संक्षिप्तमा किरात लिपिको पुनरुत्थानकर्ता त्येअङसी सिरिजङगा सिंथेबे - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संक्षिप्तमा किरात लिपिको पुनरुत्थानकर्ता त्येअङसी सिरिजङगा सिंथेबे


योगेश लाओती

प्रारम्भः

किरात जातिको भाषा, लिपि धर्म संस्कार सस्कृतीको आफ्नै बिशेषता बोकेको छ । किरात जातिको भाषा,लिपि सास्कृतिक र धार्मिक पहिचान लाई बचाउन किरात कुलमा धेरै अङसीमाङ्हरुले जन्म लिए । किरात धर्म दर्शनलाई प्रचारप्रसार गरि योगदान पुर्याएका छन । तिनै योगदान पुर्याउने ब्यक्तित्वहरुमा सिरिजङगा पनि एक हुन । किरात जातिलाइ एकताको सुत्रमा बाध्ने किरात भाषा, लिपि र साहित्यका पुनरुत्थानकर्ता, प्रचारक त्येअङ्सी सिरिजङ्गाको देन र योगदानको बारेमा संक्षेपमा चर्चा गरिएको छ ।

जन्मः

लिम्बुवानको तत्कालीन याङरक थुम हालको ताप्लेजुङ जिल्लाको साबिक तेल्लोक गा.बि.स को वाड न. ७ हालको सिरिजङ्गा गाउपालिका वाड न ४ मा बुवा हर्कहाङ(हर्क्बिरे) सिंथेबे र आमा बुद्धहाङमाको कोखबाट २९ मंसिर पुर्णिामा दिन सन १७०४ मा सिरिजङगा सिंथेबे जन्मिएका हुन।

वाल्यकालः

सिरिजङगा सिंथेबेको बाल्यकाल लिम्बुवानको याङरक थुम तेल्लोकमै उनले धेरै समय बिताए । फावाखोला तिरिङ्गे गा.बि.स खानी गाउको खर्कमा त्येअङ्सी सिरिजङ्गाले आफ्नो समय ब्यतित गरेको सम्झनामा खर्कको नाम नै सिरिजजंगा खर्क रहन गएको भनाइ छ । किरात लिपिलाई पुनरुत्थान गर्नका लागि वहाले संघर्षका थुप्रै आयामहरु पार गरे । निडर, साहसी र कम बोल्ने उनको आफ्नै परिचय हो ।

 

त्येअङ्सी सिरिजङगाको नामाकरणः

किरात भाषा, लिपि साहित्य र संस्कार सस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्नेमा धेरै अङसीमाङ्हरुको नाम जोडिन्छ । इतिहासकार इमानसिं चेम्जोङका अनुसार नवौ शताब्दीमा राजा सिरिजङगाले किरात लिपिको आविष्कार गरेका थिए । राजा सिरिजङगाले आफ्नो किरात राज्यमा जनताहरु शिक्षाबाट बन्चित भएको र शिक्षाको कारणले माथी उठ्न नसकेको देखे पछि आफ्ना जनताहरुलाइ किरात भाषामा शिक्षा दिनका लागि धेरै भाषाका लिपिहरु संग्रह गरेर अध्ययन समेत गरे । यसरी उनले शब्द, ध्वनि र उच्चारण संग मेल खाने किरात लिपिको आविष्कार गरे । यसरी विकास भएको लिपि १७ औ शताब्दी सम्म आइपुग्दा पुनः लोप हुने अवस्थामा पुगिसकेको थियो । यस्तो अवस्थामा रहेको लिपिलाइ पत्ता लगाएर पुनः प्रचारप्रसार गरे । सिरिजङगालाई किरात लिपिको पुनरुत्थानकर्ताको रूपमा समेत लिइन्छ । किरात भाषामा ‘त्ये’को अर्थ आउनु र ‘अङ्सी’ को अर्थ महात्मा हो । त्येअङ्सी सिरिजङगाको अर्थ महात्मा अवतारी सिरिजङगा हुन्छ । उनलाई किरात लिपिको पुनस्उत्थानकर्ता प्रचारक अवतारिको रूपमा त्येअङ्सी सिरिजङ्गा नामाकरण गरे ।

 

किरात लिपिको बिकासमा योगदानः

सिरिजङगा सिंथेबेले किरात जातिको भाषा, लिपि, धर्म, संस्कार संस्कृतिको बारेमा शिक्षा दिने अठोट गरे । त्येअङ्सी सिरिजङगाले यस अभियानलाई उनका धेरै अनुयायिहरुले भाषाको माध्यमबाट मुन्धुम तथा उपदेश सिवाखाहुनहरुलाई लिपिबद्व गरे । आफ्नो भाषा, लिपि र साहित्यको बारेमा पढ्ने, लेख्ने जनचेतना जगाउने कामहरु गरे । सिरिजङगा सिंथेबेले हराइसकेको लिपिलाई पुनःउत्थान गरेर विकसित गरेको लिपिको रुप नै किरात लिपि हो । यसमा २५ ब्यञ्जन वर्ण,१२ स्वर वणर्, ८ आधा अक्षर र ३ संयुक्ताक्षरहरु रहेको छ । सिरिजङ्गाको योगदानलाइ कदर र सम्मान गर्दै हिजोआज किरात सिरिजङगा लिपि भनिए पनि यो बिषय माथी अनुसन्धान र छलफलको बिषय भएको छ।

 

