असार १८, माङसेबुङ । फ्रान्स र पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
डसेलडोर्फ एरिनामा सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलको ८५औं मिनेटमा रान्डल कोलो मुआनीले गरेको प्रहार जन भेर्टोङ्गेनबाट डिफ्लेक्ट हुँदै भएको आत्मघाती गोलमा फ्रान्स विजयी भएको थियो ।
यसैगरी मंगलबार बिहान भएको खेलमा स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गर्दै पोर्चुगल अन्तिम आठमा पुगेको हो ।
पेनाल्टी सुटआउटमा गोलरक्षक डिओगो कोस्टाले तीन प्रहार बचाउँदा पोर्चुगल युरोकपको अन्तिम आठमा पुगेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि भएको अतिरिक्त ३० मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टी चुकाउँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
जितसँगै पोर्चुगलले अब क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।