यसरी बचाउन सकिन्छ भाषा - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यसरी बचाउन सकिन्छ भाषा


थालनी
भदौं पहिलो साता सुनसरी भरौलमा भाषा संरक्षण सम्बन्धि कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । सोही अवसरमा भरौल निवासी सेवासावा रनधोज वनेमले मातृभाषा हराउँदै गएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो । युवा र बालबालिका आफ्नो ‘भाषा, लिपि’ मा गम्भीर नभएको, नेपाली र अंग्रेजी भाषामा मात्र केन्द्रीत भएकोले भाषा लोप हुने हो कि भन्नेमा वहाँको चिन्ता थियो । ‘भाषा, लिपि बचाउनु पर्छ’ भन्दा धेरैले चासो नदिएकोमा सेवासावा चिन्तित देखिनु भएको छ । सेवासावा वनेम प्रतिनिधि पात्र मात्र हुन्, अधिकांश बुबा पुस्ताका मानिसहरुमा भाषा लोप भएर जाने हो कि भन्नेमा धेरै चिन्तित देखिन्छन् ।

परम्परागत भाषाविज्ञानले भाषालाई बोलीचालीको माध्यमको रुपमा व्याख्या गर्दछ । भाषाको माध्यमबाट विचार, अनुभव, उत्तेजना र जानकारीहरु आदान—प्रदान गरिन्छ । तर, आधुनिक भाषा विज्ञानले भाषालाई अलिक फराकिलो दायराबाट हेर्ने, चिन्ने गर्दछ । भाषा बोलीचालीको माध्यम मात्र होइन, भाषा संस्कृति, राजनीति र शक्ति हो भन्ने आधुनिक भाषा वैज्ञानिकहरु दाबी गर्दछन् । भाषा बोलीचालीको माध्यम मात्र हो भने, त एक जना लिम्बूलाई बोलचाल गर्न नेपाली वा अंग्रेजी भाषाले सिके भइहाल्थ्यो । उसलाई मातृभाषा सिक्नु पर्ने वाध्यता थिएन् । भाषा संस्कृति हो, इतिहास हो । संस्कृति र भाषालाई अलग गर्न सकिन्न ।

भाषामा कुनै समुदायको परम्परागत ज्ञान, सीप, अनुभव र मूल्य मान्यताहरु अन्तरघुलित हुन्छ । भाषा समुदाय उपज भएकाले समुदायको विशिष्टतालाई प्रतिविम्बित गर्दछ । भाषालाई राजनीतिले शक्तिआर्जनको माध्यमको रुपमा लिन्छ । नेपालमा खस नेपाली भाषालाई राज्यले राष्ट्रिय भाषाको रुपमा विकास गरेको छ । मातृभाषा मात्र बोल्ने नेपालका सयबढी भाषिक समुदायका मानिसहरुले खस भाषा सिक्नु, बोल्नु पर्ने वाध्यता भएको छ । भाषा, शक्ति र राजनीतिमा अन्तरसम्बन्ध हुन्छ । भाषाले शक्ति प्रदान गर्ने र शक्तिले भाषालाई टिकाई राख्ने गर्दछ ।

पछिल्लो समयमा विकसित विश्वव्यापीकरणको प्रवृत्तिले कमजोर मुलुकका भाषा र संस्कृतिहरुलाई संकटमा पारेको छ । शक्तिशाली र विकसित मुलुकका भाषा सिक्नु पर्ने वाध्यताको विकास भएको छ । नेपालका मातृभाषाहरु त झन् दोहोरो मारमा छन् । एकातर्फ राष्ट्रिय भाषा खस नेपाली सिक्नु पर्ने वाध्यता छ । अर्को तर्फ शिक्षा र रोजगारीको निम्ति विदेशी भाषाहरु सिक्नुपर्ने बाध्यता भएको छ । उच्च शिक्षाको माध्यम भाषा अंग्रेजी हुनु, संसारभर आजसम्म पत्ता लगाएका सिद्धान्तहरु अंग्रेजीमा लेखिनु, औषधी र दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरुमा अंग्रेजीको प्रयोग हुनाले अंग्रेजी सिक्नु पर्ने बाध्यता छ । मुलुकमा राम्रो रोजगारीको व्यवस्था नहुनाले अंग्रेजी, जापानिज, कोरियन, हिब्रु र अरेविक भाषाहरु सिक्नु पर्ने वाध्यता छ । यस्तो अवस्थामा मातृभाषाको संरक्षण निकै कठिन विषय बनेको छ ।

