भेन्टिलेटरको वलमा ओली सरकारको सत्ताभोग र देशको हविगत - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भेन्टिलेटरको वलमा ओली सरकारको सत्ताभोग र देशको हविगत


लोकतन्त्र बहाली २०६२/६३ पछि देशको प्रमुख अंगभार चलाउँने कार्यभार भने, दीर्घरोगी नेताहरुको कब्जामा हुन गयो । त्यो समय तत्कालीन कांग्रेसका सभापति तथा प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले भेन्टिलेटरको बलमै देशको शासकीयभार चलाइदिए । हरबखत थाप्लोमा अक्सिजनको सिलिण्डर बोकेर सिंहदरबार र बालुवाटार रुँगी रहे । धन्न उनको शरिरले देहत्याग २०६६ गर्दा भने, तत्कालीन एमालेका माधवकुमार नेपालको हातमा देशको शासनभार थियो । त्यस्तै अर्का कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइराला पनि क्यान्सर पीडितनै थिए । उनी सत्ताभोगमा रहँदा आफ्नो स्वास्थ्य चेकजाँच गर्न बेलाबेलामा अमेरिका जान्थे । नयाँ संविधान २०७२ जारी पछि भने, यिनले पनि दुर्भाग्यवश रहस्मयी तवरले देहत्याग गरे । त्यो समयमा देशको शासनभार भने, अहिलेका यिनै ओली सरकारसँग थियो ।

देशको शासके नेताहरु दीर्घ रोगी बन्नु र सत्ताभोगमा किर्ना जस्तै रक्तपिपासु भइरहनु भनेको, देशलाई पनि उहीँ आफूहरु जस्तै भेन्टिलेटरको बलमा कोमामा राखे जस्तै भएको छ । दीर्घरोगी भएका दलीय पार्टीका नेताहरुलाई तिनको स्वास्थ्यस्थिति लाभको निमित्त, अहिले देशले अनिवार्य पाल्नु पर्ने जस्तो बाध्यतात्मक परिस्थिति उत्पन्न गरेको छ । देशको लागि यी शासके नेताहरुको स्वास्थ्यस्थिति ज्याँदै महंगो किम्ती सावित हुँदै गएको छ । देश र जनताको नाममा अग्रधिकारको लागि प्रजातान्त्रिक लडाइँमा लडेको शक्तिको खर्च, देशबाटै वेश्कनै असुल्नु पाउँनु पर्छ भन्ने मानसिकता यी शासके नेताहरुको खप्परमा हाबी बन्दै गएको छ ।

अबः येनारुँको विग्रन्दो स्वास्थ्यस्थितिको जीवन बिमा पनि यहीँ देशलेनै व्यहोर्नु पर्ने जस्तो कालखण्डहरुको सामन्ती राजको उदय हुँदैं गएको आभाष हुँदैछ । हिजोको निरङ्कुश सामन्ती राजतन्त्र देखिन् अहिलेको यो लोकतान्त्रिक शासकीय व्यवस्थासम्म पनि आइपुग्दा, उहीँ चरित्र र प्रवृत्ति उस्तै देखिएको छ । शासकीय स्वरुपको रंगढंग र ढाँचा हे¥यो भने, उहीँ हिजोकै पुनारावृतिको गन्ध आउँछ । शासकीय बोर्डहरु फेरिए । एकाध पात्रहरुको अनुहारहरु फेरिए । तर, दुर्भाग्यनै भन्नुपर्छ कि, यी शासके नेताहरु कोही कसै पनि बद्लिएनन् । नेपाली आम नागरिकजनले भरपर्दो र विश्वासिलो पत्याउँने नेताहरु एकाध बाहेक कोही पनि भएनन् । जुनै जोगीहरु आए पनि, उहीँ कानै चिरेका भन्ने आख्याँनले मात्र ज्यादै क्रसम्याच गरिरह्यो । जसले गर्दा नेताहरुको महंगो विलासी जीवनयापनको कारण उत्पन्न विग्रन्दो स्वास्थ्यस्थितिले देशको हकमा अत्याँसलाग्दो आर्थिक व्ययभार बोक्नु पर्ने परिस्थिति आइलागेको छ ।
जुन बेथिति पद्धतिको कारण आम नागरिकजनलाई असह्य हुँदै गएको छ । यस्तो खाले स्वेच्छाचारितन्त्रले शासके नेताहरु र शासकीय पद्धति प्रतिनै शनैः शनैः विष्तृष्णा जाग्दै गएको छ । देशले रोगी नेताहरु मात्र पाल्नु र प्रोड्क्ट गरिरहनुले नेताहरुको सम्बोधनमा भन्ने गरेको जनता दिनानुदिन गरीब हुँदै जानु र देश झन् चौंगुणा कंगाल बन्दै जानु पनि हो । हामेरुँको देश भनेको शासके नेताहरु प्रतिदिन अमिर हुँदै मोटाउँदै जाने अनि देश र जनता भने हरेक पल कंगाल र दुब्लाउँदै जाने संक्रमणकालको चङगुल भित्र फस्न पुगेको छ । अब देशको शासके नेताहरु बन्न पनि विशुद्ध रोगमुक्त भएको होइन बरु रोगैरोगले ग्रस्त पीडित नेताहरु मात्र प्रोडक्ट हुदैं जान सक्ने सम्भावना बढेर गएको छ । यी रोगग्रस्त पीडित नेताहरुले नेपाली समाजमा यहीँ सन्देश प्रवाह गर्न बरु गज्जबले भ्याइदिएका छन् ।

नेता बनेसी देशले जसरी भए नि पाल्नु पर्छ भन्ने मानक स्थापित हुँदै जादैंछ । किनकी राजनीति भन्ने शब्दावली हामेरुँको हकमा जनसेवा होइनन् कार्पोरेट उद्योग जस्तै भएको छ । मतलब बजार व्यवसायी गर्ने व्यापारी धन्दा जस्तै यसको प्रतिकात्मक रूपमा जग बस्दै गयो । दलीय राजनीति लाईनमा घुस्यो या प्रतिनिधि पात्र बनेर उभ्यो मात्र भने पनि उसलाई मालामाल लाभदायकनै छ । जुवाको खालमा टन्न दाऊ परेर, पोईसा कुम्ल्याए जस्तै न भो राजनीति गेम । जसको शक्ति, उसैको भक्ति चरितार्थ छ नेपाली राजनीति शक्तिको मियो भित्र । मुर्दाहरुले शासनसत्ता कब्जा गरेर भोग गरिरहेको देशमा असली ज्युँदा मान्छेहरु (अपवाद बाहेक) भने मुर्दाघाटमा तिनै मुर्दा शासके नेताहरुको चरणकमलमा पाउ ढोगनी गर्दै, स्तुतिभजन किर्तन गाउँदै बस्नुले लोत् भएका छन् कठै !

