साढे ९ दशकमा सत्य धर्म मुचुल्का, समाजमा दूरगामी प्रभाव - Mangsebung News
  • बिहिबार, बैशाख २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साढे ९ दशकमा सत्य धर्म मुचुल्का, समाजमा दूरगामी प्रभाव

  • ज्ञानु केदेम लिम्बू

माङसेबुङ / २० औं शताब्दीका महान समाज सुधारक, किरात धर्म दर्शनका पुनः उत्थापक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङ्देन महागुरु फाल्गुनन्द लिङ्देन नेतृत्व र पहलमा समाज सुधारका लागि वि.स. १९८८ साल वैशाख २४ गते ७ बुँदे सत्य धर्म मुचुल्का निर्माण गर्नुभएको थियो । तत्कालीन समाजमा संस्कार संस्कृतिको रुपमा रहेको विकृति र विसंगतीलाई अन्त्य गरी सभ्य र शिक्षित समाज निर्माण गर्न महागुरुको नेतृत्वमा सत्यधर्म मुचुल्का तयार पार्नुभएको थियो ।

तत्कालिन समाजमा रहेको विकृति र विसंगतिलाई निर्मूल पारी सामाजिक, सांस्कृतिक र धार्मिक रुपान्तरणको लागि वि.स. १९८८ साल बैशाख २४ गते बुधबार पान्थर चोकमागुको लब्रेकुटीमा मुहिङ्गुम अङसीमाङ लिङ्देन फाल्गुनन्दको पहलमा १० लिम्बुवान १७ थुमका सुब्बा, जिम्मावाल, तालुकदार, भद्रभलादमी सबैलाई बोलाएर महाचुम्लुङ आयोजना गरी ७ बुँदे सत्य धर्म मुचुल्का निर्माण गर्नुभएको थियो । सोही दिनलाई किरात धर्मावलम्बीहरु अर्थात समानता, समावेशिता पक्षधरहरुले समाज सुधार दिवसको रुपमा मान्दै आइरहेका छन् । यसरी समाज सुधार दिवस मान्न थालेको ९५ वर्ष पार गरेर वैशाख २४ गते ९६ वर्षमा प्रवेश गरेको छ ।

मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनले सत्यधर्म मुचुल्का निर्माण गर्नु हुँदाताका समाजको जीवन पद्धती, सामाजिक रीतिरिवाज, रहनसहन, संस्कार संस्कृति अत्यन्तै कहालीलाग्दो अवस्थामा गुज्रिरहेको थियो । निरङकुश राणा शासनताका शिक्षा लिन, बोल्न, लेख्न पूर्ण प्रतिबन्दको अवस्थामा शक्ति र पहुँचको आडमा सामाजिक, लैंगिक हिंसा, सामाजिक भेद्भाव, लैंगिक भेदभावका कुराहरु अनेकौं हुने गथ्र्यो । तत्कालिन अवस्थामा अशिक्षाले समाज कुरीति र वेथितिमा चुर्लुम्म डुबेका थिए ।

किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङ्देन महागुरु फाल्गुनन्द लिङ्देनको देनबारे किरात नुमिङसो मासिकमा कुमार लिङ्देन मिराक लेख्नु हुन्छ महागुरु फाल्गुनन्दले सबै किरात समाजको लागि काम गर्नु भयो, सबैलाई व्युँझाउने, बाटो देखाउने प्रयास गर्नु भएको थियो । त्यसैले महागुरुलाई विश्लेषण गर्दा वा उहाँको बारेमा बोल्दा, लेख्दा कसैले पनि साँघुरो मन बनाउनु हुँदैन् । महागुरु कसैको पेवा होइन, सबैको साझा हो । कसैले महागुरुलाई इश्वरको रुपमा मान्न सक्छन्, कसैले उहाँलाई महान समाज सुधारकको रुपमा मान्न सक्छन् । उहाँलाई मान्ने आ–आफ्नो तरिका र बुझाई हुन्छ । त्यो तरिकालाई नै आपसी मनमुटावको विषय बनाइनु हुँदैन । जसरी भएपनि किरात समाज निर्माणको लागि आ–आफ्नो ठाउँबाट रातदिन मेहेनत गर्नुपर्छ । महागुरुले किरातहरुलाई अन्धविश्वास र कुरीति कुसंस्कारको अन्योलबाट बाहिर ल्याउन प्रयास गर्नुभएको थियो । त्यसैले कुनै पनि बहानामा किरात समाज फेरि पनि अन्धविश्वासको खाडलमा जाकिनु हुँदैन ।

