काठमाडौं । नेपाल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा बराबरीमा रोुकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार सम्पन्न खेलमा नेपालले म्यानमारसँग २–२ को बराबरी खेलेको हो । बराबरी खेलेसँगै दुवै टोलीले अंक बाँडेका छन् ।
यो बराबरीसँगै यी दुई टोलीले समान सात अंकसहित लिग चरण सक्काएका छन् । तर, गोलअन्तरमा भने म्यानमार शीर्ष स्थानमा रह्यो ।
उपाधिका लागि नेपाल र म्यानमारले फागुन १४ गते प्रतिस्पर्धा गर्नेछन् ।
खेलको पाँचौं मिनेटमै म्यानमारले म्याथ नोइलेको फ्रिककगोलमा अग्रता लिएको थियो । उनले दोस्रो बार च्यापेर प्रहार गरेको बललाई गोलकिपर अञ्जना रानामगरले बचाउने कुनै मौका पाइनन् । अघिल्ला दुई खेलमा बेञ्चमा बसेकी अञ्जनालाई मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नियमित कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाको स्थानमा सुरुआती ११ मै खेलाएका थिए ।
तर, उनको निर्णय फलदायी साबित हुन सकेन । तर, नेपाल ११औं मिनेटमै सविता रानामगरको गोलमा खेलमा फर्कियो । उनले सावित्रा भण्डारीले दिएको क्रसलाई सहजै गोल गरिन् ।
यसैगरी खेलको १६औं मिनेटमा पुनः म्यानमारले मे हातइत लुलेको गोलमा अग्रता लियो । तर, ४१औं मिनेटमा सावित्राले नेपाललाई खेलमा फर्काइन् । प्रीति राईले निकाल्दिएको पासमा सावित्राले बराबरी गोल गरेका हुन् ।