निलिमाको ‘निलिमा’ गीति एल्बम बिमोचन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निलिमाको ‘निलिमा’ गीति एल्बम बिमोचन


आन्छुमे नसान
काठमाण्डौं/प्रवासमा रहेर पनि नेपाली तथा लिम्बू गीत संगीतलाई माया गर्नुहुने सुमधुर स्वरकी धनी गायिका निलिमा साम्पाङ राईको गीति एल्बम ‘निलिमा’ विमोचन तथा लोकार्पण गरिएको छ । अनामनगर स्थित मण्डला थिएटर हलमा बुधबार विमोचन गरिएको हो ।

प्रमुख अतिथि बरिष्ठ लोक गायक जितेन राई, बिशिष्ट आतिथिहरु किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो र मुन्धुमी गीतकार, संगीतकार, गायक तथा हाँस्य कलाकार यासेली योङहाङले एकसाथ गीति एल्बमलाई लोकार्पण गरेका थिए । उनको यो दोस्रो सोलो एल्बम हो । गायिका साम्पाङले यो भन्दा पहिले लिम्बू गीतहरु संग्रहित लिम्बू भाषाको गीति एल्बम ‘आसेप्माङ’ सार्वजनिक गरेकी छन् ।

कार्यक्रममा शुभकामना दिने क्रममा प्रमुख अतिथि जितेन राईले निलिमा साम्पाङको आवाजमा संगीतमा हुनुपर्ने खिड्काहरु प्रशस्त भएको बताए । प्रमुख अतिथि राईले गायिकी पनि राम्रैे भएकोले सम्भावना बोकेकी गायिकाको रुपमा निलिमालाई पाएको बताए । उनले चाँडै निलिमा संग युगल गीत रेकर्ड गराउने बाचा समेत गरेका थिए ।

कार्यक्रममा निलिमाका जन्मदिने बुवा आमा र संगीतकार भिषण मुकारुङ, गायक तथा संगीतकार उत्तमजंग लावती, गायक तथा संगीतकार जेपी नेम्बाङ, गायक इन्द्रशुसिल चोङबाङ, गायक राज लाबुङ लगायतको उपस्थिति रहेको थियो ।

नेपाली खस भाषाका तीन वटा र लिम्बू भाषाका दुई वटा गरी पाँचवटा गीत समावेश गरिएको निलिमा भित्र गीतकारहरु सागर राउत, माया मगर, चन्द्र रानाहाङछा राई, यादन सेर्मा र आन्छुमे नसानको शब्द समाबेश गरिएको छ । त्यसैगरी संगीतकारहरु राज रोवर्ट अजनवी, भिषण मुकारुङ, उत्तम जंग लावती, यादन सेर्मा र राजु आङदेम्बेले संगीत भरेका छन् ।

एल्बममा समाबेस गरिएको ‘जुन दिन देखि’ बोलको गीत समेत सार्बजनिक गरिएको थियो । भिडियोमा सन्तोष मावो र कल्पना मावोले अभिनय गरेका छन् । कार्यक्रम गायक यादन सेर्माको स्वागत मन्तव्यमा गीतकार सागर राउतको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर