
- विक्रम फागो वनेम
स्मरण रहोस्, विषय र प्रसंगबस् यसपटक महागुरुले वि.स. १९८३ मा वीजारोपण गर्नुभएको लब्रेकुटी (किरात साङसेन वरक) माङहिमले आफ्नो स्थापनाकालको शताब्दी (१००) वर्षको नेटो काट्दै गर्दा र शतवार्षिकी उत्सव मनाउँदै गर्दा, विशेषः स्थलगत खोज रिपोर्ट, लिखत दस्तावेजहरु र स्रोत व्यक्तिको आधारमा तयार पारिएको आवरण कथा आलेख, सार संक्षेपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
महागुरुज्यूको चोकमागु पदयात्रा
भुटानको १० महिने लामो बसाइँ पछि महागुरु पहिलो पटक (वि.स. १९७७ मंसिर) चोकमागु गाउँ आउँनु भएको थियो । पान्थर थुमको चोकमागु उसै नि तुम्बापो समुदायको सघन जनघनत्व भएको थातथलो हो । आफ्नो पहिलो चेलो तथा शिष्य पनि तुम्बापो नै थिए । चेलोबाट प्रिय शिष्य बन्न पुगेका थिए दिलमान । उनकै गृहथलो निवासमा पु¥याउँन उनीसँगै महागुरु आउँनु भएको हो । त्यस अघिनै महागुरु पल्टन बर्माबाट (वि.स. १९७६) नाम कटौती गरी फर्की सक्नु भएको थियो । महागुरुसँगै पल्टन मै साक्षत्कार भएकोले पल्टनबाट गृह देश घर फर्कन्दा पनिसँगै फर्किएका थिए । दिलमानको चोकमागु गाउँमा महागुरु साता दश दिन मात्र रहनु भो । त्यसपछि महागुरु आफ्नो गाउँ चुक्चिनाम्बा नफर्की, काम विशेषले सिमा क्षेत्र मानेभञ्ज्याङ हुँदै पारी दार्जिलिङको सुकिया पोखरी बजारसम्म उनै दिलमानले पु¥याइ छन् र त्यहाँबाट फेरि छुट्टिनु भएछन् । पुनः छिट्टै भेट्ने संकल्पको साथ महागुरु इण्डियाको चारधाम दर्शनको पदयात्रा तर्फ बाटो लाग्नु भयो । दिलमानको हकमा त्यो छुट्टिनुको पर्दाको पल ज्यादै हृदय विदारक क्षण बनेथ्यो । महागुरुसँग नौ बर्षसम्मसँगै एक साथ, कुनै पनि पल नछुट्टिएका यात्रा दौराँनमा, त्यो दिन गुरु चेला अलग्गिनु पर्दाको समयक्षण भने दिलमानलाई खपि नसक्नु उस्तै गाह्रो बनाएथ्यो । त्यो नछुट्टि नहुने बाध्यात्मक विवशता दिलमानको सानै उमेरमा मेखिम/घरजम जोडि दिई सकेथे । पल्टनबाट फर्केसी, परिवार सम्हाल्नुपर्छ भन्ने आफ्नो बाउ आमाको आज्ञा र प्रेसर थियो भनिन्छ ।

महागुरुको अग्नि परिक्षा र सर्वत्र चर्चाको विषय
दिलमान पल्टनबाट आफ्नो घर फर्केसी, गाउँघरमा महागुरुकोबारे विभिन्न चर्चा परिचर्चाहरु चल्न थाले । दिलमानको गुरु ज्यादै शक्तिशाली छ रे भन्ने कुराहरु त्यहाँका ठुला–ठालु सुब्बादेखि सर्वसाधारण सबै मान्छेहरुले थाहा पाउँदै गए । एकदिन सुब्बा हर्कध्वोज तुम्बापोले दिलमानलाई भेटेर आग्रह गरे । यदी तेरो चारखोलाबाट ल्याएको गुरुले यो मेरो पहिरो जाने खेत रोक्न सक्यो भने, म पनि गुरु मानौंला र सकेको जति सरसहयोग नि गरौंला भनेछन् । सुब्बा, आफ्नो १६ मुरी धान फल्ने चनौंटेबारीको खेत पहिरोले लाने अवस्था आएपछि ज्यादै चिन्तित र दुःखी बनेथे/थिए । दिलमानले महागुरु सम्झे र त्यो पहिरो रोकथाम गर्न सक्नुहोला भन्ने विश्वास दिलाए । सुब्बाको आग्रहपछि दिलमानले सम्झे, पक्कै पनि यत्रो लामो समयपछि त महागुरु आफ्नो जन्मथलो चुक्चिनाम्बा गाउँ फर्कि सक्नु भो होला भन्ने लाग्यो । उसो त महागुरु पल्टनबाट फर्कन्दा, भुटान हुँदै उनै दिलमानसँग चोकमागु निस्किएका हुन्थि/ए । त्यसको मतलब महागुरु पल्टनबाट फर्किन्दा, आफ्नो जन्मभूमि गाउँ आएका थिएनन् । सो मानेमा कतै आफ्नो जन्मथलो गाउँ आइपुग्नु भो की भनेर बुझ्न र खबर दिनलाई दिलमानले त्यो बेला आफ्नो भत्तिजो गंगारामलाई चुक्चिनाम्बा गाउँ पठाए । इण्डियाको चारधाम दर्शन सकेर महागुरु (वि. स. १९७८ बैसाक लाग्दो) एकदुई दिन अघिमात्र आफ्नो जन्मभूमि आइपुग्नु भएको थिएछ । महागुरुले आफ्नो शिष्यले पठाएको प्रतिनिधिदुतले भनेको सम्पूर्ण विषयगत वेलिविस्तार कुराहरु श्रवण गर्नु भो । महागुरुले पहिरो जाने खेतको अवस्था र प्रकृति स्वरुप हेरिनु पर्ने प्रतिकृया दिनु भो । महागुरुज्यूले तत्कालै चोकमागु जाने अभ्याउ दर्शाए । आफ्नै जन्मस्थान गाउँमै माङहिम निर्माण गर्ने योजनामा तल्लिन हुनु भाथ्यो । त्यो श्रमदान मार्फत आवश्यक ढुङ्गा–मुढाहरु थोपरी पनि सक्नु भाथ्यो । जो माङहिम र त्यो ढुङ्गाहरु अहिले पनि यद्यपि छँदैछ । त्यसलाई अहिले नि मन्दिरेबारी भन्ने गरिन्छ । महागुरु त्यसको ४, ५ दिनपछि उनै दुत गंगारामसँगै चोकमागु बाटो लाग्नु भयो । सुब्बाको पहिरो जाने खेत हेरेसी महागुरुले १०८ प्रजातिको वनस्पति रुखहरुको दाउराहरु ल्याउँने र चोखोनितो भएको गाउँघरहरुबाट माना–मुठ्ठी चामलहरु अक्षताको निम्ति बटुल्नु पर्ने गुरु आज्ञा भएछ । संयोग उभौंली पूर्णिमाकै दिन (बैसाक १२) येत् लाधुङसेमी सेवाद्वारा चरु/चारो पोलियो । र पहिरो जाने मध्यभागकोबीचमा एउटा सिमलको एकभित्ताको बिरुवा रोपियो । महागुरुको आज्ञा मुताविक सो कामहरु तमाम् गरियो । बर्खायाम लाग्यो । अचम्म सुब्बाको पहिरो जाने खेत र मन दुवै थामिन गयो । जुन खेत/जग्गामा अहिलेसम्म पनि त्यो पहिरो गएको छैन् । यद्यपी जस्ताको तस्तै छँदैछ ।
अन्तः फेरि यता सुब्बा हर्कध्वोजको पहिरो जाने खेत दिलमानको गुरुले रोकी दिएको रे भन्ने हल्ला–खल्ला, शनैः शनैः गाउँभरी सुनिन थालेछ । भनिन्छ, पहिरो जाने पहाडमा वृक्ष रोपण गर्यो भने ? पक्कै विस्तारै पहिरो थामिन्दै जाने हो । महागुरुले यथार्थमा यहीँ गुरुमन्त्र प्रयोग गरिदिनु भएथ्यो । अनि त्यहीँ हल्लाबीच चोकमागु कै सबै भन्दा ठूला मानिने अर्का सुब्बा आशबहादुर तुम्बापोको मनमा पनि उस्तै पिरोलोको थुप्रो लागेथ्यो । उनको पीडादायी पिरोलो उनको तेह्रथुम घरजम गर्न गएकी बयसंक छोरी ६ महिना देखिन ओछ्याँनमै विरामले थला परेकी रैछिन् । उनले कयौं साम्बा, फेदाङबा र येबाहरु लगाए रे । विरामीको नाममा थुप्रै पशुपंक्षीहरुलाई भोग/बलि चढाए । छोरी निको हुने आशमा सुब्बाले धेरै श्री सम्पतिहरु स्वाहा गरे । तर, छोरी बीसको उन्नाइस् नि भएनन् । बरु छोरी झन–झन् थलिन्दै साह्रो हुँदै दुब्लाउँदै गयो । यता धामी झाँक्रीहरु भने दिनानुदिन मोटाउँदै गए । सुब्बाले हरेश खाँदै गरेको बेला त्यहीँ हल्लाको तरंग उनको कानमा अचानक ठोक्किन पुग्यो । उनले त्यस्तो पहिरो जानसक्ने ठाउँलाई रोक्न सक्ने गुरुलाई महा शक्तिशाली ठाने ।
त्यो पहिरो रोक्न सक्ने साधु गुरुले आफ्नो छोरी कसो निको नपार्ला ? भन्ने सोचे । र तत्कालै दिलमानलाई एउटा चिठी लेखे । सुब्बाको गाउँ चोकफाङगे भन्ने चोकमागु भन्नेमा पथ्र्यो । उनको र दिलमानसँगको गाउँघरको दूरी त्यस्तै एक डेढ् घण्टाको मात्र तल माथि थियो । सुब्बाले त्यो चिठी आफ्नै कामदारी सेवक सेतुहाङको हातमा पठाए । दिलमानले चिठी बुझे । उनको गृह आश्रम भित्र महागुरु ध्यानमा लीन् हुनुहुन्थ्यो रे । ध्यानबाट मुक्त भएसी दिलमानले त्यो चिठी महागुरुलाई पढेर सुनाए । त्यो चिठीको ब्यहोरा यस्तो थियो, ’दिलमान भत्तिज, तपाईंले चारखोलबाट ल्याउँनु भएको महाप्रभुलाई मेरो घरमा पनि लिएर आउँनु पर्यो । मेरो छोरी गम्भीर विरामी छ । चिठीको ब्यहोरा सुनिसकेपछि महागुरुले भित्रैबाट नै बुझ्न खोज्नु भो, हेन् साप्ला केसाप्पेन् हाप्पे दिलमाने ? (त्यो पत्र लेख्ने को हो दिलमान ?) जवाफमा गाउँकै ठूलो सुब्बा भएको जानकारी दिए । फेरि महागुरुले तत्कालकै उत्तर लेखी पठाउ भन्ने आज्ञा भएछ । उत्तर के लेखी पठाउँने गुरु ? भनेसी, खोलाले धाउँछ की ? तिर्खाले ? भन्ने जवाफ पठाउँनु भन्ने महागुरुको आज्ञा भएछ । दिलमानले तुरुन्तै सोही चिठीको पछाडि जस्ताको तस्तै गुरु जवाफी ब्यहोरा लेखी उनै चिठी वाहक दुतको हातमा रिर्टन ब्याक् पठाई दिएछन् ।
जब सुब्बा साबले अघि आफैले पठाएको सोही चिठी पुनः रिर्टन ब्याक् भएसी उनी तीन छक्क परे । बाः कतै गल्ती लेखे की ? भन्ने आशंकामा नेक्सा योम्मा (मासु अमिल्याउँदै) गर्दै, त्यो चिठी खोली हेरे र पछाडि पट्टीको पढे । सुब्बाले चिठीको ब्यहोरा तु बुझिहाले । गुरु ल्याउ भन्ने होइन रैछ, आफैं चाहीँ छोरी लिएर गुरु कहाँ जानुपर्ने रैछ भन्ने आत्मबोध गरे । गुरुप्रति अपमान र गल्ती गरेको एहेशास सुब्बाले गरे । त्यसलगत्तै सुब्बाले विरामी छोरीलाई महागुरु भए आश्रमतिर लैजाने निधों गरे । छोरीलाई डोकोमा हालेर बोकाए, भने सुब्बा चाहीँ आफ्नो घोडामा चढे ।
दिलमानको गृह आश्रम पुग्दा महागुरु वहीँ ध्यानमग्न थिए । छोरी ठाडो बस्न नसक्ने भएकोले गुन्द्रीमा लम्पसार सुताइयो । महागुरु ध्यानबाट बाहुरिनु भो । त्यसपछि महागुरुले विमारी छोरीलाई दियो कलशको पानीले तीन पटक छर्किन्दै नुरो–नुरो मामु ए..! (निको हुन्छ है नानी) भन्नु हुँदै, त्यो फूलपानीले शीरदेखि पाऊसम्म छर्किदिनु भो रे । महागुरुले सामान्य बाः नुरो–नुरो मामु ए भनेको मात्र देखेपछि सुब्बालाई चित्त बुझेनछ र ओठ ल्याब्राएछ । कस्ता–कस्ता मै हुँ भन्ने साम्बा, फेदाङबाहरुले त के के मुन्धुमहरु फलाक्दासम्म त नभएको, अब यस्तो पाराको नुरो–नुरो भन्दैमा निको हुने हो र ? भन्दै सुब्बाचाहीँ मनमनैमा भुतभुत्तिएको रैछ । सुब्बाले चित्त नबुझेको गाँठो फुकाउँदै महागुरुलाई फेरि सोधेछन्, गुरु छोरीलाई के लागेको रैछ ? निको हुन के कति लाग्ने रैछ गुरु ? भनि सोधनी गरेछन् ।

महागुरुले समस्याको मूल गाँठो देखाएछन् र फुकाउँन आग्रह नि गर्नु भएछ । त्यो मुख्य गाँठो के थियो भने, सुब्बाको घरको दक्षिण दिशाको स्थानमा एउटा सिंगारे ढुंगाको भीर रैछ त्यो भीर ढुङ्गामा देवी देवताको बास थिएछ । जुन पवित्र रुपले सफा सुग्घर राख्नु पथ्र्यो, त्यो भएन र माङ सिखेङमा (देवी देवता रिसाएको) भाको छ । त्यसको कारणले छोरीलाई दोख लागेको छ भनेर महागुरुले औंल्याई दिनु भएछ । त्यसलाई शुद्वीकरण गरिए छोरी पूर्ण रूपमा निको हुने वचन दिनु भयो । छोरी त नभन्दै विस्तारै टंग्रिन्दै जान थाल्यो । अतः त्यहीँको बसिवियाँलोको साता दिन नपुग्दै, बाँसको भाटाको लौरो टेकेर उकालो–ओरालो हिड्ने भइ हाल्यो रे । ६ महिनासम्म ओछ्याँनमा लमतन्न थला परेकी छोरी एउटा साँधु गुरुको कृपाले जुरुक्कै उठेर हिड्ने भएसी सुब्बालाई सपना देखे जस्तो भए थियो रे । उनै सुब्बाले नपत्याएका साँधु गुरुप्रति, झनै महा विश्वास र श्रद्वा बढेर गएछ । अन्ततः उसले महागुरुलाई त एउटा साक्षत माङको रूपमा देख्न पुगेछ ।
अत एवं महागुरुप्रति सुब्बा साबको अगाध श्रद्वा चुलिएछ । उनले महागुरुलाई आफ्नो पाऊ घरमा राखिदिन विन्ती विसाएछन् । महाग्रुरुले स्वीकृति दिनु भो । सुब्बाले आफ्नो शासकीय घर चोख्याउँन लागेछन् । महागुरुले घर आँगनीको दलानमा पाऊ राखिदिने भएपछि घरको चुला चौकानोको सिलिङमा होस् की, बार्दलीको कौशीमा फूलको गमलाको सट्टा राँगो, बोको वा भेडाहरुको टाउको सिलमा उनेर झुण्ड्याएको होस् । या त आलो मासुको सिलहरु माला उने झैं अवस्थामा किन नहोस्, ती सबै सुब्बाले रातारात किनारा लगाए । घर दलान भरी सेतो कमेरे माटो र रातो माटोले लिपपोत गरी चिरीच्याट्ट सफा र उज्यालो पारे । महागुरुको स्वागतार्थ लाङदाक सेवा गर्न सुब्बा परिवार तयारी रहे, तर अफसोंच महागुरुले सुब्बाको घर दलानमा पाऊ राखिदिनुको सट्टा, वहीँ माङधाना सिंगारे भीरको ढुंगामै गएर बसीदिनु भएछ । सुब्बाले आश्चर्यता मान्दै, फेरि वहीँ माङधाना मै गएर महागुरुलाई घरै जान विन्ति विसाएछन् । जवाफीमा केहिम् केदोबा मेन्लो सुभा ए..! (तिम्रो घर टेक्ने होइन है सुब्बा साब) भन्नु भएछ । त्यसको मतलब महागुरु सुब्बाको घर जानचेन् पटक्कै मान्नु भएन । त्यसको अर्थ चिन्तनमा राम्रो, नराम्रो जे पनि हुन सक्छ । यस मानेमा माङ चिन्तनमा कु–भलो भने पक्कै छैन भन्ने आधार चाहीँ सुब्बा र महागुरुको हकमा यथार्थता छँदैंछ ।
अन्ततः महागुरु त्यहीँ माङधानामा बसेर रातदिन ध्यानमा लीन हुन पुग्नु भयो । वहाँको चेलाहरुको संख्याहरु पनि बढ्दो थियो । एकै दिनमा सत्र जना जति चेलाहरु अनुयायी बन्न पुगे । त्यसमा सुब्बा साब त छँदैं थिए । त्यो साधना ध्यानमा यिनै चेलाहरुले पनि वरिपरि कम्ब्राङ (रक्षा) गर्दै, ध्यानमग्न रहन साथ दिएथे । अपितुः ध्यानमग्न महागुरु रातभर कोही कसैसँग अष्पुष्ट रुपले गाईंगुईँ दोहोरो बोलेको जस्तो त, कतै कोही कसैले दुःख सास्तीहरु दिए जस्तो स्वरको ध्वनीहरु सुने जस्तो भएपछि यी चेलाहरुले अचम्म र उदेक् मान्न पुगे । जो महागुरुलाई सोधनी गर्ने आँट पनि थिएनन् । अन्तः उनै सुब्बा मार्फत सोधनी गर्नुपर्ने राय राखे । सुब्बाले यथार्थ बुझ्नलाई महागुरु समक्ष सोधनी गरेछन् । सुब्बाको जिज्ञासामा महागुरुले भनेछन्, पश्चिम प्युठान जिल्लाको स्वर्गद्वारी मन्दिरको युमामाङले यहाँ हामीहरुको लिम्बुवान जग्गामा ठाउँ माग्दैछ । स्थान देउ, बास देउ भन्छ । बास दिन सक्छस् ? भन्ने कोइशनमार्क गर्नु भएसी सुब्बाले केहीँ नसोचिकनै सक्छु गुरु भनेछन् । उसबेला त्यो सिंगारे भिर उति ठूलो थिएन । त्यहीँ भिरको अग्लो ढुङ्गा माथि चढेर महागुरुले सुब्बालाई त्यो गम्भी माङइङघङ वाणीको यथार्थता सुनाउँनु भाथ्यो रे । स्मरण रहोस्, महागुरुले सत्य, मानवता र अहिंसाको मार्गदर्शनमा डो¥याउँन यी यस्ता अनेकौं अग्नि परिक्षाहरुमा समाहित हुँदै धार्मिक, सामाजिक तथा सांस्कृतिक पुनः जागरणमा आफूलाई समर्पित गर्नुभएको थियो ।
त्रिशुल गाढिएको निशाना र ऐतिहासिक उदय
अतः सुब्बाले युमामाङलाई बास दिन सक्ने कबुल बाँचा गरेपछि महागुरुले एउटा ठूलो त्रिशुल बनाउँन आज्ञा गरे । उसताक त्यो समयमा गाउँघरमा लुगा सिउँने दमाई र फलाम कुट्ने कामी समुदायलाई विशेषः बालीघर बनाउँने या दिने परम्परा/चलन थियो । त्यसको मतलव वर्षमा एकपटक शर्तनामा अनुरुप अन्न/अनाजहरु दिने र उनीहरुले पनि बर्षभरी उनै ठूला–ठालु वर्गहरुको दमाईले लुगा सिलाई दिनुपर्ने र कामीले फलामको हात हतियार लगायत खनजोत गर्ने कुट्टे, कोदालोहरुको औजारहरु बनाई दिनुपर्ने हुन्थ्यो । त्यस्तो श्रमजीवी शिल्पकारहरुलाई बालीघरे भन्ने गरिन्थ्यो । यो चलन नेपालको कुना–कन्दराहरुमा यद्यपी ज्युँदै छँदैछन् । उसताक् उनै सुब्बाले आफ्नो बालीघरे बखतसिंह विश्वकर्मा भन्ने कामीको आरनमा गई त्रिशुल बनाउँन आदेश दिए । त्यो बालीघरे कामीको घर फोन्केच्ना भन्ने गाउँमा थियो । अन्तः सानो जातको घर आँगन नटेक्ने सुब्बा साबहरु आफ्नो घरको दलान अघि उभिएको देखेपछि विचरा बखते कामीको सातो नै उडेछ । उसले थर–थर काम्दै आदेश बक्स होस् मालिक हजुर भनेछन् । सुब्बाले त्रिशुल भनेजस्तो सुहाउँदो बनाउँनु पर्ने उर्दी गरेछन् । जुन त्यो त्रिशुल महागुरु समान अग्लो/लामो आकारमा तयार गरियो । अन्ततः सुब्बाले त्यो त्रिशुल महागुरुलाई श्रद्वापूर्वक तोम्मा गरे ।
फलतः एकदिन उनै सुब्बा आशबहादुरले आफ्नो समयानुकूल समय तोक (वि.स. १९७८ बैशाख अन्तिमतिर) गरे । अनि फेरि महागुरुको दर्शन भेट गर्न दिलमानको आश्रमहिम आए । जुन युमा माङ स्थानको ठाउँ रोज्नु र खोज्नुपर्ने थियो । त्यो कबुलनामा संकल्पित बाचा पूरा गर्नलाई सुब्बा पनि उस्तै प्रतिबद्व देखिन्थे । अतः महागुरु पनि प्रशन्नका साथ युमा माङको स्थान हेर्न/रोज्नलाई तयार हुनु भो । त्यसको लगत्तै सुब्बाले महागुरुको सेवा सुविधाको लागि सबै खाले बन्दोबस्तको ब्यवस्थाहरु गर्न/मिलाउन आफ्ना आरौटे भरौटेहरुलाई तु–आदेश दिएथे । अन्तः महागुरु र सुब्बाको हकमा दुई वटा घोडाहरु तयार गरे/भए । सेतो रंगको घोडा महागुरुलाई चढाउँन/बोक्नलाई थियो, भने रातो रंगको घोडा स्वयंम् सुब्बाको लागि तयार थियो । परन्तुः महागुरुले घोडा चढेनन् र साविक उहीँ चोकमागुको उकालो माथि बाटो लाग्नु भयो । महागुरु बाटो लागेसी आफ्नो चेलाहरुले पनि सँगै पछ्याउँन थाले । सुब्बाले चाहीँ घोडा चढि महागुरुको पछि–पछि पछ्याउँन थाले । सुब्बाको घोडाको चाल र महागुरुको पैदले चालहरुबीच फरक दुरीको हिसाबले बाटोको भौगोलिक दूरी अन्याँसै टाढिन्दै जादैथ्यो । त्यसको मतलब घोडाले महागुरुको पैदले चाललाईसँगै पछ्याई रहन सकेको देखिन्न थियो । सँगै हिंडेको चालहरुमा पहाडि कुइनेटो गोरेटो बाटोहरुले दुई चार फन्का कान्लाहरुको हेरफेर गरी सकेथ्यो । घोडाको सवारीमा निस्केका सुब्बाले, पिठ्युँमाथिको बग्गीबाट महागुरुको पैदले चालहरु हेरि टोपले, आरे..! सेतो बस्त्रको आभुषणमा देखिएका महागुरु त, बाः सिमलको भूँवा जस्तै सार्है हलुको तरिकाले उडिरहेको जस्तै देखेथे रे । सुब्बा आफै तिनदाङ छक्क परेथे, भनिन्छ । जबकी उनी आफै घोडा भन्दा अघि नै क्लान्त/थकित बनेका थेरे । घोडालाई कोर्रा लगाउँदै रेस कुद्न खोजेपनि अःहँ, महागुरुलाई रत्ति भेट्न र पछ्याउँन सकेनन् । बरु उल्टै सुब्बाको पराँन छुट्थ्यो र खुइयाँ काढ्थे रे ।

अत एवः महागुरुलाई पछ्याउँने शिलसिलामा सिमलको भूँवा जस्तै उडिरहेको प्रतीतमा देखिरहेका उनै सुब्बाले साविक अहिलेको यहीँ मुजोत्लुङ लब्रे डाँडामा (माङहिम परिसर) खुइयाँ काढ्दै अनि स्याँस्याँ र फ्याँफ्याँ गर्दै, बल्लतल्ल घोडामा आइपुगेछन् । त्यहीँ पो महागुरु त टुक्रुक बस्नु भाथ्यो रे । अर्थात, थकाई÷विश्राममा थिएछन् । घोडा माथिको सवारी साथ महागुरुसँग एकसाथ हिड्न नसकेकोमा सुब्बालाई अप्ठ्यारो र लज्जाबोध लागेथ्यो । महागुरुले घोडा माथि नै रहेका सुब्बालाई आज्ञा गर्नुभएछ । आशबहादुर यो बसेको स्थानमा यहाँ मलाई एउटा बस्ने ठाउँ बनाई दिनु है भन्नुभएछ । सुब्बाले तुरुन्तै महागुरुको आज्ञाको शिरोपर गरे । सुब्बाले यहीँ ठाउँ/जग्गा महागुरुले किन रोज्न पुगे त ? भन्ने विषयमा भने कति नि चिन्तन–मनन् गरेनन् । उनी महागुरुले जे भनेपनि आज्ञाकारी बालक जस्तै चेलो बनी सकेथे । उनलाई आखिरी चरणमा त्यहीँ जग्गा नै महागुरुको माङ दृष्टिमा युमा माङ युक्नाको स्थापना गर्नको लागि किन उपयुक्त स्थान बन्यो ? भन्ने यथार्थ नजर अन्दाज सुब्बाले मात्र होइन त्यहाँका धेरै चेलाहरुले पनि त्यसको भेउसम्म पत्तो नै पाएनन् के ।
