माङसेबुङ । यो सुन्दर पृथ्वीको मालिक मेन्निमाङ मेन्धामाङ छ, जतिसुकै शक्तिशाली हुँ भन्ने नेताहरुले पनि पृथ्वी बनाउन नसक्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।
‘पृथ्वीलाई कसरी बचाउने भनेर म चिन्तित छु’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘पृथ्वीको आयुबारे नेताहरुलाई कुनै चिन्तन छैन् । हामी हामीमा मारामार ग¥र्यौं, हत्या हिंसा ग¥र्यौं भने पृथ्वीमा पाप बढ्छ र अशान्त हुन्छ ।’
धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङमा शुक्रबार आयोजित विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंवम दोस्रो माङ इङघङ भविष्यवाणी २०८२ महासमारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।
‘पृथ्वीको आयु बढाउन सबैले सेवा भक्ति गरौं पृथ्वीको उपकार गर्ने ठाउँ अलिकति छ पृथ्वीको उपकारमा सबैले पहल गरौं ।’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘सत्य चिजलाई सत्यनै सम्झन्नुपर्छ । सबैले माङप्रति विश्वास राखौं, सत्यमा विश्वास गरौं ।’
‘विज्ञानले वैकल्पिक विधि सोचेको होला तर पृथ्वी अन्त्य भयो भने वैज्ञानिक चमत्कारहरु सबै नष्ट हुन्छ ।’ अङसीमाङले अगाडि भन्नुभयो ‘भोलि विश्व आक्रान्त भएको बेला मेरो बोल्ने दिन आउछ, त्यो बेला म आफैं बोल्छु कसैले सिकाउनु पर्दैन ।’
‘अब पूर्वको उत्तर एसिया महादेशमा एकजना शक्तिशाली नेता जन्मिन्छ, उसको नेतृत्वमा संसारका मान्छेहरु एकता बनेर जानुपर्ने दिन आउछ ।’ वहाँले थप्नुभयो ‘मैले सबैका लागि ज्ञान, बुद्धि, विवेक बाडिदिएको छु तपाइँहरुले सबैले मिलेर पस्केर खानुहोस् ।’
‘विश्व–ब्रम्हाण्डमा युद्ध, दैवीप्रकोप, महामारी र प्रलयको उच्च जोखिम छ ।’ विश्व युद्ध र अशान्तिको चपेटामा पर्न सक्ने सम्भावना उच्च रहेको संकेत गर्नुहुँदै विश्व शान्ति तथा मानव एकताको लागि सेवा भक्ति गर्नुपर्ने बेला भएको सुनाउनु भएको छ । वहाँले थप्नु भयो, ‘माङले चाहेमा जुनसुकै परिस्थितिबाट पनि जोगाउन सक्छ । त्यसका लागि विहानै पूर्व फर्केर युमामाङको नाममा धूप बालेर सेवा गर्नु ।’
सबै शान्तिसँग बाँच्न पाउँ विश्व युद्ध, प्रलय, महामारी, भूकम्पहरु नआओस् भनेर विश्व शान्ति मानव एकताको सेवा लगाउनु पर्ने बेला भएको प्रष्ट पार्नुहुँदै अङसीमाङज्यूले विश्वमा दैविक प्रकोपहरु महामारी, विश्व युद्ध, महाप्रलय साथै भूकम्पहरु झनक आइरहेको संकेत गर्नु भएको छ । वहाँले भन्नु भयो ‘विश्वमा लडाँई झगडा भएपछि महामारी आउँछ यसले नरसंहारको रुप लिन सक्छ ।’
पृथ्वीको संरक्षण र उपकारको बारेमा बोल्ने आफू मात्र भएको अङसीमाङज्यूले बताउनुभएको छ । विज्ञान प्रविधि, मानव निर्मित संरचना र अमानवीय गतिविधिले पृथ्वीको आयु छोटिँदै गएकोमा वहाँले चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
पृथ्वी रहेमात्र राजनीतितज्ञहरुले राजा, राष्ट्रपति हुन पाउने उल्लेख गर्नुहुँदै सेवा भक्ति र शान्तिले मात्रै पृथ्वीको आयु बढ्ने चर्चा गर्नुभएको भयो । विश्वमा अशान्तिको संकेत आएको पनि बताउनुभएको छ । धर्मगुरुले भन्नुभयो, जस्तोसुकै महायुद्ध लडाइँ भए पनि यसको मिलनविन्दु अर्थात अचुक बुट्टी भनेको शान्ति नै हो । विश्वमा शान्ति भयो भनेमात्र मानवले अमनचयन गर्न पाइन्ने अङसीमाङज्यूले सुनाउनु भयो ।