सत्यधर्म मुचुल्का

विकृति र विसंगतिमा धकेलिएका समाजलाई सभ्य समाजमा रुपान्तरण गर्न धार्मिक, सांस्कृतिक, शैक्षिक, लैङ्गिक रुपान्तरणमा आमूल परिवर्तनको अपरिहार्यतालाई मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दले महसुस गरी वि.स. १९८८ बैशाख २४ गते बुधबार सत्यधर्म मुचुल्का निर्माण गर्नु भएको थियो । अत्यन्तै जोखिम मोलेर निर्माण गरेको सत्यधर्म मुचुल्काले किरात सभ्यतालाई पुनः उत्थान गरेको छ ।

माङसेबुङ मासिक पत्रिका आङबुहाङ अबोध अविरल लेख्नु हुन्छ ‘वि.स.१९८८ बैसाकमा लब्रेमा किरातीहरुको एक महाचुम्लुङ आयोजना गरियो । चुम्लुङका लागि महागुरु फाल्गुनन्दले लिम्बुवानका विभिन्न थुम र गाउ“हरु डुल्नुभएको थियो । तत्कालीन नामी सुभाहरुको सहयोगमा सबै थुमहरुमा पत्रचार गरिएको थियो । महागुरु केही वर्षदेखि लब्रेमा बस्दै आउनुभएको तथा खुला स्थान भएकाले चुम्लुङका लागि लब्रेलाई चयन गरियो । चुम्लुङमा सहभागीहरुका लागि स्याउले डेराहरु निर्माण गरिएको थियो । चार दिनसम्म चलेको सो चुम्लुङमा महागुरु फाल्गुनन्दले धार्मिक, सांस्कृतिक रुपान्तरण सम्बन्धि विभिन्न प्रस्तावहरु राख्नुभएको थियो । चुम्लुङले महागुरु फाल्गुनन्दद्वारा प्रस्तुत प्रस्तावमाथि गहिरो छलफल गरेको थियो । छलफलले किरात मुन्धुम, भाषा, लिपि, संस्कारसम्बन्धि केही“ महत्वपूर्ण बु“दाहरु पास गर्दै ७ बु“दे मुचुल्का तय ग¥यो । सो मुचुल्कालाई ‘सत्य धर्म मुचुल्का’ नामाकरण गरिएको थियो ।

लेखक डा. चन्द्रकुमार सेर्मा पापोहाङले सत्य धर्म मुचुल्का पुस्तकमा लेख्नुहुन्छ – तत्कालीन समय श्री ५ शाह राज, श्री– ३ राणा राजा र श्री १ सुब्बा उप राज समेत त्रिकोणात्मक राजा उपराजाहरुको कालखण्डमा सभा, सम्मेलन, चुम्लुङ, पढ्ने, लेख्ने, स्कूल खोल्ने कार्यलाई सार्वजनिक अपराध मानिन्थ्यो । १० लिम्बुवानको १० रीति १७ थुमको १७ तिथिमा समाज, मुलुक, बेथिति, विकृति, विसंगतिमा चुर्लुम डुबेको अवस्थामा परिवर्तनको लागि आवाज मात्र उठाएमा वा उठाइएको सुइकोसम्म मात्र पाएमा पनि राजद्रोही, देशद्रोही, ठरिएर फाँसी या स्र्वस्वहरण सहितकोे आजीवन जेलको सजाय हुनु सक्थ्यो । यस्तो विष्म परिस्थितिमा १० लिम्बू १७ थुमको महाचुम्लुङ गराएर लिखित रुपमा निर्णय गर्नु भो । त्यसताक महागुरुले १० लिम्बू र १७ थुमको भद्र भलादमीहरुले समेत ज्यानको जोखिम मोलेका थिए ।

