महागुरु फाल्गुनन्दका दार्शनिक पाटाहरु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरु फाल्गुनन्दका दार्शनिक पाटाहरु


प्रवेश
आज हामी नयाँ चिन्तनको खोजीमा छौं । नेपालको आफ्नो मौलिक दर्शन के हो ? अथवा कुन–कुन हुन् ? यसमा मुन्धुमी दर्शनका कुन–कुन धाराले हाम्रो जनजीवन प्रभावित छ ? हिमाली क्षेत्रका जीवन दर्शन र मध्यपहाडि जीवनका लोकबोध, सोचाइ र दृष्टिकोणको संरचना कस्ता छन् ? धार्मिक विश्वास, सांस्कृतिक आस्था र जातीय विश्वाससँग जोडिएका दार्शनिक सोचमा के कस्ता समानता, पृथकता र अन्तर–प्रभाव छन् ?

दर्शन शब्दले विचारपूर्वक हेर्नु, दृष्टि दिनु अथवा ज्ञान आर्जन गर्नु भन्ने बुझाउँछ । जीवन र जगतका प्रत्येक काम–कुरा, घटना–प्रक्रिया र नियमसँगै दृष्टिकोण, पद्धति र परिणामको एकत्व बुझाउँछ । अंग्रेजी ‘फिलोसफीु को अर्थ पनि ‘बुद्धिप्रेम अथवा ‘ज्ञानप्रतिको अनुरागु भनिएको छ । हाम्रो नेपाली दर्शन, भारतीय दर्शन, चिनियाँ दर्शन र पश्चिमी दर्शनबाट पनि प्रभावित छ भन्ने आरोप छ ।

जीवन जगतबारे आ–आफ्नै ढंगले सोच्नु, नित्य नयाँ– नयाँ विकल्प ठम्याउँदै त्यसलाई जनमानसमा स्थापित गर्नुको अर्थमा पनि हाम्रो नेपाली दर्शन मा मुन्धुमी दर्शन पनि अब्बल रुपमा देखापरेको छ । मुन्धुमले राजनीतिक दर्शन, सामाजिक दर्शन, धार्मिक दर्शन, लोक–दर्शन, नैतिक दर्शन वा तत्व दर्शन, सांस्कृतिक दर्शनहरुमा कस्तो प्रभाव पार्छ त ?

मुन्धुमी दर्शन
मुन्धुमी दर्शन मुन्धुममा आधारित छ । मुन्धुम सबैभन्दा पुरानो तर श्रुति परम्परामा रचिएको ज्ञान र अनुभवहरुको संगालो हो । दार्शनिक चिन्तनको भण्डार साम्जिक मुन्धम हो भने तान्त्रिक मतलाई अन्य मुन्धुमहरुले समेट्छ ।
मुन्धुमी दर्शनको तात्पर्य समग्र मुन्धुमी मिथ, खेदा (कथा) र श्रुति परम्परामा रहेको वैचारिक स्लोकहरु हुन् । जसले प्रकृति, पृथ्वी र मुन्धुमी संस्कृतिको उत्खनन गर्छ । जसले प्राकृतिक भौतिकवाद हुँदै अध्यात्मिकवादसम्मलाई बोध गराउँछ ।

मुन्धुम दर्शन भित्र लोक दर्शन
लोकको दृष्टिकोण, अभिव्यक्ति र पद्धतिलाई अँगाल्ने चिन्तन पद्धति लोक–दर्शन हो । मुन्धुमी दर्शनको खोजी गर्दा खाप्पुना मरङ्ना, सोधुङ्गेन लेप्मुहाङ, येहाङ, कान्देनहाङ, माबोहाङहरु सबैभन्दा जेठा मुन्धुमी दार्शनिक देखा पर्दछन् । त्यसपछि फाल्गुनन्द लिङ्देन वर्तमान किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङको नाम आउँछ । उत्पत्तिको समयमा मुन्धुम दर्शन अत्यन्तै साहसपूर्ण र विज्ञानमय देखिन्छ । यो दर्शनमा प्रतिपादित प्रकृति र महिलालाई मान्ने अभिमतले दार्शनिक विचारधारामा जग हालेको देखिन्छ ।

