अभियान किरात धर्म लेखौं, लेखौंउ - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अभियान किरात धर्म लेखौं, लेखौंउ

ज्ञानु केदेम

माङसेबुङ/ आदिवासी जनजातीय ७ वटा संस्थाहरुले किरात धर्म लेख्न, लेखाउन संयुक्त अपिल गरेका छन् । नेपाल सरकारले राष्ट्रिय परिचय पत्रको लागि दरखास्त फाराम भराउन सुरु गरेको सन्दर्भमा त्यसलाई लक्षित गर्दै धर्मको महलमा किरात धर्म लेख्न संयुक्त अपिल गरेका हुन ।

धार्मिक संस्था किरात धर्म तथा साहित्य उत्थान संघका अलावा ६ वटा जातीय संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, नेपाल थामी समाज र जिरेल संघ नेपालले संयुक्त अपिल जारी गरेका हुन ।

अपिलमा चुम्लुङका अध्यक्ष योगराज वनेम, सुनुवारका अध्यक्ष रणवीर सुनुवार, याक्खाका अध्यक्ष लिल रोगू याक्खा, थामीका अध्यक्ष सुखवीर थामी, यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राइर्, किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष दंगधोज खोयाहाङ र जिरेलका महासचिव लालबहादुर जिरेलले हस्ताक्षर गरेका छन् ।

 

 

संयुक्त अपिलमा भनिएको छ, ‘हाम्रो राई, लिम्बू, सुनुवार, याक्खा, थामी, जिरेल नेपालका आदिवासी जनजातिहरुले वि.स. २०४८, २०५८ र २०६८ सालमा सम्पन्न राष्ट्रिय जनगणनामा जातिको महलमा आ–आफ्नो जातिहरु, मातृभाषाको महलमा आ–आफ्नो मातृभाषाहरु, थरको महलमा आ–आफ्नो थरहरु, धर्मको महलमा किरात धर्म लेखेर लेखाएर आ–आफ्नो पहिचान स्थापित गराउ“दै आएको र पुनः सबैमा आ–आफ्नो पहिचान स्थापित गराउन सार्वजनिक आव्हान गर्दछौं ।’

यसरी जारी अपिलमा फाराम भर्दा थरको महलमा आ–आफ्नो थरहरु, धर्मको महलमा किरात धर्म, जातिको महलमा आ–आफ्नो जाति जस्तैः राई, लिम्बू, सुनुवार, याक्खा, थामी, जिरेल आदि, मातृभाषाको महलमा आ–आफ्नो मातृभाषाहरु जस्तैः राई (थरगत भाषा बाम्बुले राई, दुमी राई, पुमा राई, वान्तवा राई, चाम्लिङ राई, कुलुङ राई आदि), लिम्बू, सुनुवार, याक्खा, थामी, जिरेल लेख्न लेखाउन अपिल गरिएको छ ।

काठमाण्डौमा आयोजित संयुक्त भेलामा यायोक्खाका उपमहासचिव जनक राईले अपिल वाचन गरी सार्वजनिक गरेको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष तथा किरात धर्म मिडिया प्रमुख माङमिङसोहाङ लिङ्देनले बताएको छ । सो कार्यक्रम गत असार १५ गते सुनुवारको केन्द्रीय कार्यालयमा सुनुवार अध्यक्ष रणवीर सुनुवारको सभापतित्वमा भएको भएको थियो ।

वि.स २०४८ र ०५८ सालको जनगणनामा किरात धार्मिक संस्थाको अलावा ४ वटा किरातजन्य संस्थाहरुको सक्रियमा किरात धर्म लेखेका थिए । अहिले बढेर ६ वटा जातीय संस्थाहरुले किरात धर्म लेख्ने संस्थागत अभियान सञ्चालन गरेका छन् । निकट भविष्यमा आदिवासी जनजातीय संस्थाहरु धिमाल, बराम, सुरेल र हायु लगायतका जातीय संस्थाहरु पनि किरात धर्ममा समाहित हुने स्रोतले जनाएको छ ।

नेपाल सरकारबाट जारी हुने राष्ट्रिय परिचय पत्रको फाराम भराउन सुरु गरेको फाराममा धर्मको महलमा किरात धर्म लेख्न, लेखाउन भनि संयुक्त अपिल सार्वजनिक गर्दै शुरु गरिएको किरात धर्म लेखौं अभियान राष्ट्रिय जनगणना २०७८ सम्ममा अझ् प्रभावकारी बनाउन तयारी थालेका हुन् । यसका लागि किरात धर्म दर्शनको व्यापक प्रचार–प्रचार गर्दै किरात धर्म लेख्ने, लेखाउने अभियानलाई सशक्त रुपमा अघि बढाइने किरात धार्मिक संगठनहरुले जनाएका छन् ।

कसले के भने ?
अपिल सार्वजनिक कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष दंगधोज खोयाहाङले किरातहरु लामो इतिहास बोकेका नेपालका आदिवासीहरु भएको बताउ“दै अब किरात समुदायहरु बीच एकता भई अघि बढ्न जरुरी रहेको औंल्याए । किरात धर्म स्थापित भई सकेको स्थितिमा अझ् यसलाई सुदृढ गरेर लैजाने उद्देश्यले नै संयुक्त अभियान सञ्चालन गरिएको उपाध्यक्ष खोयाहाङले बताएका छन् ।

आदिवासी लिम्बूहरुको धर्मको सवालमा चुम्लुङको २०४९ सालमा सम्पन्न राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल भएपछि लिम्बूहरुले किरात धर्म नै लेख्ने निष्कर्षमा पुगिएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेमले बताएका छन् । राष्ट्रिय महाधिवेशनबाट प्रष्ट निर्णय गरेर किरात धर्म लेख्ने लेखाउने काम सुरु गरिएकोले चुम्लुङले किरात धर्म लेख्न संस्थागत अभियान सञ्चालन गरेको अध्यक्ष वनेमले बताए ।

अध्यक्ष वनेमका अनुसार किरात धर्म भित्र जतिपनि लिम्बूहरुले संस्कार, अनुष्ठानहरु गर्नु हुन्छ, देवताहरु मान्नु हुन्छ ती देवता र संस्कार अनुष्ठानहरु सबै यो किरात धर्म भित्र पर्दछ भनि बुझौं भनेर परिभाषा समेत गरिएको छ । राष्ट्रिय महाधिवेशनबाट तयार पारिएको मार्गदर्शनलाई चुम्लुङले आत्मसात गर्दै धर्मको सवालमा संस्थागत रुपमै किरात धर्म लेख्ने उनले बताए ।

यसरी नै सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले धर्मको सवालमा हाम्रो समाजमा केही अन्योल रहेपनि अब पहिचान र जाति, धर्म, संस्कृतिको विषयमा प्रष्ट भएर अघि बढौं भन्ने उद्देश्यले संयुक्त अभियान थालेको बताए । उनले भने, ‘धर्मको सवालमा संयुक्त रुपमा किरात धर्मलाई लैजाने हाम्रो धारणा रहेको छ ।’

हिजोदेखि मनाउ“दै आएको किरात धर्म नै याक्खा जातिको धर्म भएको स्पष्ट पार्दै किरात याक्खा छुम्माका अध्यक्ष लिल रोगू याक्खाले किरात धर्मलाई नै अंगालेर जाने धारणा राखेका छन् । आफूलाई किरात भनेर स्विकारेर संसारभर छरिएर रहेका किरातहरुलाइ एकता गराउन किरातजन्य संस्थाहरुको संयुक्त अवधारणा रहेको समेत अध्यक्ष याक्खाले प्रष्ट पारेका छन् । किरात धर्म भनेर उल्लेख गर्दा किरात समुदायलाई एकसूत्र बनाउन सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा संस्थागत धारणा राख्दै नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामीले संस्था २०५६ सालमा स्थापना भएदेखि नै धर्मको सवालमा किरात धर्म भनि प्रष्ट रहेपनि व्यापक प्रचार–प्रसार गर्न नसकिएको बताए । अध्यक्ष थामीले भने, ‘आदिवासी किरात समुदायहरुको बीचमा एकताको सूत्रमा बा“ध्ने बलियो आधार किरात धर्म हुन सक्छ ।’ सबै किरातजन्य संस्थाहरु एकता भई किरात धर्मलाई बृहत बनाउन आवश्यक भएको बताउ“दै किरात धर्म लेखौं अभियान गाउ“–गाउ“सम्म पु¥याउने योजना रहेको अध्यक्ष थामीले बताएका छन् ।