त्येअङ्सि सिरिजङगा सिक्किम प्रवेशः

पश्चिम सिक्किममा किरात लिम्बुहरुको बाग्लो घना बस्ती अझै पनि छ । त्यहाको किरात लिम्बुहरुलाई सिक्किमका शासकहरुले बुद्ध धर्मको शिक्षा पेमियोन्ची र सानगाचोलिङमा तिब्बती लिपिमा त्यहाको शासकले दिने ब्यवस्था थाहा पाए पछि सिरिजङगाले आफ्नो समुदायलाई चेतना जगाउन सिक्किम जाने निश्चय गरे।लिम्बुवानको थुमहरुमा भाषा, लिपि, साहित्य र मुन्धुमको प्रचारप्रसारमा लागेका त्येअङ्सी सिरिजङगा आफ्ना ८ जना चेलाहरुको साथ सन १७४० मा लिम्बुवानको याङरुप थुम तेल्लोक ताप्लेजुङबाट पश्चिम सिक्किमको हि–बर्मैक मार्ताम भन्ने गाउँमा गए।

 

त्येअङ्सी सिरिजङगाको हत्याः

किरात लिपिका पुनरुत्थानकर्ता प्रचारक त्येअङ्सी सिरिजङगा सिंथेबेले भाषा, लिपि साहित्य प्रचारप्रसार गर्ने क्रममा ८ जना चेलाहरु सहित पश्चिम सिक्किममा गई त्यहाँका किरात समुदायहरुलाई पढ्न र लेख्न जोड दिन थाले । यसरी सिरिजङगाले थालेको अभियानले दिनानुदिन ख्याति प्राप्त गर्न थाले पछि भने बुद्ध धर्मको शिक्षा लिन जाने किरात लिम्बू समुदायहरु प्रभावित भई गुम्बामा आउन छाडे पछि आफ्नै भाषा, लिपि साहित्यमा लागेको देखि ठासाङ लामा र तत्कालीन सिक्किमका शासकहरु आक्रोशित बन्न पुग े। सिरिजङगाले आफ्ना चेलाहरुलाइ आफ्नै भाषा, लिपि पढाइरहेको बेला पश्चिम सिक्किमको हि–बर्मेक मार्ताम गाउमा त्यहाका ठासाङ लामाहरुले पक्रे।यसरी पक्रेपश्चात लामाहरुले सिरिजङ्गालाइ मार्ताम स्थित कालेज र रेशिखोलाको दोभानमा रुखमा बाधेर बिषालु धनु काँडले हानी सन १७४१ मा त्येअङ्सी सिरिजङ्गाको हत्या गरे । ताम्दिङ ग्याल्पोको शासनकालमा त्येअङ्सी सिरिजङ्गाका ८ जना चेलाहरु समेतको हत्या गरे । त्येअङसी सिरिजंगा ३७ बर्षको कलिलो अल्पायु मै उनको हत्या भयो।त्यस पछि शासकहरुले त्यहा भाषा, लिपि र साहित्य पढ्ने लेख्ने कार्यमा पुर्ण बन्देज लगाइएको घोषणा समेत गरे।

 

सिरिजङगा सिंथेबेको सम्झनामा गरिएका ऐतिहासिक कार्यहरुः

त्येअङ्सी सिरिजङगा सिंथेबेको सम्झनामा सरकारबाट र जनस्तरबाट र छिमेकी मुलुक सिक्किम सरकारबाट पनि धेरै कार्य भएका छन । वि.स. २०४९ सालमा नेपाल सरकारले रास्ट्रीय बिभुती त्येअङ्सी सिरिजङ्गाको चित्राङ्कित हुलाक टिकट प्रकाशन गरि सम्मान गरेका छन।किरात भाषा, लिपि, साहित्यको बारेमा योगदान पुर्याएको ब्यक्तित्वहरुलाइ पुरस्कृत गर्न वि.स. २०१५ सालमा किरात सिरिजङ्गा पुरस्कार स्थापना गरेको छ । सिरिजङगाको नाममा धेरै संघ सस्थाहरु खुलेको छ । वहाको नाममा खोलिएका विभिन्न संस्थाहरुले गर्दा पनि झन लोकप्रियता बढाएको छ । धरान न.पा वाड न ८ अवस्थित पुर्णकदको शालिक किरात याक्थुङ चुम्लुङ्ले निर्माण गरिसकेको छ । यसै गरि त्येअङ्सी सिरिजङगा सिंथेबेको ३१४ औ जन्मजयन्तिको अवसरमा थेबे सयङहरुले वहाको जन्म स्थलमा वहाको सम्झनामा सिरिजङ्गा मिङ्सो माङ्हिम वि.स. २०७५ मंसिर २९ गतेका दिन किरात धर्मगुरु मुहिङ्गुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङ्गुम अङ्सिमामाङ साँवा पबित्रहाङ्मा लिङ्देन ज्युहरुको देव उपस्थितिमा प्रदेश न.१ का मुख्यमन्त्री शेरधन राईले उदघाटन गरे । यसैगरी छिमेकि मुलुक सिक्किम सरकारले सिरिजङगाको जन्मजयन्तीको दिन सरकारी बिदा समेत घोषीत गरेको छ भने मार्ताम गाउँलाई लेगसिपसंग जोड्ने सडक खण्डलाई समेत त्येअङ्सी सिरिजङगा मार्ग नामाकरण गरिएको छ । यसरी विभिन्न क्षेत्रसंग जोडेर सिरिजङगाको सम्झनामा हिजोआज मात्र होइन बिगत देखि नै वहाले गरेको देन र योगदानको बारेमा चर्चा गरेको पाइन्छ।

सम्बन्धित खवर