किरात समाज विशेष गरी लिम्बू समुदायमा छोरीचेलीको सोतरीत खाने, सुनौली रुपौली लिने, सुँगुरको हक्तबा खाने, सुन, चाँदी, राँगा, भैसीं खाने, जाँड र रक्सीको घ्याम्पा, कुन्डा, चौठोमा बोक्ने, छोरीचेलीलाई पशुसरह दाम मोलमोलाइ गरी बेचविखन गरेझै गरी विहे गराई दिने, पाहुना जाने, भोज चलाउने, झै झगडा गर्ने, काटमार गर्ने सेवा पूजा गर्दा राँगा काट्ने, कुखुरा मार्ने, भोग बली प्रथा आदि कुसंस्कारमा रुमलिएको किरात समाजको मुक्तिका लागि महागुरुले कदम चलाउनु भएको सत्य धर्म मुचुल्का निर्माण गर्नुभएको ऐतिहासिक दिन बैशाख २४ लाई आज आएर विश्व व्यापी रुपमा समाज सुधार दिवसको रुपमा मनाउँदै आइरहेको पाइन्छ । यसरी वर्षाैदेखि जरा गाडेर रहेका कुप्रथाको अन्त्य महागुरुले गर्नु भो । फलस्वरुप महागुरु राष्ट्रिय विभूतिको रुपमा समेत अमूल्य निधि बन्नु भयो ।

माङ्गेन्ना मासिकमा लेखक वनेम विक्रम फागोले लेख्नु भएको छ – लिम्बुवानको क्षेत्र भरी राणाकालिन जंगे पिलरलाई चुनौती दिएर महागुरुले किरात समाजलाई बदल्न राँको सल्काउनु भयो, त्यो राँको नै अन्तत, सत्य धर्म मुचुल्काको रुपमा ऐतिहासिक सामाजिक क्रान्तिको रुपमा जीवन्त बन्यो । सोही महान कार्यको सुरुवात गरेकै कारण पनि महागुरु सबै वर्ग, जातिको उतिकै अगाध आस्थाको रुपमा दार्शनिक बन्न पुग्नु भएको छ ।

सत्य धर्म मुचुल्कामा के छ ?

महागुरु फाल्गुनन्दको कर्म थलोको रुपमा रहेको पान्थरको लबे्रकुटीमा वि.सं. १९८८ बैसाक २४ देखि २८ गतेसम्म आयोजित एक भव्य चुम्लुङले सत्य धर्म मुचुल्का निर्माण गरेको थियो । सत्य धर्म मुचुल्कामा ७ ब“ुदाहरु रहेकाछन् । किरात समाजमा प्रचलित तुम्याहाङ प्रणालीको आधारमा सत्यधर्म मुचुल्का निर्माण गरिएको थियो । तुम्याहाङहरु भेला भएर समाजका कानूनहरु निर्माण गर्ने प्रचलनलाई तुम्याहाङ प्रणाली भनिन्छ । मुचुल्काले समाजलाई समानता, अहिंसा, मानवता र प्रकृतिपूजाको दिशामा मार्ग निर्दिष्ट गरेको छ ।

लेखक आङबुहाङ अबोध अविरलका अनुसार सत्यधर्म मुचुल्कालाई तीन भागमा विभाजन गर्न सकिन्छ । पहाडे कागजमा बा“सको कलमले लेखिएको सत्यधर्म मुचुल्काको शुरुमा पृष्ठभूमि उल्लेख गरिएको छ । मध्य भागमा धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र मुन्धुम सम्बन्धिका बु“दाहरु रहेका छन् । त्यस्तै मुचुल्काको अन्तिम भागमा मुचुल्काको अन्त्यमा सहभागीहरुको नाम, ठेगाना, हस्ताक्षर, औठा छाप र औठीको छाप रहेको छ ।

माङसेबुङ मासिक पत्रिका आङबुहाङ अबोध अविरल लेख्नु हुन्छ मुचुल्काको पृष्ठभूमिमा किरात मुन्धुम, संस्कार विधि फरक भएकाले एक गराउन आवश्यक भएको उल्लेख छ । सो खण्डमा सम्पूर्ण किरातहरु एक भएपनि जन्म सुतक, मृत्यु सुतक बारन फरक तवरले गर्दै आएको तथा विवाह पनि फरक–फरक रीतले गर्दैै आएकोले एक गर्नु पर्नेमा जोड दिएको छ । यसैगरी लिखित मुन्धुम प्रयोग नहुनाले स्थानपिच्छे यसको प्रयोग फरक रुपमा भएको तथा मुन्धुम लिखित नहु“दा लिपि लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै, आउ“दा दिनमा लिखित मुन्धुम प्रयोग गर्नुपर्ने उल्लेख छ ।

‘युमा’ माङको माङिहम स्थापना गर्ने तथा मातृभाषामा शिक्षा लिने विषयलाई पनि मुचुल्काको पृष्ठभूमिले सम्बोधन गरेको छ । हरेक काम सफल हुन युमा माङको सेवा गर्नुपर्ने भएकाले लब्रे पान्थरमा गोश्वरा युमा माङिहम निर्माण गर्ने मुचुल्कामा उल्लेख गरिएको छ । यसका साथै मातृभाषामा शिक्षाका निम्ति एक पाठशाला निर्माण गर्ने पनि मुचुल्काको पृष्ठभूमिमा समावेश गरिएको छ । पृष्ठभूमिको अन्त्यतिर मुचुल्कामा उल्लेख भएको बु“दाहरु कसैले उल्लंघन गरे मुचुल्का मुताविक कार्वाही गर्ने र मुचुल्कालाई सारेर विभिन्न थुम (जिल्ला), मौजा (गाउ“) मा पु¥याउने भनिएको छ ।

पहिलो बु“दामा छोरी चेलीको सोतरीत लिन बन्द गर्ने, दोस्रो बु“ुदामा माङसेवा गर्दा जीवहत्या नगर्ने र तेस्रो बु“दामा मासु मंस नखाने उल्लेख छ । यसैगरी मृत्यु सुतक सम्बन्धि चौंथो बु“दामा समेटिएको छ । मृतक सुतक बारनमा विविधता आएकोले ३ दिन बारन गरेर चौंथो दिनदेखि खेती पातीको काम गर्र्ने र १० औं दिनमा सुद्धाई गर्ने भनिएको छ । मंसको पिण्ड दिन छोड्ने र मंसको मेजमान नदिने चौंथो र छैटौं बु“दाले समेटेको छ । सातौं बु“दामा फलफूलको पिण्ड दिने कुरा उल्लेख छ । मुचुल्काको अन्त्यमा सहभागीहरुको हस्ताक्षर रहेको आङबुहाङ अबोध अविरलले आफ्नो लेखमा उल्लेख गर्नु भएको छ ।

मुचुल्काको दूरगामी प्रभाव

सत्यधर्म मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको महत्व र सान्दर्भिकता अझै बढ्दै गएको छ । यसरी सत्यधर्म मुचुल्का निर्माण गर्न पूर्व महागुरु स्वयम नै थुम थुममा रहेका किरात समुदायको घर–घरमा गएर भेट्ने कुराकानी गर्ने छलफल गर्नु भएको थियो । उहाँले केही सहयोगीहरु लिएर लिम्बूवानको प्रत्येक थुम–थुमको यात्रा आरम्भ गर्नु भएको थियो । उहाँले ती प्रत्येक थुमका किरातहरुको अवस्थाको बारेमा जानकारी लिनु भयो । उनीहरुसँग भेटघाट गर्नु भयो र उनीहरुलाई सहीमार्गमा हिड्नको लागि अर्ति उपदेश दिनु भएको थियो ।

सत्य धर्म मुचुल्काले लिम्बू समाजलाई अग्रगमनतिर डो¥याउने थुप्रै पक्षहरु समेटिएको पाइन्छ । तर, विगतमा सत्य धर्म मुचुल्काको बारेमा छलफल, बहस, विश्लेषण हुँदा यसलाई धार्मिक मुचुल्का मात्र हो भनेर बुझाउने र बुझ्ने प्रयास भयो । यदि सत्य धर्म मुचुल्कालाई धार्मिक मुचुल्का मात्र भनेर कसैले साँगु¥याउने कोशिस गर्छ भने त्यो पुर्खाहरुको प्रयासप्रति वा महागुरुप्रति ठूलो अन्याय हुनेछ । यसको मतलब सत्य धर्म मुचुल्कामा धार्मिक सुधारको विषयहरु छदै छैनन् भनेको होइन तर यसका साथसाथै यहाँ अन्य थुप्रै विषयहरु पनि छन् । जस्तो कि यसभित्र सांस्कृतिक, शैक्षिक, सामाजिक र आर्थिक दृष्टिकोणहरु सबल रुपमा छन् । त्यसकारण महागुरुको नेतृत्वमा सम्पन्न ८८ सालको सत्य धर्म मुचुलकालाई केवल धार्मिक रुपमा मात्र होइन सामाजिक, आर्थिक कोणहरुबाट पनि विश्लेषण र बहस गरियो भने समाजमा त्यहाँबाट धेरै मार्ग निर्देशक कुराहरु सिक्न सकिने जानकार बताउँछन् ।