किरात लिम्बू समाजको प्राचीन विचारधारामा मात्र हैन्, वर्तमानमा पनि अनेक प्रकृतिपूजक जाति, समाज र संस्कार छन् । यसको तात्पर्य के हो भने दर्शनको प्रारम्भिक आधार लोक जीवन थियो र छ । मुन्धुमी दर्शन पनि लोक–दर्शनकै रूपमा शुरू भएको थियो । मुन्धुम दर्शनले परमात्मा र ब्रह्मको अस्तित्व मान्दैन, प्रकृतिलाईनै मूलतत्व अथवा अस्तित्व मान्दछ र विश्व ब्रह्माण्डलाई बोधगम्य ठान्दछ । त्यसैले मुन्धुम दर्शनलाई मौलिक लोक–दर्शन पनि भन्न सकिन्छ ।


को हुन् महागुरु फाल्गुनन्द
महागुरु फाल्गुनन्द लिङ्देन नेपालका राष्ट्रिय विभूति हुन् । उनी फलामसिंह हँुदै फाल्गुनन्दसम्म परिचित भए । फाल्गुनन्द महान मानवतावादी एवं २० औं शताब्दीका महान दार्शनिक हुन् । उनी इलामको चुक्चिनाम्बाको लिङ्देन परिवारमा वि.स. १९४२ कात्तिक २५ गते जन्मिएका थिए । उनको न्वरानको नाम नरधोज राखियो । सानो हुँदा एकपटक नरधोज निक्कै विरामी परे । विरामी भएकै बखत उनी आफ्नै घरबाट मध्य रातमा हराए । त्यसबेला उनी जंगल पसेर अदृष्य भएछन् । धेरैपछि उनी इलामको देउमाई र माईखोलाको दोभानमा देखा परे । त्यतिन्जेलसम्म उनले ज्ञानबोध प्राप्त गरिसकेका रहेछन् । उनी सिद्ध र परम् ज्ञानी भएको प्रमाण पनि फेला प¥यो । धेरै सन्तान जन्मदै मर्ने भएकाले उनलाई रक्षावन्धन स्वरुप उनलाई फलामको चुरा लगाइयो । त्यसपछि उनलाई फलामसिंह लिम्बू भन्न थालियो । हेमबहादुर गुरुङले लेखेको महागुरु फाल्गुनन्दको लिङ्देनको जीवनीमा नरध्वज सानोमा विरामी भए, निको हुन्छ र नमरोस भनेर फलामको चुरा लगाइदिएकाले नाम फलामसिंह रहन गयो भनी लेखेका छन् ।

उनी नरधोजबाट फलामसिंह बनेपछि उनले ज्ञानगुनका कुरा प्रचार गर्न थालिसकेका थिए । कुरीति र अन्धविश्वाश हटाउनुपर्छ भन्ने अभियाननै चलाए । जनतालाई भेला गरेर समाज सुधारका लागि आव्हान गर्थे । बाल्यकालमै उनी शाकाहारी भइसकेका थिए । काटमार र बलीप्रथाको विरोध गर्थे । तिनै फलामसिंह कालान्तरमा महागुरु फाल्गुनन्द बनेर मानवताका महान सेवक बने । फलामसिंह लाहुरे बनेर व्रिटिस भारतको सेनामा जागिर खान गए । सैनिक बनेपछि पनि उनले ज्ञानगुनका कुरा गर्न छोडेनन्, हिंसा गर्न हुँदैन भन्ने ज्ञान बाँडिरहे । त्यसैले सेनामा उनलाई योगी भन्थे । अहिंसा र शान्तिका पूजारी फलामसिंहलाई सेनाको जागिर सुहाउने थिएन, उनले जागिरे जीवन छाडे । त्यसपछि भुटानको चिराङ, दागाना र भारतका विभिन्न ठाउँहरुमा घुमे । तिर्थस्थलहरु घुमे । ज्ञानगुनका कुरा फैलाउँदै हिँडे ।