आखिर त्यहीँ युमा माङ युक्ना स्थापना र निर्माण हुनुमा एउटा रहस्यमयी ऐतिहासिक अध्यात्मिकता कथाहरु लुकी छुपेको रैछ । त्यस कथाको साररुप पटकथाको पटाक्षेप र क्लाईमेक्सको परिदृश्यहरु समग्रमा यस्तो किसिमको देखिन्छन् । अहिलेको यो मुजोत्लुङ लब्रेकुटीको डाँडा चाहीँ त्यो बेला नाङ्गो थियो । अर्थात अहिलेको जस्तो उत्तिस र लालीगुराँसको बोटहरु रत्तिभर थिएनन् । कुनैपनि प्रजातिको ववनस्पति विरुवाहरु रहित नाँगी डाँडाको रूपमा मात्र त्यसको अस्तित्व रहेथ्यो । अन्तः त्यहीँ डाँडामा एकजना पान्थर, च्याङथापुबाट आएका राई थरका नामै भेडीगोठे गोठाले अर्थात् च्याङथापे भन्थे । उनी त्यहाँ भेडीगोठ लिएर बसेका थिए । सोही ठाँउमा एकदिन एकजना जामाको पगरी लगाएका साँधु गुरु आए । त्यो साँधु गुरुले आफ्नो साथमा ल्याएको लामो त्रिशुल गाडेछन् । जुन त्रिशुल आफैं त्यो जमिनमा सुतुतु भासिन गयो । एक हात जति बाँकी रहँदा भने, त्यो त्रिशुल पूरापुर दबिनबाट टक्क अडियो/रोकिएछ । त्यो दृश्य टाढैबाट चियो गरिरहेका तिनै भेडीगोठेले देखेका रैछन् । त्यसपछि त त्यो त्रिशुल गाढिएको स्थानको एकान दोकान हुँदै सर्वत्र जनमानसबीच सुनिन्दै र चासो पनि उस्तै बढदै गयो । जुन स्वर्गद्वारी युमामाङको स्वरुपमा देवागमन भएको र पदस्थापन हुन गएको हो भन्ने आधार र विश्वासमा त्यो स्थानको हाताभित्र स्थानीय सुन्ने, बुझ्ने मान्छेहरुले श्रद्वाका साथ पूजा सेवा गर्ने थालनी भयो । त्यसै क्रममा पछिबाट ढुंगाको चौघेरी वालहरु उठाइयो । त्यहाँदेखि उभौली–उधौली सेवाहरु पनि गर्न थालियो । जो यो सत्य घटनाको प्रत्यक्ष सदर साक्षी र साक्षत्कार गर्ने अनि हङगेक्छा देख्नुहुने उनै गोठाले कञ्चनसिं राई थिए/हुन् भनिन्छ । उनको कायाचोला २०३६/३७ सालसम्म देखिएथे/भेटिन्थे रे ।
स्मरण रहोस्, त्यो भेडीगोठे राईले देखेका, त्रिशुल गाड्नु हुने जामा लगाएका साँधु गुरु अरु कोहीँ नभएर उनै महागुरु फाल्गुनन्द थिए । उसले महागुरु हुन् भन्ने चिन्नै सकेन छन् । जुन त्यो त्रिशुल गाढिएको स्थान अहिलेको साविक सात सिंढी भएको/बनेको निर्माणस्थल हो । जुन त्यो गाढिएको ठाडो त्रिशुल रहेथ्यो, त्यसलाई महागुरुको विरुद्ध उभिने नाहेन गर्ने र त्यस्तै अधकल्चे महागुरु बन्न रहर गर्ने दौडमा उखेल्ने तुजुक देखाउँने हुँदा भाँचिन पुग्यो भनिन्छ । दुर्भाग्य त्यसलाई त्यसरी उखेल्न र भाच्न नहुने महागुरुको वचनवाणी थियो । अहिले त्यो त्रिशुल भाचिएको त्यस जगामा कटुसको ठूलो बोट निशानाको रूपमा उभेकोछ । जुन दुई तीन सय मिटर मात्र तल माथि फरक होला सायद । हो, त्यसैको ओपोजिट पश्चिम उत्तर दिशामा रहेको स्थानमा जहाँ महागुरु टुक्रुक्क बस्नु भाथ्यो, त्यहीँनेर अहिलेको साविक जो लब्रेकुटी माङहिम निर्माण भएको हो, छ । यसको फेहेरिस्त भन्नुपर्दा, लामो कथा बन्ने रैछ । यो चोकमागु गाउँको प्राकृतिक भु—वनौटको स्वरुपनै अलिक फरक र अचम्मित खालको रहस्यमयी छ भनिन्छ । बस्तुतः यो लब्रेकुटी माङहिमले आफ्नो स्थापनाकालको शताब्दी (१००) वर्षको नेटो काट्दै गर्दा, यसले नब्बे सालको महाभूकम्पदेखि, त्यसयता अहिलेसम्मको भूकम्प र आँधीबेहेरीहरुको अनेकौं सामनाहरु गर्दै, यो सत्तिसालको रुख झैं शक्तिशाली बनेर उभिन सकेकोछ । जो यो लब्रेकुटी महागुरुको स्वरुपमा प्रतिविम्बको स्तम्भ बनेर, सिंगो मानव जगतको एउटा अहिंसावादी दिग्दर्शनको सन्देशहरु छर्दै, ज्युँदो अस्तित्वमा बाँचिरहेको आत्माबोध गर्न पुगेकोछ ।
गुरु आश्रमको अस्तित्व उठान् र निर्माण
महागुरुको प्रस्तावित गुरु आश्रम निर्माण गर्ने आज्ञा र कबुलनामालाई पूरा गर्न सुब्बा आशबहादुर कम्मर कसेर लागे । एउटा दुःखद पक्ष के रहयो भने महागुरुले प्रस्तावित तोक् लगाउँनु भएकै समयमा (१९७८) उक्त गुरु आश्रमको जग बस्न सकेन । जुन स्वमित्व भूमि/जग्गामा हकवाला तुम्बापो र तुम्रोक लिम्बुहरुबीच विवादास्पद बनेथ्यो । विवादको चुरोचाहीँ पानी ढलाउबीचको सन्ध्यारी सिमाना बोर्डको थियो । जसको मुद्दा तेह्रथुमको अड्डामा दर्ज भएको थियो । त्यो मुद्दाको छिनोफानो र किनारा नलागुञ्जेलसम्म गुरु आश्रमको जग र निर्माण कार्यको शुभ साईत जुर्न सकिरा थिएनन् । जसको कारण त्यसको पाँच वर्ष पछि मात्र (१९८३) गुरु आश्रम निर्माण कार्यमा शुभ–मुहुत्र्तको थालनी भएथ्यो । जुन मुजोत्लुङ लब्रेकुटीको त्यो ठाउँ उसै नि नाङगो थियो । जसको निर्माण कार्यको जग बसाल्न सार्है कठिन र अभाव नि उस्तै थियो । त्यो मानेमा भौतिक सरंचनाको ब्यबस्थापन काठपातको लागि शिरध्वोज तुम्बापो र सेतुहाङ (भक्त ब.) तुम्बापोलाई जिम्मा दिइयो । त्यो काठपात पान्थरको सिवाखोला माथिको मन्थली भन्ने ठाउँको जंगलमा खोटे सल्लाको रुखहरु काटेर ल्याउँनु पर्नेथ्यो । त्यहीँ नै धराने आरनमा त्यो सल्लाको लकडीहरु चारतिने कडीको बिमहरु चिरान् गर्न लगाइयो । कति त सानोतिनो गोलाईको लकडीहरु सिंगै काँधमा बोकेर ओसार्नु पथ्र्यो । जुन काम धेरै दिनसम्म नित्य कर्म जस्तै भएथ्यो । जसको निर्माण स्थलसम्म ल्याई पु¥याउँन दूरी धेरै टाढा थियो । गुरु आश्रमको निर्माण र स्वरुप् दुई तले मन्दिर आकारमा तयार पारिएथ्यो । बाँसको डाँडाभाटाहरुको बारबेरमा माटोले लिपपोत् गरियो । यसको छानो हरियो काँचो खरको लगाइयो । यो निर्माण कार्यमा सहयोग स्थानीय अनुयायीहरु कै श्रमदान र सुब्बा साबको लगानीमा सम्पन्न भएको थियो । अतः यस्तो कडा धार्मिक नियमावली र अनुशासन पालनाको आज्ञाबीच गुरु आश्रमको भौतिक पूर्वाधार निर्माण कार्यमा एउटा ऐतिहासिक गुरु आश्रम माङहिमको अस्तित्व उभेको हो र थियो ।

शुभ मुहुर्त प्रवेश र कठोर आचारसंहिता
गुरु आश्रम निर्माण वि. स. १९८३ असोजको अन्तिम तिर पूर्ण तयारी भयो । यसको शुभ मुहुर्त गर्न र महागुरुलाई लाङदाकमा सेवाको (स्वागत) साथ गुरु आश्रम प्रवेश गराउँन शुभ साईतको तिथिमिति हेरियो । र महागुरुलाई चुक्चिनाम्बा लिन जानको लागि लालीखर्क गाउँका कृपालाल राईलाई पठाइयो । उनी सुब्बा आशबहादुरको मित पनि र थरी (पदभार) पनि थिए ।
दर्शन भेटमा महागुरुले खरले छाएको आश्रम हिममा नजाने आशय ब्यक्त गर्नु भो रे । तर, खरको साट्टो टिनको पत्ता अर्थात त्यो बेला च्यादर भन्ने चलन थियो भनिन्छ । हो त्यो च्यादर छाइदिने हो भने जान सकिने इत्छा देखाउनु भो रे । अन्तः कृपालालले महागुरुको सो सदिच्छाको कबुल बाचा गरी फर्किए छन् । उसताक् अब चेन् महागुरु त्यो निर्माण गरिदिएको आश्रम हिममा आउँनु हुन्छ भनेर टाढा र नजिकका अनुयायी भक्तहरु सबै भेला भइसकेको थियो रे । अफसोंच महागुरु लिन जानु भएका प्रतिनिधि दुत राई भने एक्लै फर्किए । महागुरुले खरको छानो अस्वीकार गर्नुको अर्थ सो ठाउँमा आँधीबेहेरी आइरहने र हुस्सु पानीको कारण दीर्घकालसम्म काम नलाग्ने फेरि–फेरि उस्तै दुःख कष्टहरु आफ्नै चेलाहरुले पाइरहने हुँदाको कारण, एकैपटकमा फत्ते काम गर्नु लगाउँनु भएको थियो । आफ्नो सहज परिस्थितिमा च्यादर लगाउँन सक्ने भएसी बोलाउँनु जसरी नि आइपुग्छु भन्नु भाथ्यो रे । त्यो समयकालको झण्डै बर्ष दिनपछि सुब्बा लगायत दिलमानहरु दार्जिलिङको सुकिया पोखरी बजारबाट उक्त च्यादर किनेर ल्याए र छानो छाए÷लगाए । त्यसपछि महागुरुको चुक्चिनाम्बाबाट देवागमन भएको थियो भनिन्छ । तर महागुरु त्यो च्यादर छानो नलगाइकन पनि पटक–पटक चोकमागु लब्रे आइपुग्नु भएको थियो भन्ने बुझिन्छ ।
उसबेलाको संस्मरणलाई खोतल्नु पर्दा, महागुरुको दिव्य उपदेश मुताविक धार्मिक आचारसंहिता, बाः साह्रै कठोर र पालन गर्न ज्यादै गाह्रौ थियो भनिन्छ । त्यो मानेमा महागुरुको अनुशासन र निर्देशन आज्ञा साह्रै कडा थियो रे । जुन गुरु आश्रम निर्माणसँग जोडिने बस्तुगत भौतिक सामग्रीहरु भरसके नविसाइकन निर्माण स्थलमा ल्याई पु¥याउँनु पथ्र्यो । चोकमागुदेखि अर्थात गाउँघरबाट त्यो निर्माणस्थल लब्रे आइपुग्न त कम्तिमा डेढ् दुई घण्टासम्म बोकेर उकालो ओरालो बाटो गर्नु पथ्र्यो । जस्तो की बाँसको लिङ्गोहरु बोक्नुपर्दा, बाः ठाडोको ठाडैनै बोकी रहनु पथ्र्यो । अनि अन्य काठपातहरु बोक्नुपर्दा नि त्यस्तै नियमपूर्वक बोकेर लैजानु पर्ने थियो । भन्नुपर्दा, आफ्नो काँधमा बोकी रहेसम्म, सुचीमुची, थुक्न अनि ग्याँस लिग (पाद आएनी) आउट गर्न पनि नहुने थियो रे । मनमा पापको कु–विचारहरु पनि एकरत्ति बोक्न नहुने । यदि शरीरलाई बोझ भए वा दिशा पिसाब थेग्न नसक्ने खण्डमा सफा जग्गामा राख्नु पथ्र्यो । जुन विसाउँनु पूर्व अनिवार्य सुम्लेङ माङसेवा (तीन पटक ओत्कार) गर्नै पथ्र्यो । अनि त्यसपछि पानीले हातखुट्टाहरु धोई पखाली गरी, साङसाङ सेसे गरेसी मात्र पुनः उक्त लिङ्गो पातहरु बोक्नु पथ्र्यो । त्यस्तो नभए, लब्रे स्थल मुनि रहेको गोपी भञ्ज्याङ भन्ने ठाउँमा अनिवार्य विसाउँनु पर्ने र सुम्लेङ माङसेवा गरी जसै पु¥याउँनै पर्नेथ्यो । यो बीचमा कोही कसैले यी नियमावली निर्देशन आज्ञा विरुद्व उलङघनहरु भए/गरे, वा ढाट्न छल्न खोजिए, महागुरुलाई एकरत्ति पनि ढाट्न र झुक्याउँन सकिन्नथ्यो । आत्मा ज्ञानी अन्तरयामी हुनु भएकोले त्यो छलछाम गर्न त रत्तिभर सम्भव नै थिएन । यो कठोर र कडा नियम लागू गर्नुको पछाडि रहस्य जुन गुरु आश्रम निर्माणको शुभ साईतको शुभमुहुर्त येत् लाधुङसेमीको रूपमा माङवाहाङ्वा प्राप्तिको माङसेवा गर्नु थियो । जसको मुजोत्लुङ चोत्लुङ (माङगेन्ना फोङ्मा) गरिमामय शीर उठाउँनु पर्ने थियो । त्यहीँ मानेमा महगुरुले माङसेवासेवकहरुलाई त्यो कठोर श्रमको लागि, नैतिक कठ्घरामा उभ्याएर अग्नि परिक्षा लिनु भाथ्यो ।
