आज इन्द्रजात्रा उपत्यका विदा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज इन्द्रजात्रा उपत्यका विदा


२०७६ भदौ २७ / काठमाडौं वर्षा र सहकालको पनि देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व मनाइन्छ । हनुमानढोका अगाडि भाद्र शुक्ल द्वादशीका दिन धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएर प्रारम्भ भई आठ दिनसम्म मनाईने यो जात्रा विभिन्न प्रकारका नाँचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी गरि मनाईन्छ ।

लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रुमाथिको विजय पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको जन विश्वास छ । सरकारले आज इन्द्रजात्राकै अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

तान्त्रिक विधिद्वारा पूजा गरी यसअघि काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेको लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ ।

उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरी भक्कुनाँच, महाकालीनाँच, लाखेनाँच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा पुलुकिसी नाँच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ ।

सम्बन्धित खवर