एसइइको नतिजा कमजोर आउनुमा शिक्षक, विद्यार्थी, अभिभावक र सरकार को कति दोषी ? - Mangsebung News
  • मङ्गलबार, असार १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसइइको नतिजा कमजोर आउनुमा शिक्षक, विद्यार्थी, अभिभावक र सरकार को कति दोषी ?

  • आङबुहाङ अबोध अविरल

२०८० को एस इइको रिजल्ट आएपछि मैले काम गरिरहेको विद्यालयको नतिजालाई लिएर दर्जनौं प्रश्न सामना गर्नु परिरहेको छ । १० वर्षे शिक्षण जीवनमा सबैभन्दा बढी पेसागत सक्षमताको विषयमा अनेक प्रश्नहरु समेत उठाइएको छ । हुन त कक्षा १० म कुनै कक्षा पढाउन्न । त्यसभन्दा तलका कक्षाहरुमा पनि मेरो कुनै कक्षा पर्दैन । त्यसले यसमा विद्यालयको रिजल्टमा मेरो जवाफदेयिता कमै छ । तथापि, विद्यालयको सदस्य हुनुको नाताले यसमा मैले जवाफ दिनै पथ्र्यो ।

विद्यालयको नजिलाई लिएर स्टाफ स्तव्ध र नाजावाफ थियौं । किनकी, एस इइका निम्ति विद्यालयले राम्रै तयारी गरेको थियो । एक तिहाइ जति निकै राम्रा विद्यार्थी थिए । अनिवार्य कक्षाहरुमा पनि उपस्थित थिए । केही महिना कोचिङ कक्षा पनि लिएकै थिए । सबै कोर्ष पूरा भएको थियो । विद्यालयले प्रि बोर्ड टेस्ट पनि लिएको थियो । तर, १ जना बाहेक अन्य विद्यार्थीको १, २ र धेरैको २ विषयमा एन जी आयो ।

एसइइको नतिजाले सामुदायिक विद्यालयहरु न्तिजा ज्यादै कमजोर देखिएको छ । ताप्लेजुङ, तेह्रथुम, इलाम र तराईका केही विद्यालयले निल खाएका छन् । १ लाख २६ हजार ४ सय ७९ जनाले कक्षा दोह¥याउनु परेको छ । एस इइको नतिजा ध्वस्त हुनमा कुन पक्षको कति कमजोरी रह्यो ? यो लेखमा चर्चा गरेको छु ।

१. विद्यालय र शिक्षक

एसइइको नतिजा कमजोर आउनुमा पहिलो जवाफदेही विषय शिक्षक र विद्यालय हुन् । करिब ११ वर्ष विद्यालय नियमित आएको विद्यार्थीलाई पाठ्यक्रमले निर्धारण गरेको तहगत सक्षमताहरु विकास गर्ने कार्य विद्यालय र शिक्षकको हो । वर्षैभरि विद्यालय आएका विद्यार्थीसमेत आधारभूत अंक (डि) ग्रेड आउन नसक्नुमा शिक्षण विधि, विद्यार्थीको कमजोरी पत्ता लगाएर निदानात्मक शिक्षण नगर्नु शिककको कमजोरी हो । विद्यार्थीको सक्षमता हेरेर अतिरिक्त कक्षाको व्यवस्था नगर्नु, विद्यार्थीलाई पढाइमा प्रेरित गर्न नसक्नुको परिणाम हो ।

अर्कोतर्फ सामुदायिक विद्यालयका हामी शिक्षकमा जागिर पाकिहाल्छ भन्ने भावना छ । विद्यार्थीले अल्छी गरे, पत्याएन् भनेर हामी सबै बल र उपायहरु लगाउँदैनौं । विहान, बेलुका अतिरिक्त समयमा विद्यार्थीलाई अलि सहयोग गर्छु भन्ने भावना धेरै शिक्षकमा पाइन्न ।

शिक्षकमा हुने अर्को कमजोरी भनेको संचार र सहकार्य हो । अधिकांश शिक्षकहरुमा छलफल गर्ने, नयाँ कुरा सिक्ने बानी हुँदैन । म शिक्षक हुँ । म सबै जान्दछु भन्ने भावना हामी शिक्षकमध्ये अधिकांशमा छ । अर्कोतर्फ, कक्षामा गएर राम्ररी पढाउनु भन्ने प्रधानाध्यापकसँग जान्न के गर्छस् भन्ने शिक्षक बोर्डिङमा आफ्ना छोराछरीलाई राम्ररी पढाएन भनेर झगडा गरिरहेका हुन्छौं ।

