स्थानीय सरकारको आँखामा महागुरु फाल्गुनन्द र गुरु आत्मानन्द - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्थानीय सरकारको आँखामा महागुरु फाल्गुनन्द र गुरु आत्मानन्द


२०७६ कात्र्तिक २० दमक/ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मदिन कात्र्तिक २५ लाई स्थानीय सरकारले सार्वजनिक विदा दिने क्रम बढ्दो छ ।

यसै क्रममा मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिकाले आफ्नो बोर्ड वैठकद्वारा २०७६ कार्तिक १५ गते शुक्रबारको दिन बसेको ५२ औं कार्यपालिकाको बैठकले कात्र्तिक २५ गते फाल्गुनन्द जयन्तीलाई सार्वजनिक बिदा दिने निर्णय गाउँपालिकाद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख गरेको छ ।

यस अघि स्थानीय तहमा सर्बप्रथम झापा जिल्लाको दमक नगरपालिकाले कार्तिक २५ गते फाल्गुनन्द जयन्तीको सार्वजनिक बिदा दिने निर्णय गरेयता ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका, याङ्वरक र फक्ताङ्लुङ गाउँपालिका, पाँचथर जिल्लाको फिदिम न.पा., फाल्गुनन्द गा. पा., याङवारक र हिलिहाङ गा.पा., इलामको माङसेबुङ गा.पा., झापाको दमकपछि शिवसताक्षी नगरपालिका र मोरङको मिक्लाजुङ गाउँपालिकाले सार्वजनिक विदाको निर्णय गरेका छन् ।

माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति, मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन (१९४२ कात्र्तिक २५ मा जन्मी) १३४ वर्ष पूरा भई यो कार्तिक २५ गतेबाट १३५ वर्षमा पुग्दैछ । महागुरु फाल्गुनन्दको जन्मजयन्ती कार्तिक २५ को दिन विविध कार्यक्रम आयोजना गरी फाल्गुनन्दको सम्झना संसारभर गरिँदै आएको छ ।

त्यसताका लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न, कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत्तेको मार्ग र दर्शनमा डो¥याउन किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको किरात समुदायमा जन्म भएको थियो । सत् आहार, सत् विहार र सत् कर्म गर्नु भनि सिवाखाहुन दिनुहुने महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । सत्य, शान्ति र अहिंसाका सूत्रधारको रुपमा सबैमा पुज्य हुनु भएको छ । किरात धर्मदर्शन पुनः उत्थापक, महान समाज सुधारक मुहिङगुम अङसीमाङको रुपमा आस्था र श्रद्धा पोख्ने गर्दछन् ।

महागुरुले समाज सुधारका लागि वि.स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा तत्कालीन लिम्बुवानबासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरुलाई आमभेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । समाज सुधार अभियानमा आजीवन लाग्नु भएका महागुरुलाई राज्यले जीवन भरी राजद्रोही, देशद्रोही र पूर्व लिम्बुवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौं दुःख, पीडा दिने काम मात्र गरेपनि आज आएर उहाँलाई सम्झिने, सम्मान दिने काम दिनानुदिन बढी रहेको छ । वहाँको देहावसान (२००५ चैत २२ मा) भएको ६१ वर्षपछि राज्यले पनि महागुरु फाल्गुनन्दलाई समाज सुधारकको रुपमा चिनेको छ । यसरी राज्यले चिनेपछि वहाँलाई वि.स. २०६६ मंसिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

 


मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जन्मदिन सार्वजनिक विदा
माङसेबुङ किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङको जन्मोत्सब मंसिर १८ का दिन माङसेबुङ गाउँ पालिकाले सार्वजनिक विदा दिने भएको छ । माङसेबुङ गाउँपालिकाको कात्र्तिक १९ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक विदाको निर्णय गरेको हो ।

देश विदेसबाट आफ्नो चोमेन उठ्ने विश्वासका साथ धर्मगुरु आत्मानन्द लिङदेनको माङगेन्ना मंसिर १८ को दिनलाई मनाउने गर्छन् । यसै दिनलाइ माङसेबुङ गाउँपालिकाको स्थानीय सरकारले सार्वजानिक विदाको निर्णय गरेको माङसेबुङ  गाउँपालिकाद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख गरेको छ ।

किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको परिपूरकका रुपमा अथवा वहाँको अपूरा, अधूरा कामलाई पूरा गर्न जन्म लिनु भएका किरात धर्मगुरु महिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ को जन्म दिन मंसिर १८ लाई किरात धर्मावलम्बीहरु र किरात धर्ममा आस्था र विश्वास राख्ने संसारभरका भक्तजनहरुले माङगेन्ना चोत्लुङको रुपमा नुमाङगेन्ना मनाउने प्रचलन रहेको छ । संसारलाई सुन्दर फूलबारी बनाउने कल्पना गरेर विश्व शान्ति मानव एकताको शंखघोष गर्दै आउनु भएका अङसीमाङ पछिल्लो समय सत्य, शान्ति र एकताको संवाहकको रुपमा सबैमा पुज्य हुनु भएकै कारण सबैले वहाँमा आस्था र श्रद्धा पोख्ने गरेका छन् ।

किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ संक्षेपमा
जन्म
इलाम जिल्लाको माङसेबुङ गाउँपालिका वडा नं. २ (साविक इभाङ ५) चुक्चिनाम्बाको आगोटे बारीमा पुण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ (श्यामजिरी)को कोखबाट वि.स. २०११ साल मंसिर १८ गते शुक्रबारका दिन जन्मन्नुभएका मुहिङगुम अङसीमाङ आत्मानन्द सेईङ (ज्योतिष नाम श्यामबहादुर) लाई किरात धर्मावलम्बीहरुले महागुरु फाल्गुनन्दको पुनः अवतार मान्छन् ।

