किरात धर्म सम्बन्धि गलत प्रचारप्रसारको खण्डन गर्दै, किरात धार्मिक संस्थाद्धारा प्रेस विज्ञप्ति सार्वजनिक - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्म सम्बन्धि गलत प्रचारप्रसारको खण्डन गर्दै, किरात धार्मिक संस्थाद्धारा प्रेस विज्ञप्ति सार्वजनिक

चैत १५, इलाम । किरात धार्मिक संस्थाहरुले पछिल्लो समय किरात धर्म सम्बन्धि गलत प्रचारप्रसार भइरहेको विषयमा विहिबार प्रेस सम्मेलन आयोजना गरेको छ ।

किरात धर्म सत्यहाङमा सेवा संघ केन्द्रीय कार्यालय इलामले गत चैत १० गते दमकमा पत्रकार सम्मेलन गरी किरात धर्म सम्बन्धि गलत प्रचारप्रसार गरेको प्रेस विज्ञप्तिको खण्डन गर्दै किरात धार्मिक संस्थाद्धय किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त रुपमा प्रेस सम्मेलन आयोजना गरेको हो ।

किरात धर्म सत्यहाङमा सेवा संघले विज्ञप्ति जारी गर्दै राष्ट्रिय विभूति महागुरुसँग सम्बन्धित आधिकारिक संस्था आफूहरुसँग मात्र रहेको भन्ने प्रचार गरेसँगै किरात धार्मिक संस्थाहरुले पनि आधिकारिक रुपमा सत्य तथ्य विषय सार्वजनिक गर्नु परेको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ र किरात धर्म तथा साहित्य उत्थान संघका का. वा. अध्यक्ष प्रेमकुमार सिप्तुङखाको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा लेखिएको छ ‘विश्व शान्ति तथा मानव एकता र सकल मानव प्राणी लगायत चराचर सृष्टि जगतकै रक्षार्थ यस धर्ति लोकमा जन्मावतरण हुनु भएका किरात धर्म दर्शनका महागुरु फाल्गुनन्द लिङदेनज्यूको वि.स.२००५ सालमा देहावसान भएपछि उहाँकै उत्तराधिकारीको रुपमा पुनः अवतार भई किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेईङज्यू कर्मयोगमा वि.स.२०११ साल मंसिर १८ गते शुक्रबारको दिन जन्म अवतरण हुनुभएको हो । यहीँ तथ्यलाई पुष्टि गर्न किरात धर्मगुरु निरन्तर महागुरुकै धर्मदर्शनलाई अंगिकार गरी अगाडि बढाउने क्रममा वि.स.२०२७ सालमा इलामको माङसेबुङ गाउँपालिका वडा नं.३ स्थित फुलुङगी गुफाडाँडामा ६ महिना कठोर गुफा साधना गरी अष्टसिद्धि ज्ञान प्राप्त गर्नु भई इलाम जिल्लाको माङसेबुङ गाउँपालिका वडा नं.५, लारुम्बालाई कर्म क्षेत्र बनाई आफ्नो कर्म गरिरहनु भएको छ ।’

सो विज्ञप्तिमा किरात धर्म सत्यहाङमा सेवा संघका अध्यक्ष ज्ञानबहादुर लावती (ज्ञानोदय)को गतिविधि बारेमा पनि सार्वजनिक गरिएको छ । विज्ञप्तिमा लेखिएको छ ‘वि.स.२०४५ सालमा इलाम, झापा र मोरङ जिल्ला मिलाई झापा जिल्ला शाखा विस्तार गर्नेक्रममा उक्त समितिको अध्यक्ष श्री चन्द्रप्रसाद योङयाज्यूको नेतृत्वमा गठित समितिमा ज्ञानबहादुर लावती (ज्ञानोदय) स्वंयम् जिल्ला सचिव पदमा रहनुभएको थियो । यसरी किरात धर्मगुरुसँग दर्शन भेट गर्ने क्रम निरन्तर रहँदै आउँदा उनै ज्ञानोदयले गुरु पनि मान्ने तर पवित्र गुरु वचन नमान्ने जस्तो चरित्र चित्रण हुँदै आएको केहीँ घटना परिघटनाहरुले प्रष्ट्याउँछ । यसरी गुरुको शिष्य भएपछि गुरु वचन, वाणी नसुन्नु र नमान्नु भनेको धार्मिक दृष्टिकोणमा असल शिष्य मानिन्दैन । यसैक्रममा वहाँले मिति २०५२ सालको किरात धर्म तथा साहित्य उत्थान संघको तेस्रो केन्द्रीय सम्मेलनमा अभद्र अशिष्ट शैलीमा मौखिक रुपमा भिन्न मत राख्दै गुरु वचन र वाणीलाई अन्यथा सोचि छुट्टै धर्म बनाउने महत्वकांक्षाका साथ विद्रोह गरेर हिडेका हुन् ।’

यसैगरी संयुक्त विज्ञप्तिमा लेखिएको छ ‘इलामको चुलाचुली हात्तिलेदामा छुट्टै माङहिम बनाई आफ्नै डिजाइनमा गुरु खोज्ने र राख्ने क्रम सुरु भएको हो । यसरी गुरु खोजेर राख्ने क्रममा ज्योतिनन्द, विद्यानन्दहुँदै फुङलिङज्योतिदेखि प्रभुदासी हुँदै ओमनन्दसम्म र मिनु कैलाशदेखि देउबहादुर तुम्बापोसम्मलाई गुरु बनाउने र हटाउने कार्य गरेको देखिन्छ । साथै केहीँ गुरुको घोरअपमान समेत गरेको विभिन्न घटना परिघटनाले पुष्टि हुन्छ ।’

मुलुकको राष्ट्र प्रमुखहरु सबै किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूहरुको कर्मथलो धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा आयोजित विभिन्न कार्यक्रमहरुमा आउनु भई राष्ट्र प्रमुखहरुले धर्मगुरुको रुपमा मानी पूजी ल्याएको गुरु किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङनै महागुरु फाल्गुनन्द लिङदेनज्यूको उत्तराधिकारी र पुनः अवतार हुनु भएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘महागुरु फाल्गुनन्द लिङदेनको वंशवृक्षलाई हेर्दा महागुरु फाल्गुनन्दकै जेठा दाजु लाजहर्क लिङदेनको छोरा टेकबहादुर लिङदेन, टेकबहादुर लिङदेनको छोरा पुण्यप्रसाद लिङदेन, पुण्यप्रसाद लिङदेनको छोरा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू हुनु भएकोले महागुरुको आफ्नै पनाति पुस्तामा रहनु भएको हुँदा महागुरुको नजिकको हकवाला समेत कानुनी रुपमा पुष्टि हुन आउँछ ।’

सम्बन्धित खवर