साडे दुई अर्बको आलुले धानेन ताप्लेजुङलाई - Mangsebung News
  • आइतबार, चैत १६, २०७६
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साडे दुई अर्बको आलुले धानेन ताप्लेजुङलाई


भदौ २७, २०७६ ताप्लेजुङ / ताप्लेजुङमा अलैँचीपछि उच्च आम्दानी दिने अर्को नगदेबाली आलु हो । जिल्लामा ९० प्रतिशत कृषकले हिमालदेखि औलसम्म आलुखेती गर्छन् ।

सरकारी निकायको तथ्यांक अनुसार वार्षिक अढाइ अर्बको आलु उत्पादन यो जिल्लामा हुन्छ । एक लाख २७ हजार जनसंख्या रहेको ताप्लेजुङलाई यो उत्पादन पर्याप्त छैन् ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत आर्थिक वर्षमा ४२ हजार मेट्रिक टन आलु उत्पादन भएपनि स्थानीयले बाहिरी जिल्लाबाट आलु खरिद गर्ने अवस्था छ । जिल्लामा आलुको माग र आपुर्तीको तथ्यांक यकिन कसैसँग छैन ।

व्यवसायीहरूका अनुसार स्थानीय आलुले पाँच प्रतिशत पनि माग धान्दैन । ‘अहिले लोकल आलुको सिजन हो र पनि हप्तामा ४० क्विन्टलभन्दा बढी बाहिरबाट ल्याउनुपर्ने अवस्था छ,’ एक व्यापारीले भने, ‘स्थानीय आलु अबको एक महिनामा सकिने हुँदा त्यसपछि दोब्बर आयात गर्नुपर्छ।’ स्थानीय आलुको मूल्य प्रतिकिलो ७० देखि ८० र आयातीत आलुको ४० देखि ४५ रुपैयाँ छ । आलुमा आत्मनिर्भर बनाउन तत्कालीन कृषि विकास कार्यालयले विसं २०७१ बाटै विभिन्न कार्यक्रम सञ्चालन गर्याे ।

परम्परागत खेती प्रणालीबाट मुक्त गराई आधुनिक खेतीमा लगाउन भन्दै पकेट तथा ब्लक क्षेत्र बनाएर विभिन्न अनुदान दिने, बिउ आलु भण्डारण केन्द्र निर्माण, तालिम भ्रमण जस्ता कार्यक्रममा लाखौं खर्च गरियो। स्थानीय सरकार गठन भएपनि पनि कृषिमा पर्याप्त कार्यक्रम हुने गरेको छ। तर, आयात भने बर्सेनी बढ्दो छ। आलुको उत्पादनमा सरकारले लगानी गरेको लामो समय भइसक्दा उत्पादन भने घट्दो क्रममा छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१ र ०७२ मा ३ हजार ९ सय हेक्टरमा गरिएको खेतीबाट ४८ हजार ३ सय ४५ मेट्रिकटन आलु उत्पादन भएको थियो।

गत बर्षमा चार हजार हेक्टरमा ४२ हजार ३० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । असिना पानी, हुरी बतास, रोगकिराको प्रकोपले आलु उत्पादन घटेको फुङलिङ नगरपालिका–९ का कृषक निमा शेर्पा बताउछन् । जिल्लामा बर्षे र हिउँदे गरी दुई पटक आलु उत्पादन हुने गरेको छ। बुङकुलुङकै कृषक पाशाङरिता शेर्पाका अनुसार हिउँदे कम र बर्षे बढी उत्पादन हुन्छ। सरकारले आफ्नो गाउँलाई ब्लक बनाएकाले उत्पादन बढ्नेमा उनको विश्वास छ ।

हिमाली क्षेत्रको मुख्य खान्कीनै आलु भएको र ‘लेकाली भेगको बेलुकाको खाना र खाजा आलु हुन्छ’ त्यसमा बाह्य पर्यटक र अरु त छदैछ नगरपालिकाका कृषि प्राविधिक दीपक भण्डारी बताउँछन् । चार हजार मिटरभन्दा माथि उचाईको फक्ताङलुङ गाउँपालिका–७ याङमा देखि ३१ सय मिटर उचाईमा रहेको सोही गाउँपालिकामा पर्ने घुन्साको मुख्य बाली आलु हो। योबाहेक मिक्वाखोला गाउँपालिकाको पापुङ, साँवा, मेरिङ्देनको नाल्वु, सिरिजंघाको याम्फुदिन, फुङलिङ नगरपालिकाको बुङकुलुङ, उकालीपानी र चारपाटे बढी आलु उत्पादन राम्रो हुने गाउँ हुन् ।

सम्बन्धित खवर