माङसेबुङमा माङसेवासाबा पान्जुम्भोको २६ औ स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा माङसेवासाबा पान्जुम्भोको २६ औ स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न

चैत ६, माङसेबुङ। किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २६ औ वार्षिक स्थापना दिवस तथा चोमेन सेवासँगै सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ ५ स्थित पान्जुम्भोको भवनमा सोमबार आयोजित स्थापना दिवसमा किरात धर्ममा योगदान पु¥याउने तीन जना अग्रज माङसेवासाबाहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।

यसरी सम्मानित हुनेमा माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको पूर्व सचिव माङसेबुङ ५, इलाम निवासी हरिकुमार आङबुहाङ, माङसेबुङ ३, इलाम निवासी पान्जुम्भोका पूर्व केन्द्रीय सदस्य भक्तबहादुर साँबा र माङसेबुङ ३, इलामका धननारायण मादेन लिम्बू रहेका छन् ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि तुम माङसेवासाबा मनप्रसाद थलङ तेजबहादुर, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय कोषाध्यक्ष हिमाल बेघा रहनुभएको थियो ।

कार्यक्रममा अतिथिहरु गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिका उपाध्यक्ष अशोककुमार सबेन्हाङ, गुरु निजी आश्रम कृषि समितिका सचिव उदयविक्रम तुम्बापो, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, गुरु निजी आश्रम सिद्ध जनशक्ति व्यवस्थापन प्रा. लि. का अध्यक्ष बुद्धिमान नुगो, साङदाङगेन वरुमसाबा चन्द्रा सेन्दाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वि. स. २०५५ सालमा स्थापना भएको माङसेवासाबा मुजोत्लुङ पान्जुम्भो स्थापना दिवसको अवसरमा विगतका वर्ष झैं २६ औ स्थापना दिवसको अवसरमा पान्जुम्भोको आर्थिक प्रगति प्रतिवेदन समेत कोषाध्यक्ष प्रकाश सावादेनले प्रस्तुत गरेको थियो । भने कार्यक्रममा माङसेवासाबाहरुले विभिन्न माङसिवाखाहुन (भजन) पनि सुनाएका थिए ।

स्थापना दिवस तथा वार्षिक चोमेन सेवा अन्तर्गत चैत ३ गते शनिबार मेक्वा खोलामा साक्मुरा वदेम्मा र आइतबार चैत ४ गते विश्व शान्ति तथा मानव एकताको निम्ति किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको पान्जुम्भोका सचिव सञ्चहाङ सङबाङफेले बताएका छन् ।

२६ औं स्थापना दिवस कार्यक्रम किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कार्यवाहक अध्यक्ष बौद्धमान केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पान्जुम्भोका सल्लाहकार इन्द्रहाङ आङदेम्बेले स्वागत तथा औचित्य मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम ललितचन्द्र फियाकले सञ्चालन गरेको थियो ।

सम्बन्धित खवर