फोनिजको राष्ट्रीय भेला सिन्धुलीमा सुरुहुँदै - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिजको राष्ट्रीय भेला सिन्धुलीमा सुरुहुँदै

दमक, ६ पुष / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को दोस्रो राष्ट्रीय भेला आज आइतबारबाट सिन्धुलीको खनियाखर्कमा सुरु हुँदैछ ।

फोनिज संघीय समितिको आयोजनामा पुस ६ र ७ गते डाकिएको भेलामा संघीय समितिका पदाधिकारी, सदस्य, संघीय समितिका सल्लाहकार, लेखा र अनुशासन समितिका संयोजक र सदस्यहरु, संस्थागत समितिका अध्यक्षहरु, प्रदेश समितिका अध्यक्ष र जिल्ला समितिका अध्यक्ष वा प्रतिनिधि सहभागी हुँदैछन् ।

आइतबार दिउँसो ३ बजेबाट सुरु हुने राष्ट्रीय भेलामा आदिवासी जनजातिको सवाल र सञ्चार माध्यमको भूमिका विषायक राष्ट्रीय संवाद २०७६, औपचारिक भेला उद्घाटन र छलफल, संघीय समितिको पूर्ण बैठक र संगठन, संस्थागत, अल्पसंख्यक लगायत विभागहरुले कार्ययोजना प्रस्तुत गर्ने र छलफलबाट पारित हुने छ ।

भेलाको औपचारिक उद्घाटन प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले गर्ने कार्यक्रममा सहभागी हुन देशभरबाट फोनिज अगुवाहरु सिन्धुली आउनेक्रम जारी रहेको र कतिपय नेता भेलास्थलमा पुगिसके फोनिज संघीय सचिव कमन देवानले जानकारी दिए ।

भेलाले विभिन्न सांगठनिक निर्णय गर्दै फोनिज सिन्धुली घोषणापत्र जारी गर्ने बताइएको छ । फोनिज सिन्धुली जिल्ला शाखाले भेला व्यवस्थापनमा सहयोग गर्नेछ । सिन्धुली शाखाले सहभागीलाई स्वागत र ऐतिहासिक सिन्धुली गढी भ्रमण गराउने जनाएको छ ।

भेलामा आदिवासी जनजाति सवालमा कृयाशील एसियन इन्डिजिनियस पिपल्स प्याक (एआइपीपी) का प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधि, नेपालका आदिवासी जनजातिहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप), राष्ट्रीय आदिवासी जनजाति महिला महासंघ, आदिवासी जनजाति युवा महासंघ, आदिवासी जनजाति अपाङ्ग संघका प्रतिनिधि समेत आमन्त्रित रहेको देवानले बताएका छन् ।

सम्बन्धित खवर