माङसेबुङ । रक्षामन्त्री मानवीर राईले किरात धर्मगुरु आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको बताएका छन् ।
इलामको माङसेबुङमा मंगलबार सम्पन्न किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७१ औँ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महासमारोहमा मन्त्री राईले महान समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन र वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको बताएका हुन् ।
‘यदि धर्म छैन भने लगामबिनाको घोडाजस्तै हुन्छ’ मन्त्री राईले भने, ‘एक्काइसौँ शताब्दीमा मानवको रुपमा उभ्याउन मुस्किल हुन्छ । त्यसैले सबै धर्मले मानव जातिलाई अनुशासित भएर बाँच्न सहयोग गरिरहेको छ ।’
मन्त्री राईले धर्मगुरु लिङ्देनको जन्मोत्सव धर्मगुरुको मात्र नभई समग्र किरात धर्मको उत्सव रहेको उनले चर्चा गरे ।