इलाम अस्पतालमा विरामीले निःशुल्क रगत पाइने - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम अस्पतालमा विरामीले निःशुल्क रगत पाइने


दमक/इलाम अस्पतालमा भर्ना भई रगतको आवश्यकता पर्ने बिरामीका लागि आइतबारदेखि निःशुल्क रगतको व्यवस्था गरिएको छ । इलाम अस्पतालमा रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) स्थापना भएसंगै विरामीले निःशुल्क रगत पाउने भएको हो ।

नेपाल रेडक्रस सोसाइटी इलामले स्थापना गरेको रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) मार्फत निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । यसअघि अस्पतालमा एक प्रिन्ट रगतको ७ सय रुपैयाँ तिर्दै आएका थिए । रेडक्रसले ब्लड ब्याग, आइबीसेट, रक्त परिक्षणलगायतमा लाग्ने खर्च वापतको ७ सय रुपैयाँ लिदैं आएको थियो ।

समाजसेवी रतनकुमार चौधरीको सहायोगमा रेडक्रसले निःशुल्क रगत वितरणको व्यवस्था गरेको हो । नेपाल रेडक्रस सोसाइटीका उपसभापती तथा रक्तसंचार सेवा संयोजक समेत रहेका चौधरीले निःशुल्क रगत वितरणका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार उपलब्ध गराउने भएका छन् ।

चौधरीले २०८० असार मसान्तसम्मका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता अनुसार चौधरीले रेडक्रस सोसाइटीलाई अबको ४ वर्षसम्म वर्सेनी डेढ लाखका दरले रकम उपलब्ध गराउनेछन् ।
गरिब बिरामीसँग एक प्रिन्ट रगत किन्ने रकम समेत नभएको देखेकाले त्यस्ता विरामीका लागि निःशुल्क रगत दिनका लागि रेडक्रसलाई रकम उपलब्ध गराएको चौधरीले बताए ।

‘कतिपय गरिब बिरामीसँग एक प्रिन्ट रगत किन्ने रकम समेत नभएर समस्यामा पर्ने गरेका छन्’ चौधरीले भने, ‘त्यस्ता विरामीका लागि निःशुल्क रगत दिने व्यवस्था मिलाउन मैले वार्षिक डेढ लाख रुपैयाँ दिने घोषणा गरेको हुँ ।’

इलाम अस्पतालमा स्थापना गरिएको रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) को आइतबार औपचारिक उद्घाटन गरिएको छ । नेपाल रेडक्रड सोसाइटी इलामले स्थापना गरेको ब्लड बैंकको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले गरेका हुन् ।

इलाम अस्पतालको एउटा कक्षमा ब्लड बैंक संचालन सुरु भएको हो । ब्लड बैंक स्थापना भएपछि कुनै बिरामीलाई रगतको आवश्यकता पर्दा तत्काल रक्त समूह मिल्ने व्यक्तिको खोजी गर्नुपर्ने झन्झट हटेको छ ।

जर्मनबाट प्राप्त उपकरणलाई इलाम अस्पतालमा जडान गरेर सेवा थालिएपनि केही समयमा आफ्नै भवनमा ब्लड बैंक स्थापना गर्ने रेडक्रसले जनाएको छ । ब्लड बैंक उद्घाटनको अवसरमा ४ जनाले रक्तदान समेत गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी इलामका सभापति देवी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिसस प्रमुख बराल सहित प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, नेपाली कांग्रेसका सभापति हिमालय कर्माचार्य, इलाम नगरपालिका ७ का वडाअध्यक्ष नरेश श्रेष्ठ, विभिन्न सुरक्षा निकायका प्रमुख, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी लगायतको उपस्थिती थियो ।

सम्बन्धित खवर