किरात नुमिङसो मासिकमा कुमार लिङ्देन मिराक लेख्नु हुन्छ सत्य धर्म मुचुल्काले किरात समाजमा अनेकौं सकरात्मक प्रभावहरु पा¥यो, पारिरहेको छ र भविष्यमा पनि पारिरहने छ । यसको प्रभाव दूरगामी छ । यसले किरात समाजभित्र वहसका थुप्रै विषयहरुलाई उठाई दिएको छ । प्रथमत ः यसले किरात धर्मभित्र अहिंसावादी सोचको प्रादुर्भाव गरेको छ । महागुरु फाल्गुनन्दको विनम्र अनुरोध थियो कि इश्वरको नाममा काटमार नगरौं, हत्या हिंसा नगरौं, बलिपूजा नगरौं । इश्वरको नाममा काटमार गर्नु कुनै पनि हालतमा धर्म हुन सक्दैन । महागुरुको प्रसिद्ध तर्क छ– यदि इश्वरको नाममा काटमार गर्नु धर्म हो भने पाप चाहींँ के हो ? महागुरुको यो अहिंसावादी सोचले वर्तमान समयमा किरात समाजलाई मात्र होइन छेउछेउका अन्य धर्मावलम्बीहरुलाई पनि प्रभाव पार्दै लगेको छ ।

कुमार लिङ्देनका अनुसार किरातहरुभित्र जसले महागुरुको कर्म संस्कारलाई अनुसरण गर्छन् उनीहरुले त सेवा पूजामा मारकाट गर्ने कुरै भएन । यसका साथै महागुरुको कर्म संस्कारलाई नअगालेका अन्य किरात समुदायले पनि महागुरुको अंहिसावादी सोचलाई शिरोधार्य गर्दै जुनसुकै विधिले कर्म संस्कार गरेपनि मारकाट चै गर्नु हुँदैन रहेछ है । यसले मान्छेभित्रको बर्बरतालाई झल्काउने रहेछ है भनेर क्रमशः अहिंसावादी सोच बनाउँदै लगेको देखिन्छ । यसरी मान्छेहरुको सोचाईभित्र विस्तारै भएपनि परिवर्तन आउनु सकरात्मक कुरा हो, महागुरुको सपना पूरा हुँदै जानु हो । महागुरुले पढ्ने मुन्धुमहरु पढेर वा उहाँको कर्म संस्कार जस्तै गरेर सेवापूजा गर्ने मानिसहरु मात्र महागुरुको अनुयायी हुन् भनेर महागुरुलाई साँगुरो बनाउनु हुँदैन । जुनसुकै मन्त्र पढेर भएपनि हत्या हिंसा नगर्नेहरु महागुरुका सच्चा चेला हुन् भनेर फराकिला तरिकाले बुझ्दा र बुझाउदा राम्रो हुन्छ । महागुरुका मुख्य दर्शन अहिंसा हो । अन्ततः अहिंसाका पुजारीहरु नै महागुरुका शिष्य हुनेछन् । हालका दिनहरुमा फेदाङबा, साम्बा, नाक्चाहरुले पनि आ–आफ्नो मुन्धुम अनुसार फूल फलेदोले सेवा पूजा गर्न थालेका छन् । यो पनि सकरात्मक कुरा हो । सत्य धर्म मुचुलकाको प्रभाव नै हो ।