विद्यार्थीहरुको अवस्था के छ ? कक्षा कसरी चलिरहेको छ ? कुन विषयमा कुन विद्यार्थीको अवस्था कस्तो छ ? कुन शिक्षकले कति समय र कस्तो विधिमा शिक्षण गरिरहेको छ भन्ने चासो विद्यालयको हुनु पर्दछ । एसइइ अघि गरिने तयारी एसइइको बेला परीक्षा केन्द्रसम्म विद्यार्थीलाई गरिने प्रयाप्त गाइडेन्सले रिजल्टमा राम्रो प्रभाव पार्न सक्छ । यसका साथै परीक्षाको सहज बातावरणका निम्ति परीक्षा केन्द्रसँग सहकार्य विद्यालयले गर्नु पर्छछ । जुन धेरैजसो विद्यालय र शैक्षिक प्रशासकले गर्दैनन् । विद्यालय र शिक्षकको सबैभन्दा ठूलो कमजोरी भनेको नतिजा कम आएकोमा आफ्नो कमजोरी नस्वीकार्ने र अन्य पक्षलाई दोष दिने हो । आफूबाट भएको कमजोरी स्वीकार गरेर पेशाप्रति इमान्दार प्रयास गर्नु विद्यालय र शिक्षकको इमान्दारिता हो ।

२. विद्यार्थी

एसइइको नतिजा कमजोर आउनमा दोस्रो कारण विद्यार्थी आफै हो । विद्यार्थीलाई एसइइको परीक्षाको महत्व र कठिनाइबारे सजग नहुनु र गम्भीर नहुनु हो । विद्यार्थीहरुमा पढाइप्रति डरलाग्दो उदासिनता छ । सामाजिक संजालको लतले पढाइप्रति उदासिनता झनै बढाएको छ । बच्चाहरुमा डिजिटल एडिक्सनले गर्दा सिक्ने क्षमतासमेत कमी आइरहेको छ । पढाइप्रतिको डिस्ट्राक्सन ज्यादै बढाएको छ ।

सामाजिक सञ्जालमा उपलब्ध अत्याधिक मायाँ प्रेम र यौनका विषयबस्तुले विद्यार्थीहरुलाई सानै उमेरमा प्रेम, यौन र विवाहतर्फ अग्रसर गराइ रहेको छ । एसइइ केन्द्रलाई नयाँ साथी, प्रेमी, यौन जोडी र विवाह गर्ने अवसर ठान्ने विद्यार्थी पनि थुप्रै भेटिन्छन् । पहाडका विद्यालयहरुको परीक्षा केन्द्र टाढा हुने गरेकाले उतै डेरा बस्नु पर्ने हुन्छ । सो समय विद्यार्थीहरुले पढाएको लय गुमाएर डुलघुम, प्रेम र यौनमा मग्न भएको कैयौ घटना छन् । बेला चियाबारी, पार्क डेटिङ गर्ने त प्रसस्त भेटिन्छन् । यस्ता कुरालाई नियन्त्रण गर्न अभिभावक र विद्यालयले यथेष्ट प्रयास गरेको छैन । निजी विद्यालयको उदेश्य शिक्षाका साथ व्यपार भएकाले सामाजिक अलि चिन्तित छ । तर, सामूदायिक विद्यालयले पठन पाठनलाई औपाचारिकतामा सीमित गरिरहेका छन् ।

अर्को तर्फ पछिल्लो ८ वर्षमा प्रयोग गरिएको ग्रेडिङ प्रणाली र कोरोना कहरका कारण केही वर्ष एसइइमा गराइएको सहजताले विद्यार्थीमा परिश्रम गर्ने बानीबाट बिमूख गराएको छ । गणित, विज्ञानजस्ता कठिन विषयमा कम अंक आए पनि माथिल्लो तहमा जान पाइन्छ भन्ने भावना विद्यार्थीमा विकास भएको छ । पछिल्लो वर्षहरुमा अंग्रेजी, गणित र विज्ञानमा ट्युसन पढ्न चाहनेको संख्या ३० प्रतिशत बढी छैन । यस्ले नतिजामा ठूलो असर गरेकै छ ।

सामूदायिक विद्यालयमा कस्ता विद्यार्थी भर्ना हुन्छन् भन्ने विषयले नतिजामा ठूलो प्रभाव पार्छ । राम्रा र तिष्ण विद्यार्थीहरुको अभिभावको रोजाइ निजी विद्यालय हुन्छ । आर्थिक रुपमा सबल र सचेत अभिभावको रोजाइ निजी विद्यालय नै हुने गर्दछ । अहिलेका सामुदायिक विद्यालयमा विपन्न, आदिवासी जनजाति, दलित, अपाङग, असक्त, अभिभावविहीन बालबालिको हुने गर्दछन् । राम्रा विद्यार्थीहरुलाई सामूदायिका विद्यालयले तान्न सकेको छैन । किनकी सामूदायिका विद्यालयको रिजल्ट राम्रो छैन । व्यवस्थापन र केयरिङ पुगेको छैन ।

सामूदायिका विद्यालयमा पढ्ने धेरैजसो विद्यार्थीले धेरै समयमा खेतीपातिमा काम सघाउनु पर्ने, कापी किताब, ट्युसन फी जम्मा गर्न नसक्ने, खाजको निम्ति खर्च र आवश्यक युनीफर्मको जोहो गर्न नसक्ने आर्थिक र सामाजिक पृष्ठभूमिका विद्यार्थी सामुदायिक विद्यालयले राख्नु पर्ने हुन्छ । यस्ता आर्थिक र सामाजिक पृष्ठभूमिले पनि परीक्षाको नतिजामा ठूलो प्रभाव पारेको छ ।

३. अभिभावक

अभिभाकको फितलो भूमिकाका कारण सामूदायिका विद्यालयको नतिजा कमजोर हुने गरेको छ । विद्यालयमा आफ्ना बालबालिकाले कस्तो शिक्षा लिइरहेका छन् । कुन विषयमा कस्तो नजिता आएको छ । यदी कमजोर रहेछ भने किन भनेर सोध खोज गर्ने अभिभावका ५ प्रतिशत भन्दा कमी भेटेको छु ।

एसइइको निम्ति गरिने क्लोज क्याम्प, ट्युसन, कोचिङको व्यवस्था, परीक्षाको समयमा परीक्षा केन्द्रमा निगरानी गर्ने कार्यमा अभिभावको भूमिका ज्यादै न्युन छ । आफ्ना बालबालिका सामाजिक सञ्जालको कुलतमा फसेका छन् छैनन, मायाँ प्रेम चक्करमा छन् की वा कस्तो संगतमा छन् भन्नेमा यथेष्ट ध्यान पुगेको पाइन्न ।

अभिभावकले आफ्ना बालबालिकालाई आवश्यक आधारभूत आर्थिक र मनोवैज्ञानिक व्यवस्थापन गरेको पाइन्न । विद्यालयमा आफ्ना छोरा छोरीलाई कुनै शिक्षले गाली गरे कुटे, शिक्षकलाई दुव्यवहार गर्ने गरेको पाइन्छ । यस्ले गर्दा शिक्षक अनावश्यक तनाब झेल्न चाहँदैन । उ आफ्नो ड्युटी गर्छ जागिर खान्छ ।

४. सरकार

सरकारले एसइइ बारे ल्याएको अष्पस्ट र परिवर्तित ढाँचाले एसइइको रिजल्टमा नकरात्मक प्रभाव पारेको थियो । २०७२ सालदेखि नेपालमा लेटर ग्रेडिङ व्यवस्था आयो । यसको मर्म जे भएपनि विद्यार्थीहरुका नपढे पनि पास भइन्छ भन्ने आम धारणाको विकास भयो । यसैबीच ग्रेडिङ निरन्तर परिवर्तन भैरहेको छ । यो साल डी प्लस हटाइयो । ३५ भन्दा कम अंकलाई एनजीको व्यवस्था गरियो । गतसाल ३० भन्दा कम अंकलाई एनजी मानिन्थ्यो । यै पाँच अंककको अन्तरले पनि हजारौं विद्यार्थीलाई माथिल्लो तहमा जानबाट रोक्यो ।