अतः ओली सरकार अहिले यहीँ मनोविज्ञानले उनको शरीरमा रक्तसञ्चार प्रवाह गरेको छ । शरीर शिथिल त छदैंछ । ता पनि सत्ताभोगको लालची मोहले क्रेजी बनाई दिएको छ । सत्ताभोग गर्नु भनेको रतिक्रीडा गरिरहनु जस्तै रहेछ । अर्थात सत्ताभोग गरिरहनु र एउटी सुन्दर स्त्री भोग गरिरहन पाउँनु शासकहरुको हकमा उस्तै रहेछ बरा..! त्यहाँ भन्दा परजीवन भोगाईमा असिम मज्जा औं स्वर्गीय आनन्द लुट्ने अर्को दोस्रो संसारनै कहाँ भेटिएला र, पाईएला र हाउ..! ओली सरकार यहीँ मेसोमा स्खलित भएका छन् । दीर्घकालीन रोगले ग्रस्त दिनानुदिन थलिन्दै जाँदा पनि यिनको सत्ताभोगको उत्कण्ठाको तृष्णा भने जीवितै देखिएको छ । शरीरले एकरत्ति भोगकर्म गर्न नसकि रहेको समयताक पनि उनको मस्तिष्क र आत्मा मनले भने भोग गर्न उस्तै लम्पट् देखिन्छन् । सत्ता लिप्साको मोह भंग गर्न नसक्ने शासकीय नेताहरुमा अहिलेको हकमा यिनै दुई कोइराला र ओली सरकार दर्ज हुन्छन् । लोकतन्त्र वहाली भएताका देशमा नयाँ शक्तिशाली राजनीति पार्टीहरुको उदय भयो । अनेकन राजनीति सडक आन्दोलनहरुको सुनामी भेल पस्यो । आन्दोलनहरुको बाढीले देशै ठप्प भएथ्यो । त्यस्तो परिस्थितिमा कोइराला बुढा भने भेन्टिलेटरको वलमा सत्ताभोगमै निर्लुप्त डुबेका थिए । जसको कारण देश पूर्ण रूपमा बन्धक जस्तै निरिह्य बनेथ्यो ।

अहिले त्यहीँ कालखण्डको फेहरिस्त ओली सरकारको थाप्लोमा बसाईँ सरेको छ । उहीँ रोग मात्र फरक फरक देखिएका हुन् । अपितुः शारीरिक मानसिक व्यथाहरु भने समग्रमा एउटै हो । कोईराला बुढा आन्द्राको क्यान्सर पीडित थिए भने, ओली सरकार मृगौला पीडित हुन् । शासकहरुको खातिर सत्ताभोगको कर्म पनि आफ्नो खस्कन्दो स्वास्थ्यस्थितिको निमित्त ज्यादै उर्वर प्रयोगात्मक बलशाली शक्तिको उर्जा र प्रेरणाको स्रोत रहेछ । अन्तः यी दुईको शासकीय ढाँचाहरु हेर्दा भने यस्तै सिम्बोलिक बोध गराई दिन्छ । कहिलेकाहीँ सत्ताभोगले दीर्घरोगी शासकहरुको आयू पनि सत्ता सँगसँगै लम्बेतान गास्तैलाने रहेछ । विश्वका प्राय अनुदार शासके नेताहरुमा यस्तो आश्चर्यता भेटिएका, देखिएका छन् ।

अन्तः भन्नुपर्दा कोईराला बुढा र ओली सरकारमा पनि यहीँ सूत्र बलशाली देखिएको छ । अहिलेतक ओली सरकारको खप्पर सहित हात गोडाहरु चलायमान छन् । परन्तुः संयोग कुनै दिन उनी अस्पतालको कोमामै बसाईँ सरे भने पनि, उनकै नाममा देशको कार्यभार सञ्चालित भइनै रहने छ । कोममा जानु वा पस्नु भनेको आखिर चरणको, अन्तिम श्वास फेरि रहनु त हो । ह्वात्तै श्वासै निस्क्या नि त होईन । अतः उन्नानसय प्रतिशत त मुर्दा जस्तै हो । तथापी मुर्दा शरीर कै नाममा देशको कार्यकारी प्रमुख प्रधानमन्त्री रहिरहने भो भने पनि अबः उदेक नमानौं । धन्न प्रजातन्त्र प्राप्ति यताको इतिहासमा सत्ताभोगमै कालगतिले आफ्नो शासकीय जीवनलिला च्युत भएको भने कुनै शासके नेताहरु दरिएका छैनन् । अबः संयोग या दुर्भाग्यवश भनौं की, यी ओली सरकारले यहीँ सत्ताभोगमै प्राण त्याग गरे भने, यस मानेमा पनि उदेक नमानौं । देश त उसै नि मुर्दाहरुलेनै चलाउँदै आएका छन् । आखिर त्यो शासकेहरुको जीवन पद्धतिमा, श्वास भए पनि के नभए पनि के । अन्तः हुँदा र नहुँदामा केनै फरक पा¥या छ र ..?

स्मरण रहोस् कि, ओली सरकारको मृगौला ट्रान्सर्फमर गरेकै दशक (१२ वर्ष) लामो भइसकेको छ । शासक भएकै हैंसियतले यतिका समय लामो यिनको आयु बढ्दो भएको हो । आम मानिस जस्तै मात्र भएको भए..? उहिलेनै तिनको चोला खरानी भइसक्थ्यो सायद । यिनको त्यहीँ शासकीय चोलाको आयु लम्बेतान बढाउँन मै देशको ढुकुटीबाट अर्बौ रकम निकास भएको छ । त्यतिको मोटो बजेट रकम एउटा विकट जिल्लामा विकास योजनामा खर्चिने हो भने, लोभलाग्दो सुन्दर भौतिक संरचनाहरुको पूर्वाधारहरुको निर्माण हुन सक्थ्यो । तर, अफसोंचनै मान्नु पर्छ की, रोगी शासके नेताहरु कै स्वास्थ्य उपचारको नाममा देशको ढुकुटी दिनानुदिन रित्तिन्दो छ । दलीय नेताहरुको स्वास्थ्य उपचारार्थ फर्जी आदेशमा यस्ता रकमान्तर त कति भा छ, भा छ । त्यसको लेखाजोखानै छैन् । जाबो सामान्य ज्वरों र हात्छिउँ आउँदा विदेश उपचार गर्न जाने नेताहरुले कति आर्थिक घोटाला र हिनामिना गरेका होलान् ? जबकी आफ्नै देशमा प्रोडक्ट भएको अस्पताल र डाक्टरहरुको भर र विश्वास गर्ने नसक्ने हुत्तिहारा शासक र नेताहरुनै राष्ट्रवादी र देश भक्ति हुन् रे । नेपाली कमाउनिष्टे सर्वहारा भनौंदाहरुको माक्सवादी सौन्र्दर्यता चेतको व्याख्या विश्लेषण हो यो ।

उसो त सत्तामा रहँदां तत्कालीन राष्ट्रपति रामवरण यादवले एकपटक स्वास्थ्य चेक गर्न वीर अस्पताल गएथे । बाफ रे..! उनको खपि नसक्नु गुणगान भो । के के न अचाक्ली चमत्कारनै गराएर देखाइदिए जस्तो वयान औं तारिफ गरे । त्यहीँ पनि त्यत्रो हरेक पटक सत्ताभोग गर्दा आफ्नै देशको अस्पताल नगएका उनको महामहिम राष्ट्रपति बनेसी उक्त अस्पताल के गएथे दलीय झोले मिडिया हाउसहरुले पूरै मसला बनाउँन भ्याइदिए । कोईराला बुढाको पकेट मेन भएकै कारण यिनले हरेक पटक सत्ताभोग गर्न भ्याए । त्यो पनि उहीँ स्वास्थ्य क्षेत्रकै मन्त्रालयनै हो । जुन स्वास्थ्य विभाग सम्हाले कै अस्पतालहरुमा उनी विरामी हुँदा कहिले नि स्वास्थ्य उपचार्थ गएनन् । त्यस्तो व्यक्ति गरिमामय पदमा आसिन हुन पुग्दा रे, पुङ न पुच्छरको गुणगान गाउँनु पर्ने । बरु माओवादी कित्ताका पासाङ पुन (नन्द किशोर) रोगले लामो समय ग्रस्त हुँदाताक पनि, आफ्नै देशको अस्पताल मै मर्छु तर विदेशी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न जान्न भन्ने संकल्प वदा गरे । जो अहिलेको वर्तमान दोस्रो कार्यकालका उपराष्ट्रपति पनि हुन् । बरु त्यो देश प्रेमी औं स्वभिमानी राष्ट्रवादीको ट्यागको पगरी त यिनलाई पो गुथ्याउँदा सुन्दर होला की सायद..?
परन्तुः विडम्बना अफसोंच चाहीँ के रह्यो भने, जो भारतले लामो समय नाकाबन्दी गर्दा, सत्ताभोगमा सिंहदरबार र बालुवाटारमा रमिताहरु हेर्दै टन्न चौरासी व्यञ्जनको खान्की हसुर्ने अनि चुपचाप उपेक्षा गर्दै उखान टुक्काहरु कथ्दै शासक बनि टोपल्ने ओली सरकार पो एक नम्बरको राष्ट्रवादी नेता हुन् रे गाँठे..! सार्वभौंम सत्ता भएको हाँक दिन नसक्ने । अनि परराष्ट्र सन्धि सम्झौंता अनुसारको कुट्नीतिक संवाद गर्न नसक्ने पानी मरुवा हुत्तिहारा शासक पो देशभक्ति राष्ट्रवादी हुन् भन्दै चर्को कर्कस आवाजहरुमा फलाक्नु पर्ने रे । यो के साह्रो लाजसरम पचाएको टिकाटिप्पणी हो यो..? मोदी सरकारसँग हाक्काहाक्की तर्क पेश गर्न आँत मारेर डरपोके हुने अनि मुर्दा जस्तै लम्पसार निमेष टुलुटुलु मुकदशकको रूपमा रहनुलाई चाहीँ बहादुरी र स्वभिमानी शासक पो भनिन्छ की लै…! लै….!

होईन यो कुन एंगलको दृष्टिकोणबाट हेर्न लगाइएको फर्जी ट्यागको सिंग्नल पदावली अलङकार हो यो..? समस्याहरुको चुनौतिसँग सामना गर्न खुट्टा कमाउँने शासकहरुसँग यो देशको नागरिकजनले के अपेक्षा राख्न सक्छ नि..? अन्तः त्यस्ता अविवेकी निम्छरा शासकहरुले शान्ति सुरक्षा र अमनचयन कायम राख्ला कसरी..? चुपचाप मौंनता भित्रै शासकीय भार सम्हाल्दैमा कुशल शासक अनि राजनेताको ट्याग जोड्न र भिर्न सुहाउँछ कि..? ओली सरकार यहीँ मेसोको फन्कोमा आफ्नो शासन सत्ताभोगको अढाई वर्ष लामो समय गुजार्दै छन् । बरु साच्चिकै यथार्थ राष्ट्रवादी देशभक्ति शासकीय नेता त, पञ्चायतकालीन उनै मण्डले सामन्तीको ट्याग लगाइएका पूर्व प्रधानमन्त्री स्व. मरिचमानसिंह श्रेष्ठ पो थिए, हुन् । यिनले उसबेलाको भारतीय शासक राजिव गान्धीसँग शीर झुकाएर सेलेण्डर गरेनन् । उसताक (२०४५) नाकाबन्दीमा आम नागरिकजनले दुःख सास्तीहरु भोग्दा, यी ओली सरकार जस्तो टुलुटुलु रमिताहरु हेर्दै गोहीको आँसु पनि झारेनन् । उनी जस्तो द्वैध ढोंगी चरित्र देखाएनन् । राष्ट्रसँग भैपरी आएको चुनौतीहरुसँग सामना गर्दै, आफ्नो देशको आम नागरिकजनसँग सरोकार राख्ने उपभोग्य वस्तुहरुको अन्तर्राष्ट्रिय हवाई मार्ग मार्फतबाटै भए पनि सेवा सुविधाहरु दिई रहे । सरकार प्रमुख भएको नाताले त्यो अभिभावकत्व अभिभारा नेतृत्व सम्हालेर नेपाली राजनीतिक इतिहासमा आम नागरिकजनको श्रद्वा औं आस्था बटुल्न सफल बनेका थिए ।

