माङसेबुङ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । वृक्षारोपण कार्यक्रम भोलि जेठ ३१ र असार १ गते दुई दिन गर्न लागिएको हो ।
‘मुक्कुम्लुङ संरक्षण’ र ‘नो केबलकार’ आन्दोलनलाई निरन्तरताका लागि रचनात्मक कार्यक्रम तय गरिएको मुक्कुमलुङ संघर्ष समितिका संयोजक श्री लिङखिमले बताउनु भयो ।
यस्तै असार २ गते तमोरखोला (इम्बिरी याङधाङवा) क्षेत्रमा प्रस्तावित जलविद्युत् आयोजनाको स्थलगत अध्ययन गरी त्यसको असरको मूल्यांकन गर्ने र आन्दोलनका आगामी कार्यक्रमको रूपरेखा तयार गर्न आवश्यक निर्णय लिने जनाइएको छ ।
मुक्कुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक दृष्टिले मूल्यवान् भएकाले त्यसको अतिक्रमण र व्यवसायीकरण रोक्नु नै आन्दोलनको लक्ष्य रहेको संघर्ष समितिले जनाएको छ ।
“सरकार र केबलकार परियोजना पक्षधरबीचको मिलेमतो, नागरिकको आवाजको बेवास्ता र ‘विकास’को नाममा भइरहेको सांस्कृतिक विनाशविरुद्ध अबको आन्दोलन अझ व्यापक र अन्तर्राष्ट्रियस्तरमा फैलाइने छ,” आन्दोलनरत पक्षले जनाएको छ ।
आफूहरूले बारम्बार वार्ता र संवादको पहल गरे पनि सरकारले गम्भीरतापूर्वक नलिएको र सहमति तोडेको संघर्ष समितिको आरोप छ । २०८१ माघ २२ गते भएको ६ बुँदे समझदारीपछि उच्चस्तरीय वार्ता हुने सहमति भए पनि सरकारले वार्ता टोली नै नबनाएको समितिले जनाएको छ ।
यसैक्रममा पाथीभरा संरक्षण विकास समितिले एक विज्ञप्ति जारी गर्दै त्यसक्षेत्रमा कुनैपनि कृयाकलाप गर्नुपूर्व समितिसँग पूर्वस्वीकृति लिनु पर्ने भनी सूचना जारी गरिएको प्रति संघर्ष समितिले भत्सर्ना गरेको छ ।
आफ्नो सांस्कृतिक सम्पदा संरक्षण गर्ने अधिकार आदिवासी जनजातिहरुलाई भएको र संयुक्त राष्ट्रसंघको श्रम संगठन आइएलओ १६९ अनुसार जल, जंगल र जमिन माथिको जातीय अधिकारमाथि नै कुण्ठित गर्ने कार्य गरेकोमा यसको घोर विरोध गरिने प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका संयोजक डेकन्द्र सिंह थेगिमले बताउनु भयो ।