पहिचान पक्षधर साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बूलाई किन मत दिने ? चुनावी घोषणा पत्रमा के छ ? - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिचान पक्षधर साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बूलाई किन मत दिने ? चुनावी घोषणा पत्रमा के छ ?

बैशाक ९, इलाम । इलाम क्षेत्र नं २ का लागि पहिचान पक्षधर साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले पहिचान र अधिकारको मुद्दा अगाडि सारेका छन् । यही वैशाख १५ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार डकेन्द्रसिंहले पहिचान, संघीयता सहित दीगो विकासको मुद्दा अगाडि सारेका हुन् ।

उनले संघीयता, पहिचान, समान अधिकार, शान्ति र दीगो विकासलाई मूल नारा बनाएर चुनावी घोषणा पत्र बनाएका छन् । हाम्रो सोच बदलौं, सोचसँगै मत बदलौं अनि साझा स्वतन्त्र उम्मेदवारलाई जिताऔं र हाम्रो अवस्था बदलौं भन्ने चुनावी घोषणा पत्रमार्फत मतदातालाई अपिल समेत गरेको छ । इलाम– २ वासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभूति आत्मसात गरेर आफ्नो चुनावी घोषणा पत्र बनाएको उनले बताएका छन् ।

अपिलमा भनिएको छ, ‘२०७९ फागुन १७ यता पूर्वी नेपालमा प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको नेतृत्वमा पहिचान र अधिकारको सडक आन्दोलन जारी छ । गणतन्त्र नेपालको प्रदेश १ प्राचिन तथा ऐतिहासिक सभ्यता बहुराष्ट्रिय, बहुभाषिक, बहुसांस्कृतिक पहिचान भएको जागरूक आदिवासी बाहुल्य प्रदेश हो । नेपालको संविधान २०७२ को प्रस्तावना र धारा ३ ले पनि मुलुकलाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक भनी स्वीकार गरेकै छ । सो बमोजिम ऐतिहासिक पृष्ठभूमि, प्राचीन सभ्यता र बहु पहिचानका आधारमा प्रदेशको नामकरणको माग प्रदेश नं. १ का प्रगतिशील जनताको जन्मसिद्ध लोकतान्त्रिक एवम् सार्वभौम नागरिक हक हो ।’

अपिल पत्रमा थप भनिएको छ, ‘आदिवासी तथा प्रगतिशील जनको हकमाथि धावा बोल्दै सदाकांक्षालाई तुषारापात गर्दै मौजुदा दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सभाको कथित बहुमतका नाममा त्यस भूगोलको सभ्यता, जनताको चाहना र ऐतिहासिक पहिचान र अस्तित्व नामेट पार्ने औपनिवेशिक षडयन्त्र स्वरूप डकैती शैलीमा एकल नश्लीय (शासक जातीय र बर्गको गोत्रीय) पहिचानको कोशी नाम रातारात थोपरे । लोकतान्त्रिक प्रचलन कार्यविधिको सामान्य परिपक्वताको समय र प्रक्रिया समेतलाई ठाडै उंल्लङ्घन गर्दै बलजफती रूपमा कसैले नमागेको कोशी नाम थोपारेपछि प्रदेश नं. १ आन्दोलित बन्न बाध्य भएको जगजाहेर छ ।’

१ नं. प्रदेश नाम कोशी खारेज तथा बहुपहिचानमा आधारित प्रदेश नं. १ पुनः नामकरण आन्दोलनको मुद्दालाई स्वतन्त्र एवम् ब्यवस्थित ढंगले संघीय प्रतिनिधिसभामा स्थापित गर्नका लागि संसद्मा पहिचान र अधिकार सम्बन्धी निजी विधेयक दर्ताद्वारा सदन र सडक आन्दोलनलाई जोड्ने प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको साझा स्वतन्त्र उम्मेद्वारको रुपमा इलाम २ को उप निर्वाचनमा उत्रेका डकेन्द्रसिंह लिम्बूले आफ्ना साझा उद्देश्य तथा कार्य योजनामा समावेश गरेका छन् ।

यसरीनै प्रदेश नं. १ पुन नामाङ्कन आन्दोलनलाई घनीभूत तुल्याउँदे प्रदेश १ को जस्तै माग मुद्दा भएका देशब्यापी उत्पीडित जनसमुदायको पहिचान र अधिकार आन्दोलन निर्माणमा एकीकृत सन्देश दिने र संविधानमा प्रत्याभूत गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेसी लोकतन्त्र लगायतका उपलब्धिको रक्षामा खरो उत्रँदै त्यसका कमजोरी सच्याउने जमर्कोद्वारा साँचो अर्थमा वर्गीय, जातीय लैङ्गिक विभेद अन्त्यको आवाजलाई बुलन्द पार्ने अपिल पत्रमा लेखिएको छ ।

बहुराष्ट्रिय पहिचान विरोधीहरु देश बिसण्डनखरी हुन भन्ने तथ्य स्थापित गर्न भ्रष्टाचारी, घुसखोरी तत्वको भण्डाफोर गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको ढोका खोल्न के कसो गर्नु पर्ने हो सो सम्बन्धमा राष्ट्रिय बहस आन्दोलन उठाउने भन्दै अपिलमा लेखिएको छ, ‘संविधान प्रदत्त नागरिकका हक अधिकार बहाल गराउन र न्यायोचित बजेट विनियोजन, छिटो छरितो प्रशासन तथा निर्माण सेवा बजार ब्यवस्थाका निमित्त जुझारू पहल बढाउने र थातथलो खुलेका विभिन्न आदिबासीहरुको स्वायत क्षेत्र, संरक्षित क्षेत्र, विशेष संरक्षित क्षेत्र निर्माण र सबै नागरिकको समान प्रतिनिधित्वको पक्षमा भूमिका निर्वाह गर्ने छु ।’

