निरौला हत्याका आरोपी नसमाएको भन्दै लाग्यो प्रधानमन्त्री ओलीविरुद्ध नारा, पीडित पक्षको दवावपछि पूरक जाहेरी दर्ता - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निरौला हत्याका आरोपी नसमाएको भन्दै लाग्यो प्रधानमन्त्री ओलीविरुद्ध नारा, पीडित पक्षको दवावपछि पूरक जाहेरी दर्ता

बिहीबार इलाका प्रहरी कार्यालयअगाडि नाराबाजी गर्दै मृतकका आफन्त 

कातिक ९, झापा । झापाको दमक–९ का ३८ वर्षीय यामु निरौलाको हत्या प्रकरणमा पीडित पक्षले बिहीबार पूरक जाहेरी दर्ता गराएको छ । मृतककी श्रीमती कृष्णमाया निरौलाले बिहीबार इलाका प्रहरी कार्यालय दमकमा पूरक जाहरी दर्ता गराएकी हुन् ।

बिहीबार दर्ता भएको पूरक जाहेरीमा दमक ८ का नमकुमार चेम्जोङको समेत नाम उल्लेख भएको जिल्ल प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ । विवादित दमक ३ को जग्गा प्रकरणमा चेम्जोङको नाम जोडिने र घटनास्थालमा उनको उपस्थिति रहने प्रमाण सीसीटिभी फुटेजमा रहेको भन्दै पूरक जाहेरी दिएको मृतकका परिवारको भनाइ छ ।

बिहीबार दिउँसो पनि पीडित पक्षले पूरक जाहेरी दर्ताका लागि दिनभर इलाका प्रहरी कार्यालय दमकमा धर्ना दिएका थिए । उनीहरुले इ.प्र.का. दमक घेराउ गर्दै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजीसमेत गरे ।

निरौला कुटपिट र हत्या प्रकरणमा ज्यान मारेको तीन दिनसम्म पनि घटनामा संलग्न व्यक्तिहरुलाई राजनीतिक संरक्षणकै कारण पक्राउ नगरिएको पीडित पक्षले आरोप लगाएको छ ।

एमाले कार्यकर्ता एवम् प्रदेश सभा सदस्य होम थापाका भाइ बुद्धिमान थापासहित अन्य ५ जनाविरुद्ध बुधबार पनि पीडित पक्षले दिनभर दवाव दिएपछि मात्रै किटानी जाहेरी दर्ता भएको थियो ।

बुधबार परेको जोहेरीमा दमक–८ का थापासहित दमक–३ का राजु भनिने सेरबहादुर नेम्बाङ, संखुवासभा मादी नगरपालिका–१० घर भई दमक–३ बस्ने गणेश दर्जी, मोरङ उर्लाबारी–६ का प्रकाश कार्की, उर्लाबारी–७ का ध्रुव गौतम र सुनसरी इटहरीका डेबिड घलेको नाम उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय झापाले समेत पीडित परिवारले किटानी जाहेरी दिएका मध्ये दुई जना बाहेक अन्यलाई पक्राउ गर्न नसकिएको बताएको छ । प्रहरीले हत्याको आरोप लागेकाहरुलाई फक्राउ गर्न सक्रियता नदेखाएको भन्दै मृतकका परिवारले निरौलाको शव बुझ्न मानेका छैनन् । हत्यामा संलग्नहरु पक्राउ परिपछि मात्रै शव बुझ्ने मृतकका परिवारको अडान छ ।

निरौलाको मंगलबार दमक–३ स्थित मावा खोला नजिक रहेको विवादित जग्गामा जेसीभी लगाउने र रोक्ने समूहबीचको विवादमा कुटपिट हुँदा मृत्यु भएको थियो ।

विवादति जग्गामा जेसीभी लगाएर सम्याउने क्रममा दुई पक्षबीच झगडा हुँदा निरौलामाथि कुटपिट भएको र उनी घटनास्थलमै ढलेको स्थानीयले जनाएका छन् ।

सम्बन्धित खवर