अन्तः यस्तो कठोर अनुशासनको साधना कर्मपछि महागुरुको सदिच्छा पूरा गराएथे । उसवेला महागुरुलाई भव्य माङसेवा गरी पञ्चकन्या र नौमती बाजागाजाहरुको साथमा माङलाङ ताक्माका साथ यो गुरुआश्रम अर्थात माङहिममा प्रवेश तथा हस्तान्तरण गरिएको थियो । जुन यो शुभ साईतको कार्यक्रममा विभिन्न फलफूल मिठाईहरु थुप्रिएको थियो रे । जुन प्रसादको रूपमा बाँड्दा अनुयायी भक्तजनले आफ्नो लुगाको फेरो र बर्कीहरुमा थाप्थे भनिन्छ । अर्को आश्चर्य के थियो रे भने, त्यो बाँसको लिङ्गोहरु बाँसघारी कै रूपमा ठिङग उभेको देखिन्थ्यो रे । हो, यसरी इतिहासको दुर–दराजबाट चिहाएर हेर्दा र बुझ्दा, यो लब्रे माङहिम आफैंमा गुरु आश्रमहिमको रूपमा निर्माणधिन बनेथ्यो/भएथ्यो ।

गुरु आश्रमबाट, माङहिमको स्वरुप
महागुरुको सदिच्छा मुताविक, सुब्बा आशबहादुरले पहिले त यो गुरुआश्रम अर्थात बस्ने घरको तयारी गरेको हो । संयोगबस् निर्माण गर्नेक्रममा यसको स्वरुपको आकार माङहिमको जस्तो बन्न पुग्यो । माङहिमजस्तो बनाइनुमा एक त, महागुरु साँधु योगी हुनु भएकोले, साँधु बस्ने परिकल्पनानै मन्दिर जस्तो हुनुपुग्यो । त्यहीँ मानेमा गुरु आश्रमको रूपमा महागुरु बस्ने घर तयार भएथ्यो । यथार्थमा यो महागुरु बस्ने गुरुआश्रम कै रूपमा यसको प्रयोग गरिमा रहन गयो । यो गुरु आश्रमको अस्तित्व निर्माण महागुरुको पालाभित्र निर्मित बनेका माङहिमहरु भन्दा, यो नितान्त नौलो र अनौंठो शैलीमा यसको अस्तित्व उभिएर बाँचेकोछ । यसको बनावट संरचना भने दुईतले रहिआएको छ । यसको बाहिर अनुहार/आवरण माङहिम शैलीको देखिए पनि यो महागुरु बस्नु हुने घरको आश्रमको रूपमा निर्माण गरिएकोले दुई तले बन्न पुगेको हो । माङहिम भित्रको एक तला माथि उहीँ खोटे सल्लाको चिरपटहरु विछ्याइएर त्यस माथि त्यहीँको माटो मुछेर तलाको रूपमा कोठा बनाइएकोछ । जसको भुईँमा माङथानहरु राखेर माङसेवाहरु गर्ने गरिन्छ ।
अत एवः त्यसपछि यता, महागुरु चोकमागु देवागमन हुनुहुँदा सदा यहीँ लब्रे माङहिममा गुरु आश्रमको रूपमा आश्रय लिनु हुन्थ्यो । अर्थात साँझ रातको विश्राम पनि यहीँ माङहिम कै दोस्रो तला माथि गर्नुहुन्थ्यो । त्यहीँ मानेमा यो माङहिमको अस्तित्व निर्माण, गुरु आश्रमसँगै यसको ऐतिहासिक अन्तर सम्बन्धहरु अलगअलग रूपमा जोडिन पुगेकोछ । तसर्थ यसको आन्तरिक स्वरुप नै दुई संरचनागत अस्तित्व निर्माणमा उभिन पुगेको हो, छ । त्यो हो, पहिलो गुरु आश्रम र दोस्रो माङहिमको स्वरुपमा निर्मित छ । स्मरण रहोस्, यस लब्रे माङहिममा महागुरुले १४ बर्ष लामो आफ्नो अध्यात्मिक कायाचोलाको भौतिक शरीरलाई योग, साधना र कर्ममा लीन गर्नु भएको थियो भनिन्छ ।
भूमि दान, स्वमित्व ग्रहण र विजारोपण
महागुरुले युमामाङ युक्ना स्थानको लागि त्रिशुल गाडिएको त्यहीँ ठाउँको सेरोफेरो जग्गालाई सदर गरेपछि गुरु आश्रम माङहिम निर्माण गर्ने तयारी गरियो । अफसोंच त्यो ठाउँको जग्गा विवादास्पद वनेथ्यो । उपभोग जग्गाको सिमा चारै दिशा पानी ढलाउ पर्ने भएको कारण, तुम्बापो र तुम्रोक लिम्बुहरुबीच तेरो र मेरोको दाबीले कानुनी मुद्दामा दर्ज भएथ्यो । अन्तः मेलमिलापपछि त्यसको पाँच बर्षपछि मात्र निर्माण गर्न सकिने कानुनी बाधा अड्चनको गांठो फुकुवा भयो । तत्कालीन सुब्बा आशबहादुर त्यो स्थान रुजु गर्न र निर्माण कार्य अघि जोड्न उनी आफै सदर साक्षी बनेथे । त्यो समयकाल सुब्बा हाकिमको बोली, गोली बराबर भन्ने हुन्थ्यो । जंगे उर्दी नै कानुन र गोलीको रूपमा मान्नु र बुझ्नु पथ्र्यो । तथापी हकवाला जग्गादाताहरु भने उसै नि महागुरुप्रति अगाध श्रद्वानै राख्थे । फेरि जग्गा धनीहरु पनि अन्ततः महागुरु कै चेलाहरु भएको कारण सहज बन्यो । जुन जग्गादाताहरु जसमुनि पन्थका भक्तहरु पनि थिए । उसताक पान्थर नागीका गोपालदास योङहाङ जो जसमुनि पन्थकै गुरु थिए । उनलेनै पूर्वको दक्षिण भेगबाट शक्तिशाली मान्छे आइसकेको माङ वाणी गरी सकेथे भनिन्छ । त्यो शक्तिशाली मान्छे महागुरुनै हो भन्ने आत्माबोध भएपछि उनका चेला गंगादास तुम्बापो महागुरुको चेला बन्न पुगे । त्यसको प्रभावले उनकै भत्तिजो रायसिङ पनि जसमुनि पन्थकै गुरु थिए । अन्ततः उनी पनि महागुरुको चरणमा चेलो बन्न आइपुगे । जो उनीहरुकै पनि जग्गा/भूमि भएकोले सहजै दान चढाए । त्यसमा अन्य जग्गा सन्ध्यारीहरु तुम्बापो, तुम्रोकहरुले पनि सहर्ष दान दिए । त्यो समयमा तत्कालै दश रोपनी जग्गा त लिखित दान चढाएको राजीनामा तमसुकमा प्रमाणनै भेटिन्छ/देखिन्छन् ।
जब गुरु आश्रम माङहिमको निर्माण अस्तित्व उभिसकेपछि संस्थागत रुपले स्वमित्व जग्गाहरु अझ फराकिलो दायरामा आफ्नो प्रभुत्व जोडेको पाइन्छन् । सुब्बा आशबहादुरले (१९८६–८७) पान्थर यासोकका सुब्बा शेरबहादुर लावती (पद्मसुन्दर लावतीको बाजे) लाई पनि चिठी लेखेर बोलाए । त्यसपछि माङहिमको नाममा संस्थागत भूमिदान गर्ने जग्गादाताहरुको लर्को नै लाग्यो । त्यसताक चोकमागुमा मात्र बाइस जना त सुब्बा हाकिमहरु थिए भनिन्छ । त्यसमा आठ जना त जिम्मेवाल प्रशासकको पदभार सम्हाल्नेहरु थिए । उनीहरु सबै एकसाथ सहयोगी दानदाताको रूपमा उभिए । भनिन्छ, लब्रे माङहिमको नाममा त्यतिखेरको स्वमित्व/भूमिदान प्राप्त कम्तिमा पनि बाइस, पच्चीस सय रोपनी जति उपलब्ध भएको अनुमान गरिन्छ । यसको लिखत कागजी तमसुकहरु पनि सदर साक्षी भेटिन्छन् । दुर्भाग्य त्यो स्वमित्व/भूमिहरु अहिले शताब्दी बर्षपछि फर्केर खोजिनिन्दा गरी टोपल्दा त्यो तमसुक कै दुर–दराज भित्रको कागज कै, वहीँ अक्षरहरुमा मात्र स्वमित्व र विरासत बाँचेको देख्न र भेट्न सकिनेछ । विडम्बना अहिले भए, गरेको देखिएको यथार्थ स्वमित्व भूमिको हकमा बाइस, पच्चीस सय रोपनी रहेको त्यसको अघि सात, आठ गुणा भागको सानो अंश मात्र अहिले यहाँ अस्तित्वमा रहन पुगेकोछ ।
अतः अहिलेको यथार्थ कहनुपर्दा, माङहिमको अस्तित्वमा भएको त्यो स्वमित्व/भूमि तीन सय सैत्तिस (३,३७) रोपनी जति कायम रहेको छ भन्ने बुझिन्छ/देखिन्छ । बाँकी हजारौं रोपनी जग्गाहरु संस्थाको स्वमित्व, विरासतको रूपमा कहीँ कतै देखिन्दैन । जसको सिमा क्षेत्रको आधारहरु पनि कहाँ–कहाँ पथ्र्यो ? र त्यसको साँध सिमानाहरु कहाँसम्म फैलेको थियो ? भन्ने हेक्कासम्म छैन् । जसको खोजिनिन्दा र चासो राख्ने सम्बद्ध आधिकारिक लब्रेकुटी माङहिम सञ्चालक समिति र तत्–सम्बन्धित् निकायका शक्तिशाली किरात धार्मिक छाता संगठनहरुले त्यो अनदेखा भएका स्वमित्व जग्गा/भूमिहरु जसै पुनः फिर्ता ल्याउँन सक्ने समन्वयकारी भूमिका र पहल कदमीहरुको नेतृत्वदायी जिम्मेवारी वहन गर्नैपर्छ । अतः तत्कालिन महागुरुज्यूको नाममा चढाइएको उक्त भूमिदान गरेका जग्गाहरु, हकवाला जग्गादाताहरुसँग पुनः समन्वयकारी सम्वाद र सहजीकरण गर्न सके, पहिले तोम्मा गरेका भूमिहरु फिर्ता ल्याउँन सकिनेछन् । मतलव गुमाइएका सो जग्गाहरु संस्थागत माङहिमको नाममा स्वमित्वमा रहन र आउँन सक्नेछन् । तर यसको प्राप्तिको लागि पहल कदमी चालहरुको दृष्टि र अभियान चलाउनै पर्ने हुन्छ । सम्बद्ध नेतृत्व वर्गहरुले त्यो हेक्का राख्नैपर्छ ।
त्यो पनि संस्थागत धार्मिक गुठी संस्थाको रूपमा जुन स्वमित्वलाई अचल सम्पतिको नाममा सदर कानुनी वैद्यतामा प्रमाणीकरण गर्न ध्यान नदिएको बुझ्न सकिन्छ । माङहिमको नाममा उसको क्षेत्रधिकारको स्वमित्व अंशदेखि बाहेक बाँकी देखिएको उसको प्रलय अंशियारी स्वमित्व सरकारी कानुनी ऐनामा हेर्दा देखिन्न भन्ने हो । फलतः माङहिमको नाममा गुठीको रूपमा बैधानिक दस्तखत नभए नि सम्बद्ध सरकारी ऐंनमा धन्न धार्मिक क्षेत्रधिकार तोक गरी लब्रेकुटी देवस्थलको नाममा उक्त तीन सय सैत्तिस रोपनी स्वमित्व जग्गा भएको सूचीकृत रहेको बुझिएकोछ । अतः राहत स्वरुप सरकारी ढट्टामा यतिसिक् प्रमाणीकरण दर्ज भई आधिकारिक हुनुमात्रै पनि ठूलो उपलब्धि हो । यो उपलब्धिको श्रेय पनि माओवादी द्वन्द्वकाल (२०५९) र तत्कालिन लब्रेकुटी र सिलौटीमा शाही सेनाको टुकडी बेसक्याम्प राख्ने विषयले धार्मिक द्वन्द्व हुने सिर्जनाहरु उत्पन्न हुदैंथ्यो । अन्तः त्यसलाई पूर्ण ब्याक गर्नलाई सेनाको योजनाहरु विरुद्ध, नीतिगत प्रकृयागत संम्वाद र निकास खोजिएको थियो । नभए जन दबावपूर्ण प्रतिवाद र प्रतिरोध गरिने गरिएको थियो । जसको सम्बद्ध सरकारी अधिकारीहरुले जसै ध्यानाकर्षण गर्न बाध्य बने/भए । अन्ततः यो स्वमित्व/भूमिलाई महागुरुको तपोभूमि विशेषः धार्मिक क्षेत्रधिकारको रूपमा लब्रेकुटी देवस्थलको नाममा पान्थर फेदेनको मालपोत कार्यालयमा दस्तखत तोक गर्यो र आधिकारिक मान्यता स्विकृति प्रदान गरेको थियो ।

