरनिको सामुदायिक प्रतिष्ठानको आयोजनामा अभियानबारे गरिएको छलफलमा आयुर्वेदा खानाको लागि कोशिस गरिनुपर्नेमा जोड दिइएको थियो ।

खानपानमा सुधार गरे मात्रै स्वस्थ जीवन सम्भव : उपप्रमुख भट्टराई

यसैबीच दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले दैनिक खानपानमा सुधार गरे मात्रै हरेक नागरिकको जीवन स्वस्थ हुने बताएकी छन् ।

‘भान्सा तथा खान्की सुधार अभियान’ मा दमक नगरपालिकाको पूणर् सहयोग हुने भन्दै उपप्रमुख भट्टराईले दैनिक जसो मृगौला पीडित, मुटु रोगी, क्यान्सरका बिरामीको उपचारका लागि सिफारिस गर्नुपर्ने अवस्था रहेको भन्दै मानव स्वास्थ्यमा बढेको लापर्बाही रोक्किनु पर्नेमा जोड दिइन् ।

‘हामीले भान्सामा सुधार गर्ने र जीवन शैलीमा सामान्य सुधार गरेर शारीरिक व्यायममा ध्यान दिने हो भने पनि रोगको शिकार हुनु पर्दैन’, उनले भनिन् ।

रोग लागेर त्यसको निधानमा ध्यान दिनु भन्दा रोग लाग्न नदिने गरी सावधानी अपनाउनुमा बुद्धिमता हुने भन्दै भट्टराईले भनिन् –‘भान्सामा सुधार गर्ने, स्वास्थ्यमा सुधार गर्ने कार्यमा दमक नगरपालिका सबै क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ । सबैको सहयोगमा यस्ता अभियानहरु सार्थक बनाइनु पर्दछ ।’

प्रतिष्ठानका अध्यक्ष तारावीर थापाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै होटल व्यवसायी महासङ्घ प्रदेश १ अध्यक्ष राजन दंगालले आफूहरु भान्सामा सुधार गर्ने सवालमा र रैथाने जातिका खान्कीहरुलाई प्रवद्र्धन गर्ने सवालमा सदैव सकारात्मक रहेको भन्दै अभियानमा सहयोग गर्न तयार रहेको बताएका थिए ।

प्रतिष्ठानका सचिव विष्णु पोखरेलले अभियानअन्तर्गत रैथाने परिकार र आयुर्वेदा खाध्य परम्पराको प्रवद्र्धनका लागि यस किसिमका छलफलहरुलाई निरन्तरता दिइने प्रतवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा होटल व्यवसायमा आबद्ध व्यवसायीहरु, सञ्चारकर्मी र दमक नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर