माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(शुक्रबार)बाट सुरु हुने उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका र कन्काई नगरपालिका, झापाविच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ वजे सुरु हुनेछ ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा माघ २५ देखि फागुन २ गतेसम्म सञ्चालहुने १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिताको तयारी पुरा भएको आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति कप आयोजना गरिएको यो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको गोल्ड कपको रुपमा रहेको अध्यक्ष आङबुहाङले जानकारी दिए ।
प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी हुने आयोजक समितिका सचिव सरिता राईले बताइन् ।
सचिव राईका अनुसार प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, मिक्लाजुङ फुटबल क्लब पान्थर, ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङ, पथरी शनिश्चरे खेलकुद समिति मोरङ, कन्काई नगरपालिका, झापा, दिपेन्द्र सिखर स्पोर्टस क्लब इलाम र पाहुना टोलीका रुपमा भारतको दिव्यशक्ति धोत्रे, दर्जिलिङको सहभागीता रहेको छ ।
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ कराँते÷तेक्वान्दो म्याराथन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्नेलगायतका लगायतका खेलहरु समेत संचालन हुनेछ ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन हुनेछ ।
प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।