समाजवादीको झापा जिल्ला समायोजन विवादित - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समाजवादीको झापा जिल्ला समायोजन विवादित


झापा, १० असोज / झापा जिल्लामा भएको समाजवादी पार्टीको जिल्ला समिति समायोजन विवादमा परेको छ ।

पूर्व नयाँ शक्ति पार्टीको झापा जिल्ला समिति र १ नम्बर प्रदेश समितिले असोज ७ गते झापाको विर्तामोडमा गरेको समायोजनलाई नमान्ने ठहर गरेपछि पार्टी समायोजन कार्य विवादित बनेको हो ।

पूर्व सङ्घीय समाजवादी फोरम झापा जिल्ला समिति र पूर्व नयाँ शक्ति पार्टी झापा जिल्ला समितिको समायोजन भनिए पनि सो कार्यक्रममा नयाँ शक्ति पार्टी सहभागी नभएको नयाँ शक्ति पार्टीका झापा जिल्ला अध्यक्ष उदय गुरुङले जानकारी दिएका छन् ।

गुरुङले असोज ८ गते झापाको विर्तामोडमा पत्रकार सम्मेलन गरेर पार्टी समायोजन भइनसकेको जानकारी दिए । पत्रकार सम्मेलनमा उनले ७३ सदस्यीय जिल्ला कमिटीमा ९ जनाले मात्रै समायोजनमा भाग लिएको दावी गर्दै पार्टी समायोजन नभइ व्यक्ति समायोजन भएको टिप्पणी गरे । उनले आफू नेतृत्वको कमिटीले समायोजन नमान्ने जिकिर गरेका छन् ।

मिति २०७६/०६/०७ मा नयाँ शक्ति पार्टी झापा र सङ्घीय समाजवादी फोरमबीच पार्टी समायोजन गरिएको भ्रमपूर्ण प्रचार प्रसारप्रति नयाँ शक्ति पार्टी झापाको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै व्यक्ति बिषेशले समायोजनको नाममा गरिएको भ्रमपूर्ण कार्यप्रति घोर असहमति जनाउँदै नयाँ शक्ति पार्टी नेपाल झापा जिल्ला समिति समायोजन नभएको कुरा सम्पूर्ण कार्यकर्ता, केन्द्रीय कमिटी, प्रदेश कमिटी, र पत्रकार मित्रहरुलाई जानकारी गराउँदछु । उपयुक्त समयमा दुई पूर्व पार्टीका जिल्ला समितिबीच समायोजन कार्य सम्पन्न गरिने अध्यक्ष गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।


बिवादका बीच समायोजन
असोज ७ गते विर्तामोडस्थित अतिथि सदनमा भएको भनिएको समाजवादी पार्टी समायोजन कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राई र उपमहासचिव डम्बरुबल्लभ खतिवडा लगायत नेताहरु सहभागी थिए । समायोजन कार्यक्रममा समाजवादी पार्टीका १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ र पूर्व नयाँ शक्ति पार्टीका १ नम्बर प्रदेश संयोजक प्रभुनारायण श्रेष्ठ भने सहभागी थिएनन् ।
उक्त कार्यक्रममा दिपेन बाला राईको अध्यक्षतामा ९९ सदस्यीय समिति घोषणा गरिएको थियो । जसमा उपाध्यक्षहरु वीरबहदुर श्रेष्ठ, संगिता रौनियार र सिवन सोराली मगर, सचिव पुष्प पौडेल, सह–सचिव अर्जुन राई र कोषाध्यक्षमा राजु खड्का रहेका बताइएको छ ।

पूर्व नयाँ शक्तिका शीर्ष नेताहरुबाट समस्या समाधान हुनुपर्छ ः प्रदेश अध्यक्ष चािम्लङ

यसैबीच समाजवादी पार्टी १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले भने पूर्व नयाँ शक्ति पार्टी्भित्र जिल्ला समायोजनको विषयलाई लिएर समस्या देखिएको बताएका छन् ।
अध्यक्ष चाम्लिङले भने –‘हामीलाई समायोजनको विषयमा नयाँ शक्तितर्फबाट कार्यक्रम रोक्न अनुरोध सहित बैठकको निर्णयको प्रतिलिपि र पत्र ६ गते प्राप्त भयो । त्यस अनुसार तत्काल समायोजन कार्य स्थगन गर्न अनुरोध गरेका हौं ।’ चाम्लिङका अनुसार सो कार्यक्रमका प्रमुख अतिथि एवम् पार्टीका वरिष्ठ नेता अशोक राई र विशिष्ट अतिथि एवम् पार्टीका उप–महासचिव डम्बरुबल्लभ खतिवडालाई पनि विवादका बीच समायोजन नगरिदिन आग्रह प्रदेश समितिको तर्फबाट गरिएको थियो ।

समाजवादी पार्टी १ नम्बर प्रदेश समितिका सदस्य सचिव दिपक याक्खाले पूर्व नयाँ शक्ति पार्टीको अनुरोध अनुसार समायोजन कार्य रोक्न र दुवै पक्षबीच छलफल गरेर समायोजन बारे निर्णय गर्न पत्राचार गरिएको जानकारी दिए । उनले भने –‘नयाँ शक्तिबाट असोज ६ गते अबेर पत्राचार भएको हो । सो पत्रका आधारमा ७ गते बिहान सङ्घीय समाजवादी फोरम झापा जिल्ला समितिलाई पत्राचार गरेका हौं ।’

समाचार स्रोतका अनुसार नयाँ शक्ति पार्टी झापाको असोज ४ गतेको बैठकले पार्टी समायोजनमा तत्काल नजाने निर्णय गरेको थियो । तर, सो निर्णयका विरुद्ध तत्कालीन संयोजक वीरबहादुर श्रेष्ठ र सचिव पुष्प पौडेलले कार्य गरेको भन्दै उनीहरुलाई असोज ६ गतेको बैठकले कार्बाहीका लागि माथिल्लो कमिटीलाई जानकारी गराउने निर्णय गरेको थियो ।

६ गते बसेको नयाँ शक्ति झापाको बैठकमा संयोजक श्रेष्ठ र सचिव पौडेलको उपस्थिति नरहेको सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको निर्णय पुस्तिकाको कपीबाट थाहा हुन्छ । सो बैठकमा दुई जना केन्द्रीय सदस्यसहित थप ५० जना जिल्ला पदाधिकारी र सदस्यहरुले पार्टीको प्रदेश समायोजनपछि मात्रै जिल्ला समायोजन कार्य सम्पन्न गर्ने आसयको निर्णय भएको देखिन्छ ।

समायोजन निर्दे्शिकामा के छ ?
समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समितिले जेठ १६ गते जारी गरेको समायोजन निर्दे्शिका अनुसार जिल्ला पार्टी समायोजन गर्न प्रदेश समितिले कार्यदल निर्माण गर्नुपर्ने प्रावधान छ । सो का निम्ति पार्टीको प्रदेश समिति समायोजन भइसकेको हुनुपर्ने मापदण्ड तोकिएको छ । तर सोही निर्दे्शिकाको अन्तिममा नोट भनी माथिका वुँदाहरूमा जेसुकै उल्लेख भए तापनि दुवै पार्टीका समितिहरू तथा जनसङ्गठनका हरेक स्तरका समितिहरू एक आपसमा सहमति गरी समायोजित गर्न सक्ने छन् भनी उल्लेख गरिएको छ ।

उल्लेखित व्यहोरा अनुसार दुवै पूर्व पार्टीका समान स्तरका समितिबीच सहमति भएमा पार्टी समायोजन गर्न सकिने आधार छ । तर, झापा जिल्ला समायोजनको हकमा नयाँ शक्ति पक्षको लिखित असहमति रहेको तथ्यका आधारमा समायोजन प्रक्रिया त्रृटिपूर्ण देखिन्छ ।

सम्बन्धित खवर