असोज ११, ललितपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश नं १ को नाम लिम्बूवान किरात हुनुपर्ने बताएका छन् ।
याक्थुङ लेखक संघ, उपत्यका समितिको आयोजनामा प्रदेश नं एक नामाङ्कनको उपयुक्ततामाथि आइतबार सम्पन्न बहस कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा लिङ्देनले प्रदेश नं १ को नाम लिम्बूवान किरात हुनुपर्ने बताएका हुन् ।
देश निकट भविष्यमै दस प्लस एकको अवधारणामा जाने बताउनुहुदैं लिङ्देनले भने, ‘हामीले पहिचानको सवालमा उठाइरहेको मुद्दा के हो भन्ने कुराको बटमलाइनमा हामी प्रष्ट हुनुपर्छ । पहिचानमाथि अबको बुझाई भनेको केवल कस्तो पहिरन, कस्तो संस्कृति भन्नेमात्रै होइन । पहिचानको सम्बन्ध भूमिको ऐतिहासिकतासँगै त्यसमाथिको स्वायत्त राज्यसंचालनसँग जोडिन्छ । अबको पहिचानलाई हामीले स्वशासनसँग जोड्नुपर्छ । हाम्रो बटमलाइन यो हुनुपर्छ । त्यसैले हामी छुट्टै लिम्बूवान राज्य प्राप्तिको आन्दोलनमा छौं ।’
लिम्बूवान राज्य प्राप्तिको यो चरणमा प्रदेश नं १ लाई ऐतिहासिकताका आधारमा लिम्बूवान किरात स्वीकार्न सकिने बताउँदै उनले भने, ‘दुई अलग र विशिष्ट पहिचान भएका किरात र लिम्बूवानलाई एउटै प्रदेशमा गाभेर पहिचानवादीबीच मनमुटाव सृजना गर्ने प्रपञ्चले यो प्रदेश बनाइएको हो । लिम्बूवान भन्नासाथ लिम्बूको भन्ने भाष्य निर्माण गरिएको छ, जुन गलत छ । लिम्बूवानको ऐतिहासिकताबारे हजारौं डकुमेन्टहरु छन् । लिम्बूवान आन्दोलनको लामो विरासत छ । लिम्बूवान प्राप्तिका लागि सहिदहरुको बलिदानी छ ।’
राज्य पुनर्संरचना समितिको प्रतिवेदनले दस प्लस एकको अवधारणा सिफारिस गर्दागर्दै संघीयता विरोधीहरुले सात प्रदेशमा देशलाई जबर्जस्ती लगेको उनले बताए, ‘पहिलो संविधानसभामा पहिचानसहितको संघीयताको पक्षमा ककस नै बनेको थियो । षड्यन्त्रपूर्वक संविधानसभा नै विघटन गरियो । तर पहिचान र सामर्थ्यलाई आधार मानेर प्रदेश बनाउने अवधारणा कायमै थियो । पछि पहिचानविरोधीहरुले बलमिच्याइँ गरेर ७ प्रदेश बनाए ।’
लिम्बूवान राज्य प्राप्तिको आधारबिन्दु तय गर्न अहिलेलाई लिम्बूवान किरात मानेर जान सकिने उनले बताए । तर भविष्यमा आठौं प्रदेशका रुपमा प्रदेश नं १ बाट लिम्बूवान अलग्गिने पनि उनले ठोकुवा गरे ।
कार्यक्रमका अर्का वक्ता जनता समाजवादी पार्टी, लिम्बूवान राज्यसमितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेश नं १ लाई एउटा सिङ्गो प्रदेशको रुपमा नबुझ्न आग्रह गरेका छन् । प्रदेशको नाम लिम्बूवान किरात नाम नै पारित भए पनि तात्विक रुपमा लिम्बूवानले केही फाइदा लिन नसक्ने उनले जिकिर गरेका छन् ।
लिम्बूवान आन्दोलनबारे बोल्दै माखिमले भने, ‘हामी जुनसुकै पार्टीमा आबद्ध भए पनि लिम्बूवान आन्दोलनको हाम्रो लक्ष्य एउटै हो । राजनीतिक पार्टीको रुपमा साधनमात्रै हाम्रो फरक हो, तर गन्तव्य एउटै हो । त्यसैले रुपमा छरिएकोजस्तो देखिए पनि सारमा हाम्रो उद्देश्य आठौं प्रदेशको रुपमा लिम्बूवान प्राप्ति नै हो ।’
लिम्बूवान र किरातलाई प्रदेश नं एकभित्रका अलगअलग प्रदेशका रुपमा बुझ्न आग्रह गर्दै उनले भने, ‘हामी यही प्रदेशलाई मानेर बस्नेवाला छैनौं । यसले हामीलाई कुनै फाइदा गर्दैन । लिम्बूवान आन्दोलनको म्यान्डेट पनि यो होइन । संसारभर संघीयताको अवधारणालाई हेर्दा सुरुमा थोरै राज्य र पछि बढ्दै गएका छन् । नेपालमा पनि हुने त्यही हो । त्यसैले प्रदेश नं एकलाई नै एउटा सिङ्गो प्रदेशको रुपमा स्वीकारेर बसिरहनुपर्ने कुनै कारण छैन ।’