यी मण्डले पञ्चे भनौंदाहरुले देशको राष्ट्रियता बेचेनन् । राजकीय शासन पद्धति भएको कारण शासकीय सामन्ती र्वाफ र प्रवृत्ति देखिनु, त्यो बेला उनेरुँको हकमा सय प्रतिशतनै गलत थियो । तर, जनतासँगको अन्तर सम्बन्ध र साक्षात्कार भने आजको भन्दा हिजोनै उत्कृष्ट थियो सायद । आज देश संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थापित भएर के भो त..? उहीँ हिजोको पञ्चायती शासकीय राजभन्दा अहिले नि केमा कम देखिएको छ र..? हिजो उहीँ वाक स्वतन्त्रता र मौलिक हक अधिकारहरु थिएनन् भन्ने न हो । त्यो भन्दा फरक र भिन्न चाहीँ यो लोकतान्त्रिक शासकीय नेताहरुले के गर्न सके..? बरु भन्नुपर्दा, हिजो नदेखिने गरी घुँषपैंठ र भ्रष्टाचार गरिन्थे । अहिले हाक्काहाक्की टेण्डर वोल आव्हान शैलीमा भ्रष्टाचार गर्ने, गराउँने कबुलनामा शर्त हुन्छ । पूरै संस्थागत भ्रष्टाचारको कारोबार चल्ने गर्छ । खुलेआम सरकारी मातहत कार्यालयहरुमा लेनदेनको बार्गेनिङनै हुने गर्छ । आम मानिसको पहुँचमा अहिले पनि सरकारी सेवा सुविधाहरु एकरत्ति नि छैनन् । हिजो जस्तो थियो आज नि उस्तै छ । उहीँ स्वरुप, लय तालहरु मात्र फरक–फरक शैलीहरुमा देखिएका हुन् । चरित्र र प्रवृत्ति त काटीकुटी उहीँ पञ्चायतिराजनै हो के । यसमा के बात रह्यो र हाउ..? नेताहरुको भरण पोषण गर्ने की, जीवन बिमा..? हामेरुँको देशमा शासन सत्ताभोग गरी सकेपछि ती शासके नेताहरूलाई देशले आजीवन सेवा सुविधाहरुको साथ हार्दिक सम्मानार्थ पालिरहनु पर्छ भन्ने मूल मान्यता स्थापित हुँदै गएको छ । जो नीति अनुसार जसै सरकारी सेवा सुविधामा यी नेताहरु मोजमस्ती गर्दै आइरहेछन् । दलीय पार्टीहरुको नेता र सत्ताभोगमा जसै कुनै न कुनै विभागको मन्त्रीसम्म पट्काउँनै पर्छ भन्ने घिनलाग्दो राजनीति लाभको प्रादुर्भाव हुँदै गएको अवस्था छ । अहिले पार्टीका अरौटे भरौटे, झुण्डले मण्डलेहरुले पनि यहीँ मानसिकता अख्तियार गर्दै राजनीति बाटो तय गर्दै गरेको देखिन्छ । राजनीति गर्नु भनेकै टन्न पोईसा कमाई खानु हो । ऐंस आरामको साथ विलासी जीवनयापन गर्न पाउँनु हो भन्ने दिंग्भ्रमित चेत खुल्दै गएको छ । अन्ततः यसले पनि उहीँ नेपाली राजनीति समाजमै पूर्ण अन्तरघात गर्ने छ ।

फलतः नेपाली राजनीतिमा प्रोटिकल ईज डट्री गेम भन्ने सम्बोधन साह्रै मुनासिफ लागेको छ । हामेरुँको देशको हकमा स्वागतयोग्यनै मान्नु पर्छ । वास्तवमा नेपाली राजनीतिले खाली डट्री गेमनै मात्र खेलि रह्यो । राजनीति सत्ताको मियोमा घुमिरहने दलीय शासके नेताहरुले सकारात्मक सन्देशहरु प्रवाह गर्नै सकेनन् । जसले गर्दा राजनीतिमा भोलि आउने पुस्ताहरु पनि उहीँ अगुवा भनौंदाहरुकै पद्चापहरु पछ्याउँने सदरसाक्षीका रूपमा देखिन्दै छन् । किनकी द्रुत प्रविधिको विकास र मान्छेहरुको महत्वाकांक्षीत्वले गर्दा, अबका दिनहरु यता, एकाध, दोआत बाहेक यिनै मान्छेहरुमा इमान्दारिता र मानवीय हार्दिकता पाउँन निकै मुश्किल हुँदै जाने सम्भावना पनि उत्तिकै बढेर गएको देखिन्छ । तत् मानेमा अबका दिनहरुमा भने, नेपाली राजनीति वृतमा सग्लो र सिर्जनशील इमान्दारिताको राजनीति पुस्ताहरु पाउँन ज्यादै गाह्रो हुनेछ । यो अहिलेको बाहुनवादी शासकीयभारले थोपरेको राजनीति सौन्र्दर्यता चेत पनि हो ।

राजनीति सत्ताको व्याख्या विश्लेषण भने शासक बन्ने । टन्न सम्पत्ति जोड्ने या कमाउँने र सुन्दरीहरुसँग मस्त विलासी जीवनशैली विताउँने भन्नेनै मूलमन्त्र भनौं या विशेषः सूत्रनै त्यहीँ उपयोग हुँदै आइरहेछ । अन्त अबका दिनहरुमा यस्तो राजनीति कृयाकलापसँग किन संगत नगर्ने । देशै लुट्न पाउँने छुट राजनीति सत्ताले दिने भएसी, विभिन्न दलीय पार्टीहरुको ट्याग लागेका अबको यो पुस्ताहरुले सत्ताभोगका लागि राजनीति लाईनमा नेताको ट्याग नबोकी बाँच्न गाह्रो बनाएको छ । जसै राजनीति गर्नु भनेकै कमाई खाने भाडो हो भन्ने बुझाईमा रुपान्तारित हुँदै गयो । जसले एकपटक सत्ताभोगपछि भने की यो देशले आजीवन पाली रहन्छ भन्ने चीरस्थायी मानक स्थापित भएर बाँचेको छ । नेपाली राजनीतिमा यो भन्दा दुर्भाग्यता चेत अरु के नै हुन सक्ला र..?

खैरः देशले जन्माएको शासकीय नेताहरुलाई देशले आजीवन पालिरहने संवैधानिक नीति अख्तियार लागू गर्ने हो की, मात्र तिनको जीवन बिमा (इन्सुरेन्स) गर्ने. ? सत्ताभोग गरेका नेताहरुलाई आजीवन देशले पाल्नैपर्छ भन्ने के बाध्यात्मक परिस्थिति छ होला..? कारण त खुल्नु पर्यो..? के सत्ताच्युत भएसी खान, लाउँन नपाएर हो..? उसको स्वास्थ्यस्थिति नाजुक भएर हो..? वा पक्षघात (शरीरको कुनै पनि भागहरु नचल्ने) कुँजे भएर हो नि..? जसको एउटा न एउटा मापदण्ड अख्तियार त हुनु प¥यो नि । अन्तः के सत्ताभोग गरेकै हैसियतमा देशले हार्दिक सम्मानका साथ आजीवन पाल्नु पर्ने नीति अहिलेको लोकतान्त्रिक सरकारले अनुमोदन गरेको हो..? के हार्दिक सम्मानार्थ श्रद्वा बांड्न के यी शासके नेताहरुलाई सत्ताबाट वहिर्गमन हुँदा पनि जहिले सरकारी भत्ता, तलब, आवास गृह अनि गाडी र सुरक्षा दिइरहनु पर्ने..?

