काठमाण्डौ – प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सरकारले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने जनकारी दिएका हुन् ।
डाक्टर रुइतले एक लाखभन्दा बढी मोतियाबिन्दुका बिरामीको आँखाको ज्योति फर्काउनु भएको छ । सस्तो मूल्यमा गुणस्तरीय लेन्स ७० भन्दा बढी देशहरुमा र्पुयाएर मोतियाबिन्दुबाट हुने अन्धोपना निवारणका लागि महत्वपूर्ण भूमिका निभाएका डा. रुइत नेतृत्वको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वकै नमुना मानिन्छ ।
मोतियाबिन्दुले ज्योति गुमाएका मानिसका लागि सस्तोमा लेन्स (इन्ट्रा अकूलर लेन्स ‘आईओएल’) उपलब्ध गराएर ज्योति फर्काउने कार्यका लागि विश्वमा प्रसिद्धि कमाएका यी चिकित्सकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।
पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको छ ।