यसरी नै अर्काे जातीय संस्था किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राईले किरात भनेको जाति नभएर बृहत प्राचिन ऐतिहासिक पहिचान भएको बताएका छन् । राई मात्र किरात, लिम्बू मात्र किरात भनेर भन्नु र बुझ्नु महाभूल हुने अध्यक्ष राईले बताए । अहिले ६ वटा जातीय संस्थाहरुले मात्र किरात धर्म अंगिकार गरेको भएपनि निकट भविष्यमा आदिवासी जनजातीय संस्थाहरु बराम, सुरेल, हायु र धिमाल लगायतले किरात धर्म अंगाल्ने उनको भनाई छ ।


किरात बृहत दर्शनको रुपमा विकास भएर जा“दा यस भित्र विभिन्न सम्प्रदायहरु रहन सक्ने भन्दै कार्यवाहक अध्यक्ष राईले सबैले आफूलाई उचित लागेको धर्म मान्न पाउने आधार रहेपनि धर्म दर्शन हो की धर्म भित्रको एक पाटो वा सम्प्रदाय मात्र हो चिनेर मात्र लाग्न सबैलाई आग्रह समेत गरेका छन् । अध्यक्ष राईले किरात धर्म भित्र विभिन्न सम्प्रदायहरु विकास भएर गएपनि धर्मको सवालमा किरात नै मान्नु पर्ने धारणा राखेका छन् ।

अध्यक्ष राईका अनुसार विगतमा राज्यको विभेद नीतिका कारण यर्थाथ र वास्तविक कुराहरु सबैलाई सुसचित गर्न समस्या रहेको थियो । तर, अहिले देशमा संघीय लोकतान्त्रीक गणतन्त्र, धर्म निरपेक्षता आएको सन्दर्भमा अब सबै जाति, समुदाय र संस्कृतिका मान्छेहरु आफ्नो अस्तित्वको बारेमा सचेत भएर अघि बढ्ने समय आएको राईले बताए । उनले भने, ‘अब पनि हाम्रो समुदायले सही कुरा बुझेनौं र अघि बढ्न सकेनौं भने हाम्रो आफ्नै कमजोरी हुने छ ।’

आदिवासी जनजातिहरुको समग्र धर्म दर्शन नै किरात धर्म भएको लेखक विश्वासदिप तिगेलाको पनि मत रहेको छ । एउटा धर्म भित्र अनेक पाटो वा सम्प्रदायहरु भए पनि समग्र धर्मको नाम एउटै हुने मत राख्दै लेखक तिगेला अघि लेख्नुहुन्छ ‘इतिहासको किरात सभ्यता नै हालसम्म रहेको किरात धर्म हो । हिन्दुभित्र वैष्णव, शैव, ओम शान्ति, साईबाबा र मुस्लिम भित्र सिया र सुन्नी, क्रिश्चियन भित्र क्याथोलिक, प्रोष्टिटेन, अर्थाेडक्स, मेथोडिक्स र बौद्ध भित्र पनि महा यान, बज्र यान भने झैं किरात धर्म भित्र पनि सत्यहाङ, युमा लगायत धेरै शाखा वा सम्प्रदायहरु रहेको मान्न सकिन्छ तर समग्र धर्मको सवालमा किरात नै हो ।’

यसरी संयुक्त अपिल जारी गर्नु पहिले किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले राष्ट्रिय परिचय पत्र वितरणको फारम भर्दा आदिवासी लिम्बू समुदायका आवेदकहरुले जातमा लिम्बू, भाषामा मातृभाषा लिम्बू, धर्ममा किरात लेख्न लेखाउन आफ्ना समितिहरु र तल्लो निकायका समितिहरुलाई परिपत्र गरेको थियो । चुम्लुङ केन्द्रीय समितिले गत असार ५ गते परिपत्र गरी संस्थागत तवरले सहयोग र समन्वयन गर्नका लागि अनुरोध गरेको हो ।

चुम्लुङले व्यक्तिगत तहमा प्रत्येक महानुभावहरुले आफ्नो परिवार सदस्य, नातागोता, गाउ“, शहर सबैतर्फ खबर गरी सो अभियान सफल बनाउन अपिल समेत गरेको थियो । नेपाल सरकारले प्रदेश नं. १ को पान्थर जिल्लाको फेदेन नगरपालिकाबाट राष्ट्रिय परिचय पत्र वितरणको फारम भर्न शुरु गरेका थिए ।