यो कस्तो खाले सम्मानको प्रत्याभूति दिन खोजेको हो..? की शक्तिशाली भएको लोकतान्त्रिक देशहरुमा यस्तो खाले सामन्ती शैलीको कुनै पनि शासके नेताहरुलाई त्यो देशहरुले व्यवस्थापन गरेको छैन । ती देशहरुमा शासकीयभारबाट मुक्त भएसी उसको पनि उपदेयता त्यतिखेर देखिनै सकिन्छ । जस्तै की, शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपतिहरुलाई हेरौं त । उनेरुँको शासकीय पदभार समाप्ति हुने साथ आम मानिस जस्तै देखिन्छन्, बन्ने गर्छन् । राजनीति रिटायर्डपछि पनि सर्वसाधारणजन जस्तै जागिर खान्छन् । विल क्लिन्ट्न अहिले पनि जागिरनै खान्छन् भने वाराक ओबामा पनि जागिरैनै भएका छन् । वेलायतको राजनीति इतिहास पनि त्यो भन्दा रत्ति फरक छैनन् । ३४ बर्षकै उमेरमा वेलायतको प्रधानमन्त्री बन्न पुगेका टोनी ब्ल्येयर पनि ५४ वर्षकै उमेरमा दुई कार्यकालको सत्ताभोग पछि राजनीति यात्रा टुङग्याए । अनि बाँकी रिटायर्ड जिन्दगी उहीँ जागिर तिरै होमी दिए । दुर्भाग्यनै भनौं, हामेरुँको देशको शासकीय नेताहरु मात्र यस्तो रक्तपिपासु किर्नारुपी चोला पाएका सामन्तीहरु हुन् की सत्ताभोगमा देशै लुटेर खाई सक्दाताक पनि र देशले दिएको सेवा सुविधाहरु जसै भोग गर्न पाइरहन्दा पनि कहिल्यै अघाउँन नसक्ने अघोरी, असन्तोषी, खञ्चुवा प्रवृत्तिका पात्रहरु हुन् । जुन जस्तो सुकै अवस्थामा पनि आशक्ति चरित्रको ¥यालहरु चुहाई रहने राक्षसी स्वभाव चरित्रकाहरु हुन् । येनारुँलाई त्यहीँ क्याटोरीमा दर्ज गर्दाखेरी एकरत्ति फरक देखिन्दैन् ।

अन्तः खोई त शक्तिशाली राष्ट्रका भिआईपी. शासकहरु सत्ता वहिर्गमनपछि पनि कुनै अंगरक्षक र सुरक्षाकर्मी बिनानै निर्धक्कका साथ एक्लै यात्रारत देखिन्छन् त । तिनै बाराक ओबामा सामाजिक अभियेन्ताको रूपमा काँधमा बोराको पोको बोकेर एक्लै यात्रा गर्छन् त । क्यानडाका प्रधानमन्त्री आम मानिस भए जस्तै, साझा सवारी यातायातमै एक्लै यात्रा गर्दा भएकै छ । रुवाण्डाका राष्ट्रपति श्रमजीवीहरु सँगै खाएर, बोराहरु ओछ्याएर तिनैसँग रात कटाउँदा नि हुन्छ । छिमेकी भारतका पूर्व राष्ट्रपति स्व. अब्दुल क्लामले देशको कुनै पनि सेवा सुविधाहरु भोग नगर्दा पुग्यो त । उनलाई सुरक्षा गार्ड पनि चाहिएन । अन्तः हामेरुँको पूर्व राष्ट्रपति रामवरण यादवलाई चाहीँ सरकारी सेवा सुविधाहरु बिना जीउनै नसक्ने..? राजधानी मै आफ्नो आवास घर भएर पनि देशले दिएको सेवा सुविधा त्याग गर्न नसक्ने..? जहिले दरिद्रता देखाउँने मात्र हो नेपाली शासकहरुले..? जबकी देशले आफू बसेको आवास गृहको घरभाडा र विजुली पानीको किराई नतिरी दिएको दुखेसोको पोको खोल्न र आमसञ्चारमा सम्प्रेषण गर्न सम्मन् भ्याए कठै…!

यो कतिसम्मको मानसिक दरिद्रताको पराकाष्ठा हो त पूर्व महामहिमको..? सम्बोधन गर्न पनि उसै लाजमर्दो हो । यस्तो खाले घटिया सोच भएका शासके नेताहरु भएको देशमा कहिल्यै उन्नति, प्रगति र समृद्धि होला भनेर के आशा गर्न सकिने ठाउँ छ र..? अझ नेपाली नागरिकजनको मुहारमा सुखी जीवनयापनको त्यो हसिलो मुहारको कान्ति कहिले छाउँला र उदाउला…? सम्झन्दा पनि त्यो विराट रिक्तता भित्र उदासताको भक्कानो फुटुँला झैं गरेर आउँने गर्छ । हुन त दोष शासके नेताहरुको मात्र छैन् । तिनै गन्हाउँने बासी अनुहारहरुलाई बारबार निर्वाचन मार्फत प्रतिनिधि बनाई पठाउँने नागरिकजन पनि उत्तिकै जिम्मेवारी छन् । नेताहरु भन्दा तिनको झण्डा बोक्ने र ल्याप्चे छापहरु लगाउँने जनतानै भेडाहरु हुन् भन्दा फरक पर्दैनन् । आफै हरेक पटक तिनैलाई भोट दिन्छन् र जिताउँछ्न् । अनि आफै फेरि पाँच वर्षसम्म फत्फत्तिन्दै तिनै नेताहरुलाई सराप्दै दिनहरु काट्छन् । फेरि चुनाव आउँछ फेरि उहीँ चरित्र लिलाको पुनारावृति रिन्यु हुन थाल्छ ।

तथापी, देशले यी कथित शासके नेताहरुलाई पालिरहनु पर्दैन । यदी पाल्नै पर्छ भने, यी नेताहरुको सम्पूर्ण भएको जायजेथा सम्पत्तिहरु लिलाम जफत गर्न सक्ने संवैधानिक नीति अख्तियार निर्माण गरिनु प¥यो । तब मात्र देशले आजीवन पाल्न सक्छ र सुहाउँला पनि सायद । नत्र के यी शासके नेताहरु विकलांग भएका टुहुरा, लंगडा अनि राणाराणी जस्तै एकल भएका र अबोध, अनाथ बच्चाहरु जस्तो हुन् र..? येनारुँलाई सदा यो देशले घरेलु पालुवा जनावरहरुलाई घाँस पानी दिए जसरी पालिरहनु पर्ने हो की..? यदी शासक भएकै वलमा देशको आजीवन सेवा सुविधाहरु भोग गर्न लालयित भएका हौंउ भने, यी नागरिकजनले राजश्व कर बुझाई रहन आवश्यक नि छैन् । देश लुट्न स्वतन्त्रता पाए पछि किन दोहोरो मारमा यी जनतालाई आर्थिक व्ययभार बोकाई रहने हो नि शासकीय नेताहरु हो..?

देश लुट्ननै शासक भएसी फेरि दोहोरो सेवा सुविधा किन भोग गर्न..? देशको सम्पत्ति र राष्ट्रिय अस्मिता लुटेर दुनियाँ लोकसामु देशै सर्वाङ्गै नाङ्गो पारेर त देखाई सक्यौ । शासक भएको बहानामा हरेक शीर्षकहरु राखेर, देशलाई सदा लुट्न र चुसिरहन केही नि कसुर राखेनौ । प्रजातन्त्र प्राप्तिको लडाइँ लडेको योद्वाको भिल्ला भिरेर मुक्ति प्राप्ति पछि आफ्नै आमाको अस्मिता पटक पटक लुटेर बलात्कार गरी रह्यौ । केवल जनताको मुक्तिको नाममा आफ्नै वंश परिवारहरुको मात्र मुक्ति प्राप्तिको लागि यो प्रजातन्त्र ल्यायौ भन्ने ठहर हुन गएको छ । अन्त देशलाई स्वतन्त्र, समृद्ध र शक्तिशाली बनाउँनु भन्दा आफू कसरी देश लुट्न सक्ने शक्तिशाली शासक हुने भन्नेमानै यो प्रजातन्त्र प्राप्तिको ठ्याक्कै तीन दशक (तीस वर्ष) लामो एक्लै सत्ताभोग गरी रह्यौ । अब के लुट्न बाँकी रह्यो र..? बाँकी छ त सिर्फ यिनै गरीबी र अभावै अभावले थिचिएका, मिचिएका तिनै भोका नाङगा तेमेरुँका जनता न छन् । देश लुटेर नअघाएसी अघोरी अवतारको जुनी पाएकै छौ । हो अब तिनै अभावले जेलिएका असहाय जनतालाई चिथोर, तड्पाई तड्पाई बध गर र राज्यलाई सुनसान श्यामघाट बनाऔ । अनि एक्लै–एक्लै शासक हुनुको राज गर । मोजमस्ती गर्दै, जनता मरेको शोकमा गोहीको आँशुहरु झार्दै समवेदनाको महाभोजहरुको आयोजना गर र धुमधामका साथ मनाऔं ।

तसर्थ, येनारुँलाई देशले जुनिभर पालिरहनु एकरत्ति धर छैन । यिनका लाईफ इन्सुरेन्स चाहीँ गरी दिनु मुनासिफनै होला । त्यहीँ पनि कालगतिलेनै जिब्रो टोकी हाले त्यो पनि जीवन बिमा असुल्न दिनु हुन्न । उहीँ पदभारहरुमा आसिन भएकैताक मात्र दुर्भाग्यवश कहिँकतै एक्सिडेन्ट केसहरु भैपरी गयो भने चाहीँ देशको हकमा इन्सुरेन्स दिलाई दिँदा मेन्जो भ्रष्टाचारी नेताहरुलाई सहानुभूतिको समवेदनाहरु बाँडे जस्तो लोकसामु देखिन्थ्यो की भन्ने हो । नत्र यो देशमा एकाध बाहेक कुन चाहीँ नेताहरु जोगी भाका देखिएका छन् र बरा. ?

स्वास्थ्य उपचारको नाममा लुटतन्त्र
शासके नेताहरुको अंगभार स्वास्थ्य उपचार राज्यले व्यहोर्नु पर्ने नीति अख्तियार भएसी स्वास्थ्य विग्रेको बहानामा त्यस्ता कयैंन नेताहरुले फर्जी स्वास्थ्य इलाजमा देशको ढुकुटीबाट पोईसा असुल्दै देश विदेश सयर गर्न भ्याइ रहे । त्यो बेथिति परम्पराको अन्त्य गर्न स्वास्थ्यमन्त्री बनेका कांग्रेसका युवा नेता गगन थापाले पहल गरे । र सो मन्त्री परिषद क्याविनेट मार्फत अनुमोदन स्विकृत पनि गरियो । उक्त निर्णयको सर्वत्र स्वागत भो । युवानेता थापाले आम नेपालीको तारिफ औं प्रशंसाको वाह वाह कमाए । तर, त्यो सहमतिय स्वीकृत निर्णय पुस्तिकाको हस्ताक्षर गरिएको मसी सुक्न नपाउँदै सत्तापलट भइसकेको थियो । जबकी देशको मुख्य कार्यकारी प्रमुखनै रोगग्रस्त (मृगौला पीडित) भएसी त्यो जाबो कांग्रेसी प्रस्तावको निर्णयले थाम्छ र..? देशको शासनभारनै देशविदेशको अस्पतालहरुबाट सञ्चालन हुने भएसी, शासके नेताहरुले आफ्नो स्वास्थ्य उपचार आफ्नै पकेटबाट कसरी गर्न सक्छन्..? कोही कसैले गरेको रेकर्ड छ होला र..? राजधानीमै २, ४ वटा महल हुने नेताहरुले, जाबो सांसद सचिवालयले दिएको सेवा सुविधा सहितको डेरा श्रमको भाडा समेत असुल्न भ्याउँने हरामीहरुले आफ्नो स्वास्थ्य उपचार आफ्नै खर्चले गर्छन् भन्नु पूरै दिंभ्रमित बौलाहा बन्नु जस्तैनै हो ।

