माङसेबुङको पहिचान धार्मिक पर्यटनः इधिङ्गो - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङको पहिचान धार्मिक पर्यटनः इधिङ्गो

माङसेबुङ/माङसेबुङ गाउँपालिकाको पहिचाननै धार्मिक पर्यटन भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोले बताए । उनले भने, “इलामको पश्चिमी क्षेत्रमा रहेको माङसेबुङ धार्मिक पर्यटकीय प्रबद्र्धनमा प्रबल सम्भावना बोकेको गाउँपालिका हो । ”

अध्यक्ष इधिङगोका अनुसार माङसेबुङमा, विश्व किरातीहरुको केन्द्रीय धार्मिकस्थल तथा विश्व मानव समुदायको आस्थाको केन्द्र माङसेबुङ, गजुरमुखी, माङमालुङ, चुक्चिनाम्बा लगायत थुप्रै धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थलहरु रहेका छन् ।

धार्मिक पर्यटकीय क्षेत्रलाई विकास गर्न गाउँपालिकाको क्षमताले मात्र नपुग्ने भएकोले प्रदेश, संघीय सरकार र अन्य दातृ निकायबाट बजेट माग गरी धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक योजना निर्माणमा माङसेबुङ गाउँपालिका जुटिरहेको उनले बताए ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षको नीति तथा बजेट निर्माणमा माङसेबुङ गाउँपालिका जुटिरहेको भन्दै, संघीयता कार्यान्वयनमा सबैभन्दा चुनौती रहेको कर्मचारी अभावले माङसेबुङलाई पनि प्रभावित पारेको उनले बताए । उनले भने, ‘कर्मचारी अभावले जनतालाई सोचे जस्तो छिटो सेवा सुविधा दिन सकिएको छैन् ।’

कर्मचारी समायोजन अध्यादेशले गर्दा भएका कर्मचारी समेत अन्तै सुगमतिर जाने हुँदा कर्मचारी समस्याले जनतालाई सेवा दिन कठीन भइरहेको र थोरै भएका कर्मचारीलाई भकाएर काम लगाउनु परेको अध्यक्ष इधिङगोको भनाई छ । कर्मचारी अभावले सेवा प्रवाहमा समस्या परेको उनले बताए ।

जनप्रतिनिधिले नीति, योजना र बजेट बनाएपनि कार्यान्वयन गर्ने जिम्मेवारी पाएका कर्मचारीको अभावले योजना कार्यान्वयनमा समस्या रहेको अध्यक्ष इधिङगोले बताए । त्यसैगरी माङसेबुङका जनता करिब ९० प्रतिशत कृषिमा आधारित रहेको भन्दै कृषकले उत्पादन गरेका सामग्रीहरु बजारमा पु¥याउन सडकको समस्या रहेको उनको भनाई छ ।

कार्यालयका लागि व्यवस्थित भवन नहुनु र आम जनताका लागि भरपर्दाे सञ्चार, यातायात, विद्युत, स्वास्थ्य चौकी नहुनु गाउँपालिकाको चुनौति र समस्याको रुपमा रहेको बताउँदै, आगामी आर्थिक वर्षमा माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न, सडक सञ्जाल, विद्युत विस्तार, शिक्षा, स्वास्थ्य, सञ्चार तथा कृषि क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक नीति योजना निर्माण गर्ने उनले बताएको छ ।

आन्तरिक स्रोत बलियो बनाउन बढी कर उठाउनु पर्ने भएकोले जनतालाई प्रभावकारी सेवा सुविधा उपलब्ध गराउनु आवश्यक रहेको उनले बताए । त्यसैले गाउँपालिकाले पूर्वाधार विकासमा बढी लगानी लगाउँदै आएको समेत उनले प्रष्ट पारेका छन् । उनले थपे, ‘स्वास्थ्य, शिक्षा र कृषि लगायत अन्य क्षेत्रको तुलनामा भौतिक पूर्वाधारमा केही बढी बजेट विनियोजन गरिएको छ ।’

उनका अनुसार गत आर्थिक वर्षमा आन्तरिक स्रोतबाट अनुमानित रकम भन्दा धेरै कम करिब ५० लाख मात्र संकलन भएको थियो । विकास निर्माणमा सबै जनताले चासो लिएमा मात्र माङसेबुङको समृद्धि र उन्नति हुने भन्दै, सबै जनतालाई जागरुक बनेर अघि बढ्न अध्यक्ष इधिङगोले आग्रह समेत गरेका छन् ।

माङसेबुङ गाउँपालिका वडा नं. ५ मा सरकारी कामकाजको भाषामा स्थानीय लिम्बू भाषा र किरात लिपिलाई घोषणा गरी लागू गर्न माङसेबुङ गाउँपालिका भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका समेत पारित गरी कार्यान्वयनको लागि पहल गर्दै मातृभाषाको कर्मचारी नियुक्ति प्रक्रिया अगाडि बढाइने अध्यक्ष इधिङगोको भनाइ छ ।

सम्बन्धित खवर