शेरधन राईको उद्घोष रंगशालामा दुई करोड विनियोजन गर्ने - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शेरधन राईको उद्घोष रंगशालामा दुई करोड विनियोजन गर्ने

 

साउन २५, दमक, झापा/ आदिवासी जनजातिहरुले विभिन्न जातजातिका झाँकी सहित हर्षाेल्लास पूर्वक २५ औं विश्व आदिवासी दिवस शुक्रवार मनाए । कमल गाउँपालिका–५, झापा स्थित आदिवासी रंगशालामा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख अतिथ्यतामा विश्व आदिवासी दिवस मनाएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले आदिवासी जनजाति स्मृति पार्क र संग्राहलय बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए । त्यसका लागि आवश्यक बजेट यही आर्थिक वर्षमा दुई करोड बजेट छुट्याउने उनले बताए ।
रंगशालालाई अत्याधुनिक र सुविधा सम्पन्न रंगशाला बनाउन आफूले केन्द्र सरकारसमक्ष पहल गर्ने राईले बताए । यद्यपी आदिवासी जनजाति रंगशालाको नामको विषयमा भएको विवादबारे मुख्यमन्त्री राई मौननै रहे ।
आदिवासी जनजाति रंगशाला निर्माण गर्ने भनि शिलान्यास गरिएको सो रंगशालाको नाम परिवर्तन गरी सरकारले मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय रंगशाला नामाकरण गरेर त्यसका नाममा बजेट छुट्याउन थालेपछि आदिवासी जनजातिहरुले सो को विरोध गर्दै निर्माण समेत ठप्प हुँदै आएका छ ।

संघीयताले सबैलाई हक, हित र अधिकार सम्पन्न बनाएको भन्दै, अधिकार प्राप्तिका लागि अब कसैले बलिदानी गर्न, हतियार बोक्न नपर्ने, सबैको शंका र आशंकाको निवारण हुने मख्यमन्त्री राईको भनाई छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाद्धारा आयोजित कार्यक्रममा आदिवासी जनजाति स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुमसिं राई, नेपाली कांग्रेसका जिल्ला नेता देउमान थेबे, सामाजिक अभियन्ताहरु बलराम हेमरन, भक्त खेबाङ, मोहन धिमाल लगायतले बोलेका थिए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाका अध्यक्ष भरत श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव बिरेन मेचेले संचालन गरेका थिए ।

सम्बन्धित खवर