अन्तः त्यो समयकाल सेनाले आफ्नो सेल्टर क्याम्पको रूपमा यी स्वमित्व जग्गाहरु कब्जामा लिएको भए के हुन सक्यो ? सम्भव त सेनाको त्यो योजना सफल भएको भए धार्मिक स्वमित्व जग्गाहरु मात्र होइन लब्रे माङहिमको अस्तित्व पनि कब्जा र संकटमा पर्ने थियो । उसो त अहिले पनि सरकारी नीतिगत प्रक्रियाहरुमा संस्थागत गुठीको नाममा यो हाम्रो हो भन्ने दाबी गर्ने अग्राधिकार रत्ति छैन् । त्यो न सम्बद्ध माङहिम समिति परिवारलाई छ, न त किरात धर्म छाता संगठनहरुलाई छ । न की गुरु निजी आश्रमलाई नै छ । जुन त्यो स्वमित्व जग्गाहरु अहिले कानुनत सामाजिक, धार्मिक गुठी संस्था नियामवली ऐंन अन्तर्गतको तारबारले घेरेर ’लब्रेकुटी देवस्थलको नाममा सरकारले अनुबन्ध गरेकोछ । यो मानेमा सम्बद्ध किरात धार्मिक संघ/संस्थाहरु भने बेखवर झैं लाटो गंगो जस्तै बनेर त्यसका नेतृत्व वर्गहरु चुपचाप मौंन देखिन्छन् । स्मरण रहोस्, माओवादी द्वन्द्वकालमा उसबेला स्थानीय किरात धार्मिक अभियन्ता तथा सम्बद्व माङहिम समितिका पूर्व अध्यक्ष रमेश तुम्बापोले सहजीकरणको नेतृत्व नगर्नु भएको भए यतिखेर यो लब्रेकुटीको माङहिम धार्मिक क्षेत्रधिकार भित्र नेपाली सेनाहरुको परेट खेल्ने टुँडिखेलको मैदान जस्तो बन्नेथ्यो/हुन्थ्यो । त्यो बेलाको त्यस्तो असहज परिस्थितिलाई काबुमा राखि पहिरो जानबाट रोक्न सक्ने रोकथामको उत्तरदायी भूमिकाको नेतृत्व रमेश तुम्बापोको अथाह रहन गयो । त्यो ऐतिहासिक रेकर्ड ब्रेकको क्रेडितको जस् र श्रेय पनि अन्तत उनै तुम्बापोलाई जानेछ । अतः त्यो बेला सम्बद्ध सिंगो किरात धार्मिक संघ/संस्थाका नेतृत्वकर्ताहरुले वहाँलाई हार्दिकतापूर्वक कृतज्ञता र नुगेन/धन्यवाद तोम्मा गर्नै पथ्र्यो, तर अफसोंच संस्थागत औंपचारीक रूपमा पूर्ण सम्मानार्थ नुगेन प्रदान गर्नपनि किरात धार्मिक ब्यक्तित्व र नेतृत्वको ट्याग् बोकेकाहरु आफ्नो संस्थागत धर्म निर्वाह गर्न पनि कञ्जुस् गर्ने गर्छन् ।
लब्रे, कुटी र चोकमागु नामको सन्दर्भ
लब्रे
याक्थुङ/लिम्बू भाषामा लब्रालाई किशोर, अर्थात युवा टिनेजर उमेर भन्ने रछ । अन्तः लब्री चाहीँ किशोरी भन्ने अर्थमा रैछ । यो सम्बोधन शब्दहरुलाई जोडेर लब्रालब्री भन्नुपर्दा, किशोर/किशोरीको रूपमा औंल्याउँने विशेषः सम्बोधन रैछ । यस स्थान/जग्गालाई लब्रे भन्नुको अर्थमा यो ठाउँ उसै नि नाँगी डाँडा थियो । विशेषः यो पशुपालन चरनको रूपमा विकसित भएको रैछ । त्यो बेला गाईबस्तु चरन र भेडीगोठहरु प्रशस्त थिएछन् । अझैपनि यो माङहिम तलमुनि भेडीगोठ, भेडीचौर भन्ने ठाउँ/नाँगीहरुमा छँदैंछन् । त्यहीँ मानेमा गाई बस्तुहरु चराउँने र भेडीगोठे गोठालेहरु समग्र प्राय सबै किशोर/किशोरीहरु मात्र हुने रैछन् । जहाँ तरुनी/तन्नेरीहरु गोठालोको रूपमा भेलिन्थे र नाच्थे, गाउँथे अनि रमाइलो गर्दै रमाउँथे रे भनिन्छ । जहाँ किशोर/किशोरी लगायत मसिना केटाकेटीहरु पनि खेल्ने/भुल्ने ठाँउ रहेछ । जुन रमाइलो गरिने स्थानलाई लब्रेडाँडाको नाम र अर्थले चिनिन्दै र बोलाउँदै गइयो । अतः यो लब्रा भाषाको सम्बोधन गर्ने क्रममा प्राय यसलाई बोल्दा या लेख्दा नेपाली खस् भाषामा लब्रे भन्ने सुनिन्छ/लेखिन्छ । यो गैर अन्तर जातीय अन्तरघुलनको सघनताको कारण पनि भाषा शैली उच्चारण स्वरमा, लब्रा हुनुपर्नेमा अप्रभंस रुपले बोल्दै जाँदा लब्रे भन्नुपर्ने अवस्था सिर्जित हुँदै गएको हो ।
कुटी
अन्तः फेरि यो कुटी किन जोडियो ? भन्ने विषय पनि बहुत चासो र चिन्तन रहयो । महागुरु तपस्वी साँधु योगी अर्थात स्वामीको भेषमा, लब्रेको माङहिममा बस्नु हुन्थ्यो । समय–समयमा त्यहाँ आउजाउ गरिरहनु हुन्थ्यो । जुन माङहिम महागुरुको हकमा गुरु आश्रम जस्तै भएथ्यो । त्यो मानेमा बाहुन क्षेत्री समुदायका विद्वान वर्गहरुले कुटी नामले सम्बोधन गर्न पुगे । यी समुदायले धार्मिक स्वामी गुरुहरु रहने÷बस्नु हुने आश्रम घरलाई हार्दिक श्रद्वाले सम्मानार्थ कुटी भनेर आदरभाव दर्शाउँने गर्छन् । तसर्थ यो ठाउँको नाम लब्रे र माङहिमलाई कुटी जोडियो र संयुक्त रूपमा लब्रेकुटी भन्न थालिएको हो । अतः अहिले यसै नामले चिनिन र प्रख्याती कमाउँदै पनि गएको हो भन्ने बुझाई छ ।
चोकमागु
यो लब्रेकुटी माङहिमसँग चोकमागु गाउँ÷ठाउँको नाम जोडिएन भने यी दुवैको अस्तित्व पुरक बन्न सक्दैनन् । चोकमागु नेपालको सुदुर पूर्व लिम्बुवानको पान्थर थुमभित्रको तत्कालिन गाउँ पञ्चायत/गाविसको रूपमा अस्तित्व निर्माण गरेको थियो । अहिले यो फेदेन नगरपालिकाको वडा न.–५, क्षेत्रधिकार भित्र समेटिएको छ । दिलमान तुम्बापोको पुख्र्यौली थातथलो रहेको चोकमागुसँग महागुरुलाई साँघु/पुलको रूपमा जोड्ने कार्य उनैले गरेका हुन् । त्यसपछि लब्रेकुटी र माङहिमसँग जोड्ने काम महागुरुले गर्नुभएको थियो र हो । यो चोकमागु लब्रेकुटीसँग महागुरु र दिलमानको शाल र नाल एउटै जोडिए जस्तै अन्तर–सम्बन्धहरु रहन गएथ्यो । त्यो मानेमा चोकमागु विशेषत महागुरुसँग परिपुरक अध्यात्मिक दिग्दर्शन र अन्तर–सम्बन्धको कारण कालजयी रुपले अमर, अजर बन्न पुगेकोछ । यथार्थ भन्नुपर्दा, चोकमागु तुम्बापो समुदायको बाहुल्य सघन थातथलो पनि हो । तुम्बापोलाई पापोहरु पनि हुन् भनिन्छ । उनीहरु तमोर पारीबाट यहाँ आउँदा चोक्मा भन्ने ठाउँमा पहिलोपटक एउटा् घर बनेको थियो रे । याक्थुङ/लिम्बू भाषामा चोक्मा भनेको बनाउँनु अर्थात निर्माण गर्नु भन्ने हुन्छ । अन्तः त्यो पहिलो बनेको घर देखेपछि त्यहाँका तुतु–तुम्याहाङहरुले चोक्मानु भनेछन् । त्यसको मतलव चोक्मा, बनाउँनु र नु चाहीँ हुन्छ/राम्रो भन्ने अर्थ लाग्न पुग्छ । अर्थात चोकमानु भनेकै बनाउँनु राम्रो हुन्छ भन्ने अर्थमा थियो । अतः त्यसको पूर्ण सार घर बनाउँनु राम्रो हुन्छ भन्ने जवाफी प्रतिक्रियामा थियो । तर, विडम्बना अफसोंच के रहन गयो भने चोकमानुको अप्रभंसमा नुको सट्टामा गु जोडियो र अन्ततः चोकमागु हुन गएको हो भन्ने बुझिन्छ ।

फलत महागुरुले माङ पान्छिङ (देववाणी) गर्नु हुँदा चोकमागु आजोक्सिङदेन् (कर्म गर्ने भन्ने ठाउँ) र लब्रे कुसङ आलप्देन् (सिद्वि शक्ति प्राप्त पाइने स्थान) भनि माङवाणी गर्नु भएको थियो भनिन्छ । त्यो चोक्मा भन्ने ठाउँ एउटा सानो चोकस्थल जस्तै गाउँ थियो । कालान्तरमा चोकमानु हुँदै, चोकमागु जनबोलीहरुमा भिज्दै गएपछि एउटा सिंगो गाउँ पञ्चायत÷गाविस बन्न पुगेको हो भन्ने यथार्थ बुझ्न सकिन्छ ।
माङहिमको विविध नामाकरण र परिभाषा
यो लब्रेकुटीको माङहिमको नाम किरात साङसेन वरक माङहिम राखिनु अघि विविध नामाकरणहरु राखिएको थियो भन्ने बुझिन्छ । महागुरुले उस बेला सुमसाप्ना फत् लन्दि माङहिम भन्ने नाम राख्नु भएको हो भन्ने छ । फेरि महागुरुको सिवाखाहुन लेखौट्मा, तिलिचोंगु सावायेत् तुम्याहाङ तेम्बे माङहिम छ भन्ने पनि बुझिन्छ । उसो त महागुरुले आफ्नो जीवनकालमा निर्माण/स्थापना गरिएको माङहिमहरुको मिङ सबै आफ्नै मौलिक मुन्धुमी भाषामा राख्नु भएको थियो भन्ने तथ्य प्रमाणहरु लिखत बहिखाताहरुको तमसुकमा भेटिन्छन् । दुर्भाग्य आज महागुरुकालिन ती सबै स्थापित माङहिमहरुको नामाकरणहरु एकरत्ति भेटिन्दैनन् । ती मौलिक भाषिक नामहरुको न नाम, न अस्तित्व नै छ । सबै जबर्जस्त गुमनाम नामेट गरिएको/भएको बुझ्नलाई उति गार्हो छैन् । जबकी महागुरुले राख्नुभएको नामहरुलाई हटाउँदै किन दोस्रो नयाँ नामहरु जुराउँदै राखियो ? यो ज्यादै दुःखद पक्ष हो, जुन यो बुझी नसक्नु भएकोछ । अन्तः फेरि यसै माङहिमको दोस्रो नाम, नामसाङ्ला माङहिम भन्ने राखियो । यो प्युठानको त्यहीँ स्वर्गद्वारी मन्दिरसँगको गुरु मधुनन्दको धार्मिक सहिष्णुता र सामित्यका कारण त्यहीँ मन्दिरको नेपाली नामलाई मौलिक भाषाको संस्करणमा रुपान्तारित नाम राख्न खोजिएको हो भन्ने बुझिन्छ । जुन महागुरुको माङसिवा खाहुनमा, नामसाङला माङहिमको वर्णन गर्नुभएको भन्ने छ । फेरि एउटा विडम्बना कुरो के रहयो भने, महागुरुपछि यो माङहिमको नाम नामसाङ्लालाई नेपाली संस्करणमा उल्ट्याएर फेरि वहीँ सुर्जेद्वारी मन्दिर भनेर राखियो । यो आफैंमा ऐतिहासिक माङहिमको नाम, सिलसिलेवार बदली रहनुले आम किरात धार्मिक अनुयायीहरुलाई सोच्न भने बाध्य बनाउँन पुग्छ ।
समग्रमा भन्नुपर्दा, महागुरुकालिन् माङहिमहरुको स्थापना ६ वटा मात्र होइन १० बढी भएको देख्न र बुझ्न सकिन्छ । ती सम्पूर्ण स्थापित माङहिमहरुको नाम, महागुरु आफैंले मौलिक मुन्धुमी भाषामै राखिदिनु भएको सत्य तथ्य लेखौटहरुमा प्रमाणित छन् । जस्तो की, चुक्चिनाम्बा माङहिमलाई नावा सेन्दिपेसाप राखिएथ्यो । इलामको जीतपुर माङहिम, मिक्कीफुङ्वा भन्नेथ्यो । ताप्लेजुङ, आठराई, निगुरादेन माङहिमलाई तुङगुन वरक भनियो । ताप्लेजुङको कावेली माङहिमको नावाचईत माङहिम भो । पान्थर, सिलौटी माङहिमलाई साङसेन नाम्भुयक भन्नु पथ्र्यो । अन्तः फक्ताङलुङ निर्माणाधीन माङहिमलाई पारुङ मारुङ् फुक्कु भन्ने राखियो । जुन महागुरु फक्ताङलुङ दर्शन यात्राको (विस. १९९५) क्रममा भेटी संकलन गरी उक्त माङहिम निर्माण र मिङ÷नाम राख्नु भएको हो भन्ने बुझ्न सकिन्छ । दुर्भाग्य अहिले यी माङहिमहरुको नामाकरण नामेट गरी, प्राय नेपाली खस भाषामा र उनीहरुकै देवी देवताहरुको नाममा राख्न पुगेको देखिन्छ । यो आफैमा विडम्बना र आश्चर्यपूर्ण उदेकलाग्दो प्रसंगहरु देखिन/बुझिन आएकोछ ।
खैर : स्मरणमा उन्नुपर्दा यो लब्रेकुटी माङहिमको पछिल्लोपल्टको शुभ मुहुर्त नाम साङसेन वरक माङहिम भनेर जुराइयो । यसको पुनः न्वाराँन चाहीँ वर्तमान पुजनीय धर्मगुरु आत्मानन्द लिङ्देन सेइङज्यूले जुराई दिनुभएको हो । अहिले यो नाम मार्फत नै संस्थागत आधिकारिक प्रकृया, विधि र नियामवली अनुरुप दर्ज गरी २०६० देखि यसैलाई सर्वोपरी मान्यता दिइ, नीतिगत कार्य सञ्चालनहरु गर्दै आइरहेको छ ।

जिर्णोद्वार भर्जिनीटी कायम की पुनः संरचना ?
यो लब्रेकुटी माङहिमको स्वरुप निर्माण/स्थापनाकाल देखिन् त्यहीँ बान्की र अनुहारमा अहिलेसम्म त्यहीँ झल्को देखिन्छ । लामो इतिहास बोकेको यसले आफ्नो भौतिक अस्तित्व कमजोर र बूढो हुँदै गएको आभाष दिलायो । आफ्नो स्थापना उमेरको हीरक बर्ष (७५) प्रवेश गर्दैगर्दा, संरचनागत सामान्य हेरफेर गर्नुपरेको थियो । उसो त महागुरुले आफ्नो कायाचोलालाई यो लोकबाट समाधिस्थ (२२ चैत २००५) गरी विदा लिनु भएको स्वर्ण बर्षकाल (५३) पछिको समयमा माङहिमको कायाचोलालाई पनि जिर्णोद्वार (२०५८) गरियो । यसको पुनः संरचनाको हकमा, झ्याल, ढोका, छानोको बतासी, च्यादर (जस्तापाता) र गजुरहरु फेरिएको हो । तपशिल उल्लेखित यी निर्मित आँखीझ्यालहरुको संरचना निर्माण भनेकै सबै खोटे सल्लाको काठपातहरु हुन्/थिए । त्यसमा छानोको च्यादर फेरिए । अर्को माङहिमको गजुर त्यो समयकाल धुपी काठको निर्मित राखिएथ्यो । त्यसको सट्टा तामाको त्रिशुल गजुर उभ्याइयो । अतः जिर्णोद्वारको हकमा संरचनागत फेरबदल गरिएको त्यतिमात्र हो । कहीँकतै यसको रंगरुपमा तोडमोड भएको छैन् । त्यहीँ मानेमा यसको ओर्जिनल भर्जिनिटी पनि एकरत्ति फेरबदल गरिएको छैन ।
यथार्थ कहनुपर्दा, यो माङहिमको जग यति शक्तिशाली रुपले उभिन पुग्यो की, यसले नब्बे सालदेखि यताको सबै खाले भुकम्प, आँधीबेरी र आगो पानीहरुको सामनाहरु गर्दै/सहदैं चट्टान झैं ठिङग उभिन सक्ने महाशक्ति प्राप्त गर्यो । जुन प्रकृति प्रकोपहरुले हल्लाउँन त के गारोको एकचोइटा माटो पनि उप्काउँन सकेन भनिन्छ । बरु त्यो सँगसँगै माङहिम स्थापनाको अस्तित्वसँगै महागुरुको सानिध्यता र अन्तर–सम्बन्धहरु उस्तै ऐतिहासिकपूर्ण छन् भन्ने कथन काफी सुनिन्छन् । त्यसको मतलब महागुरुको अध्यात्मिकता र जीवनशैलीमा प्रयोग गरिएका उपयोगी सामग्री बस्तुहरु कति थिए ? जो अनदेखा बन्दी छन् की ? संरक्षित संग्रहित छन् ? भन्ने हो । जुन आमचासो र खोज विषयको चिन्तन पनि हो । यसको तत् विषय उपर छुट्टै आलेख नै दस्तखत गरौंला । पुनः माङहिम अस्तित्वको सेरोफेरो परिक्रमा गर्नुपर्दा, समान अस्तित्वको रूपमा अन्य थप माङहिमहरुको स्थान पनि उभिन पुगेको छन्, भने जसको वरिपरि ढुंगाको पर्खालले घेराबन्दी गरिएकोछ । यो महागुरु पछि नयाँ पुनः संरचनाको जग र भर्सनको अनुहार हो ।

स्मरण रहोस्, प्रस्तुत माङहिमको ओर्जिनल भर्जिनिटी अस्तित्व कायम राख्ने दायित्वभारमा, एकाध÷दोकाध भत्काइयो र नामेट गरियो । पछिल्लो नयाँ गुरु योजनाको द्रुत विकासको गतिले कतिपय महागुरुकालिन संरचनागत ओर्जिनल भर्जिनिटी अस्तित्वहरु तोडियो । कति वृक्षरोपण गरिएका विविध प्रजातिका ऐतिहासिक रुखहरु ढालिए/पोइसासँग साटिए/बेचिए । जसको भोलिको दिनमा त्यसको ऐतिहासिक पुरातात्विक उत्खननमा साइन्टिस्ट टेष्टमा सघाउ पु¥याउँथ्यो । अन्तः ओर्जिनिल भर्जिनिटी (अर्गानिकता) अस्तित्वलाई संरक्षण/सम्बद्र्धन गर्दै बचाउँन नसक्नु चाहीँ दुर्भाग्यपूर्ण रहयो ।
शताब्दी वर्षको उचाईं, कति अग्लियो ?
महागुरुको कालजयी विरासत बोकेको यो लब्रेकुटी माङहिमले जुन नयाँ काँचुलीको चोलाहरु फेर्न सक्नु पथ्र्यो, त्यो रंगरुपमा आफूलाई बदल्न सकिरा देखिन्न/छैन् । फेरि रुपान्तारित रूपमा कायापलट् नै भएन र गर्नै सकेन भन्ने रत्ति होइनन् । तर यो शताब्दी बर्ष लामो समयको फड्को मार्दैगर्दा जुन द्रुतगतिको छलाङ् मार्नसक्नु पथ्र्यो, त्यो भारी अपेक्षा मुताविक भौतिक पूर्वाधार विकासहरुले उति गति लिन सकेनन् भन्ने मात्र टिप्पणी हो यो ।
महागुरुको दर्शनपरक आलोकले यो लब्रेकुटीबाट जुन दिशा निर्देश दिन सक्ने दुरसञ्चार जस्तै बन्न र बनाउँन सक्नुपर्ने थियो दुर्भाग्य त्यो अहिलेसम्म आइपुग्दा पनि त्यसले लयको मेसो पक्रन र भेउसम्म थाहा पाउँन नसकेको हो की भन्ने आत्माबोध हुन जान्छ । सत्यधर्म मुचुल्का (२४ बैसाक १९८८) पनि यहीँबाट संकल्पित प्रस्ताव राख्नु भाथ्यो । जुन त्यो लिम्बुवान इतिहासकै कालखण्डको पहिलो सामाजिक/सांस्कृतिक क्रान्तिको सूत्रपात भएको थियो र हो । अतः उसबेला महागुरुले चुम्लुङ गर्नु हुँदा पल्लो किरात, दश लिम्बू सत्रथुमका सम्पूर्ण सुब्बा, तुतु–तुम्याहाङहरुको भेला गराई सदर साक्षी राखेर थुप्रै नीतिगत संकल्पित उद्देश्यहरु कार्यहरु गर्नु गराउँनु भनि ल्याप्चे लगाइएका लिखत त्यस्ता तमसुकहरुले अहिले मुकदशक बनेर उल्टै गिज्याइरहेको प्रतीत हुन्छन् ।

उक्त संकल्पित नीतिका उद्देश्यहरुमा शिक्षादिक्षा पहिलो प्राथमिकता थियो । त्यसमा नि आफ्नै मौलिक भाषा र लिपिलाई जसै सरकारसँग याचना गर्ने, अनि आफ्नो नानीहरुमा पुस्तान्तरण गर्दै लैजाने र पछि त्यसैलाई ठूलो आकारमा स्कूललाई बदल्ने भन्ने थियो । त्यो स्कूललाई पछि महाविश्व विद्यालयको स्वरुपमा बदल्ने उद्देश्य हुनुपर्छ भन्ने थियो । जहाँबाट हामीहरुका आफ्नै दरसन्तानहरु ठूला–बढा विद्वानहरु जन्मिउँन/हौउँन् भन्ने महागुरुज्यूको सपनाहरू थियो । त्यतिमात्र थिएनन् यो लब्रेकुटीलाई संसारले चिहाएर हेर्न सकोस् र यहाँबाट धार्मिक, सामाजिक र सांस्कृतिक सभ्यता र मानव पयोगी ज्ञान अनि चेतनाहरु सिकुन्, बुझुन् भन्ने थियो । जहाँबाट संसारले हामीहरुको सभ्यता, संस्कृति र कलाहरुको अनुसरण गरुन् र पालना गर्न सकुन् भन्ने पो महागुरुको माङवाणी दिग्दर्शन थियो । जुन माङइङघङ दिग्दर्शनले संसारलाई राज गर्न मालिक बन्न अर्थात त्यसको मूल जराको माऊ बन भन्नु भएकोथ्यो/छ । परन्तुः अफसोंच मालिक त के नोकर मै आश्रित हो । नोकर भन्दा पर दास मै खुम्चिएको ब्यबहार त देखिन्छन् । यथार्थ भन्नुपर्दा महागुरुको तेस्रो आँखाले देखेको माङइङघङ वाणीको त्यो शंखघोषको ध्वनी त्यस्तो अभुतपूर्व शक्तिशाली रहेथ्यो । जसको कार्यान्वयन सम्पादनमा चासो, चिन्तन र दायित्वबोध सम्झेंनौं । जिम्मेवारी कर्तव्यबोधबाट जान, अन्जान च्युतनै भयौं । त्यो मानेमा महागुरुको यो दिग्दर्शनलाई उपेक्षा औं घोर आत्माघात र अपमान गरेतुल्य आभाष दिलाउँन पुगेको छ र हो ।
शताब्दी वर्ष उकालोको नेटो उक्लिन्दैंगर्दा, यता लब्रेकुटीमा बाइरोड्को बाटो मात्र छिचोल्दैछ र अहिले मेचीमार्गको (विर्तामोड–ताप्लेजुङ) कान्छी दोकान देखिन् लब्रेकुटी माथि आउँने त्यो बाटोलाई ग्रावेल अर्थात ढुंगागिटीहरु विछ्याँइन्दै गरेको देखिन्छन् । त्योसँगै चक्रपथ/रिङरोड बाटो त कागको कुहिरो जस्तै भाछ । जुन नमूना ट्रयाकको रूपमा बाटोको अनुहार त निस्कियो/देखियो । तर त्यसको अस्तित्व हःभन्नु गोरु, छ भन्नु मान्छे भन्ने आख्याँन जस्तै निरिहय हुन पुगेको अवस्थामा छ । अन्तः भनेसी, त्यो बाटोको मार्गमा पहिले महागुरुको त्यो दिग्दर्शन कुद्नु पथ्र्यो की ? बाटोको त्यो पूर्वाधार विकासहरु अघि पहिले कुद्नु पथ्र्यो ? आत्माबोधको लघुताभाष पहिले कसले गर्ने हो ? सरकारी सम्बन्धित निकायहरुले की ? तत्सँग सम्बद्ध निकायका सञ्चालक समितिहरुले गर्नुपर्ने हो ? क–कसको कारण र हेलचेक्राई प्रवृत्तिले हो ? महागुरुको यो दिग्दर्शनलाई बन्दी कैदी झैं बनाइएको ? अतः महागुरुको चोला समाधिस्थ हुन पुगेको झण्डैं आठ दशक (७८ बर्ष) लामो समय गुज्रिसक्दा पनि त्यो दिग्दर्शनले मुक्ति पाउँन नसक्नु र अझै त्यो अवचेतन मानसिकताको पराकाष्ठाबाट बाहिर ब्युँतिन नसक्नु पनि दुर्भाग्यता हो । जुन विषाक्त शून्य मानसिकता चेतको जेलबाट मुक्त अर्थात् थुनामुक्त नहुनु/नगरिनु भनेको, महागुरुप्रति अपमान र आत्माघात गरिनु जस्तैनै हो । फेरि रि–ब्याक् फर्कनुपर्दा, लब्रेकुटीको सेवा सुविधाको निम्ति बाटोघाटोले कालोपत्रेको रंगरुप त ढिलो–चाडों पाउँन सक्ला नै । अपितुः महागुरुको दिग्दर्शनले न्यायको काँचुली फेर्न/रुपान्तरण गर्नलाई अझै चन्द्रलोक पर टाढा देखिन्दोछ ।
एउटा तितोसत्य ओकल्नुपर्दा, लब्रेकुटी शताब्दी बर्षसम्म यहाँनेर आइपुग्दा, शाब्दिक अर्थले उसको उचाई कति बढ्यो ? भन्ने खोज र समिक्षात्मक मुल्याङ्कन गरिनुपनि हो । अन्तः आम–चासो र चिन्तनको विषय पनि रहयो । अतः यसले प्राप्त गरेको बस्तुगत भौतिक विकास र संरचनागत उठानको उचाईको रेसियोलाई जाँच गर्ने हो भने, यसले आफ्नो धरातलको (लब्रेकुटी) उचाई भन्दा माथि उक्लन र बढाउँन सकेको देखिन्न/छैन् । अहिलेसम्ममा उसको उचाईको लम्बाई त चेञ्जेलुङ/सगरमाथाको जतिकै पुग्नुपथ्र्यो भन्ने हो, दुर्भाग्य उ अहिलेपनि आफ्नै उचाई बढोत्तरी गर्नमा कछुवाको चोलामा जसै गन्तव्यमा पुग्न संघर्षरत कसरतमा देखिन्छ/बुझिन्छ ।
लब्रेकुटीको सौन्दर्याता र महिमा
यो सुदुर पूर्वको पान्थर थुम मध्येकै औधी सुन्दर जग्गा/स्थान हो । त्यसपछि मात्र अन्य जगाहरुमा भएकाहरुको वर्णन र बखाँन हुने गर्छन् । यो उसै नि प्राकृतिक रुपले त्यसै सुन्दर देखिन्छ । यसलाई यहाँ कुनै कृत्रिमताको श्रृङ्गारपटारहरु गरिरहनु रत्तिभर आवश्यकता छैन् । विहानीको पहिलो घामको झुल्को भुईँमा पोखिन नपाउँदै, सेताम्मे हिमालहरुले मिठो मुस्कानको साथ दर्शनभेट दिन्छन् । अतः त्यो आँखाहरुमा सौन्दर्यताबोधको रमिता देखाउँने हिमालहरुमा, फक्ताङलुङ (कुम्भकर्ण), मुक्कुमलुङ (पाथीभरा), चेञ्जेलुङ (सगरमाथा) लगायत थुप्रै अन्य हिमालहरुले पनि दर्शनभेट दिन आफ्नो सुन्दर अनुहारहरु देखाउँछन् । जसले बाः हेर्दै आनन्द र स्वर्गीय अनुभूतिको लीन् गराउँन पुग्छन् । त्यस्तै यसको अर्को सौन्दर्यता भनेको सिजन यामहरुमा राष्ट्रिय फूल लालीगुराँसले रहरलाग्दो राताम्मै फुलिदिएर भव्य यहाँ स्वागत गर्नु पनि हो । त्यसमा अन्य धूँपी सल्लाहको बोटहरुले पनि उस्तै आत्मियताहरु बाँड्न पुग्छन् । अझ बहु रंगी फूलहरुले उस्तै मनै लोभ्याई दिन्छन् । यसको मुख्य आकर्षण भनेकै यो भ्युटावर जस्तै नै हो जहाँबाट सेरोफेरो/वरिपरिको मनोरम सुन्दर पहाडको परिदृश्यहरुको अघाउञ्जेल रमिताहरु हेर्न सकिन्छन् । यहाँ अहिलेसम्म सुन्दर अवलोकन गर्ने आकर्षणमा कृत्रिमताको कुनै गन्ध छैन । त्यो बनाउँटी कलाको कुनै अस्तित्व निर्माणहरु पाइन्नन । यसको असली रुपनै लब्रेकुटीले आफ्नो ओर्जिनल भर्जिनिटीलाई बचाएर थप सौन्दर्यताहरु पस्कन्दै अर्गानिक स्वादहरु बाँड्दै जानु र लैजान सक्नु पनि हो ।

अन्तः यतिविघ्न सौन्दर्यबोधको रापताप बनेर पनि यसको महिमा गानको सुगन्ध उति टाढा–टाढासम्म छर्न र पुग्न सकेको देखिन्न । जुन यो आफैंमा दुर्भाग्य र विडम्बनापूर्ण पनि हो । लब्रेकुटी एउटा शक्तिशाली धार्मिक शक्तिपिंठ पनि हो र जनविश्वास र आस्था मान्ने शुभेच्छुक अनुयायीहरु हजारौं काफी देखिन्छन् । यो आफैमा महागुरुको विरासत अस्तित्व बोकेको ठाउँ र स्थान पनि हो । यसको छुट्टै गरिमा र महिमा छ । परन्तुः यसलाई तत्–सम्बद्ध कार्य समितिहरुले उज्यालो उन्मुख घामको प्रकाशको रूपमा किरण छर्ने वातावरणमा निर्माण गर्न सकेनन् । जो गर्ने इत्छा शक्ति र जाँगर रत्तिभर देखाउँन नसकिएको हो भन्ने लाग्छ । यो कस्तुरीले आफ्नो सुगन्धको विन्दा नचिनेर आफ्नै कायाचोला र अस्तित्व चिन्न नसकेको जस्तै हो । लब्रेकुटीको हकमा ठ्याक्कै यहीँ सौन्दर्यताबोध भए/नभएको प्रक्षेपण हुन गएको छ । फलतः यसले आफैंले चिन्न सकेको खण्डमा यसको जनआस्थाबीच, लब्रेको सौन्र्दर्य रुपलाई हेर्न आउँनेहरुको घुइँचो लाग्दै जानेमा दुईमत छैन् । जो धार्मिक पर्यटकीय गन्तव्यस्थल बन्नलाई कुनै गाह्रो छैन् ।
सम्मानार्थ निकास र गुरुयोजनाहरु
लब्रेकुटी माङहिम र यसको अस्तित्व उठान् ज्यादै विशाल छ । महिमा गाथा र सौन्दर्य दिग्दर्शन उस्तै अपराम्पार छ । मतलव अकथनीय र अपरिकल्पित छ । जसको अर्थमा व्याख्या, विश्लेषणमा गरी नसक्नुको अपारता छ । तर यो वहीँ कस्तुरीले आफ्नो विन्दा नपाए/नभेटे जस्तै आफैभित्र हराइरहेको अवस्थामा छ । अतः लब्रेकुटी क्षेत्रलाई देश कै राष्ट्रिय सम्पदा सूचीको रूपमा गोड्मेल गर्दै लैजाने हो भने यो आफैमा विशाल परियोजनाको आधार क्षेत्र हो । जो यो महागुरुको अस्तित्वसँग जोडिएको ऐतिहासिक विरासत बोकेको आधार क्षेत्र पनि हो । बस्तुगत रूपमा यसको प्राथमिक गुरु योजना भित्र, लब्रेकुटीमा भौतिक पूर्वाधारहरुको विकास र सेवा सुविधाहरुमा ध्यानाकर्षणको रूपमा नैतिक दबाब गराउँनै पर्ने हुन्छ । जुन आन्तरिक तथा बाह्य पर्यटकहरुको हकमा त्यो सेवा सुविधाहरुको ब्यवस्थापनहरु जसै गर्नैपर्ने हुन्छ ।
तब मात्र यसको गरिमा र औचित्य पुर्णताको सौन्दर्यबोध हुन जान्छ । फलतः यो आफैंमा प्राकृतिक रुपले आफै सुन्दरता बाँडेकै छ । जुन बस्तुगत भौतिक रूपले कृत्रिम सुन्दरताको डमी/स्केचहरु निर्माण गरिरहनुपर्ने आवश्यकता छैनन् । तर ऐतिहासिकता बोकेको जुन भूगोल र दर्शनसँग अन्तर–सम्बन्धहरु छन्, तिनको स्ट्याचुहरु निर्माण गर्नु थप राम्रो हो र त्यसको विषयबोधबारे थाहा पाउँनु पनि हो । त्यस बाहेक कृत्रिमताको अनेकन बस्तुबाजीहरुको रंगरोगनहरु गरियो भने, त्यसले सुन्दरता होइन, झनै कुरुपता पस्कन पुग्नेछ । त्यस मानेमा प्राकृतिक सौन्दर्यतालाई थप सौन्दर्यता देखाउँन बहुउपयोगी त्यसको संरक्षण र सम्बद्र्धनको अस्तित्व बचाउमा ध्यान दिन अति आवश्यकता देखिन्छन् । त्यसको मतलव भौगोलिक माटो सुहाउँदो पर्यावरणलाई सन्तुलित राख्न थप सुन्दर प्रजातिका वनस्पति विरुवाहरुको वृक्षरोपण गर्दै जानु मुनासिफ् देखिन्छन् । हरियाली वातावरणहरु सिर्जना गर्न सके त्यो सुन्दरता भित्रको सुन्दरता हो ।
अतः लब्रेकुटीलाई गुरुयोजनाको आधारमा थुप्रै परियोजनाको तत् विषयहरुमा निर्माण कार्यहरु गर्नु उत्तिकै थाँती देखिन्छन् । त्यसमा सघन बाटो÷घाटो, ब्यबस्थित स्वच्छ खानेपानी लगायत उज्यालो र सञ्चार कनेक्टिभ नेटवर्क एक्टिभहरु जोडजाडहरु गर्नु उस्तै ज्युँदैछन् । आखिरमा पहिलो सघन प्राथमिकता भनेकै त्यहीँ हो । जुन अझै गुरुयोजनाको मियोमा मेलोमेसोको कै लयहरु पक्रन सकिरा छैनन् । अझ विभिन्न प्रजाति फूलहरुको संसार बनाउँने र फूलबारी निर्माणमा योजनाको बीउहरु रोप्न जग्गाहरु बाँझोनै देखिन्छन् । त्यस्तै पर्यटक तरेबा/पाहुनाहरुको हकमा होमस्टेहरुको बस्ने ब्यवस्थापनहरु गर्नु पथ्र्यो । अन्य थप आकर्षणको लागि धार्मिक क्षेत्र निषेधित सिमाङ्कन राखेर चलचित्र छायांकन स्थल, वनभोज÷पिक्निक स्पोर्ट र खेलकुद/रंगमैदानहरु आदि इत्यादीहरु ब्यवस्थित निर्माणहरु गरिनु पथ्र्यो । यसले आफैमा लब्रेकुटीको सौन्दर्यताको महिमागान र आर्थिक स्रोतनीतिको भकारी पनि बन्न सक्थ्यो । यसप्रति कुनै कल्पनाशिल योजनाहरुसम्म नहुनु दुर्भाग्य हो ।

फेरि मुन्धुमी दर्शन र महागुरुकालिन् प्रयोगमा ल्याइएका चिजहरु लगायत अन्य अस्तित्वमा देखिएका त्यस्ता ऐतिहासिक बस्तुहरु संग्रहित गर्ने संग्राहलय निर्माण गर्नुपथ्र्यो । अहिले ती संग्रहित गर्न र हुन नसक्दा गुमनाम/बेपत्ता र कति बेवारिसे अवस्थामा छन् । जसको सोध, खोज र संकलन गर्ने, अनि निन्दा र चासो छैन् । उसो त महागुरुको दार्शनिकत्व ब्यक्तित्व र वहाँको फिलोसोफी रिसर्चबारे एउटा महा विश्वविद्यालय महागुरु अध्ययन केन्द्रको स्थापना निर्माणमा जोड गर्नुपथ्र्यो । त्यस्तो अन्य मुन्धुमी दर्शनहरुको अध्ययन र त्यसमा थेसिस् लेख्ने इत्छुक सोधकर्ता विद्यार्थीहरुका लागि मुन्धुमशालाहरुको स्थापना गरिन्दै लैजानु पथ्र्यो । अफसोंच यस तर्फ सम्बन्धित किरात धार्मिकजन्य छाता संगठन सम्बद्ध नेतृत्व वर्गहरुको रत्ति चिन्तन मनन् देखिन सकेको छैन् । थप अर्को स्मरण गरौं, महागुरु पशुपंक्षी प्रेमी थिए । भन्नुपर्दा, उनीहरुको पनि स–सम्मान मान्छेहरु जस्तै बाँच्न पाउँने अधिकार हुनुपर्छ भन्नु हुने अधिकारप्रेमी रक्षक थिए । त्यो मानेमा यो लब्रेकुटीको स्वमित्व भूमि/जग्गामा एउटा महागुरुको नाममा फाल्गुनन्द राष्ट्रिय निकुञ्ज स्थापना र निर्माण हुनुपथ्र्यो । जुन यो निकुञ्जमा विभिन्न प्रजातिको जनवार, पशुपंक्षीहरु संरक्षित हुनुपथ्र्यो । अफसोंच यी कार्यहरु पनि लब्रेकुटीको हकमा उसै नि फगत सपनाहरुको नजरबन्द भित्र कैद हुँदै गएकाछन् ।
अन्तः विषयगत प्रसंगहरु उप्काउँनुपर्दा, सौन्दर्य निर्माणमा भौतिक पूर्वाधारहरुको संरचनाहरु उठाउँन, बाःकति योजनाहरु त्यतिकै थाँती देखिएका छन् । कति प्रस्तावित योजनाहरु, सपनाहरूको गर्भभित्रै लुके होलान् । कति योजनाहरु त, कल्पनासिल मै खप्परभित्र बन्दी होलान् । सम्झन्दैं ती योजनाहरु र त्यसको निकास कार्यहरुले कति चोलाहरु फेर्ने हुन् अत्तोपत्तो छैन । योजनाहरुको चाङसँगै लब्रेकुटीको परिकल्पित सौन्दर्य बखाँनको मेलोडी लयहरु पनि उस्तै कथ्यमा सुन्नुको मात्र मज्जामा जो आनन्द लागेकोछ । त्यो रियलमा ती गुरु योजनाहरु चन्द्रलोक भन्दा, कयौं दूरी टाढा लाग्छन । तथापी संकल्पित यी गुरु योजनाहरुले नेपाल सरकारको सहयोगको बलमा मुर्तरुप लिनसके र कार्य सम्पादनमा कार्यान्वयनतिर इत्छा शक्ति देखाए महागुरु र लब्रेकुटीले आत्म सम्मानको अगाध श्रद्वा एवं प्रेम चुलिन्थ्यो, भने त्यसले माङगेन्ना चोत्लुङ अनि गरिमा र महिमाको गाथा गाउँन त्यस्तै श्रद्वाको वीज अंकुरण गराउँदै लैजान सक्थ्यो भन्ने भारी अपेक्षा पनि हो ।
शताब्दी वार्षिकोत्सव मञ्चन र दायित्वबोध
यसपटक लब्रेकुटीले आफ्नो स्थापनाकालको शताब्दी शत वार्षिकोत्सव भव्यताका साथ मनाउने तयारीमा जुटेको देखिन्छन् । तथापी जसको महा उत्सव कार्यक्रमको दिग्विजय मान्नु र मनाउँनु किमार्थ ठूलो विषय होइनन् । उत्सवको प्रभाव भन्दा ठूलो त्यसले दिने सन्देश र प्रत्यक्ष लाभको दूरगामी असर र प्रभाव देखिनु/सुनिनु पर्छ भन्ने हो । अबको जोड् कार्यक्रम मञ्चको रोष्टमबाट भाषणको बखाँन र तारिफले होइन । संस्थागत कार्यनीतिहरुलाई तत्कालै कार्यान्वयनतर्फ जोड दिने हो । उपलब्धिमूलक कार्यहरुको मात्र दस्तावेजिकरण गरौं । त्यो सोर्है आना मुनासिफ हुनेछन् । बरु संस्थाले सय वर्ष भित्र संस्थागत विकासहरु के गर्न सक्यो ? के–के गर्न सकिरा छैन । त्यो आत्म समिक्षात्मक मुल्याङ्कन गर्न अपरिहार्यता छ । अतः एक शताब्दी बर्ष भनेको एउटा युग हो । अन्तः लब्रेकुटीले त्यो युग बदल्ने महागुरुको दिग्दर्शनलाई पछ्याउँन सक्यो की सकेन ? त्यो भोलिको आफ्नो वार्षिकोत्सव मञ्चमा प्रतिवेदन दस्तावेज प्रस्तुत गर्नैपर्ने हुन्छ । खाली भाषण–भूषण र माईन्युट(बैठक) खातामा मात्र योजनाहरु बनाएर पेण्डिङ राख्न हुन्न । यथार्थ भन्नुपर्दा, लब्रेकुटीले भौतिक विकासको पूर्वाधार संरचनाहरु शताब्दी वर्ष पूरा गर्दै गर्दा, कति निर्माण गर्यो ? भन्ने हो । जसको मुल्याङ्कन टीका–टिप्पणीहरु यस अघि नै उल्लेख गरि सकिएको छ ।

लब्रेकुटीले संस्थागत विकास पुनःसंरचना निर्माण स्थापना गर्नलाई आफ्नो पुरानो कार्यशैलीको रंगढंगलाई जसै बदल्नै पर्नेछ । सिमित र संकुचित दायराभित्र संस्थाको सोंचेजस्तो विकास हुन सम्भव छैनन् । एउटा माङहिमको सञ्चालन र ब्यवस्थापन हेर्ने कार्यसमितिले लब्रेकुटीको भु–राज्य हेर्न सक्दैन । जसको त्यो भन्दा पर जाने अग्राधिकार र सिमा नै छैन् । तसर्थः लब्रेकुटीले त्यो आफ्नो भु–राज्य (स्वमित्व) हेर्ने र विकासको संरचनाहरु स्थापित गर्नसक्ने दोस्रो अर्को एउटा शक्तिशाली संस्थाको अस्तित्व निर्माण गर्नैपर्ने हुन्छ । जुन त्यो संस्थाले सिंगो लब्रेकुटीको अस्तित्व र महागुरुको विरासत दिग्दर्शनलाई थाप्लोमा बोक्ने छ । यसले लब्रेकुटीको भु–स्वमित्वलाई संस्थागत गुठीको रूपमा एउटा प्रोपोटी/सम्पतिको अंगभार मानेर मातहतमा राख्न सक्नेछ । यसले यस अघि गुमाएको आफ्नो हजारौं रोपनी भु–स्वमित्वहरु पनि आधिकारिक कानुनी रुपले दर्ज गरी फिर्ता ल्याउँन सक्ने ल्याकत पनि राख्न सक्नेछ । यसो गर्दा यो आफैमा एउटा राज्यको अंगभारमा शक्तिशाली संस्थाको रूपमा उभिनेछ । जसको कारण यसले राज्य सरकारसँग भौतिक विकास पूर्वाधार योजनाहरुको हकमा करोड होइन, अरवौं रकमहरु अनुदान माग र निकासहरु गर्न सक्ने छ । तसर्थः लब्रेकुटीले तपशिल यस अघि उल्लेखित गुरु योजनाहरु निर्माण/स्थापना कार्यान्वयनमा जोड दिन उक्त फरक अस्तित्वमा उभिन सक्ने त्यो शक्तिशाली संस्थाको स्थापना नगरी सुखै छैन् । उसो त संस्था उभ्याएर मात्र शक्तिशाली हुन्छ भन्ने होइनन् । त्यो संस्था मार्फत मुक्ति दिलाउँन सक्ने नेतृत्व तहका वर्गहरु हुनुपर्छ भन्ने हो । जुन संस्थामा प्राज्ञिक विद्वता भएका योजनाविद् र दूरगामी दृष्टिकोण राख्न सक्ने भिजनकारी नेतृत्वहरु ल्याउँन वा राख्न सक्नुपर्छ भन्ने हो । अतः त्यसले मात्र यो लब्रेकुटी र महागुरुको अस्तित्व विरासतलाई बोक्न सक्नेछन् । यो बैकल्पिक संस्थाको अस्तित्व स्वीकार्नुको पनि रत्ति विकल्पै छैन् ।
अबको किरात धार्मिक छाता संगठनका सम्बद्ध नेतृत्वकर्ता पदाधिकारी तथा अन्य सदस्यगणहरुले के बुझ्न सक्नु पर्यो भने पहिलो शर्तनामानै महागुरुको दिग्दर्शन मुताविक आफू र संस्थाको अस्तित्वलाई उभ्याउँन सक्नु हो । तथापी अहिलेसम्म महागुरुले देखाएको मार्गदर्शन अनुरुप आफूहरु र संस्थाहरुलाई उन्मुख गराएको उति देखिन्न । वहाँको माङसिवाखाहुनको विपरित दर्शन र मिसनमा कुदिरहेको देखिन्छन् । के यो महागुरुको माङवाणीको मूल सन्देशलाई आत्मासाथ कति गर्यौ ? व्यक्तिगत होस् या संस्थागत जिम्मेवारी बहन गर्दाको होस् के फलो गर्न कति सत्यताको साथ साहस बटुल्न सक्यौं त ? भन्ने नै हो ।
’माङनिङ्वारे माङ आवोङ
हाङनिङ्वा रे हाङ आवोङ
योक् निङ्वारे योक् ने आवोङ
फलतः यो महागुरुको माङवाणीलाई थाप्लोमा बोक्ने अनुयायीहरु एकाध बाहेक रत्तिभर छैनन् । उहीँ धर्मभीरु बन्ने । धार्मिक संस्थामा बसी टोपल्ने । धर्मको नाममा गेरुवस्त्र धारण गर्ने र ढोंगी बन्ने अनि ठगी/शोषण गर्ने धन्दाहरुको अभियान चलाउँने जस्तो जो यो माध्यम बन्दै गएको देखिन्छन् । के यहीँ हो त ? महागुरुको प्रस्तुत माथिको माङवाणीको मूल उद्देश्य र कर्मयोग ? बरु त्यसको विपरित दोस्रो महागुरुको यो माङवाणीलाई झन् घनिभूत तरिकाले अनुशरण गरी हिडेंकाछन् भन्ने लाग्छ ।
हेक् निङ्वा, फेन् निङ्वा र माक् निङ्वा यी त्रि–शंकु कालो पापी मनहरु बोकेर यो लोकमा काफी कर्मभोगहरु गरिरहेको देख्न सकिन्छन् । यी यस्तै विचारहरुको मिशनकारितामा अहिले धार्मिक संघ/संस्थाहरु चलाइरहेको जस्तो अवस्थामा बुझिन्छन् । अन्तः संस्थागत उपलब्धिहरु प्राय शून्य देख्दा थुप्रै प्रश्न र आशंकाहरु जन्मन्छन् । खैरः आगामी दिन लब्रेकुटी माङहिमको शताब्दी वार्षिकोत्सव मनाउँदै गर्दा यी माथि उल्लेखित महागुरुको प्रस्तुत माङवाणीहरु संकल्पित प्रस्तावको रूपमा सार्वजनिक पेश गर्ने र संस्थागत कार्यान्वयनको पक्षमा लैजाने साहस औं आँट गर्नैपर्छ । त्यो जिम्मेवारी दायित्वभार अकाट्य रुपले पालना र जो आज्ञाहरु पूरा गर्दै लैजानुपर्छ भन्नेनै हो । जो त्यो आमशुभेच्छुक अनुयायीहरुको उस्तै भारी अपेक्षा पनि हो । विशेष ध्यानाकर्षण गराउँनु पर्दा, यसपटक लब्रेकुटीले आफ्नो शताब्दी वर्षको बार्षिकोत्सवलाई तिथि/मितिलाई भन्दा पनि बर्ष विशेषलाई प्राथमिकता दिइएको छ । सो मानेमा, आगामी महागुरुज्यूकै जन्मजयन्तीको अवसरसँगै कात्तिक २५ गते २०८३ को दिन वर्तमान धर्मगुरु तथा गुरुआमाज्यूहरुको देवागमन उपस्थितिको साथमा भब्य कार्यक्रम आयोजनाको संयोजन गर्ने भएकोछ ।

स्मरण रहोस्, लब्रेकुटी शताब्दी वार्षिकोत्सव विशेषः यो आवरण आलेखको विट् थुर्याउँदै गर्दा, किरात धर्म दर्शनका कालजयी मुक्तिदाता महागुरु फाल्गुनन्दज्यू, सुदुर पूर्वको लिम्बुवान भूमि इलाम थुमको अनकण्टार ग्रामिण भेगभित्र, तत्कालिन इभाङ गाउँको चुक्चिनाम्बास्थित डाँडागाउँमा, (हालः माङसेबुङ गापा. २) वि.स. १९४२ कात्तिक २५ गते, आइतवारको दिन जन्मनु भएको हो । मुन्धुमी दिग्दर्शनद्वारा मुहिङगुम अङ्सीमाङको अलङ्कारिक देवत्वको रूपमा जन्मावतर हुनु भएको हुनुले वहाँलाई राष्ट्रले राष्ट्रिय विभूतिको रूपमा पनि सम्मानार्थ (१६ मंसिर २०६६) दर्ज गरेको छ । फलतः विश्व शान्ति, मानव एकताको प्रतिमुर्ति तथा अहिंसावादका प्रमुख प्रणेता पनि हुन्थि/ए । अतः उनै महामानवको कायाचोला भने चैत २२ गते २००५ सालमा लिम्बुवानको पान्थर थुमको इम्बुङस्थित हाङयक भन्ने गाउँमा पदयात्रा अभियान्ताको दौडानमा यो लोकबाट सदाको लागि अकस्मात समाधिस्थ हुनपुग्नु भएको हो ।
स्रोत सामग्रीहरु :
माङसेबुङ मासिक पत्रिका २०८३ बैसाक अंकको लागि खोज रिपोर्ट/विभिन्न सदर प्रमाणित दस्तावेज कागजातहरु ।
स्रोत व्यक्ति : महागुरुज्यू विशेष अध्येता, खोज अन्वेषक तथा लेखक रमेश तुम्बापो ।
(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको बैशाक(२०८३) अंकमा प्रकाशित आवरण लेख हो)








