मंसिर ११, माङसेबुङ । देउमाई नगरपालिका ९, जितपुरले प्रथम ‘गजुरमुखी मेला गोल्डकप’ को उपाधिको चुमेको छ ।
इलामको माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखी धाममा सोमबार भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै जितपुरले उपाधि चुमेको हो ।
जितपुरको जितमा सुकराज राईले दुई र विशाल लामाले एक गोल गरेका थिए । जितसँगै जितपुरले नगद १ लाख र ट्रफि हात पा¥यो भने उपविजेता बनेको माङसेबुङले नगद ५० हजार नगद र ट्रफिमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता टिम जितपुरका विशाल लामा र उत्कृष्ट गोलकिपर विजेता टिम जितपुरकै पवन राई घोषित हुँदै नगद दुई÷दुई हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता उपविजेता माङसेबुङका कृष्ण लिम्बू घोषित हुँदै नगद दुई हजार प्राप्त गरे ।
गोल्डकपका विजेता र उपविजेताहरुलाई प्रतिनिधिसभा सदस्य महेश बस्नेत, पूर्व संविधानसभा सदस्य नगेन्द्र कुमाल, फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, माङसेबुङ गाउँपालिका पूर्व अध्यक्ष डिकेन्द्र इदिङ्गोलगायतले पुरस्कार वितरण गरेका थिए ।
गजुरमुखी पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेन्द्र नेम्बाङको अध्यक्षतामा भएको समापन समारोहको संचालन अतित योङहाङले गरेका थिए ।