सिल्पी/दलित, महिला लगायतका उत्पीडितहरुको पक्षमा आवाज बुलन्द पार्दै आम नागरिकहरूको पक्षमा काम गर्दै समग्र इलाम जिल्ला क्षेत्र नं. २ आम जनताको माग र चाहना बमोजिमका भौतिक विकास निमार्णका कामहरु इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरेका छन् ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गत २०७१ फागुन १७ देखि उपनिवेशलाई निरन्तरता दिने प्रदेशको नाम ’कोशी’ खारेजी र पुनः नामाङकनको लागि निरन्तर आन्दोलनरत रहेको भन्दै, उपनिवेशकारी देशीविदेशी शक्तिहरुद्वारा पहिचान र अधिकार विरुद्ध भइरहेको षडयन्त्रमूलक योजनालाई चिर्दे २०८१ वैशाख १५ गते हुने इलाम २ को संघीय प्रतिनिधिसभा सदस्य उप निर्वाचनलाई आन्दोलनकै रुपमा लिएर डकेन्द्र सिंह लिम्बु (थेगिम) लाई साझा स्वतन्त्र उम्मेदवार बनाइएको संयुक्त संघर्ष समितिले जनाएको छ ।

प्रतिबद्धता/घोषणापत्र

१. प्रदेशको नाम ’कोशी’ खारेज गरी सभ्यता र ऐतिहासिक बहुपहिचानको आधारमा पुनःनामाङकन र जनसमुदाय अधिकार सम्पन्न नभएसम्म अहिले चलिरहेको आन्दोलनलाई जारी राखिने छ ।

२. वर्तमान सत्तासीन शासकहरुबाट देशमा भइरहेको भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावाद विभेद असमानता, अन्याय र अनियमिततालाई अन्त्य गरी सुशासन कायम गर्न स्थानीय तहदेखि संघीय तहसम्म निरन्तर संघर्ष गर्दै समावेशीकरण, धर्म निरपेक्षता, पहिचानमा आधारित संघीयता, साँचो अर्थको लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन हाम्रो आन्दोलन जारी राखिने छ ।

३. प्रदेश नं. १ लगायत देश भर चलिरहेको पहिचान, उत्पीडन, अन्यायको पक्षका आन्दोलनको मुद्दा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संघीय संसद्मा व्यवस्थित र सशक्त रुपमा आवाज उठान गरिनेछ ।

४. प्रदेश नं. १ को माटो, इतिहास र सभ्यता किरात साथै खम्बुवान, लिम्बुवान, शेर्पालुङ लगायतका पहिचानहरूको पक्षधर उम्मेदवार हुनुको नाताले यहाँका रैथाने आदिवासी, मूलवासीहरु जस्तै कोचिला, धिमाल, लेप्चा, लगायत पहिचानहरुको स्वायत्तता, स्वाशासन र शिल्पी दलित, उत्पीडित खस आर्य, दशनामी लगायतका सबै समुदाय, महिला, फरक क्षमताभएका, जेष्ठ नागरीक, वालवालिका आदिको समान साझेदारी र सहअस्तित्वको सम्मान, संरक्षण र स्थापनाका लागि प्रतिवद्ध भई कार्य गर्न क्रियाशील रहने ।

५. यस क्षेत्रमा साँचो अर्थको विकास गर्न सहअस्तित्व र भातृत्वलाई बलियो बनाउँदै जनसमुदायबाट जनसमुदायकै लागि भन्ने सामुदायिक विकास मोडलका आधारमा शिक्षा, स्वास्थ्य, सञ्चार, बाटो घाटो, पानी सिंचाइ, विकास निर्माण, मानव विकास, प्रविधि प्रयोग लगायतका कामलाई तेज गरिने छ ।

६. इलामको भौतिक विकासका लागि दक्षिण पश्चिम चतुरे–गजुरमुखी एकतप्पा–धुसेनी–मंगलबारे–इलाम सदरमुकाम बाटो विकास, दमक–चिसापानी –रबि फाल्गुनन्द मार्गको पूर्णता, रवि–राँके गैंडे क्षेत्रीय रणनीतिक सडक विकास, गजुरमुखी–एकातप्पा फलाँटे–राँके बाटो विकास, गजुरमुखी–लुम्दे पुष्ठार–फुएतप्पा–आमचोक–उत्तरे हुँदै मेची राजमार्ग जोड्ने सडक विकास, दानाबारी–इलाम सदरमुकाम, दानावारी–मंगलबारे, माङ्सेबुङ–जीतपुर– सिद्धिथुम्का–इलाम सदरमुकाम बाटो विकास, चुलाचुली क्षेत्रको सडक स्तरोन्नती लगायत विभिन्न विकासका विभिन्न पक्षहरु शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, जलविद्युत, तटबन्ध, बसोबासको उचित व्यवस्थापन, कृषि उत्पादन तथा प्रवद्र्धन, विकास र युवा रोजगारी सृजनाका कार्यक्रम लगायत इलामको समग्र विकास, शान्ति समृद्धिको लागि इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने ।

सम्बन्धित खवर