पृथ्वीको गतिबारे विश्लेषण गर्नुहुँदै वहाँले सुनाउनु भयो ‘सुन्य ब्रमाण्डको आकार बढदै गएको छ । पछि पृथ्वीको अन्त्यपछि सून्य हुँदा मेन्निमाङ मेन्धामाङमा अडेको हुन्छ । त्यसपछि यहीँ सुन्यबाट सृष्टिको सुरुवात हुन्छ ।’ आशीवर्चनकै क्रममा अङसीमाङज्यूकोले थप्नुभयो ‘संसारमा महामारी, प्रलय, लडाँई भएर मान्छे सखाप भएनन भने, मान्छे आफैं उडने बन्छन् ।’
आशीर्वचनको क्रममा अङसीमाङज्यूकोले सत्य र शान्तिको बाटो किरात धर्म दर्शनमा सबै सहभागि हुन आग्रह गर्नु हुँदै अङसीमाङले सुनाउनुभयो, ‘तपाईहरु सबैले किरात धर्ममा आएर बुझ्नुहोस् । किरात धर्म दर्शनलाई संसारभर फैलाउनु होस् ।’
२०४९ सालमा गरेको पहिलो भविष्यवाणी आधा पुगेको र आधा पुग्न बाँकी रहेको अङसीमाङज्यूले बताउनु भयो । महामारी जस्ता प्रकोपहरूबाट बच्न ईश्वरीय अलौकिक शक्तिमा विश्वास गर्नु पर्ने वहाँले आग्रह गर्नुभएको छ । वहाँले सुनाउनु भयो ‘डाक्टरको उपचार नलाग्ने, महामारीका संकेतहरू आउने, अचानक फटाफट मान्छे मर्ने समय आइरहेकोले सबै सजग हुनुपर्छ ।’
विश्व ब्रमाण्डबारे मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ज्यूले ३३ वर्षपछि यो दोस्रोपटक भविष्यवाणी गर्नु भएको हो । वहाँले पहिलो भविष्यवाणी २०४९ माघ ३ र ४ गते माङसेबुङको भालुटारमा गरेको थियो ।
किरात धार्मिक विधि अनुसार भव्य रुपमा सजाइएको विशिष्ट मञ्चमा रहेको विश्व शान्ति मानव एकताको प्रतीक महादीप बालेर मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूले भविष्यवाणी समारोहको शुभारम्भ गरिदिनु भएको थियो ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूहरुको देव समुपस्थितिमा सम्पन्न समारोहमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विश्व शान्ति मानव एकताको लागि दीप प्रज्वलन गरी समारोहको समुद्घाटन गरिएको थियो ।
माङ इङघङ भविष्यवाणी महासमारोहको अवसरमा सावायेहाङ किरातहरुको तर्फबाट मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ समक्ष नाजम शक (अभिनन्दन पत्र) चढाउने कार्यक्रम समेत गरिएको थियो ।
भविष्यवाणी कार्यक्रममा नेपालको विभिन्न जिल्लाबाट किरात धर्मावलम्बी भक्तजनहरु सहभागि हुनु भएको थियो । त्यसैगरी भारत, भूटान, बर्मा, संयुक्त राज्य अमेरिका, युके, हङकङ लगायतका मुलुकबाट किरात धर्मावलम्बीहरु समारोहमा सहभागि भएका थिए ।
सप्ताह व्यापी रुपमा आयोजना गरिएको विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङ इङघङ भविष्यवाणी महासमारोह अन्तर्गत २० गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसमुपस्थितिमा किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भएको थियो ।
सेवा समारोह अन्तर्गत गत जेठ १६ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा माई, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङगीमा साक्मुरा वादेम्मा सेवा भव्य रुपमा सम्पन्न गरिएको थियो ।
यसरी गत जेठ १६ देखि २३ गतेसम्म सप्ताहव्यापी आयोजना गरिएको सेवालाई भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण किरात धार्मिक संघ संस्थाहरु आयोजक समिति रहने गरी किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा आयोजक समिति गठन गरिएको थियो ।
महासमारोह समितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न महासमारोहमा उपाध्यक्ष होमबहादुर लिङ्देनले स्वागत मन्तव्य राखेको थियो भने, सह सचिव समिता थेबेले कार्यक्रम सञ्चालन गरेकी थिइन । समारोहको अवसरमा यस प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि महासमारोहले व्यवस्थापन गरेको थियो ।