विभिन्न ठाउँ भ्रमण गरेर फलामसिंह स्वदेश फर्किए । फर्किएपछि उनले समाज सुधारका लागि कदम उठाए । सत्य आहार, सत्य व्यवहार, सत्य विचार, सत्य संस्कार उनको आदर्श थियो, किराती समाज पूरै कुरीति कुसंस्कारमा रहेको देखे । अज्ञानताले ध्वस्त भएको देखे । समाजमा सत्यको भन्दा असत्यको बोलवाला भएको, हिंसा हत्या भएको, कुरीति र कुसंस्कार भएको देखेर उनले हटाउन प्रयत्न गरे । धेरै विरोध र अवरोधहरु सहँदै अगाडि बडिरहे । धेरैले जाँड रक्सी खानु पाइन्दैन भनेर विरुदमा लागे । उनमा दैवी ज्ञान थियो । त्यसबेला इलाम र पाँचथर लगायतका ठाउँमा अधिकांश बसोबास लिम्बू समुदायको थियो । उनले लिम्बू समुदायलाई लक्षित गरेर ज्ञान प्रचार गर्न थाले । त्यो ज्ञानको प्रचार–प्रसार गर्दागर्दै महागुरु फाल्गुनन्द बने ।

दार्शनिक पाटाहरु
उनले वि. स. १९८८ बैशाख २४ गते पाँचथरको लब्रेमा तत्कालीन लिम्बुवानका प्रतिनिधिहरुलाई चुम्लुङ (भेला) गराए । समाजका विभिन्न क्षेत्रका अगुवा, बुद्धिजीवी लगायतको उपस्थिति थियो चुम्लुङमा । सो चुम्लुङले सात बुँदे सत्य धर्म मुचुल्का जारी ग¥यो । सत्य धर्म मुचुल्का लिम्बू समुदायका सबैले मान्नुपर्ने व्यवस्था गरियो ।

सत्य धर्म मुचुल्का लिम्बू समुदायका लागि महान घोषणा थियो । जसलाई सत्य धर्म मुचुल्का पनि भनिन्छ । यो महान क्रान्तिकारी घोषणा थियो । सो मुचुल्कामा बली नदिने र हिंसा नगर्ने, नारीलाई अंश, वंश र अनिवार्य शिक्षा दिनु पर्ने, मासुमंस र मदिरापानलाई निषेध गर्ने र मातृभाषा तथा लिपिमा पठनपाठन गर्ने, गराउने भनि उल्लेख गरिएको छ ।

त्यसैगरी सबैले आफ्नै देशको उत्पादनको कपडा लगाउने, घरेलु उद्योगलाई प्राथमिकता दिँदै प्रवद्र्धन गर्ने, सुनौली र रुपौलीको अन्त्य गर्ने र किरात तागेरा निङवाभूमाङको निरन्तर सेवा गर्ने उल्लेख छ । यसरीनै फाल्गुनन्दलाई भाषा तथा लिपिको संरक्षण र प्रचारका महान अभियन्ता पनि मान्न सकिन्छ ।

फाल्गुनन्दको दर्शनको प्रभावहरु
यो चुम्लुङबाट गरिएको सत्य धर्म मुचुल्काले वैचारिक रुपमा ठूलो तरंगनै ल्यायो । राणाकालीन त्यो समयमा यसरी समाज सुधारको कुरा गर्नु र कामनै अगाडि बढाउनु चानचुने कुरा थिएन । यो घोषणापछि फलामसिंहलाई महागुरु फाल्गुनन्द भन्न थालियो ।

