प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले दिए इलामेली मतदातालाई धन्यवाद - Mangsebung News
  • मङ्गलबार, माघ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले दिए इलामेली मतदातालाई धन्यवाद

बैशाक १९, इलाम । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूलाई मतदान गर्ने इलामेली मतदातालाई धन्यवाद दिएका छन् ।

संयुक्त संघर्ष समितिले बुधबार इलाममा पत्रकार सम्मेलनको अचयोजना गरी विज्ञप्ति जारी गर्दै मतदातालाई बधाई सहित धन्यवाद दिएका हुन् ।

इलाम २ मा वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भएका थिए ।

किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, पहिचानसहितको १ नम्बर प्रदेश पुनः नामांकन अभियान समिति, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा एसनिकट लिम्बू संघ समाजवादीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत पहिचान पक्षधरले इलाम २ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन ।

विज्ञप्तिमा भनिएको छ, ‘पहिचानका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुको चुनाव चिन्ह मुढामा अपार माया र समर्थनका साथ अमूल्य मत दिएर शासकीय एकल गोत्रीय ‘कोशी’ नामाङ्कन जनताले वहिष्कार गरेको पुष्टि गर्दै संसदीय लोकतन्त्रमा पहिचानको राजनीतिको सुनौलो दिशातर्फ अगाडि बढ्ने अभिमत व्यक्त गर्नु भएकोमा इलाम २ का सम्पूर्ण सचेत वालिग मतदाताहरूमा हार्दिक बधाई सहित धन्यवाद ज्ञापन गर्दछौँ ।’

‘हामीले प्राप्त गरेको जनमतले पहिचान र अधिकार प्राप्तिको आन्दोलनलाई सामूहिक राजनीतिक पुँजीमा रूपान्तरण गर्न गराउन उत्प्रेरित गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको विज्ञप्ति

आदरणीय सचेत मतदाता दिदीबहिनी तथा दाजुभाइहरु,

जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा निर्वाचन प्रतिनिधि छनौटको एक विधि हो र आफ्नो मुद्दा सहित जनतामाझ पुग्ने माध्यम हो ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा विगत १४ महिनादेखि शासकीय एकल गोत्रीय ‘कोशी’ नाम खारेज गरेर त्यस भूगोलको इतिहास, सभ्यता, संस्कृतिको आधारमा पहिचान सहितको पुनः नामाङ्कनको माग गर्दै आन्दोलन जारी छ ।
२०८१ वैशाख १५ गतेको इलाम २ को उपनिर्वाचनलाई उपयोग गर्ने नीति बमोजिम पहिचान, सङ्घीयता, समान अधिकार, शान्ति र दिगो विकासको नारा सहित पहिचान पक्षधर साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम लिम्बुलाई आन्दोलनको प्रतिनिधिको रूपमा सङ्घर्ष समितिको तर्फबाट उम्मेदवार बनाइएको स्पष्ट नै छ ।
पहिचानका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुको चुनाव चिन्ह मुढामा अपार माया र समर्थनका साथ अमूल्य मत दिएर शासकीय एकल गोत्रीय ‘कोशी’ नामाङ्कन जनताले वहिष्कार गरेको पुष्टि गर्दै संसदीय लोकतन्त्रमा पहिचानको राजनीतिको सुनौलो दिशातर्फ अगाडि बढ्ने अभिमत व्यक्त गर्नु भएकोमा इलाम २ का सम्पूर्ण सचेत वालिग मतदाताहरूमा हार्दिक बधाई सहित धन्यवाद ज्ञापन गर्दछौँ ।
यस उपनिर्वाचनमा दिलोज्यान लगाएर खट्नुहुने संयुक्त सङ्घर्ष समितिका घटक संस्थाका नेता/अभियन्ताहरू, स्वतन्त्र तथा संस्कृतिवादी पहिचानवादी राजनैतिक दलहरूको समर्थन एवम् ऐक्यवद्धता सहित साथ सहयोग गर्नु हुने बुद्धिजीवी, नागरिक समाज, पत्रकार, कलाकार, युवा, विद्यार्थी, किसान, मजदुर, इन्जिनियर, वकिल, उद्योगी/पेशा/व्यवसायी लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछौँ । साथै विदेश/प्रवासमा रहेर पनि साथ सहयोग गर्नु हुने सम्पूर्ण शुभेच्छुकहरू प्रति समेत कृतज्ञता ज्ञापन गर्दछौँ ।
जनताको जनलहर हुँदाहुँदै सत्ता–शक्ति–स्रोतलाई नियन्त्रण गरिरहेका पहिचान विरोधी दलहरूको षडयन्त्र स्वरूप जनताको पहिचानलाई विस्तेज पार्नका लागि स्वार्थ रूपी अघोषित सेटिङले जनअपेक्षित परिणाम हासिल गर्न नसकिएको आम रूपमा जगजाहेर छ । तथापि हामीले प्राप्त गरेको जनमतले पहिचान र अधिकार प्राप्तिको आन्दोलनलाई सामूहिक राजनीतिक पूँजीमा रूपान्तरण गर्न गराउन उत्प्रेरित गरेको छ । सहिद, घाइते, बन्दीहरूको सपना साकार पार्न पनि यस अभिमतले बल पुराएको छ । पहिचान विरोधीहरूको षडयन्त्र, सेटिङलाई निस्तेज पार्न पहिचान पक्षधर शक्तिहरू थप सशक्त, सङ्गठित र एकताबद्ध भएर पहिचानको राजनीतिको बाटो तय गर्न गराउन इलाम २ को उपनिर्वाचनमा प्राप्त जनमतले स्पष्ट राजनीतिक सन्देश दिएको छ । तसर्थ सामाजिक–राजनीतिक सामूहिक मोर्चा मार्फत परिणाममुखी पहिचानको राजनीतिका लागि सम्पूर्ण पहिचान प्रेमीहरूमा हार्दिक अपिल गर्दछौँ ।
जय पहिचान !
प्रदेश नम्बर १ पुनः नामाङकन संयुक्त संघर्ष समिति
मितिः २०८१ वैशाख १९ गते

सम्बन्धित खवर