जनगणनामा किरात धर्म
नेपालमा राष्ट्रिय जनगणना वि.स. १९६८ देखि शुरु भई प्रत्येक १०÷१० वर्षको अन्तरमा राष्ट्रिय जनगणना हु“दै आएको छ । यसरी जनगणना सुरु गरिए पनि धर्म सम्बन्धी तथ्याङ्क भने जनगणना गर्न थालिएको ४ दशकपछि वि.स. २००९/२०११ को जनगणनादेखि मात्र उपलब्ध भएको थियो ।

जनगणनामा धर्मको महल उपलब्ध गरिएपनि किरात धर्मसम्बन्धी तथ्याङ्क भने जनगणना शुरु भएको ८ दशकपछि अर्थात वि.स. २०४८ सालको जनगणनाबाट मात्र उपलब्ध भएको थियो । यसरी जनगणनामा धर्मको महल किरात धर्म उपलब्ध भएपछि २०४८ सालको जनगणनामा नेपालको कुल जनसंख्या १ करोड ८४ लाख ९१ हजार ९७ जना मध्ये ३ लाख १८ हजार ३८९ जना अर्थात १.७२ प्रतिशतले किरात धर्म लेखाएका थिए ।


राष्ट्रिय जनगणना २०५८ को तथ्याङ्क अनुसार मुलुकको कुल जनसंख्या २ करोड २७ लाख ३६ हजार ९३४ मध्ये किरात धर्मावलम्बीहरुको जनसंख्या ८ लाख १८ हजार १०६ जना रहेका थिए । कुल जनसंख्यामा ३.६ प्रतिशत रहेको किरात धर्मावलम्बीहरुको जनसंख्या २०४८–२०५८ को दशकमा ६१.१ प्रतिशतले वृद्धि भएको थियो । सो दशकमा ४ लाख ९९ हजार ७१७ जना नया“ले किरात धर्म लेखाएको थियो ।

जनगणना २०६८ मा केन्द्रीय तथ्याङ्क विभागका अनुसार ८ लाख ७ हजार १६९ जनाले किरात धर्म लेखाएका थिए । यो कुल जनसंख्याको ३.०५ प्रतिशत हो । तथ्याङ्क अनुसार वि.स. २०५८–२०६८ को दशकमा किरात धर्मावलम्बीहरुको जनसंख्या १० हजार ९ सय ३६ जना घटेको छ । यसरी ६८ को जनगणनामा किरात धर्मावलम्बीहरुको जनसंख्या १.४ प्रतिशतले घटेको हो ।

तथ्याङक अनुसार २०६८ को जनगणनामा पूर्वाञ्चल विकास क्षेत्रमा ७ लाख ७८ हजार २९ जना र मध्यमाञ्चलमा २७ हजार ५ सय ९ जनाले किरात धर्म लेखाएका थिए । यी दुई विकास क्षेत्र बाहेक पश्चिमाञ्चलमा १ हजार २ सय ६७ जना, मध्य पश्चिमाञ्चलमा २ सय ३६ जना र सुदूर पश्चिमाञ्चलमा १ सय २८ जनाले धर्मको महलमा किरात धर्म लेखाएको थियो । भने ५८ को जनगणनामा पूर्वाञ्चल विकास क्षेत्रमा ७ लाख ९२ हजार ३ सय ७४ जना र मध्यमाञ्चलमा २५ हजार २० जनाले किरात धर्म लेखाएका थिए । यी दुई विकास क्षेत्र बाहेक पश्चिमाञ्चलमा ३ सय ३३ जना, मध्य पश्चिमाञ्चलमा ९६ जना र सुदूर पश्चिमाञ्चलमा १ सय ८३ जनाले धर्मको महलमा किरात धर्म लेखाएको थियो ।

त्यसैगरी ४८ को जनगणनामा पूर्वाञ्चल विकास क्षेत्रमा ३ लाख १६ हजार ९ सय ८४ जना र मध्यमाञ्चलमा १ हजार २ सय ९७ जना किरात धर्मावलम्बीहरु रहेका छन् । यसरी नै पश्चिमाञ्चलमा ६३ जना, मध्य पश्चिमाञ्चलमा ३० जना र सुदूर पश्चिमाञ्चलमा १५ जनाले धर्मको महलमा किरात धर्म लेखाएका थिए । तथ्याङ्क अनुसार किरात राई, लिम्बू, सुनुवार, याक्खा लगायतका जातिहरु बसोवास रहेको क्षेत्रमा किरात धर्मावलम्बीहरुको जनसंख्या अधिक रहेको छ ।