लिम्बूवानको इतिहासलाई नजरअन्दाज गरेर अन्य नाममा जोड नदिन पनि उनले आग्रह गरेका छन्, ‘लिम्बूवान र लिम्बूवान आन्दोलनको विरासतलाई लत्याएर अन्य नामहरु सिफारिस गर्दै नेताहरुको ढोकाढोका नचहार्न म हाम्रै समुदायका केही अग्रजहरुलाई अनुरोध गर्छु ।’
कार्यक्रमका अर्का वक्ता किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले राज्य निर्माणको राजनीतिक दर्शनलाई सबैले बुझ्न आग्रह गरेका छन् । संसारभर विद्यमान राज्यहरु कुनै एक राजनीतिक दर्शनको आडमा निर्माण भएको बताउँदै उनले भने, ‘लिम्बूवान राज्य निर्माणको राजनीतिक दर्शन यसको ऐतिहासिक पृष्ठभूमि हो । लिम्बूवान भूगोलको ऐतिहासिकतालाई कसैले पनि नकार्न मिल्दैन । त्यही ऐतिहासिक पृष्ठभूमिलाई आधार मानेर दाबी गरिएको लिम्बूवान राज्य प्राप्तिका लागि पटकपटक आन्दोलन भएका छन् । ऐतिहासिक पृष्ठभूमि र आन्दोलनको निरन्तरतालाई मध्यनजर गरेर प्रदेश नं एकको नाम लिम्बूवान किरात हुनुपर्छ ।’
अर्का वक्ता किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिङ थेगिमले प्रदेश नं एकको नाम किरात सगरमाथा हुनुपर्ने धारणा राखेका छन् । अहिलेको शक्तिसन्तुलन हेर्दा लिम्बूवान किरात भनेर गइयो भने असफल भइने उनले जिकिर गरे ।
लिम्बूवान किरातलाई साम्प्रदायिक नामको रुपमा लिइएको बताउँदै उनले भने, ‘लिम्बूवान किरात भनियोभने यो त साम्प्रदायिक नाम भयो भन्नेछन् । अहिले किरात भनेर गइयो र त्यसमा सगरमाथा जोड्दा अरुको पनि अपनत्व हुनेछ । नामको विवादलाई मत्थर गर्न अहिलेलाई किरात सगरमाथा भनेर जाऔं । यसो गर्दा पछि लिम्बूवान दाबी गर्न सजिलो हुन्छ ।’
थेगिमले आफू लिम्बूवानको विरुद्धमा नरहेको स्पष्ट पार्दै भने, ‘म लिम्बूवान हुनुपर्छ भन्ने पक्षमै हो । तर अहिले विद्यमान प्रदेशमा हामी लिम्बूहरु नै अल्पमतमा छौं । त्यसैले हामीले लिम्बूवान भनेर गयौं भने किरात राई र यस प्रदेशका अन्य समुदायले स्वीकार्ने अवस्था छैन । अहिलेलाई किरात सगरमाथा भनेर गयौंभने पछि गएर लिम्बूवानका लागि पनि ठाउँ बन्छ । अहिलेको प्रदेशबाट अलग्गिएर आठौं प्रदेश बनाउन सम्भव भयोभने त्यो लिम्बूवान नै हुनुपर्छ । यसमा मेरो ऐक्यबद्धता छ ।’
कार्यक्रमका अर्का वक्ता किरात धर्म तथा साहित्य उत्थान संघका पूर्वाध्यक्ष चन्द्रकुमार शेर्माले किरात सभ्यता पहिलो भएको जिकिर गर्दै लिम्बूवानलाई किरातले नै समेट्ने धारणा राखेका छन् । किरात सभ्यताको प्रमाण दिंदै उनले भने, ‘इतिहासका विभिन्न दस्तावेजहरुमा किरात सभ्यता उल्लेख भएको छ । अहिले भनिएको लिम्बूवान त्यही किरात सभ्यताको एउटा भूगोल हो । त्यसैले किरात भनेर जाँदा हामी सबै समेटिन्छौं । इतिहास हेर्दा पनि किरात जेठो देखिन्छ ।’
प्रदेश नं एकको नाम किरात सगरमाथा हुनुपर्ने धारण राख्दै उनले भने, ‘नामाङ्कनको सवालमा यो द्वन्द समाधानको उपाय हो । किरात भनियोभने त्यो जेठो सभ्यता पनि भयो । त्यसमा सगरमाथा जोडियोभने सबैलाई मान्य पनि हुने भयो । किरात भन्दैमा लिम्बूवानको पहिचान हराउँदैन । जो जेठो हो, उसको नाम स्वतः पहिला आउँछ ।
शेर्माले पनि आफू लिम्बूवानको विरुद्धमा नरहेको स्पष्ट पार्दै भने, ‘लिम्बूवान प्राप्त भयोभने सबैभन्दा खुशी म नै हुनेछु । तर अहिलेको शक्तिसन्तुलन र किरात सभ्यताको इतिहास हेर्दा किरात सगरमाथा नै उपयुक्त नाम हो ।’
‘प्रदेश नं एकको नाम लिम्बूवान किरात नै किन उपयुक्त ?’ शीर्षकसहित किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय, ललितपुरमा सम्पन्न बहस कार्यक्रमलाई कवि स्वप्निल स्मृतिले सहजीकरण गरेका थिए । याक्थुङ लेखक संघ, उपत्यका समितिकी अध्यक्ष शनि लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव मन्जु थेगिमले संचालन गरेकी थिइन् ।