किरात नुमिङसो मासिकमा कुमार लिङ्देन थप लेख्नु हुन्छ ८८ सालको सत्य धर्म मुचुल्कापछि पल्लो किरात लिम्बुवानमा किरात श्रीजङ्गा लिपि र मुन्धुमी भाषाको प्रचार–प्रसारमा व्यापकता आयो । किन कि त्यस मुचुल्कामा नै यस कुराको आव्हान गरिएको थियो । आज किरात लिपि युवा पुस्ताको हातहरुले पनि व्यापक मात्रामा लेखिन्छ र २१ औं शताब्दीको साना नानीहरुको तोते जिब्रोले पनि मुन्धुमी भाषा बोलिन्छ । लिपि र भाषाको विकासमा धेरै संस्थागत प्रयासहरु अघि बढिसकेका छन् । सायद यो पनि सत्य धर्म मुचल्काको देन नै हो । तेस्रो यो मुचुल्काले किरात समाजभित्र सुधारको लागि ठूलो नैतिक दबाव दिइरहेको छ । जस्तो कि यति बेलाको लिम्बू (किरात) समाजभित्र जर्बजस्ती कस्तो छलफल भइरहेको छ भने महागुरुले भनेको सबै मान्न नसके कम्तिमा आधा भएपनि मानौं न । विबाहमा मासु खाएपनि मरेको दुःख काम सुधाईमा त मासु नखाएँ न, यो त अति भयो भनेर मान्छेहरु स्वयम्ले आत्मा आलोचना गर्न थालेका छन् । यो पनि एउटा सकरात्मक मोड हो । परिवर्तनको पहिलो खुड्किलो हो ।

कुमार लिङ्देन आफ्नो लेखमा अगाडि लेख्नु हुन्छ सत्य धर्म मुचुल्का पल्लो किरात लिम्बुवानको प्राण हो, आत्मा हो भन्दा कुनै अत्युक्ति नहोला । निदाईसकेको लिम्बुवानलाई यही मुचुल्काले फेरि व्युँझाई दिएको छ । श्वास भरिदिएको छ । यस मुचुल्कामा महागुरु फाल्गुनन्दको समाज सुधारका व्यक्तित्व प्रबल रुपमा प्रष्टिएको छ । महागुरु स्वयम्को जीवनमा पनि यो मुचुल्का एउटा कोशे ढुङ्गा नै सावित भएको छ । किन कि जसले उहाँलाई धार्मिक गुरुको रुपमा पुज्ये । उनीहरुले त उहाँलाई श्रद्धा गर्ने परि नै गए तर, धर्म र इश्वरप्रति खासै चासो नराख्ने भौतिकवादीहरुले पनि सत्य धर्म मुचुल्काले गर्दा महागुरुलाई महान् समाज सुधारकको रुपमा सदैव श्रद्धा गर्छन् । त्यसकारण महागुरु फाल्गुनन्दले इश्वरप्रति आस्था राख्ने र इश्वरप्रति आस्था नराख्ने समाजको दुवै पक्षको मन जित्नु भएको छ ।

लामो समय मुन्धुम मौखिक परम्परामा रहेकाले हराउ“दै गएको र मुन्धुमलाई लिपिबद्ध गर्न चुम्लुङले सहमति गरेको भन्दै मौखिक परम्परामा रह“दा मुन्धुम थुम नै पिच्छे र व्यक्ति पिच्छे फरक पर्ने भएकोले यसको एक रुपताको निम्ति मुन्धुम लिपिबद्ध गर्नेमा मुचुल्काको जोड रहेको आङबुहाङ अबोध अविरलले उल्लेख गरेको छ । सत्य धर्म मुचुल्का निर्माण भएको बेला समाजमा भाषिक विभेद् थियो । राजाले मान्ने धर्मलाई राष्ट्रिय धर्म, राज्यले बोल्ने भाषालाई राष्ट्रिय भाषा मान्ने र सरकारी कामकाजमा प्रयोग गर्ने चलन थियो । यसले एकै मुलुकका विभिन्न भाषिक समुदायहरुमा विभेद गरेको थियो । मुचुल्काले मातृभाषामा शिक्षा दिनुपर्ने विषयमा जोड दिएको छ । मातृभाषामा शिक्षा, बहुभाषिक शिक्षा आदि शिक्षा क्षेत्रका जल्दाबल्दा सवालहरु हुन् । विद्यार्थीलाई उनीहरुकै मातृभाषामा शिक्षा दि“दा सिकाई उपलब्धि राम्रो हुने निष्कर्ष शिक्षाविद्हरुले निकालेका छन् ।