वि.स. २०४८ को जनगणनामा किरात धार्मिक संस्था किरात धर्म तथा साहित्य उत्थान संघको अलावा आदिवासी जातीय संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज लगायतले संस्थागत निर्णय गरेर किरात धर्म लेख्न लेखाउन पहल गरेका थिए । २०५८ को जनगणनामा पनि यी चार किरातजन्य संस्थाहरु र किरात धार्मिक संस्थाहरुको सक्रियताबाट नै नेपालमा हिन्दु, बौद्ध र मुस्लिमपछि चौथो ठूलो धर्मको रुपमा किरात धर्म स्थापित हुन पुगेको हो ।

वि.स २०६८ को जनगणनामा पनि २०५८ को जनगणनामा किरात लेखाउने अभियानमा जुटेका सबै संघ संस्थाहरु जुटेका थिए । यसमा थप जातीय संस्था नेपाल थामी समाजले संस्थागत निर्णय गरेर किरात धर्म लेखन अभियानमा लागेको अवस्थामा किरात धर्मावलम्बीहरुको जनसंख्या बढ्नको सट्टा उल्टो घटेको तथ्याङ्कले देखाएको छ । तर, जिरेल संघ नेपालले पनि धर्मको महलमा किरात धर्म लेख्न अपिल गरेको सन्दर्भमा २०७८ को राष्ट्रिय जनगणनामा किरात धर्मावलम्बीहरुको संख्या बढ्ने देखिन्छ ।

तथ्याङ्क अनुसार कूल जनसंख्यामा धर्मको महलमा किरात धर्म लेख्ने, लेखाउनेको संख्या घटेको भएपनि किरात धर्म नेपालमा चौथो ठूलो धर्मको रुपमा यथावत कामय भएको थियो । ५८ को जनगणना भन्दा ६८ को जनगणनामा १० हजार ९३६ जना किरात धर्मावलम्बीको संख्या घटेको छ । यसले किरात समुदायमा एक दशकमा कसैको जन्म नभई लगातार मृत्यू दर मात्र बढेको हो की, धर्म परिवर्तनको संख्या उच्च रहेको भन्ने जिज्ञासा समेत उब्जाएको जानकार बताउ“छन । यसरी ६८ को जनगणनामा किरात धर्म लेखाउने जातीय संस्था समेत थपिए पनि संख्या घटेको तथ्याङक सार्वजनिक भएको छ ।

मुलुकमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता घोषणापछि पहिचानसम्बन्धी आन्दोलन र जनजागरण भइरहेको अवस्थामा पनि ६८ को जनगणनामा हिन्दु धर्म बाहेक सबै धर्मावलम्बीहरुको जनसंख्या घटेको तथ्याङक सार्वजनिक भएको छ । जनगणनाको तथ्याङकलाई अध्ययन् गर्दा विगतमा पंचायती एकाधिकारवादी धार्मिक नीति र अहिले अघोषित धार्मिक एकाधिकारवादी नीतिका उपच हिन्दु धर्म बाहेक अन्य धर्मको जनसंख्या घटाएर तथ्याङक सार्वजनिक हुने गरेको किरात धर्मावलम्बीहरुको भनाई रहेको छ ।

अब किरात धार्मिक संस्था र आदिवासी किरात समुदायका जातीय संस्थाहरुले संयुक्त सञ्चालन गरिरहेको किरात धर्म लेखौं, लेखाउ अभियान सशक्त बनेर किरात धर्मको व्यापक विकास र विस्तार हुने कि एकताको अभियान कागजी दस्तावेज मात्र बन्ने नतिजा जान्न धैर्य गर्नु छ । अझ आदिवासी जनजातिहरुको अस्तित्व जीवन्त पार्ने उद्देश्य हो भने अनेकताबाट कार्यगत एकतामा जुट्नको विकल्प कसैले नखोजौं ।

(माङसेबुङ मासिक आवरण लेख साउन अंक २०७५)

सम्बन्धित खवर