ज्ञानु केदेम लिम्बू
सिन्धुली/प्रदेश नं ३ को नाम नेवाः ताम्सालिङनै कायम गर्नुपर्ने प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकटेलले बताए ।
ऐतिहासिक स्थल सिन्धुली गढीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज को राष्ट्रिय भेला उद्घाटनलाई सम्बोधन गर्दै, उनले सो कुरा बताएको हो ।
‘संघीयता उत्पीडित समुदायले मागेको हो’ उनले भने, ‘संघीयता कुनै नदिनाला, हिमाल पहाडले मागेको होइनन् ।’ मन्त्री जमरकटेलले भने, ‘शासन सत्ताले उत्पीडन गरेको समुदायलाई समावेशी समानुपातिकता चाहिएको छ ।’
यसैगरी शासकले इतिहास लुकाएको उनले बताए । उनले थपे ‘ऐतिहासिक स्थल सिन्धुली गढीमा वीर योद्धा बंशु गुरुङको शालिक स्थापना गर्न आवश्यक छ ।’
सरकारले लागू गर्दै आएको नियम, कानून, निर्देशिकाहरु संविधानको मर्म विपरीत छ भने सञ्चारकर्मीले सच्याउन आवाज उठाउन प्रमुख अतिथि जमरकटेलले आग्रह गरेका छन् । बाहुन क्षेत्री समुदायको सोचाइ संकुचित रहेको भन्दै फराकिलो सोचाइ र बुझाइमा जान उनले अनुरोध समेत गरेका छन् ।
त्यसैगरि राष्ट्रिय भेलामा प्रदेश नं ३ का सांसद प्रदीप कटुवाल, फोनिज संघीय समितिका सल्लाहकारद्वय खिम घले, उजीर मगर, कमला माई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्री, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष गोविन्द आचार्य, नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल आदिवासी जनजाति महिला महासंघका केन्द्रीय अध्यक्ष चिनीमाया माझी, प्रेस युनियन नेपालका केन्द्रीय अध्यक्ष बद्री सिग्देल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष राजन कार्की लगायतले बोलेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष गजुरधन राईले राखेको, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा सम्पन्न राष्ट्रिय भेलालाई फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षता गरेको थियोे भने महासचिव मनोज घर्ती मगरले सञ्चालन गरेका थिए ।
राष्ट्रिय भेलामा सहभागी सम्पूर्ण प्रतिनिधिहरुलाई ऐतिहासिक स्थल सिन्धुली गढीमा फूलमालाले स्वागत तथा सम्मान गरिएको थियोे ।
सोमबारनै राष्ट्रिय भेलाको बन्द सत्र सम्पन्न गरि सिन्धुली गढी घोषणापत्र जारी गरिने अध्यक्ष डण्ड गुरुङले जानकारी दिए ।