समाधिज्ञान
अङसीमाङले इभाङको गैरिगाउँ माङहिम छेउको सानो वनमा, जीतपुर पुछारको खत्रक्पा खोल्सी, मोरङको वक्राहखोलाको डिलमा रहेको पिपलको फेदमा गर्नुभएको ध्यान, योग साधनाको वहृत रुपमा वि.स. २०२७ मा इलामको माइ, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङगीको गुफाडाँडामा साउन २५ गतेदेखि माघ २५ गतेसम्म करिब ६ महिना ध्यानरत हुनुभई वहाँले समाधि ज्ञान प्राप्त गर्नुभएको थियो ।

ध्यानमानै आफ्नो जन्मको प्रमुख उद्देश्य मुहिङगुम अङसीमाङ फाल्गुनन्दको अपुरो कार्यलाई पूरा गर्ने रहेको वहाँले थाहा पाउनु भयो । सोही वर्ष अर्थात २७ सालमानै अङसीमाङलाई इभाङको गैरिगाउँ माङहिममा किरात धर्मावलम्बीहरुले माङलाङ ताक्मा (देव स्वागत) गरेपछि वहाँलाई महागुरु फाल्गुनन्दको पुनः अवतारको रुपमा पुज्न र मान्न थालियो । यद्यपि, १३ वर्षको उमेरमै आत्मा परमात्मा जान्ने तथा विगत, वर्तमान र भविष्य जान्ने भई बालागुरु उपनामले सर्वत्र चिनिनु भएको थियो ।

आशिर्वचन
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङले २७ सालमा समाधि ज्ञान प्राप्त गर्नुभएपछि गाउँ जानेक्रममा गैरीगाउँको चुक्चिनाम्बा माङहिममा ठूलो सेवा भयो । सो सेवा बालागुरुलाई स्वागतार्थ माङलाङ ताक्मा अर्थात स्वागत गरिएको थियो । यसै समयमा अङसीमाङले पहिलो पटक आशिर्वचन दिनुभएको किरात समाचारका सम्पादक तथा अङसीमाङको पूर्व निजी सचिव माङमिङसोहाङ लिङ्देन विश्व किरात आवाजमा लेख्नुहुन्छ । सो समय यता निरन्तर आशिर्वचन गर्दै आउनु भएको छ भने, वि.स. २०४९ माघ ३ र ४ गते र ५६ साल चैत्र ७ र ८ गते गरी वहाँले २ पटक विश्व ब्रह्माण्डबारे भविष्यवाणी समेत दिईसक्नुभएको छ । यसरी पछिल्लो समय अङसीमाङ जहाँ पुग्नु हुन्छ त्यहाँ आशिर्वचन दिँदै आइरहनु भएको छ ।

मुन्धुमको अध्यापन र प्रकाशन
अङसीमाङले वि.स. २०४० साल मंसिरमा ९ जना माङसेवासाबाको समूहबाट इलामको बाँझो ९, मेक्वावँेँशीमा किरात साम्जीक मुन्धुमको अध्यापन शुरु गर्नुभयो । यसैलाई वि.स. २०५० साल कार्तिक २५ गते उद्घाटन गरी किरात साम्जीक मुन्धुमको औपचारिक पढाई हुने किरात साम्जीक मुन्धुम निसामहिमको रुपमा स्थापना भयो ।

यसबाट किरात धर्म दर्शन, किरात साम्जीक मुन्धुमका सैद्धान्तिक पक्षका साथै किरात कर्म, संस्कारबारे प्रयोगात्मक शिक्षा दिन प्रारम्भ भयो । भने वहाँकै सम्पादनमा वि.स. २०५३ मा किरात साम्जीक मुन्धुम भाग १ (कुसाङसेमा) प्रकाशन शुरु गरी अङसीमाङकै सम्पादनमा अहिलेसम्ममा किरात साम्जीक मुन्धुम भाग ८ सम्म प्रकाशन भइसकेको छ । यसरी नै अन्य भागहरुको सम्पादन पनि भइरहेको छ ।

विश्व शान्ति र मानव एकता
संसारमा बढ्दै गइरहेको क्रोध, घमण्ड, अहंकार, हत्या हिंसा, विभेद र अशान्तिले विश्वलाई चिन्तित तुल्याएको अवस्थामा विश्वका सम्पूर्ण मानिसहरुबीच सौहार्दता, शान्ति, एकता, सहिष्णुता, आत्मियता, विश्व बन्धुत्वका भावना जगाउन अङसीमाङले सबैलाई आवह्रान गर्दै आउनु भएको छ । विश्व शान्ति र मानव एकता स्थापना गर्न समान हक र अधिकारहरु बाँडफाँड गरी सबैमा सच्चा भावना र एकताको विचार पैदा हुनु आवश्यक रहेको अङसीमाङ बताउनुहुन्छ ।
वहाँ थप्नुहुन्छ संसारका मानिसहरुमा सच्चा आत्मा र पवित्र भावनाले एकता भयो भने सबैले सुख, शान्ति र समृद्धि प्राप्त गरी मानव एकता सम्भव रहन्छ । यसरीनै धर्म दर्शन, भाषा, लिपि, साहित्य, संस्कार संस्कृति आस्था र अस्तित्वको विषयमा जाति, वर्ग वा समुदायबीच अनेकतामा फुट रहेका समुदायलाई एकता गराउन पनि अङसीमाङले अहम भूमिका निर्वाह गरिरहनुभएको छ ।

सम्बन्धित खवर