मातृभाषालाई बचाई राख्न व्यक्ति, समुदाय र राज्यको बेगल जिम्मेवारी रहन्छ । तर, आफ्नो मातृभाषा बचाउन व्यक्ति र समुदायको तहबाट कस्ता कार्य गर्न सकिन्छ भन्ने यस लेखमा छलफल गर्ने प्रयास गरिएको छ ।

मातृभाषामा बोलचाल
आफ्नो मातृभाषालाई बचाई राख्न सम्बन्धित व्यक्ति स्वयम्ले मातृभाषामा बोलीचाली गर्नु पर्दछ । राई भाषा बचाउन राई जातिकै पहिलो दायित्व र भूमिका रहन्छ । त्यसरी नै लिम्बू भाषाका निम्ति लिम्बू जातिकै भूमिका महत्वपूर्ण हुन्छ । घर परिवार, मेलोपात र स्कूल—कलेजमा जता पनि मातृभाषामा बोलचाललाई प्राथमिकता दिए भाषा जीवन्त रहन्छ । नबोलेसम्म भाषा जीवित रहन्न ।
मानिसले ६ वर्षको उमेरमा मातृभाषाका अधिकांश भाषिक अवधारणाहरु ग्रहण गरिसक्ने भाषा वैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ । एउटा बालकमा १३—१४ वर्षको उमेरसम्म भाषिक अवधारण ग्रहण गर्न सक्ने क्षमता धेरै राम्रो हुने भाषा वैज्ञानिकहरुको मत छ । ६ वर्षको उमेरसम्म बालबालिका सामान्यत बुबा—आमा वा बाजे बोजुसँग रहन्छन् । उनीहरु स्कूलमा नेपाली र अंग्रेजी भाषा सिक्छन् । तर, घरमा मातृभाषामा बोल्ने वातावरण भए स्वत भाषा सिक्छन् । एक जना बालकलाई मातृभाषा सिकाए मातृभाषा करिब ७० वर्षसम्म बाँच्ने विश्वास गरिन्छ । त्यसैले घरमा मातृभाषाको वातावरण बनाउन सके बालकलाई भाषा रटाइरहनु पर्दैनन् । अरुले बोली दिएर भाषा बाँच्दैन । मेलो पात, हाट बजारमा मातृभाषी भेटिए आफ्नै भाषामा बोलीचाली गर्ने बानी गर्नु पर्दछ । आफ्नो भाषामा बोल्न जान्नु गर्वको विषयका रुपमा लिनु पर्दछ ।

परम्परागत धर्म—संस्कृति अनुसरण
परम्परागत धर्म र संस्कृतिहरुमा मातृभाषाको भूमिका महत्वपूर्ण रहेको हुन्छ । परम्परागत धार्मिक अनुष्ठान र संस्कृतिमा मातृभाषाको आवश्यकता पर्दछ । यदि परम्परागत धार्मिक मूल्य मान्यतालाई कायम राखे भाषा संरक्षणमा सहयोग पुग्दछ । जस्तै ः विवाह, मेला र हाट बजारमा धान नाचेमा पालामको संरक्षण हुन्छ । पालाम लिम्बू भाषामा रहेको हुन्छ । साकेलाले किरात राई भाषा, सेलोले तामाङ भाषा र हुर्रा नाचले मगर भाषाको संरक्षणमा सहयोग पुग्छ ।

जन्म, विबाह, मृत्यु आदिमा गरिने कर्मकाण्ड र अनुष्ठानहरुमा मातृभाषा अनिवार्य हुन्छ । बुबा—आमाको क्रृयापुत्री बस्दा होस् वा केटी माग्न जाँदा होस्, त्यसबेला मुन्धुम भाषामा नै प्रस्तुत गर्नु पर्ने हुन्छ । यसले भाषाको प्रयोगलाई बाध्यकारी बनाउनाले यसको संरक्षणमा सहयोग पुग्छ ।

मातृभाषामा शिक्षा
मातृभाषामा शिक्षाको व्यवस्था भए मातृभाषाहरु बचाउन सकिन्छ । नेपाली विद्यालयमा ‘शिक्षाको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै भाषा’ हुने शिक्षा ऐनमा उल्लेख छ । यसका साथै प्राथमिक तहसम्म मातृभाषामा शिक्षा दिन सक्ने व्यवस्था छ । शिक्षाको माध्यम भाषा खस र अंग्रेजी भाषा भएकाले अन्य मातृभाषाहरुमा नकरात्मक प्रभाव परेको छ । घरमा मातृभाषा प्रयोग गर्ने बालक विद्यालय गएपछि आफ्नो मातृभाषा भूल्दै जाने गरेको पाइन्छ । किनकी, विद्यालयमा मातृभाषाप्रति सकरात्मक वातावरण छैन । मातृभाषामा प्रभावित लवजका कारण विद्यार्थीहरुले विद्यालयमा अपमानित हुनुपर्ने वातावरण रहेको छ ।

सरकारले तय गरेको ‘सबैका लागि शिक्षा’ २००१—२०१५ मा मातृभाषामा प्राथमिक र आधारभूत शिक्षाको सुनिश्चित गर्ने नीति तय गरेको थियो । तर, मातृभाषामा शिक्षा प्रभावकारी तवरले हुन सकेको छैन । मातृभाषामा शिक्षाको के काम ? यसले जागिर दिन्छ र ? जस्ता प्रश्नहरु अभिभावक र विद्यार्थीमा रहेको छ । यसका निम्ति सरकारले मातृभाषा शिक्षाको व्यवस्था गरेर, मातृभाषाहरुलाई कामकाजी भाषा बनाउन पहल र आन्दोलन गर्नुपर्दछ । मातृभाषामा शिक्षा लिएपछि काम पाउने ‘स्कोप’ निर्माण गर्ने आधारहरु तय गर्न पहल गर्न आवश्यक छ । जसले बालक र अभिभावकलाई मातृभाषामा शिक्षाका निम्ति अभिप्रेरित गर्न सकोस् । यसका साथै विद्यालय क्षेत्रमा मातृभाषाको बोलचाललाई महत्व दिनु पर्दछ । यसअघि नेपाली र अंग्रेजी भाषाबाहेक अन्य मातृभाषाहरु स्कूल र कजेजका गेटभन्दा भित्र प्रवेश गर्न सकेको छैन् । विद्यालयमा मातृभाषाको वातावरण तय गर्न स्थानीय भाषाका सांस्कृतिक कार्यक्रमहरुलाई जोड दिनु पर्दछ ।

साहित्य र संगीतमा मातृभाषा
मातृभाषामा साहित्य लेखनले मातृभाषा संरक्षणमा सहयोग पुग्दछ । भाषामा शब्दकोष, कथा, कविता र निबन्धहरु लेखिएमा भाषा लामो समयसम्म बाँच्न सक्छ । मातृभाषाका रचनाहरु गर्ने, पढ्ने बानीको विकास गर्नु पर्दछ । ग्रिक र रोमन भाषामा प्रशस्त दर्शन निर्माण र साहित्यहरुको रचना गरिएकाले भाषाका शब्दहरु आज संसारभर प्रयोगमा रहेका छन् । यसका साथै भाषाका फिल्म र गीत संगीत रचना गर्नाले भाषा संरक्षणमा सहयोग पुग्छ । हामीले भाषाका सेवासाम्लो (भक्ति गीत) हरेक दिन विहान घरमा बजाएमा घरमा भाषिक वातावरण निर्माण हुन्छ । यसका साथै युट्युबमा भाषाका गीत हेर्ने र सेयर गर्नाले भाषाको प्रचार प्रसारमा सहयोग पुग्दछ ।

सामाजिक सञ्जालमा मातृभाषा
पछिल्लो दशक सामाजिक सञ्जाल मानिसको अभिन्न अंग भएको छ । यसले मानिसको सोंच, विचार र चिन्तनमा ठूलो परिवर्तन ल्याएको छ । यसले संसारभरका मानिसबीच सम्बन्ध र पहुँच विस्तार गरेको छ । बालबालिका, युवायुवती र वृद्धा सबैमा सामाजिक सञ्जालको पहुँच पुगेको छ । नेपालको एउटा कुनाबाट पोष्ट गरेको सामग्री सेकेण्डमै संसारभर पुग्छ । अहिले सामाजिक सञ्जालमा अंगे्रजी सबैभन्दा बढी प्रयोग हुन्छ । सामाजिक सञ्जालमा प्रयोग गर्न सकिने ‘एप्स’ निर्माण गर्न सके यसले भाषा प्रचारमा सहयोग पुग्छ ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दा, कमेन्ट गर्दा मातृभाषाको प्रयोग गर्न सके फलदायी हुन सक्छ । अधिकांश बालबालिकामा सामाजिक सञ्जालको लत बसिसकेकाले उनीहरुमा भाषा सिक्नमा सहयोग पुग्छ । यसका साथै मातृभाषामा म्युजिक भिडियो, कमेडी वा लिफलेट युट्युबमा राख्ने र सेयर गर्नाले भाषाको प्रयोग तथा प्रचारमा सहयोग पुग्छ ।

सञ्चार माध्यममा मातृभाषा
हिजो आज सञ्चार माध्यमको तिव्र रुपमा विकास र विस्तार भइरहेको छ । परम्परागत सञ्चार माध्यम पत्र, पत्रिका, रेडियो र टेलिभिजनको संख्या दिनानुदिन बढिरहेको छ । यस्ता संञ्चार माध्यमबाट मातृभाषाका समाचार, गीत, म्युजिक भिडियो र लेख रचना प्रकाशन—प्रसारणको अभ्यास गर्नु पर्दछ । जस्तै, लिम्बुवान क्षेत्रका धेरै रेडियोहरुमा लिम्बू, राईलगायतका भाषाहरुमा समाचारहरु प्रसारण भइरहेका छन् । मातृभाषाका कार्यक्रमहरु प्रसारण भइरहेका छन् ।

रेडियो, टेलिभिजनबाट प्रकाशन—प्रसारण हुने समाचार, गीत—संगीत समय निकालेर सुन्ने, हेर्ने बानीको विकास गर्न सके यसले भाषाको संरक्षण पुग्छ । पछिल्लो समय नयाँ मिडियाको व्यापक विस्तार भएको छ । जीउपिच्छे युट्युब च्यानलहरु बनाउने चलन विकास भएको छ । युट्युब च्यानलबाट भाषामा अन्तरर्वार्ता लिने, कार्यक्रम सञ्चालन गर्ने र भिडियो निर्माण गर्नाले भाषाको विकासमा सहयोग पुग्छ ।

निष्कर्ष
भाषा बचाउनु सबैभन्दा पहिलो उपाय भनेको भाषा बोलीचालीमा प्रयोग गर्नुनै हो । मातृभाषालाई दैनिक जीवनमा प्रयोग गरेमा भाषा जीवन्त हुन्छ । भाषाको प्रयोग बोलीचाली र लेखनमा भए यसलाई कामकाजी बनाउन सहयोग पुग्छ । भाषा बचाउने पहिलो भूमिका सम्बन्धित समुदायको व्यक्तिको महत्वपूर्ण भूमिका रहन्छ । भाषा संरक्षणको प्रकृया व्यक्तिबाट सुरु भएर राज्य तहसम्म पुग्न आवश्यक छ ।

सम्बन्धित खवर