भदौ १, मोरङ । धिमाल प्रथम जातिको अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तक ‘राम्पुका दामा’ को एक कार्यक्रमका बिच सार्वजनीकिकरण गरिएको छ ।
शुक्रबार बेलबारी नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनीकिकरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले र विशिष्ट अतिथिहरुले पुस्तक सार्वजनीकिकरण गरेका थिए ।
बेलबारी नगरपालिकामा बसोबास रहेको प्रथम धिमाल जातिको अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तकमा बेलबारी नगरपालिका भित्रका धिमाल टोलहरुको वस्तुगत अवस्था, स्थान, नाम, ऐतिहासिक प्रमाण, जिवित संग्राहलय तथा होम स्टे सम्भावना लगायतको विषयमा खोजि गरेर पुस्तकमा समावेश गरिएको अनुसन्धाता अजितकुमार धिमालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख राईले धिमाल समुदायले आफ्नो ईतिहास आफैले लेख्न सुरुवात गरेकोमा बधाई दिदै धिमाल समुदायको जिवित संग्रालय निर्माणको आधार तयार भएको बताउनु भयो । धिमाल जातिको भाषा, संस्कृति संरक्षणका लागि आफै जागरुक हुनु पर्ने बताउनु हुँदै नगरपालिका प्रथम जातिको विकासमा सदैव साथमा रहने समेत बताउनु भयो ।
विशिष्ट अतिथि लेखक तथा पुर्व सांसद हर्कमान तामाङले पुस्तकको समिक्षा गर्नु भएको थियो । उहाँले राम्पुका दामा पुस्तक धिमाल जातिको अध्ययन, अनुसन्धान गर्ने व्यक्तिहरुको लागि महत्वपुर्ण सन्दर्भ सामग्री बनेको बताउनु भयो ।
त्यस्तै धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सह अध्यक्ष केदार धिमालले धिमाल जातिको महत्वपुर्ण तथ्याङ्क र ऐतिहासिक ज्ञानहरु पुस्तकमा संग्रहीत भएको बताउनु भयो । उहाँले अध्ययन र त्यसबाट प्राप्त ज्ञानले समुदायलाई अगाडि बढाउने भएकाले अध्ययनमा जोड दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरु तिलक राई, प्रताप थापा, धिमाल जातीय विकास केन्द्र, राष्ट्रिय सभाका उपसभापति कविन्द्रराज धिमाल, नेकपा (माओवादी केन्द्र) बेलबारी नगर समितिका उपाध्यक्ष मनकुमार गुरुङ, जातिय संस्थाहरुको तर्फबाट कमल गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै सोहि कार्यक्रममा धिमाल जाति सम्बन्धी तयार गरिएको डकुमेन्ट्री समेत प्रमुख अतिथि दिलप्रसाद राईले भिडियो प्ले गरेर सार्वजनीकिकरण गर्नु भएको थियो । बेलबारी नगरपालिकाको सहयोगमा निर्मित डकुमेन्ट्री कोशी नेपाल टिभिले निर्माण गरेको हो ।
कार्यक्रममा विभिन्न राजनितिक दल, सामाजिक संस्था, जातीय संस्था तथा धिमाल अगुवाहरुको सहभागिता रहेको थियो । धिमाल प्रथम जाति व्यवस्थापन समितिका अध्यक्ष रुकमिणि धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य धिमाल जातीय विकास केन्द्र, बेलबारी नगर समितिका अध्यक्ष शिवनाथ धिमालले राख्नु भएको थियो ।