चितवन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेलको जिल्ला अदालतमा बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयले आरोपी तीन जनालाई हिजो नै अदालतमा पेश गरेको भएपनि रुकु कार्कीको मात्रै बयान भएको थियो । आज दुईजनाको बयानपछि थुनछेक बहस हुनेछ ।
थुनछेक वहसका आधारमा उनीहरुलाई थुनामा राख्ने कि धरौटी यात साधारण तारेखमा छड्ने निर्णय हुने छ । आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा पाँच वर्षसम्मको कैद र पचास हजार जरिबाना हुने कानुनी व्यवस्था छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनको भरतपुर महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा न्यायिक प्रक्रियालाई समेत अवरुद्ध गर्नेगरी प्रदर्शन भइरहेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
आज विहान छ बजेदेखि अर्को आदेश नभएसम्मका लागि आदेश जारी गरिएको हो । अशान्ति गर्ने उद्देश्यबाट एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला नहुन पनि प्रशासनले सचेत गराएको छ । निषेधाज्ञा जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत आसपासका क्षेत्रमा लगाइएको हो ।
आइतबार साँझ लामिछानेको समर्थनमा चितवन जिल्ला प्रहरी कार्यालयअगाडि भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । अदालतबाट उनीहरुलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरवितरण गर्न केही सेल अश्रुग्यास प्रहार गरेको होे । सो क्रममा समर्थकहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्दा ८ जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका थिए ।