सरकार एसइइ प्रतिको व्यवस्थाले वद्यार्थीहरुमा धेरै विभेद सृजना गरिदियो । गतसालको जस्तो दुई विषमा कम ग्रेड आएपनि समग्रमा १.६ जिपिएले ल्याए माथिल्लो तहमा जान पाउने व्यवस्था थियो । जसका कारण विद्यार्थीहरु कठिन विषय पढ्न छाडिसकेको थिए । यसले विद्यार्थीलार्ई राहत मिलेको थियो । त्यो मानेमा अघिल्ला वर्षमा भन्दा यो सालका विद्यार्थीहरु मारमा परेका छन् । कोभिडको समय एसइइमा विद्यालय आफैले अंक भरेर पठाउनु पर्ने थियो । फम मात्र भरेमात्र पनि ३–४ जिपिए पाए । हठात रुपमा यो साल ल्याइएको अनिवार्य सबै विषमा डि ल्याउन पर्ने नीतिले शिक्षालाई २०७२ अघि फर्काएको छ । अनिवार्य पासमा पु¥याएको छ ।

सरकारको एसइइ सम्बन्धी स्पष्ट धारणा छैन । एसइइ राख्ने की हटाउने भन्ने संसदले पास पनि गरिसकेको छ । विद्यालयहरु यो साल हो कि अर्कोसाल एसइइ हट्छ भन्ने कुरेर बसेका थिए । एसइइमा ध्यान दिनै छाडेका थिए । हठात यो सालको नीतिले चक्मा दिएको छ ।

५. मूल्यांकन प्रणाली

हरेका साल कक्षा १२ को वार्षिक परीक्षाको उत्तर पुस्तिका परीक्षण गरिरहँदा मलाई एउटै प्रश्न बारम्बार आइरहन्छ । त्यो हो, के हामी कपी जाँच्ने परिक्षकले सही रुपमा मूल्यांकन गर्छौ ? हामी एकै लटमा बसेर कपी जाँचिरहेका दुई सय जना सबैले उत्तरको सही अंक दिइरहेका छन् ? मेरो मनले भन्छ –छैन ।

यसपल्ट एकजना सरले भन्दै हुनुहुन्थ्यो–तीन मिनेट १ वटाका दरले पेपर चेक गरिएछ । ७५ पूर्णाङकको परीक्षा करिब ४० प्रश्नको उत्तर पढ्नुपर्छ । उत्तरको हेरेर उत्तर कुञ्जिकाले व्यवस्था गरेको मापदण्ड अनुसार अंकन गर्ने र हरेका अंकको छुट्टट छुट्टै नम्बर दिने, जोड्ने अनि अंक र अक्षरमा लेखेर सही गर्ने लामो प्रक्रिया पछि एउटा उत्तर पुस्तिका परीक्षण सकिन्छ । यति गर्न कम्तिमा १०–१२ मिनेट लाग्छ । तर, ३ मिनेटमा कस्तो परीक्षण होला ।

परीक्षकहरुलाई सबैलाई छिटो कपी काट्ने, धेरै काट्ने र धेरै पैसा कमाउने हतारो देख्छु । म पनि केही मात्रामा त्यसै गर्छुहोला । अर्कोतर्फ नेपाली परीक्षकहरुको अंकनको अन्तर झण्डै २० प्रतिशत देखिन्छ । भन्नुको अर्थ एउटै विद्यार्थीको ७५ अंको उत्तर पुस्तिका २० जना फरक व्यक्तिले परीक्षण गर्दा सबैभन्दा बढी दिनेले ४२ र कम दिनेले २४ दिएको पाइन्छ । यहाँ हेर्नुस त कपी उदार काट्ने परीक्षककोमा परे सोही विद्यार्थीले ४२ र कडा काट्नेमा परे २४ पाउने भए । फेरि छिटो पेपर काट्दा राम्रा लेखेका विद्यार्थीले कम अंक पाउने वा कमजोर लेखाइ भएकाले पनि एभ्रेज अंक पाउने चान्स धेरै छ । यस्तो बेला पनि विद्यार्थीको नतिजा ध्वस्त हुन सक्छ ।

अर्कोतर्फ केही गैह्र शिक्षक, शिक्षक नै भएपनि आफूले नपाढाएको विषयसमेत परीक्षण गरेको देख्छु । यसबाट सही मूल्यांकन होला त । अहँ ।

(लेखक : साविक उच्च मावि तह शिक्षकका रुपमा श्री सरस्वती माध्यमिक विद्यालय माङसेबुङमा दसकयता कार्यरत छन् ।)

 

सम्बन्धित खवर