फाल्गुनन्दको दर्शनको प्रभाव बढेको देखेर राणाहरुले खतरा देखे । उनलाई पक्राउ गरेर काठमाडौं लगियो तर, फाल्गुनन्दको सत्यका अगाडि कसैको केही लागेनन् । फाल्गुनन्द राजनीति गरेर सत्ता प्राप्ति गर्ने बाटोमा लागेका थिएनन् उनी त इश्वरीय सत्ताका अभियन्ता थिए, मन, वचन र कर्मलेनै मानवताको सेवामा लागेका थिए । त्यसैले राणा शासकहरुको केहीँ जोर चलेन, उनलाई ससम्मान छाड्नु प¥यो ।
उनको मुन्धुमी दर्शनको प्रभाव बढ्दो छ । उनको अनुयायीहरु नेपाल, भुटान, भारत, बर्मा, चीन, हङकङ, अमेरिका, बेलायत, क्यानडा र अष्टे«लियामा पनि फैलिएका छन् ।

फाल्गुनन्द लिङ्देन र महिला
सत्य धर्म मुचुल्कामा उठाइएका सबै विषय उत्तिकै महत्वपूर्ण छन् तथापि महिलाको प्रसंगमा भने बेजोड रुपले कुरा उठाइएको छ । सत्यधर्म मुचुल्काले छोरीलाई छोरा सरह अंश र वंश दिनुपर्ने, सुनौली र रुपौली लिन र दिन नहुने । छोरीलाई पनि छोरालाई जसरीनै पढाउनुपर्ने । आजको समयमा उभिएर हेर्दा यी कुरा अति सामान्य लाग्छ । तर, उनले यो कुरा नौ दशक अघि भनेका थिए । भनेको मात्र नभएर चुम्लुङ राखेर यो विषयलाई कार्यान्वयनमा उतार्न निर्देशन गरेका थिए । महागुरु फाल्गुनन्द लिङ्देनका विचार कोरा आदर्श र उपदेश मात्र थिएनन्, उनले व्यवहारमा उतार्न सबैलाई प्रोत्साहन गरे ।

छोरीलाई अंश दिने सम्बन्धि अभियानको क्रममा विभिन्न विदेशी विद्धान तथा अभियन्ताहरुको उदाहरण दिने गरिएको छ । तर, उनीहरु र यु,एन,ओले भन्दा पहिलेनै फाल्गुनन्दले नेपाली समाजमा छोरीलाई अंश दिने र समानताको विचार ल्याएका थिए । कार्यान्वयनमा उतार्न थालिसकेका थिए । त्यसैले नेपालमा महिला समानताको आन्दोलन या अभियानमा सबैले सबैभन्दा पहिले लिनुपर्ने र अनुशरण गर्नुपर्ने नाम हो, महागुरु फाल्गुनन्द लिङदेन ।
अन्त्यमा
फाल्गुनन्द लिङ्देनलाई किरात धर्मावलम्बीहरुले मानेको मात्र देखिन्छ । हुन त फाल्गुनन्द लिङ्देनले जतिबेला ज्ञान बाँड्दै थिए त्यसबेला उनको समाजमा लिम्बू जाति मात्र थिए होला । त्यसैले उनले लिम्बू समुदायलाई माथि उठाउँने, अज्ञानबाट ज्ञानको उज्यालोमा लैजाने, त्यो समुदायमा रहेको कुरीति र कुसस्कार हटाउने काम गरे । ज्ञान र दर्शन कुनै जातीय सीमा हुँदैनन् । महागुरु फाल्गुनन्दले बाँडेको ज्ञान समस्त विश्व मानवका लागि लाभदायक हुन सक्छ । यस्ता महापुरुषलाई एउटा जातीय समुदायभित्र बाँधेर राख्न हुँदैन । उनलाई धार्मिक कोणबाट मात्र होइनन् । दार्शनिक कोणबाट पनि हेरिनु पर्छ । उनको अलौकिक शक्तिको गुणगान गाउनु भन्दा पनि उनले निर्माण गरेको दर्शन शास्त्रलाई अध्ययन् मनन र चिन्तन गर्ने र व्यवहारमा उतार्ने पो हो की……..?

सम्बन्धित खवर