लेखक रमेश तुम्बापोका अनुसार चोक चोकमा, माङहिम माङहिमहरुमा महागुरु फाल्गुनन्दको प्रतिमाहरु उभ्याएझै वहाँको अमूल्य उपदेश, विचार दर्शनलाई प्रत्येक व्यक्तिले आफ्नो मनभित्र उभ्याउन सक्नुपर्छ । किनकी विचारको शालिक ढुंगे शालिक जस्तो एक ठाउँमा मुक भएर स्थिर रहन सक्दैन । त्यो त आफैमा चलयमान गतिशिल हुन्छ । समाज, देश र जनतालाई जुरुक्क उचाल्न पनि सक्छ । आवश्यक परे संकल्प र प्रतिज्ञाको मुठ्ठी भएर सडकहरुमा नारा जुलुस भएर हिड्न पनि सक्छ ।

समाज सुधार दिवसको सुरुवात

सत्य धर्म मुचुल्कालाई सुसंस्कृत, शिक्षित, विकसित एंव सभ्य समाजको स्थापनाका लागि धार्मिक घोषणा पत्र वा विधानको रुपमा निर्माण गरिएको मान्न सकिन्छ । जसले सामाजिक मूल्य मान्यतालाई सदैव सु–सजित अनि सभ्यतवरले जीवित राख्न महत्वपूर्ण भूमिका खेल्नेछ, यो मानव अधिकार, समानता एंव पहिचानको पक्षमा उभेको छ ।

यस बारे किरात समाचारमा रमेश तुम्बापोले लेख्नु भएको छ – वि.स. २०३३–३४ साल तिर डिल्लीप्रसाद तुम्बापो (जौवारी कान्छा) को अगुवाईमा ऐतिहासिक शुभ दिनको स्मरण गर्दै प्रत्येक वर्षको बैशाख २४ गते लाधुङ सेमी सेवा तथा धार्मिक प्रवचन गर्ने शिलशिलामा आरम्भ भएको थियो । तर, त्यसले निरन्तरता र व्यापकता पाउन सकेन । त्यसबेला बैशाख २४ गतेलाई उचित सम्मान गरिएता पनि समाज सुधार दिवस पर्वको रुपमा मान्नुपर्छ भन्ने निष्र्कषमा पुगेको थिएन ।

यसरी सत्य धर्म मुचुल्का निर्माण भएको ऐतिहासिक दिनलाई अङसीमाङ आत्मानन्द सेइङज्यूको आज्ञा बमोजिम २०५३ सालको लागि किरात धर्म तथा साहित्य उत्थान संघका पूर्व केन्द्रीय कोषाध्यक्ष प्रेम कुमार सिप्तुङखाको घरमा अङसीमाङको साथमा डिल्लीराम चाम्लिङ र तेजमान साँबा लगायत रमेश तुम्बापो ४ जनाको रातभरीको छलफल पश्चात बैशाख २४ गतेलाई उल्लेखित रुपमा समाज सुधार दिवसको रुपमा मनाउने निष्र्कषमा पुगेको कुरा लेखक तुम्बापोले आफ्नो लेखमा उल्लेख गर्नु भएको छ ।

तुम्बापोका अनुसार समाज सुधार दिवसलाई औपचारिक रुपमा भने २०५४ सालमा ६७ औं समाज सुधार दिवसको रुपमा मनाउन सुरुवात गरिएको र किरात इतिहासमै प्रथम पटक १०८ जना माङसेवासावाहरुको सामूहिक मुन्धुम वाचनमा ऐतिहासिक लाधुङसेमी सेवा सम्पन्न भएको थियो । सोही वर्षयता नेपाल लगायत विभिन्न मुलुकहरुमा समाज सुधार दिवसलाई व्यापक रुपमा विविध कार्यक्रमहरुका साथ किरात धर्मावलम्वीहरुले मनाउँदै आइरहेका छन् ।

यसरी किरात धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउँदै आइरहेको समाज सुधार दिवसलाई २०७१ साल बैशाख २४ गते ८४ औं समाज सुधार दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाको हस्तबाहुलीबाट सार्वजनिक गरेको किरात धार्मिक चाडपर्वहरुमा बैशाख २४ गते किरात समाज सुधार दिवस पर्वको रुपमा घोषणा भएको थियो । बैशाक २४ लाई किरात समाज सुधारको रुपमा किरात समुदायमा १ दिने पर्वको रुपमा विकसित हुँदै गइरहेको छ । जुन विश्वको विभिन्न भूभागहरुमा धुमधामका साथ किरात सभ्यताको जननीको रुपमा मनाइरहेका छन् ।

 

सम्बन्धित खवर