८ जना विद्यार्थी बेहोस, एकजनाको मृत्यु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

८ जना विद्यार्थी बेहोस, एकजनाको मृत्यु


भदौ ११, २०७६ पाल्पा पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी उनी ट्यूशन पढ्न विद्यालय जाँदै गरेकी थिइन्। प्रहरी नायव उपरीक्षक सापकोटाका अनुसार विहान ८ बजे ट्यूशन पढ्न जाँदै गरेकी उनी विद्यालय नजिकै पुग्दा बेहोस भएकी थिइन्।

उपचारको लागि तानसेनतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । उनीसँगै रहेका अन्य ६ जना छात्रा र १ जना छात्र पनि बेहोस भएका छन्। बेहोस भएका मध्य तीनजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभास र दुइजनाको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ ।

अन्य दुइजनाको भने ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए । बेहोस भएका सातजनाको अवस्था सामान्य रहेको उहाँको भनाई छ। अहिले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर पुष्प ज्ञवालीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली घट्ना स्थलतर्फ गएको छ । विद्यार्थी के कारणले बेहोस भन्नेबारे अहिलेसम्म खुलेको छैन ।

सम्बन्धित खवर