मौलिक संगीतको खोज अध्ययन गर्ने योजनामा छु : विजय - Mangsebung News
  • बिहिबार, मङि्सर १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मौलिक संगीतको खोज अध्ययन गर्ने योजनामा छु : विजय


भनिन्छ संगीत संस्कृति हो, पहिचान हो, साधना हो । संगीत केवल मनोरञ्जनको माध्यम होइन, संवेदनाको भाषा र संस्कृतिको आत्माका रूप हो । त्यही संगीतलाई जीवनको एक हिस्सा बनाउँदै याक्थुङ समुदायको मौलिकता, संस्कृति र पहिचान जोगाउने यात्रामा लागेका गायक हुन् विजय वनेम फागो ।

सानै उमेरदेखि गीत गाउन थालेका विजय २०६२ सालबाट भने औपचारिक रूपमा कलाकारितामा प्रवेश गरेका हुन् । त्यही वर्ष उनले अर्जुन बेदनाको शब्दमा दार्जिलिङमा पहिलो गीत रेकर्ड गरे । पछि २०६६ सालमा उनले ‘चाहना’ नामक एकल गीति एल्बम सार्वजनिक गरे, जसले उनलाई कलाकारको पहिचान दिलायो । त्यसपछि ‘पूर्वेली लोकगीत’, ‘इलाम बजार’ र ‘सिन्दुर साक्षी’ जस्ता गीतहरूले उनको संगीत–यात्रालाई अझ बलियो बनाए ।

‘संगीत भनेको नृत्य, बाध्यबादन र गायनको सामूहिक रूप हो’ विजय वनेम फागो भन्छन्,– ‘संगीतभित्र व्यवसायिक पाटो पनि छ, त्यसलाई अंगाल्न सके बाँच्न सकिन्छ ।’ हालै सम्पन्न याक्थुङ फक्ताङलुङ आइडल सिजन–३ का उपविजेता फागोको नाम अहिले लिम्बू समुदायमा मात्र होइन, नेपाली मौलिक गीत–संगीत प्रेमीबीच पनि चर्चामा छ । उनी फक्ताङलुङ आइडल सिजन–३ का उपविजेता बनेसँगै याक्थुङ मौलिक गीत संगीतमा काम गर्न थप जिम्मेवारी थपिएको महसुस गरेको बताउँछन् ।

‘याक्थुङ मौलिक संगीतको खोज, अध्ययन र संरक्षण गर्ने योजनामा छु’ फागो भन्छन्,– ‘हामीले हाम्रो मौलिक गीत संगीतको मर्म बुझ्यौं भने, त्यो हाम्रो अस्तित्व जोगाउने सबैभन्दा ठूलो साधना हुनेछ र म त्यहिं साधनासँगै सामाजिक सेवामा निरन्तर आबद्ध रहने योजनामा छु ।’ २०६३ सालतिर गुरु भोला राईसँग शास्त्रीय संगीत सिक्न सुरु गरेका विजयले पछिल्लो चरणमा गुरु देव कामत र गुरु विनय बर्मासँग पनि सिक्ने अवसर पाएको वताउँछन् । हाल ती दुबै गुरुहरू दिवंगत छन् । उनी श्रद्धापूर्वक सम्झन्छन्, ‘उनीहरू मेरो संगीत–जीवनका आधार स्तम्भ हुन् ।’

प्रेमलाई जीवात्माप्रतिको दया, करुणा र स्नेहको प्रतिनिधित्व गर्ने जैविक गुण मान्ने विजय वनेम फागो लिम्बू सांस्कृतिक परिषद्, इलामका जिल्ला अध्यक्ष तथा किरात याक्थुङ चुम्लुङ, इलाम नगरका सह–सचिव पनि हुन् । कलाकारिताको सुरुवातदेखि हालसम्म परिवारको सहयोग सकारात्मक रहेको बताउने उनी संगीतप्रतिको प्रेरणा पनि घरपरिवार, अग्रज कलाकार र साथीभाइहरूबाट नै प्राप्त भएको बताउँछन् । सिङ्गिङ स्टार नेपाल, नेपाल आइडल र विशेष गरी याक्थुङ फक्ताङलुङ आइडल जस्ता रियालिटी शोहरूमा सहभागी भएर आफ्नो प्रतिभा देखाइसकेका फागो रियालिटी शो केवल प्रतियोगिता होइन, संगीत सिकाइको एउटा ठूलो पाटो भएको बताउँछन् । रियालिटी शोको सहभागिताले उनलाई आत्मविश्वास र अनुभव दुबै बढाएको स्वीकार्छन् ।

विजय फागो गायक मात्र होइन, गीतकार र संगीतकार पनि हुन् । उनले श्रष्टा लक्ष्मण राईको ‘इलामे नानी’ को शब्दमा संगीत भरेक ा छन् , भने पारस मुकारुङको संगीतमा उनले लेखेको ‘सत्य भन किन तिमीले चोखो माया तोड्यौ’ बोलको गीत पनि निकै लोकप्रिय बनेको छ । इलाम ताराको विजेता सुमधुर आवाजका धनी विजय वनेमलाई गीत संगीतको सृजनशिल यात्रा खास अनि सार्थक बन्न सकुन लुङमेन्दीङ नोनिङ्वा ।

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर