२५औं आदिवासी दिवस आदिवासी रङ्गशालामा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

२५औं आदिवासी दिवस आदिवासी रङ्गशालामा

 

 

 

 

दमक, २२ साउन ।
‘आदिवासी मातृभाषाहरु’ मूल नारासहित विश्वभर मनाउन लागिएको २५औं विश्व आदिवासी दिवस झापाको आदिवासी रङ्गशालामा मनाइने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापा सहित जिल्लाका १५ वटै स्थानीय तहमा रहेका शाखाहरुको संयुक्त आयोजनामा साउन २४ गते (९ अगस्ट) दिवस भब्य रुपमा मनाइने कार्यक्रमका प्रचार प्रसार संयोजक एवम् महासंघका सचिव बिरेन मेचेले बताए । खुल्ला सभासहित जिल्लाभरबाट आदिवासी जनजाति सम्वद्ध संघसंस्थाका अगुवा र सरोकारवालाहरुको सहभागिता रहने कार्यक्रम कमल ५ स्थित आदिवासी रङ्गशालामा हुनेछ ।

 

 

त्यस्तै देशभर लोकसेवा आयोगले खुलाएको असमावेशी विज्ञापन विरुद्ध आन्दोलनरत नेपाल आदिवासी जनजाति महासंघ सङ्घीय सचिवालयले भने यस वर्षको राष्ट्रीय नारा ‘पहिचान सहितको सङ्घीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो साझा अभियान, २५औं विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन’ तय गरेको छ ।
२५औं विश्व आदिवासी दिवसको प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई रहने महासंघ झापाले जनाएको छ ।
आदिवासी रङ्गशालाको नाम परिवर्तन गरेर मदन भन्डारी रङ्गशाला राख्ने स्थानीय र सङ्घीय सरकारको प्रयास विरुद्ध आन्दोलित हुने चेतावनी दिँदै आएको महासंघले साउन २४ को आदिवासी दिवस कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा पनि लिइएको छ ।
आदिवासी रङ्गशालाको नाम परिवर्तन नगराउन दबाव दिँदै विभिन्न जातीय संस्था र पहिचान पक्षधर राजनीतिक शक्तिहरुले पनि पटक पटक आन्दोलनको चेतावनी दिँदै आएका छन् ।

सम्बन्धित खवर