फलतः सोही मानेमानै आफ्नो स्वास्थ्य विग्रेको नाटकीय बहानामा देशको आर्थिक ढुकुटी लुट्नसम्म लुटे । गरीब नेपालीले यी रोगी नेताहरुलाई जुनि जुनिसम्म पालिरहनु पर्ने बाध्यात्मकता लोकतान्त्रिक शासकहरुले थोपरे । न त नेपालीजनको गरीबी निवारण हुन सक्यो । न त शासकीय नेताहरुको स्वास्थ्यस्थितिमानै निवारण हुन सक्यो । न त देश लुटेरा भ्रष्टाचारीहरुको संख्यामा न्युनिकरणनै हुन सक्यो । यो बढो विष्मयकारी विडम्बना रह्यो । देशमा एउटा सिटामोलको औषधि किनेर खान नपाई ज्यान गुमाउँने नेपालीहरु कति होलान्..? रोग, भोक र शोकले थलिएका कति नागरिकजन होलान्..? शिक्षा दिक्षा र स्वास्थ्यबाट बञ्चित अबोध बालबालिकाहरु कति होलान् .? अनि रेमिट्यान्स भित्रयाउँन खाडी छिरेका युवापुस्ताहरु, रोग भोक र कानुनी फन्दामा कति जाकिएका होलान् ? कति त अस्पतालहरुको कोमामा निरिह्य लाचार बनेर, अन्तिम श्वास फेरि रहेका होलान् । तिनै युवा पुस्ताहरु घरबार चलाउँने सुन्दर सपनाहरू देख्दै, खाडी छिरेका कति तन्नेरीहरु बाकस भित्र बन्द भएर फर्किए कठै । कहिल्यै यी लोकतान्त्रिक शासकहरुले नजर अन्दाज गर्न सक्यो..? खोई कहाँ छ समुन्नत विकास र समृद्धिको पर छाँया..? गरीबीको रेखामुनी बाँच्न विवश नेपालीजनलाई जाबो एउटा सिरक खोल र ज्वंरो हैजाको औषधीहरु बाँड्न नसक्ने सरकारले पानीजहाज र रेल गुडाउँने योजनाहरु बाँडी टोपल्छ । नेपालीजनको साना मसिना अभावहरुको परिपुर्तिहरु गर्न नसक्ने हुत्तिहारा सरकारले किन कहीँ नभा जात्राको बखाँनमा त्यो योजनाहरु ल्याउँनु नि..? रेल गुड्ने लिग र समुन्द्र नभएको देशमा समुन्द्र तटको बाँध किन बाँध्नु पर्ने हो..? यो रेल र जहाज चढ्ने रहर, तेमेरुँ शासकहरुको हो की यो नेपालीजनको हो..? भोली तयार भो भने के तेमेरुँ शासकहरु यहाँ निष्फिक्री सयर गर्छौं त…? अभावै अभावले अप्ठ्याँएर चिथोरी रहेको बेला रेल गुडोस की, जहाज कुदोस । नेपालीजनलाई लुत्तो न कन्याई के, उहीँ कागलाई वेल पाकेको जस्तै मात्र हो ।
अपितुः एउटा स्मरणीय विषय के मात्र रह्यो भने नागरिकजनको हकमा स्वास्थ्य बिमा कार्य योजना ल्याइएको छ । जुन त्यो स्वागतयोग्य देखिएको छ । यसले केही राहत थप गरेको अनुभूत गर्छ । नहुनु मामा भन्दा, कानो मामानै भए नि जाति हुन्छ भन्ने मलमपट्टीको राहत बाँड्न सक्नेछ । अबः कार्यान्वयनमा के कसरी जान्छ र लैजान्छ्न् भन्ने हो । त्यो मात्र हेर्न र बुझ्न बाँकी छ । तथापी यो शासकहरुले आम नागरिकजनको स्वास्थ्यस्थिति माथि पूरै हेलचेक्र्याई गरेकोछ ।

आफ्नो नागरिकजनको स्वास्थ्य, देशको अमूल्य सम्पत्ति हो भनेर कहिल्यै बुझ्न सकेनन् । देश स्वास्थ हुनलाई आफ्नो आम नागरिकजन स्वास्थ हुनुपर्छ भन्ने हेक्का राख्न सकेनन् । वास्तवमा देशको लागि नागरिकजन स्वास्थ्य भए मात्र देशको समृद्धि र विकास हुने हो । नागरिकजन भनेको देश र शासकहरुको लागि अकथनीय स्रोतहरुको मुहान हो । स्रोतको मुहानहरुलाई थुनेर खाली राजश्व करहरुको भार मात्र बोकाएर हुन्न । कर भुक्तान गरेसी करदाताहरुलाई उस्तै सेवा सुविधाहरु पनि दिन सक्नु प¥यो । नत्र त्यो सुविधाहरु दिन सकिन्न भने किन राज्यलाई कर तिर्न बाध्य हुनु पर्ने हो..? अतः तेमेरुँ शासके नेताहरुले आफ्नै मात्र स्वास्थ मुल्यवान ठानेर देशको ढुकुटी रित्याई रहने । खाली स्वास्थ्य विग्रेको नाममा अनेकन नक्कली विल भौचरहरु तयार पारी अपचलन गरी अकुत सम्पत्ति कुम्ल्याई रहने हो..? तेमेरुँ मात्र देशको ढुकुटी रित्याएर ऐंस आरामका साथ बाँच्न पाउँनु पर्ने..? तेमेरुँको जस्तै त्यो मौलिक अधिकार यी नागरिकजनलाई छैन त..? अफसोंच..! देशलाई राजश्व कर भुक्तान गर्ने यिनै नागरिकजन भने एउटा ट्याब्लेट समेत किन्न र खान नपाएर तड्पी तड्पी ज्यान गुमाई रहेछन् कठै..!
चिन्ता देशको हो की स्वास्थ्यको ?

दशक लामो अघिनै आफ्नो मृगौला ट्रान्सर्फमर गरेका ओली सरकार अहिले उनको स्वास्थ्यस्थिति दिन प्रतिदिन विग्रन्दो अवस्था छ । देशको एउटा कार्यकारी प्रमुख जस्तो प्रधानमन्त्रीको स्वास्थ्यस्थितिमा गम्भीर देखिनु भनेको आम नागरिकजनको हकमा पनि ज्याँदै दुःखलाग्दो अवस्था हो । देशको साझा व्यक्तित्व भएको कारण उनको स्वास्थ्यस्थिति बुझ्ने र जानकारी पाउँन सक्ने सूचनाको हक प्रत्येक नेपालीजनलाई त्यो अधिकार छ । ओली सरकारको मुख्य अरौटे भरौटेहरुले त्यो कुरा बुझुन् के । उनी माथिको कुनै पनि विषयहरु नलुकाईयोस् । किन उनी कम्युनिष्टे बामेहरुको मात्र व्यक्ति होइनन् । यो देशको प्रमुख कार्यकारी अधिकारी हुन् त्यो हेक्का राखौं ।
भलैः रोग र मृत्यु कसैको वसमा हुन्न । त्यो बादशाह होस् की अमिर किन नहोस् । रोगले आक्रमण गरेसी त्यो बादशाहको शासकीय नीतिले नि रोक्न सक्दैन । अन्तः त्यो अमिर सम्पत्ति वालाको पोईसाले पनि थुनछेक गर्न कदाचित सक्दैन । उहीँ श्वास अड्काई राख्न सघन उपचार्थ प्राथमिक उपचार मात्र गर्ने हो । तसर्थ, रोग लाग्नु र मृत्युवरण गर्नु निसन्देह निश्चित छ । अहिले देख्नमा ओली सरकारको चिन्ता देशको भन्दा आफ्नो रोगले आक्रान्त थला पारेको शरीरमा छ । उनको रोगग्रस्त शरीर जस्तै यो देश पनि थलिएको छ । मतलब उनी जस्तै बन्धकमा छ देश पनि । यी शासके नेताहरुमा संक्रमित रोगहरु भए जस्तै, देशलाई पनि उहीँ संक्रमित रोगले नेताहरु जस्तै बनाउँन बाध्य बनाएको छ । देश उसै पनि संक्रमित रोगहरुको आक्रमणले थिलथिलो बन्दै गएको अवस्था छ ।

यदी ओली सरकारलाई यो देशको मात्र चिन्ता छ भने, आफ्नो कार्यकारी प्रमुख पदभार दोस्रो नेतृत्वलाई हस्तान्तरण गरे भने त्यो भन्दा ठूलो राजनीति त्याग र शुभ सन्देश लोकसामु केही पनि हुन्नथ्यो । सत्तालिप्सामा सधैं बबण्डर मच्याउँन माहिर गिरिजाप्रसाद कोइरालाले अन्तिम श्वास रहन्दा बोले की अब मर्ने बेलामा सबैको प्यारो भएर मर्छु । आखिर उनको कबुल शर्तनामा राजनीति ग्राण्ड फिनालेमा पूरा भो, भएन । तथापी, मर्दा शोकमा लाखौं शुभेच्छुक मलामीहरु कमाएर गए । अपितुः ओली सरकारको हकमा पनि यहीं सूत्र प्रयोग गरिनु सोह्रैआना मुनासिफ छ । हुन त नेपाली राजनीतिमा अहिलेतकसम्म, स्वेच्छाले शासन सत्ता आफ्नो स्वास्थ्य र उमेर हदबन्दीका कारण सुम्पिएको (हस्तान्तरण) इतिहास छैन् । अतः भन्नुपर्दा यो ऐतिहासिक इतिहास रच्ने अवसर ओली सरकारको हो । परन्तुः त्यो इतिहास राख्ने दाउमा भने यी ओली सरकार एकरत्ति देखिएका छैनन् । यो उनको हकमा क्षम्य हुन नसक्ने भूल हो । प्रजातन्त्र प्राप्तिको लागि ज्यान त्याग गर्न आँट गर्ने नेताले भोग्दै गरेको सत्ता त्याग पनि गर्न सक्नु पर्छ । राजनीतिमा त्याग, समपर्ण र बलिदान दिन सकिएन भने, त्यो राजनीति लोकसामु फलदायी र उत्प्रेरक बन्न सक्दैन ।
किन्तुः यसबेला उनलाई आफ्नो भयावह मृगौला रोगग्रस्त पीडाको भन्दा सत्ताभोगको बढी चिन्ता छ । सत्ताभोग गरी रहने आयु वेश्कनै छ । दुर्भाग्यवश शरीर बाँचिरहने आयूले निहुँ खोजी रहेछ । उनको हकमा अब दुईटा मात्र अप्सनहरु बाँकी छन् । शरीरको आयू लम्ब्याउँने की, सत्ताको आयतन घटाउँने ? बस् यसैको सेरोफेरो भित्र ओली सरकारको स्वास्थ्यस्थिति रिकवर हुने या नहुने भन्ने निचोड्मा उभेको छ । हुन त आफ्नो उमेर वा स्वास्थ्यस्थितिलाई हेरेर संसारका थुप्रै शासक नेताहरुले सत्ता र पार्टी हस्तान्तरण गरेको इतिहासहरु कति छन् कति । सत्ताको हकमा भन्ने हो भने, प्रजातान्त्रिक लडाइँका आफ्नै सहयोद्वा कमाण्डर, कांग्रेसका उनै गणेशमान सिंहले (२०४७) नै प्रधानमन्त्री पदभार ग्रहण गरेनन् । समकक्षी उनै कृष्णप्रसाद भट्टराईलाई सुम्पी दिए । छिमेकी भारतका भाजपा पार्टी अध्यक्ष अटलविहारी वाजपेयीले आफ्नो उमेरको कारण देखाएर समकक्षी लाल कृष्ण आडवाणीलाई पदभार सुम्पी दिए ।

सत्ता भोग्दै गरेका त्यस्ता शासकहरुको फायलहरु पल्टाएर हेर्ने हो भने पनि थुप्रै व्यक्तित्वहरुको रेकर्डहरु भेटिन्छन् । त्यहीँ नजिकै छिमेकी देशका भुटानी राजाले पनि आफ्नो उमेर हदको कारण देखाएर छोरालाई राजकीय सत्ता हस्तान्तरण गरेका थिए । गत वर्ष मात्र शक्तिशाली राष्ट्र उत्तर कोरियाका नरेश प्रमुखले पनि, आफ्नो उहीँ उमेरको कारण देखाई छोरा किम ईल सुङलाई सत्ता हस्तान्तरण गरेका छन् । महान नेता नेल्शन मण्डेलाको हकमा पनि सदर त्यहीँ हो । झन् उनले त आफू देशको राष्ट्रपति हुनलाई रंगभेदको विरुद्ध, प्रजातान्त्रिक लडाइँ लडेको होईन भने । उनी बाध्यतावश एकफेर राष्ट्र प्रमुख बने । दोस्रो कार्यकाल ग्रहण गर्न स्विकार गरेनन् । बरु उनी सत्तामा हुँदै आफ्नो विपक्षी ब्रेञ्चका समकक्षी साथीलाई देशको नेतृत्व सम्हाल्न मानसिक रुपले । अघि सारे र नेतृत्व हस्तान्तरण गरे । विश्व राजनीति रंगमञ्चमा यस्तो घटनाको इतिहास विरलै मात्र भेटिन्छ । जसले विपक्षी साथीलाई आफ्नो सत्ता हस्तान्तरण गर्न सक्छ ।

यस मानेमा ओली सरकारले त्यो सत्ता त्याग गर्न सके उनको हकमा सर्वत्र गुमाउँनु केहीनै छैन् । आखिर मण्डेलाले जस्तो विपक्षी ब्रेञ्चमा उभेको साथीलाईनै सत्ता हस्तान्तरण गरिनु पर्ने कुनै कर बल पनि त छैन् । आफ्नै पार्टीको समकक्षी साथीलाई सत्ता हस्तान्तरण गर्न किन हिच्हिच्यावट नि ? आखिर आफ्नो अस्वास्थ्य शरीरको कारण देशलाई सदा किन बन्धक बनाई राख्ने हो नि ? ओली सरकार र सम्बद्ध उनका आसेपासेहरुले पुनः विचार गरुन् भन्ने विशेष निवेदन आग्रह मात्र हो ।

पुनश्चः ओली सरकारले लोकतन्त्र त उसै नि धरापमा राख्न सफल बन्दैनै जादैछन् । तर त्यो धराप एम्बुसमा लोकतन्त्र पर्छ की ओली सरकार ? समयको वेगले चाँडैनै फैसला गर्नेनै छ । अहिलेलाई सत्ताभोगको भन्दा विशेष स्वास्थ्य लाभको उनलाई खाँचो छ । स्वास्थ लाभ भए उनको हकमा, सत्ताको घोडाचढी गर्न जत्ति पनि फेरि पाइरहन सक्छन् । तर…..स्वास्थलाभनै नरहे सत्ताभोगको मज्जा लुट्ने कसरी ? हार्दिक निवेदनका साथ ओली सरकारलाई शिघ्र स्वास्थ्यलाभको लाख लाख शुभकामना तोम्मा गर्दछु ।

सम्बन्धित खवर